हात्तीजस्ता ठूला जीवले क्यान्सर प्रतिरोधी जिनको संख्या बढाएर यो खतरालाई टारे। मानव प्रजातिमा सीमित आनुवंशिक विविधताका कारण त्यस्तो बलियो सुरक्षा संयन्त्रको विकास हुन सकेन।
हात्तीजस्ता ठूला प्राणीमा शरीरमा अर्बौं कोष हुँदाहुँदै पनि क्यान्सर दुर्लभ हुन्छ, जबकि मानिसमा यसको जोखिम उल्लेखनीय रूपमा बढी पाइन्छ। यसको कारण के होला त? पहिले त हामी प्रस्ट हौँ–हात्ती र मानिसबीचको क्यान्सर प्रतिरोध क्षमताको विकासजन्य कारणहरू र आनुवंशिक विविधताको फरकले रोग–प्रतिरोध क्षमतालाई प्रभावित गरेको हुन्छ।
क्यान्सर र शरीरको आकार- पेटोको विरोधाभास
क्यान्सरलाई लामो समयसम्म कोष (सेल) हरूमा हुने उत्परिवर्तन (म्युटेसन) को कारणले हुने समस्या भनेर बुझिन्थ्यो। प्रत्येक कोषमा हुने डिएनएको उत्परिवर्तन क्रमशः सँगालिँदै जाँदा क्यान्सर लगाउन सक्ने ट्युमर बन्ने सम्भावना हुन्छ। त्यस हिसाबले, जति धेरै कोष भएको प्राणी, त्यति धेरै क्यान्सर हुनुपर्ने हो। तर वास्तविकता उल्टो छ: मुसालगायत साना प्राणीहरू र ठूला जस्तै हात्ती र ह्वेलजस्ता प्राणीहरूबीच क्यान्सरको दर लगभग समान हुन्छ। अझ, हात्ती र ह्वेलजस्ता ठूला प्राणीहरूमा त क्यान्सरको दर मानिसहरूको तुलनामा एकदमै कम हुन्छ।
सन् १९७० को दशकमा बेलायती जीव विज्ञानी रिचार्ड पेटोले मुसाको उमेर र क्यान्सरको सम्बन्धबारे अध्ययन गरेका थिए। उनले त्यस समीकरणमा शरीरको आकार जोड्दै प्रश्न राखेका थिए। मानव शरीरमा मुसाको तुलनामा झन्डै एक हजार गुणा बढी कोषहरू छन् र जीवनकाल पनि ३० गुणा लामो छ, तर दुवै प्रजातिमा क्यान्सरको सम्भावनामा त्यस्तो ठूलो अन्तर किन देखिँदैन? सैद्धान्तिक रूपमा मुसाभन्दा मानिसमा क्यान्सरको जोखिम धेरै हुनुपर्ने हो, तर वास्तविकता त्यस्तो छैन?
क्यान्सरको अध्ययनमा सबैभन्दा रोचक र आधारभूत प्रश्नहरूमध्ये एक हो–पेटोको विरोधाभास (पेटोज् प्याराडक्स)। यो विरोधाभासले महत्त्वपूर्ण अवधारणा उजागर गर्छ- क्यान्सर केवल कोषसंख्याको फल होइन, तर प्रजातिको विकास क्रममा सुरक्षित भएका आनुवंशिक संयन्त्रहरूको परिणाम हो।
क्यान्सरबाट बच्न हात्तीको विकाश क्रममा भएको प्रयास-पी-५३ का प्रतिलिपि
आजभोलि अफ्रिका र एसियामा पाइने हात्तीहरूको शरीर हाम्रोभन्दा झन्डै एक सय गुणासम्म ठूलो हुन्छ र शरीरमा कोषहरू पनि त्यसैगरी बढी हुन्छ। तर, हात्तीहरू सँधैभरी यति ठुला भने थिएनन् र साना पुर्खाहरूबाट विकसित हुँदै यहाँसम्म आइपुगेका हुन। हामीलाई थाहा भएको हात्तीको सबैभन्दा पुरानो पुर्खा झन्डै ६ करोड वर्ष अगाडीका हुन् भनिन्छ र उनीहरूको वजन बढीमा १० केजीसम्मका पुग्ने गर्थ्यो। अहिले हामीले देख्ने हात्तीको ठूलो आकार झन्डै एक करोड वर्षअघि भएका हुन्।
प्राय: सबै जनवारका शरीरको सबै कोषमा पी-५३ भन्ने प्रोटिन हुन्छ। मानव शरीरमा पी-५३ को एक वटा प्रति मात्रै हुने गर्छ। कोषमा पी-५३ प्रोटिनको मुख्य भूमिका डिएनएमा हुने क्षति पत्ता लगाएर उक्त कोषको विभाजन रोक्नु वा आवश्यकता परे कोष आत्मविनाश (एपोप्टोसिस) सुरु गर्नु हो। जिवविज्ञानीहरूले हात्ती र हात्तीका पुर्खाहरूको डिएनएको अनुसन्धान गर्दा रोचक कुरा थाहा भएको थियो। हात्तीको शरीरको आकार बढ्दै जाँदा हात्तीको क्रोमोजममा पी-५३ बनाउने जिनको प्रतिलिपि (कपी नम्बर) पनि बढ्दै गएको भेटिन्छ।
हात्तीले आफ्नो विशाल शरीर र लामो आयुकासँगै क्यान्सरको जोखिम घटाउन यो जिनको अतिरिक्त प्रतिलिपि बनाउने संयन्त्र आफ्नो आनुवंशिक लचिलोपन (एभोल्युसनरी एडाप्टेसन) गरेको देखिन्छ। हात्तीको सबैभन्दा पुरानो पुर्खामा हाम्रोमा जस्तै पी-५३ को एउटा मात्रै प्रतिलिपि हुन्थ्यो। हात्तीको उद्विकास (इभोलुसन) भएर आकार बढ्दै जाँदा पी-५३ बनाउने जिनहरूको प्रतिलिपि पनि बढ्दै गयो र अहिलेका हात्तीमा पी-५३ को (१३) र पी-५३ जस्तै अरू (पी-६३,७३) समेत गर्दा करिब २० वटा प्रतिलिपि भेटिन्छ। यसरी, हात्तीमा पाइने पी-५३ का अतिरिक्त प्रतिलिपिहरूले कोषमा डिएनए क्षति भए तुरुन्तै कोष आत्मविनाश सक्रिय गरेर क्यान्सर नहुनलाई सहयोग गर्छ।
पी-५३ को अतिरिक्त प्रतिलिपि (एक्स्ट्रा कपी) बनाउनु क्यान्सरबाट बाँच्ने एकमात्रै रणनीति भने होइन। हात्ती, ह्वेल वा अन्य प्रजातिहरूले प्रजातिको विकास क्रममा नै क्यान्सर–प्रतिरोधी प्रणालीहरू-जीन–दोहोरोपन, ट्युमर–सप्रेसरहरूको कार्यवृद्धि र डिएनए-मर्मत संयन्त्रलगायत मार्गहरूको सुदृढीकरण निर्माण गरेका हुन्छन्। त्यसैले त आजभोलिको प्रदूषित वातावरणमा पनि हात्ती या ह्वेलजस्ता ठूला अथवा कछुवा जस्तै दीर्घायु जनवारको मृत्युको प्रमुख कारण क्यान्सर आक्कलझुक्कल मात्रै हुने गर्छ।
त्यसो भए मानव प्रजातिमा क्यान्सरसँग लड्ने क्षमताको विकाश किन हुन सकेन?
मानवमा सीमित आनुवंशिक विविधता: जेनेटिक बोटलनेक
मानव प्रजाति शारीरिक रूपमा सानो, जनसङ्ख्यामा विशाल र हरेक भूभागमा फैलिएको भए पनि हाम्रो आनुवंशिक विविधता (जेनेटिक डाइभर्सिटी) अचम्मलाग्दो रूपमा सीमित छ। संसारको कुनै पनि ठाउँका दुई जना असम्बन्धित मानिसबीचको आनुवंशिक भिन्नता सरदरमा ०.१% मात्रै हुन्छ। मानव प्रजाति (होमो सेपिएन्स) को सबैभन्दा नजिकको नातेदार चिम्पान्जीलाई हेर्ने हो भने पूर्वी र पश्चिमी अफ्रिकामा भेटिने चिम्पान्जीहरूमा नै आनुवंशिक भिन्नता सरदर १.२% प्रतिशत हुन्छ। अर्थात्,अफ्रिकाकै दुई चिम्पान्जी बीचको भिन्नता; युरोप, एसिया, अमेरिका र अफ्रिकाका मानिसबीचको भिन्नताभन्दा दश गुणा बढी हुन्छ। मानव प्रजातिको डिएनएमा विविधता यसरी खुम्चनुको रहस्य मानव प्रजातिको विकाश क्रमलाई नियाल्दा भेटिन्छ।
साझा पुर्खाबाट झन्डै ५० लाख वर्ष अगाडी छुट्टिएका हुन् भन्ने मानिन्छ मानव प्रजाति र चिम्पान्जी। अहिलेसम्म भेटिएका प्रमाणहरूको आधारमा कुनै साझा पुर्खाबाट झन्डै ५-८ लाख वर्ष अगाडी होमो सेपिएन्स अरू समकालीन मानव प्रजातिहरू (नेयन्डरथल, डेनिसोभियन) बाट छुट्टिएका हुन भन्ने अनुमान गरिन्छ। हामी होमो सेपिएन्सको सबैभन्दा पुरानो प्रमाणचाहिँ विभिन्न ठाउँ (मोरोक्को, दक्षिण अफ्रिका) मा झन्डै तीन लाख वर्ष अगाडी को भेटिन्छ। अफ्रिकाबाट चार लाख वर्ष अघि नै बाहिर निस्केर एसिया-युरोप पुगेका सह-प्रजाति र होमो सेपिएन्सको पुनर्मिलन ४०-५० हजार वर्षअघि मात्रै भएको हो, जसको प्रमाण अझै पनि अफ्रिका बाहिरका हामी धेरैमा भेटिन्छ।
मानव प्रजाति लामो समयसम्म अफ्रिकामा नै बसिरहे र पहिलो पटक अफ्रिका बाहिर छिटपुट रूपमा झन्डै एक लाख वर्ष अगाडी मात्रै निस्कन सुरु गरेका थिए भनेर मान्ने गरिन्छ। अफ्रिकाकाका विभिन्न भूभागमा ससाना समूहमा बसोबास गरेका मानव प्रजातिले आफ्ना स्थानीय वातावरणअनुसार क्रमशः आनुवंशिक विविधता विकास गर्दै गएका थिए। यसै कारण हाम्रो सरदरमा हुने ०.१ प्रतिशत आनुवंशिक विविधतामध्ये अधिकांश भिन्नता नै अहिले पनि अफ्रिकामा नै भेटिन्छ।
मानव प्रजाति विकाशमा बोटलनेकका कारण: टोबा ज्वालामुखी विस्फोट
मानव प्रजाति विकाश क्रमको इतिहास अध्ययन गर्दा लामो समय अफ्रिकाको विभिन्न ठाउँमा भिन्नभिन्न वातावरणमा विकाश भएका मानिसको पुर्खाहरूको सङ्ख्या विभिन्न समयमा ह्वात्तै घटेर निकै कम भएको स्पष्ट प्रमाण भेटाउन सकिन्छ। झन्डै ७०-८० हजार वर्षअघि प्रजनन गर्न सक्ने मानिसको 'प्रभावी जनसङ्ख्या आकार' घटेर २-१० हजार जना भन्दा बढी बाँचेका थिएनन् भन्ने धारणा धेरै वैज्ञानिक अध्ययनले राख्ने गरेको पाइन्छ।
मानव इतिहासमा हुन गएको यो गम्भीर आनुवंशिक बोटलनेकको घटनाले केवल हाम्रो पुर्खाको सङ्ख्या मात्रै घटाएन, यसले हाम्रो आनुवंशिक बनावटलाई स्थायी रूपमा परिवर्तन गरिदियो।
मानव प्रजातिमा देखिएको अत्यधिक कम आनुवंशिक विविधताको कारणहरूको रहस्य खोतल्दा करिब ७० हजार देखी १ लाख वर्षअघि यो बोटलनेकको आनुवंशिक प्रमाण भेटिन्छ। बोटलनेकको कारण करिब ७४ हजार वर्षअघि इन्डोनेसियाको सुमात्रामा आएको टोबा ज्वालामुखी हो भन्ने धेरै जनाको धारणा छ।
अहिलेसम्म थाहा भएको सबैभन्दा ठुलो यो ज्वालामुखी विस्फोटले वायुमण्डलमा ठुलो मात्राको सल्फर ग्यास थपिदिएको कारण संसारभर धेरै वर्ष 'ज्वालामुखी जाडो' (भोल्कानिक विन्टर) ल्याएको थियो। एकै पटक घटेको तापक्रम र प्रकाशको अभावमा भएको खाद्यान्न सङ्कटले गर्दा मानव प्रजातिको प्रभावी जनसङ्ख्या आकार घटेको मान्ने एकथरी धारणा छ। यद्यपि, एसियामै पाइएका अरू मानव सहप्रजातिमा खासै ह्रास नआएको हुनाले टोबा ज्वालामुखीलाई नै बोटलनेकको ठोस कारण हो भनेर मान्न भने सकिँदैन।
मानव प्रजाति विकाशमा बोटलनेकका कारण: संस्थापक प्रभाव
आनुवंशिक बोटलनेकको महत्त्वपूर्ण कारण अफ्रिकाबाहिर बसाइसराइको क्रममा उत्पन्न भएको संस्थापक प्रभाव (फाउन्डर इफेक्ट) हो। अफ्रिकाबाट मानव प्रजातिको निकै सानो समूह बाहिर निस्केर एसिया-युरोप हुँदै बाँकी विश्वमा फैलिएको हो भनेर मान्ने आनुवंशिक आधारहरू पनि छन्। महिलाको अण्ड/भ्रूणबाट सबै सन्तानमा जाने माइटोकोन्ड्रिया (कोषभित्रको एउटा सानो संरचना) भित्रको डिएनए अथवा सबै पुरुषहरूमा भेटिने वाई-क्रोमोजोममा समानता भेटिन्छ।
अफ्रिका बाहिरका सबै जानाको पुर्खा एउटै साझा आमा-बुवा भन्ने एक किसिमको धारणा पनि छ। जीव विज्ञानीहरूले कहिलेकाहीँ हामी सबैको साझा आमाबुवालाई क्रमशः माइटोकन्ड्रियल ईभ र क्रोमोसोमल एडम पनि भन्ने गरेका छन्। यसलाई यसरी बुझ्न सकिन्छ-अफ्रिकाको कुनै सानो मूल समूह मात्रै अफ्रिका बाहिर गएर तिनैबाट जन्मेका हुन् अहिलेका आधुनिक मानिसहरू। अहिले गैर-अफ्रिकीहरूमा देखिने खुम्चिएको आनुवंशिक विविधता धेरै हदसम्म यो संस्थापक प्रभावको परिणाम हो।
मानव प्रजातिमा धेरै एकरूपता भेटिन्छ, तर गहिरो आनुवंशिक इतिहासले हाम्रो विकाश क्रमको इतिहास अझै जटिल बनाउँछ। करिब ६०–७० हजार वर्षअघि अफ्रिकाबाट बाहिर निस्केको मानव प्रजातिको यो सानो पुर्खा-समूह अगाडि बढ्दै नयाँ क्षेत्रहरूमा पुग्दा, त्यहाँबाट स्थानअनुसार साना उपसमूहहरू छुट्टिए। प्रत्येक प्रवासी उपसमूहले केवल प्रारम्भिक जनसङ्ख्याको सानो अंश लिएर पहिले एसिया-युरोपलगायत नयाँ क्षेत्रमा फैलिँदै गएको हो।
मानव प्रजाति संसारभर फैलिने क्रममा प्रारम्भिक उपसमूहहरूको क्रमिक विलुप्तिले पनि आधुनिक मानवमा आनुवंशिक विविधता घटाउन योगदान पुर्याएको छ। यसरी सुरु भएको क्रमिक प्रक्रियाले गर्दा नै हाम्रो प्रजाति संसारभर फैलिएको भए पनि आनुवंशिक विविधता अरू स्तनधारी जनवारका प्रजातिहरूभन्दा निकै कम भएको हो।
विकाश क्रममा समान बोटलनेकहरू सामना गर्दै र सीमित संस्थापक समूह अफ्रिकाबाट बाहिर निस्केर विलुप्त हुनबाट जोगियो मानव प्रजाति, तथापि यसैको कारण क्यान्सरजस्ता रोगहरूसँग लड्ने हाम्रो जन्मजात क्षमतालाई भने प्रभावित गर्यो भन्न सकिन्छ।
मानव प्रजातिको विकाशमा बोटलनेकका आधार
करिब ४५-६० हजार वर्ष पहिले त्यो सानो संस्थापक समूहले मानव जातिलाई विलुप्त हुनबाट जोगाए पनि त्यसैको कारण क्यान्सरजस्ता रोगहरूसँग लड्ने हाम्रो जन्मजात क्षमतालाई प्रभावित गरेको भन्न सकिन्छ।
यसरी, अफ्रिकाबाट बाहिर निस्केर हाम्रो प्रजातिको डिएनएको अनुसन्धान गर्दा आनुवंशिक बोटलनेकका ठोस आधारहरू भेटिन्छ। जस्तै: जिनहरूको अत्यन्त कम सङ्ख्या, जिनहरू एकसाथ हुने प्रवृत्ति र जिनहरूको एक ठाउँमा मिल्ने समय। कुनै बेला यस्तो बोटलनेक थियो भनेर पुर्खाको अस्थिपञ्जरको अध्ययनबाट थाहा भएको भने होइन, जीव विज्ञानीहरूले डिएनएको सोध गरेर थाह पाएका हुन्।
मानिसहरू र अरू धेरै स्तनधारी जीवको डिएनए तुलना गर्दा जिनहरूको सङ्ख्या एकदमै कम-जम्माजम्मी करिब तीस हजार जति मात्रै पुग्छ। जिनको सङ्ख्या कम हुनुमा सानो सङ्ख्याका पुर्खाहरूबाट प्रजाति क्रमिक विकाश भएको हो र धेरैजसो दुर्लभ जिनहरू हराएका पुर्खाहरूसँगै सधैँका लागि नष्ट भएर हराएर गएका हुन् भनेर बुझ्न सकिन्छ। हाम्रो प्रजाति सीमित पुर्खाबाट आएका हुन् भन्ने अर्को आधार जिनहरू एकसाथ हुने प्रवृत्ति (लिङ्केज डिसइक्विलिब्रियम) पनि हो। क्रोमोजोममा रहेका जिनहरू सामान्यतः प्रत्येक पुस्तामा पुस्तान्तरण हुँदा एक अर्काबाट क्रमिक रूपमा अलग हुँदै जाने गर्छन्। तर, पुर्ख्यौली जनसङ्ख्या सानो हुँदा यो प्रक्रिया धेरै ढिलो हुन्छ। परिणाम स्वरूप, हाम्रो क्रोमोजोममा लामो समयदेखि एक अर्काबाट अलग भइसक्नुपर्ने जिनका खण्डहरू पनि आजसम्म एकसाथ जोडिएर बसेको भेटिन्छ।
आनुवंशिक बोटलनेकको अर्को आधार जिनहरूको एक ठाउँमा मिल्ने समय (कोएलेसेन्स टाइम) हो। हामीले डिएनएमा भएका जुनसुकै जिनलाई पछाडि फर्किएर अनुसन्धान गर्दा, ती सबै जिनहरू कुनै एक साझा पुर्खामा गएर मिल्छन्। जनसङ्ख्या सानो भएको खण्डमा, यो 'मिल्ने समय' निकै छोटो हुन्छ। आधुनिक मानिसको जिनहरूको विश्लेषणले हाम्रा सबै पुर्खा निकै छोटो समयअघि एउटै सानो समूहबाट विकाश भएका थिए, जसले थोरै हजारको सङ्ख्यामा रहेको प्रजनन जनसङ्ख्याको अवधारणालाई पुष्टि गर्छ।
खुम्चिएको आनुवंशिक विविधता र क्यान्सरसँगको सम्बन्ध
मानव प्रजाति विकाशमा बोटलनेकको सबैभन्दा ठुलो परिणाम आनुवंशिक बहाव (जेनेटिक ड्रिफ्ट) हो। सानासाना उपसमूह बनाउँदै छुट्टिएर भिन्नभिन्न ठाउँमा पुगेका मानिसहरूमा प्रजनन हुँदा अन्तर-प्रजनन हुने सम्भावना बढेर गयो। ठुलो जनसङ्ख्यामा, प्राकृतिक छनोटले सजिलै हानिकारक उत्परिवर्तनहरू (डिलिटेरियस म्युटेसन्स) लाई हटाउन सक्छ, जसको सम्भावना हाम्रो विकाश क्रमले नै गर्दा हराएर गयो।
अन्तर-प्रजनन अथवा एकै समुदायमा विवाह गर्ने चलन आधुनिक मानिसमा अझै देखिन्छ। क्यान्सरको जोखिम बढाउने केही उत्परिवर्तनहरू (जस्तै: केही ट्युमर सप्रेसर जिनमा हुने खराबीहरू) यस्तै अप्रभावकारी रूपमा रहेका हुन्छन्। अन्तरप्रजननले गर्दा पहिले लुकेका वा अप्रभावकारी (रिसेसिभ) हानिकारक जिनहरू सन्तानमा एकसाथ देखा पर्ने सम्भावना बढ्छ। यी बोटलनेकको कारणले यस्ता हानिकारक जिनहरूको आवृत्ति (फ्रिक्वेन्सी) जनसङ्ख्यामा बढ्दै गएको अर्को पक्ष पनि हो।
हात्तीजस्ता ठूला जीवहरूले क्यान्सर प्रतिरोधी जिनहरूको (जस्तै पी-५३ जिनको अतिरिक्त प्रतिलिपि) सङ्ख्या बढाएर यो खतरालाई टारे। त्यस्तै अर्को भीमकाय प्रजाति ह्वेलमा डीएनएको उत्परिवर्तन वा क्षतिविरुद्ध लड्ने थप संयन्त्र बनाएको हुन्छ। मानव प्रजातिमा सीमित आनुवंशिक विविधताका कारण त्यस्तो बलियो सुरक्षा संयन्त्रको विकास हुन सकेन।
खुम्चिएको एमएचसी विविधता र क्यान्सरको सम्बन्ध
हाम्रो प्रजातिमा देखिएको बोटलनेकको असर आनुवंशिक बहावको कारणले देखिएका नयाँ उत्परिवर्तनमात्रै भने होइन। क्यान्सरलगायत अन्य रोगहरूको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण जिनहरूको समूह मेजर हिस्टोकम्प्याटीबिलिटी कम्प्लेक्स (एमएचसी) हुन्छ, मानिसमा त्यसैलाई ह्युमेन ल्युकोषाइट एन्टिजिन (एचएलए) भनिन्छ। यी जिनहरूले शरीरका कोषहरूलाई 'आफ्नो' र 'बाह्य' (जस्तै क्यान्सर कोष, भाइरस) चिन्न र फरक छुट्टाउन महत्त्वपूर्ण भूमिका खेल्छन्।
भाइरस, ब्याक्टेरिया र ट्युमर–कोषहरूलाई चिन्ने 'मोलिक्युलर आइडी कार्ड'जस्तै यी एमएचसीहरूको जति धेरै संस्करणहरू कुनै जनसङ्ख्यामा हुन्छन्, उत्कृष्ट प्रतिरक्षा प्रणाली विकास हुने सम्भावना पनि त्यति नै बढी हुन्छ। क्यान्सरग्रस्त कोषले असामान्य वा उत्परिवर्तन प्रोटिनहरू उत्पादन गर्छ, जसलाई एचएलएका अणुहरूले ती टुक्राहरूलाई समातेर क्यान्सरसँग लड्ने कोष (टी-सेल) हरूको बाहिरी सतहमा प्रदर्शन गर्छन्।
एमएचसी-विविधता नै विकास क्रममा रोग–प्रतिरोध क्षमताको प्रमुख आधार भएको कारण यी जिनहरू सम्पूर्ण जिनोममा सबैभन्दा बढी बहुरूपी (पोलिमोर्फिक) अर्थात् धेरै विविधता भएका जिनहरू हुन्। तर मानव प्रजातिमा समस्या यहीँ देखिन्छ- हामीमध्ये धेरैको एचएलएमा विविधता एकदमै सीमित हुन्छ। अझै, अफ्रिकाका मूलवासी जनसङ्ख्यामा एचएलएको विविधता धेरै बढी हुन्छ भने बाहिरिएका समूहहरूमा यो दायरा क्रमशः घट्दै गएको भेटिन्छ।
आनुवंशिक बोटलनेकको परिणामस्वरूप एचएलए जिनहरूमा भएको विविधताको क्षय हुँदै जाँदा प्रत्येक क्यान्सरजन्य टुक्राहरूलाई प्रस्तुति गर्ने क्षमतालाई सीमित गरिदिन्छ। एचएलएको जेनेटिक विविधता कम भएपछि नयाँ वा असामान्य क्यान्सर उत्परिवर्तनहरूलाई चिनेर क्यान्सरसँग जुध्ने, टी-सेलसम्म पुर्याउने क्षमता भएका एचएलएका अणुहरू हुने सम्भावना क्रमशः घट्दै गएको हुन्छ। यसरी एमएचसीमा हुने क्रमिक क्षयलाई प्रतिरक्षा पहिचानमा 'छेद' भनेर पनि बुझ्न सकिन्छ। हाम्रो प्रजातिमा एचएलएको विविधता कम हुनाले क्यान्सरको विकास र विस्तारको जोखिम अरू स्तनधारी जनवारभन्दा अस्वाभाविक रूपमा बढ्न सक्छ।
पेटोको विरोधाभास र खुम्चिएको आनुवंशिक विविधतासँग क्यान्सर सम्बन्ध
समग्रमा भन्दा शरीरका कोषहरूको विद्रोह मात्र होइन क्यान्सर, हाम्रो प्रजाति-विकासको इतिहासले छोडेको एउटा विरोधाभासको छाया पनि हो। हात्ती र ह्वेलजस्ता ठुला प्राणीले शरीरका अर्बौं कोषहरू हुँदाहुँदै पनि क्यान्सरको जोखिम घटाउने विकासीय संयन्त्रहरू निर्माण गरेजस्तै पी-५३ जिनको प्रतिलिपि वृद्धि, डीएनए मर्मतका अतिरिक्त प्रणालीहरू र ट्युमर–सप्रेसरहरूको दोहोरो सक्रियता। मानव प्रजातिले त्यस्तो विकासीय अवसर भिन्नभिन्न कारणले आएको आनुवंशिक बोटलनेककै कारण गुमाएको छ।
पेटोले देखेको मुसा र मानवबीचको विरोधाभास पनि रोचक छ। मुसामा कोष विभाजन तीव्र हुन्छ, जीवन छोटो र उत्परिवर्तन दर उच्च। त्यसैले, ट्युमर तीव्र रूपमा देखा पर्छ। मानिस लामो समयसम्म बाँच्ने भएकाले ट्युमरहरू बिस्तारै विकसित हुन्छन् र प्रतिरक्षा प्रणालीले लामो समय सामना गर्नुपर्छ। एमएचसी र डिएनए–मर्मत संयन्त्रहरूको विविधता सीमित हुँदा, त्यही लामो जीवनकाल नयाँ कमजोरी बन्छ-शरीरले उत्परिवर्तनको सञ्चित परिणाम/समग्र परिणामलाई नियन्त्रण गर्न सक्दैन।
त्यसैले पेटोको विरोधाभास केवल प्रजातिहरूबीचको विरोधाभास होइन, यो हामी भित्रैको विरोधाभास पनि हो। हामीसँग बौद्धिक रूपमा विकसित दिमाग र औषधि निर्माण गर्ने क्षमता छ, तर विकासका रूपमा हामी अझै पनि एउटा सानो र आनुवंशिक रूपमा सीमित समूहका सन्तान हौँ, जसले गर्दा क्यान्सरजस्ता रोगहरूलाई रोक्ने जैविक ढालहरू विकास गर्ने मौका गुमाएका छौँ।
(खतिवडा, कोलम्बिया युनिभर्सिटीमा पोस्टडक्टरल इम्युनोलोजीमा रिसर्च गर्दैछन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
