अमेरिका–इरान वार्तामा के छ मुख्य अजेन्डा?

जारी लेबनान द्वन्द्व र इरानको रोक्का सम्पत्ति फुकुवा गर्ने विषयमा सहमति खोज्न अमेरिका र इरानबीच आइतबार स्विट्जरल्याण्डको जेनेभामा उच्चस्तरीय वार्ता शुरू हुँदैछ।

पश्चिम एशियामा बढ्दो तनाव र लेबनान द्वन्द्वको पृष्ठभूमिमा संयुक्त राज्य अमेरिका र इरानबीच नयाँ चरणको उच्चस्तरीय वार्ता आइतबार स्विट्जरल्यान्डको जेनेभामा शुरू हुँदैछ। वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल जेनेभा पुगिसकेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि युरोप प्रस्थान गरेका छन्।

यसैबीच, इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै विश्व तेल आपूर्तिको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेपछि वातावरण थप गरम बनेको छ। इरानी केन्द्रीय सैन्य कमान्डले अमेरिकाले प्रारम्भिक सम्झौताको पालना नगरेको र इजरायलले युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकी केन्द्रीय कमान्डले भने अन्तर्राष्ट्रिय जलमार्ग सुरक्षित रहेको र आफ्नो सेना सतर्क अवस्थामा रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सफल नभए हर्मुजमा आफ्नै शुल्क प्रणाली लागू गर्न सक्ने चेतावनी दिएका छन्।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकायीका अनुसार स्विट्जरल्यान्ड वार्तामा लेबनानमा जारी इजरायल-हिज्बुल्लाह द्वन्द्व नै मुख्य विषय बन्नेछ। यसका साथै इरानको रोक्का रहेको सम्पत्ति फुकुवा गर्ने, तेल बिक्रीका लागि अनुमति जारी गर्ने र इरानको आणविक कार्यक्रमबारे आगामी दुई महिनाका लागि वार्ता प्रक्रिया तय गर्ने विषयमा छलफल केन्द्रित हुनेछ। इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरेका छन् भने अमेरिकी वार्ताकार जारेड कुशनर र स्टिभ विटकफ प्राविधिक छलफलका लागि वार्तास्थल पुगिसकेका छन्।

यसैबीच, अमेरिका र इरानबीचको यो वार्तालाई सहजीकरण गरिरहेको मध्यस्थकर्ता मुलुक पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख जनरल असिम मुनीर पनि आइतबार स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्। जुन १७ मा भएको 'इस्लामाबाद समझदारीपत्र' (एमओयू) कार्यान्वयनका लागि कतारसहितको यो उच्चस्तरीय बैठक बस्न लागेको हो। पाकिस्तानी विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शरीफले जेनेभामा इरान, कतार, स्विट्जरल्याण्ड र अमेरिकाका प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

कूटनीतिक प्रयास भइरहँदा दक्षिणी लेबनानमा भने स्थिति अझै तनावपूर्ण छ। अमेरिकाले गत शुक्रबार युद्धबिराम लागू भएको घोषणा गरे पनि इजरायल र हिज्बुल्लाहबीच पुनः झडप सुरु भएको छ। इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा ३० भन्दा बढीको मृत्यु भएको छ भने हिज्बुल्लाहको प्रतिकारमा एक इजरायली सैनिक मारिएका छन्। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म यस द्वन्द्वमा मृत्यु हुनेको संख्या चार हजार नाघिसकेको छ भने विस्थापित नागरिकहरू अझै त्रासमा बाँचिरहेका छन्।