वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको संख्या वृद्धि भएसँगै बालीनालीमा हुने क्षतिबाट पीडित भएका किसानहरूलाई राहत दिने विशेष नीति अघि सारेको छ।

गुल्मी– जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको संख्या वृद्धि भएसँगै मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेकाले बालीनालीमा हुने क्षतिबाट पीडित भएका किसानलाई राहत दिने नीति अघि सारेको छ। गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सरोज थापाले वन्यजन्तु पीडित किसानलाई राहत दिने नीति अघि सारेका हुन्।

अध्यक्ष थापाले पालिकाभित्र मुख्य समस्याका रूपमा देखा परेको बाँदर, बँदेललगायत वन्यजन्तुको समस्या समाधानका लागि संघ, प्रदेश र विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने घोषणा गरे। उत्पादनमुखी कृषिलाई प्रोत्साहन गर्न गाउँपालिकाले यसअघि सञ्चालनमा ल्याएको ‘कृषिउपज उत्पादनः हातहातमा अनुदान’ भन्ने नीतिलाई यसपटक पनि निरन्तरता दिइने उनको भनाइ छ।

खेतीयोग्य जमिनलाई बाँझो राख्ने बढ्दो प्रवृत्तिलाई निरुत्साहित गर्न गाउँपालिकाले कृषिभूमि बैंकको कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष थापाले स्थानीय बालीको बीउबिजन संकलन र व्यवस्थापन गर्दै लोपोन्मुख अवस्थामा रहेका कोदो, जुनेलो, घैया, तीते फापर, जौ, उवालगायत बालीको उत्पादन वृद्धि गर्न र संरक्षणका लागि किसानलाई विशेष प्रोत्साहन गरिने उल्लेख गरे।

पालिकाले ‘कृषि उत्पादनमा वृद्धिः गुल्मीदरबारको समृद्धि’ को नारालाई आत्मसात् गर्दै लागत साझेदारीमा फलफूल, तरकारी, मसलाबाली, मौरीपालन, च्याउ, पुष्पखेती, कफीखेती जस्ता व्यावसायिक परियोजना सञ्चालन गर्ने जनाएको छ। घरघरमा उद्यमशीलताको लहर ल्याउन ‘आँगनमा फूलबारी, कौशीमा मौरी घारी, घरपछाडी करेसाबारी’ कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइने भएको छ।

नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी ‘गुणस्तरीय खाना उत्पादनमा स्वच्छता’ नीति अपनाउँदै अर्गानिक उत्पादन र रासायनिक मलको विकल्पमा जैविक तथा गड्यौलाको मलको प्रयोगलाई बढावा दिने योजना अघि सारिएको अध्यक्ष थापाले जानकारी दिए। पशुपालनतर्फ ‘मेरो पशुपक्षीः मेरो सम्पत्ति’ अभियान सञ्चालन गरी पशुहरूमा लाग्ने रोगको रोकथाम र उपचार पद्धतिलाई प्रभावकारी बनाउने तथा पशुको नस्ल सुधारका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवालाई निरन्तरता दिइने उल्लेख छ।

कृषि र पशु बिमा कार्यक्रममार्फत किसानद्वारा गरिएको लगानीको जोखिम न्यूनीकरण गरिनुका साथै पालिकाभित्रका उत्कृष्ट किसानलाई प्रोत्साहन गर्न ‘गुल्मीदरबार उत्कृष्ट कृषक सम्मान’ कार्यक्रमलाई निरन्तरता दिइने नीतिमा समेटिएको छ। पालिकाले ‘गुल्मीदरबारका महिलाः उद्यमशीलतामा पहिला’ भन्ने मूलमर्मलाई आत्मसात् गर्दै महिला उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

त्यसैगरी, स्वास्थ्यतर्फ ‘हाम्रो गाउँ, स्वस्थ बनाऔँ’, ‘साथी शिक्षा’, ‘मेरी आमाः स्वस्थ आमा’, ‘उपाध्यक्ष कोसेली’ लगायत कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा पालिकाभित्र सञ्चालित सहकारी संस्थालाई सुदृढ र पारदर्शी बनाउन समस्याग्रस्त सहकारीहरूको अध्ययन गरी समाधानको पहल गर्ने विषय पनि समेटिएको छ।