बाढीपहिरोले कुन-कुन सडक अवरुद्ध छन्?

नेपाल प्रहरीको बिहीबार बिहान ६:४० को सूचना अनुसार काठमाडौँको नागढुंगादेखि मुग्लिन सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा सवारी रोक लगाइएको छ।

बाढीपहिरोले कुन-कुन सडक अवरुद्ध छन्?
नेपाल फोटो लाइब्रेरी
बाढीले बगाएको धादिङको फुर्के खोलाको पुल।

काठमाडौँ– बाढीपहिरोको जोखिम बढेपछि विभिन्न जिल्लाका मुख्य राजमार्गमा सवारी आवागमन रोकिएको छ। नेपाल प्रहरीको बिहीबार बिहान ६:४० को सूचना अनुसार काठमाडौँको नागढुंगादेखि मुग्लिन सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा सवारी रोक लगाइएको छ।

रसुवामा उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा मुख्य राजमार्गका सबै सडक पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–७ चछेखोलामा टोखा–छहरे सडकखण्डमा सम्भावित बाढीपहिरोका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी रोकिएको छ भने नुवाकोटको मुख्य राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।

बाढीपहिरोका कारण धादिङ र चितवनका मुख्य सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्।  धादिङका बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालाखोला, गजुरी गाउँपालिका–८ प्युघर, गजुरी–६ छहराखेत तथा गल्छी गाउँपालिका–६ बैरेनीलगायत स्थानमा बाढी आएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

null

चितवनमा पनि बाढीका कारण मुग्लिन–नागढुंगा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको विभागले जनाएको छ। यससँगै कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबिसकोट नगरपालिका–६ रिजिगाड खोलास्थित जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पनि अवरुद्ध छ। काभ्रेको खुर्कोट–नेपालथोक–कुशादेवी सडकखण्डमा पनि बाढीको जोखिमका कारण राति ७ बजेदेखि बिहान ८ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौँडा–हिगं–बागमती–ललितपुर सडकखण्डमा पनि राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।