लोकतन्त्रको शक्ति संसद्को आकारमा नभई त्यहाँ उठ्ने प्रश्न र गरिने छलफलको स्वतन्त्रतामा निहित हुन्छ। सांसदहरूले प्रश्न गर्न छोडे संसद् त रहला, यसको लोकतान्त्रिक अर्थ भने हराउँदै जान्छ।
पछिल्ला केही महिनादेखि प्रतिनिधिसभा एउटा राजनीतिक विवादमा अल्झिइरहेको छ। विवादको केन्द्र प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धबारे प्रतिनिधिसभामै दिएको एउटा अभिव्यक्ति बन्न पुग्यो। कैयौँ दिन सदनमा अनुपस्थित भएका, तर एकाएक एउटा बैठकमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन्छु भन्दै रोष्ट्रममा उभिएका शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको बताएका थिए। उनको भनाइले संसद् र सार्वजनिक बहसमा तीव्र प्रतिक्रिया जन्मायो। विपक्षी दलहरूले प्रधानमन्त्रीले भनाइ सच्याउनुपर्ने, संसद्मा स्पष्टीकरण दिनुपर्ने र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गर्दै आए।
प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर स्पष्ट पार्नुपर्ने विपक्षीहरूको अडानबीच यति लामो समयसम्म संसद् अवरुद्ध भइरहँदा पनि सरकारबाट विवाद सम्बोधन गर्ने तत्परता नदेखिनु संसदीय उत्तरदायित्वमाथि प्रश्न बन्यो। तर हालै सभामुखले विपक्षीले उठाउँदै आएको विषय सम्बोधन गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन्। यससँगै जारी संसद् अवरोध अन्त्य हुने सम्भावना देखिएको छ।
प्रधानमन्त्रीले संसद्मा प्रश्नको सामना गर्नु लोकतन्त्रमा नौलो कुरा होइन। यो संसदीय उत्तरदायित्वको सामान्य प्रक्रिया हो। तर एउटा अभिव्यक्तिका कारण संसद् अवरुद्ध हुनु र त्यसबारे संसद्मा जवाफ दिन लगाउन यति लामो विरोधको अवस्था आउनु भने असामान्य हो।
यस घटनाले अर्को गम्भीर प्रश्न उठाएको छ। प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सही वा गलत भनेर तथ्यका आधारमा परीक्षण गर्ने जिम्मेवारी सांसदहरूको हो। तर आफ्नै पार्टीका भएकै कारण सत्तारूढ दलका सांसदले उनको भनाइको समर्थन गरिरहे। उनीहरू त्यो भनाइ गलत हो भन्न तयार भएनन्, न त सही हो भनेर पुष्टि गर्ने तथ्य नै प्रस्तुत गर्न सके। के सत्ता र शक्ति यति प्रभावशाली हुन्छ, जसले सांसदको विवेकलाई बन्धक बनाइदिन सक्छ? यहीँबाट यो प्रश्न केवल सीमा वा एउटा अभिव्यक्तिमा सीमित रहँदैन। यो संसद्को लोकतान्त्रिक विवेक, सांसदहरूको स्वतन्त्र निर्णय क्षमता र दलगत निष्ठाको सीमाबारेको गम्भीर प्रश्न बन्न पुग्छ।
सस्तो अभिव्यक्ति प्रधानमन्त्रीको
नेपाल–भारत सीमा सम्बन्धी प्रश्न कुनै सामान्य राजनीतिक बहसको विषय होइन। यो नेपालको सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, भू–राजनीतिक अवस्थिति र ऐतिहासिक अधिकारसँग गाँसिएको विषय हो। त्यसैले यस्ता विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति केवल घरेलु राजनीतिक टिप्पणीमा सीमित रहँदैन; यसले राज्यको आधिकारिक धारणा, कूटनीतिक संकेत र सन्देशको स्वरूप लिन सक्छ।
सन् १८१६ को सुगौली सन्धिपछि नेपालको पश्चिमी सीमा काली नदीलाई मानिएको छ। ऐतिहासिक नक्सा, प्रशासनिक अभिलेख र अन्य दस्तावेजका आधारमा नेपालले सन् २०२० मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा जारी गर्यो, जसलाई संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गर्यो। यससँगै यो विषय राज्यको आधिकारिक धारणा र राष्ट्रिय सहमतिको विषय बनेको छ। त्यसैले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य राजनीतिक टिप्पणीका रूपमा मात्र लिन मिल्दैन। संसद्मा उनले बोलेका शब्दले नेपालको कूटनीतिक अडान र अन्तर्राष्ट्रिय धारणामा समेत प्रभाव पार्न सक्छ। पछि फरक अर्थ लगाइए वा स्पष्टीकरण दिइए पनि प्रधानमन्त्रीले के भने, आशय के थियो र त्यो नेपालको आधिकारिक अडानसँग कसरी मेल खान्छ भन्ने स्पष्टता आवश्यक हुन्छ।
कूटनीतिमा राज्यको आवाज उसका नेताहरूमार्फत व्यक्त हुन्छ, त्यसैले अन्तर्राष्ट्रिय सम्बन्धमा शब्दहरूको छनोट सावधानीपूर्वक गरिन्छ। संसद्मा आज बोलेको एउटा वाक्य भोलि कूटनीतिक अभिलेख बन्न सक्छ र भविष्यका वार्ता, दाबी–प्रतिदाबी तथा अन्तर्राष्ट्रिय बहसमा सन्दर्भका रूपमा प्रयोग हुन सक्छ। अन्तर्राष्ट्रिय राजनीतिमा शब्दहरूको पनि रणनीतिक अर्थ हुन्छ। त्यसैले यस्ता विवादास्पद शब्दलाई हल्का रूपमा लिन मिल्दैन। एउटा अभिव्यक्ति आफैमा नेपालको आधिकारिक सीमा परिवर्तन गर्ने कानुनी दस्तावेज नबन्ला, तर त्यसले नेपालको अडानलाई राजनीतिक र कूटनीतिक रूपमा कमजोर पार्ने व्याख्याका लागि ठाउँ दिन सक्छ। यसैले यस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीबाट स्पष्ट, जिम्मेवार र प्रमाणमा आधारित अभिव्यक्ति अपेक्षित हुन्छ।
लोकतान्त्रिक शासन प्रणालीमा सरकार र प्रधानमन्त्री परिवर्तन हुन सक्छन्, तर राष्ट्रिय हितसँग जोडिएका आधारभूत नीतिमा निरन्तरता र संस्थागत स्थिरता अपेक्षित हुन्छ। अन्यथा राज्यको आधिकारिक धारणा र नेतृत्वका व्यक्तिगत अभिव्यक्तिबीच अन्तर देखिन थाल्छ, जसले राष्ट्रिय विश्वसनीयतालाई कमजोर बनाउँछ। त्यसैले सीमासम्बन्धी प्रश्न उनको भनाइ सही थियो वा गलत भन्नेमा मात्र सीमित हुँदैन। यदि उनको अभिव्यक्ति गलत, अस्पष्ट वा भ्रमपूर्ण भए त्यसलाई सच्याउन संसद र विशेषतः सत्तापक्षका सांसदहरूले कस्तो भूमिका खेले भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ।
दलका प्रवक्ता कि जनताका प्रतिनिधि?
देशको सीमा जस्तो राष्ट्रिय महत्वको विषयमा प्रधानमन्त्री वा सरकारको कुनै धारणा विवादास्पद देखिए त्यसलाई परीक्षण गर्ने जिम्मेवारी कसको हो? लोकतान्त्रिक व्यवस्थामा उत्तर स्पष्ट छ—संसद् र सांसदहरूको। यदि त्यसो हो भने अर्को प्रश्न उठ्छ—सांसदहरू कसका प्रतिनिधि हुन्? पार्टीका, नेताका, प्रधानमन्त्रीका कि जनताका?
राजनीतिक चिन्तनको इतिहासमा यस विषयमा लामो बहस हुँदै आएको छ। अठारौँ शताब्दीका ब्रिटिश राजनीतिक चिन्तक तथा सांसद एडमन्ड बर्कले ब्रिस्टलका मतदातालाई सम्बोधन गर्दै प्रतिनिधित्वको प्रभावशाली सिद्धान्त अघि सारेका थिए। उनका अनुसार सांसद मतदाताको आदेश पालना गर्ने प्रतिनिधि मात्र होइन, राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राख्दै स्वतन्त्र विवेक प्रयोग गर्ने प्रतिनिधि पनि हो। बर्कका अनुसार सांसदले मतदाताको सेवा आफ्नो श्रमले मात्र होइन, आफ्नो विवेकले पनि गर्छ। आफ्नो निर्णय क्षमता अरू कसैलाई सुम्पिएर उसले मतदाताको सेवा गर्न सक्दैन। त्यसो गरेको खण्डमा उसले मतदाताको सेवा होइन, उनीहरूले गरेको विश्वासमाथि विश्वासघात गरिरहेको हुन्छ।
बर्कको यो धारणा अहिलेको सीमासम्बन्धी विवादमा विशेष अर्थपूर्ण हुन्छ। संसद्मा निर्वाचित भएपछि सांसद पार्टी नेतृत्वको मात्र प्रतिनिधि रहँदैन; उसले संविधान, सार्वजनिक हित र राष्ट्रिय हितप्रति पनि उत्तरदायित्व वहन गर्छ। यो सिद्धान्त विशेषतः सीमा, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र विदेश नीतिजस्ता विषयमा अझ सान्दर्भिक हुन्छ। यस्ता विषयमा सांसदको भूमिका पार्टीको धारणा दोहोर्याउनु मात्र होइन, सरकारका दाबी, तर्क र अभिव्यक्तिलाई राष्ट्रिय हितको दृष्टिकोणबाट परीक्षण गर्नु पनि हो।
प्रधानमन्त्रीले सीमाको विषयमा गलत बोलेका छन् भने आफ्नै पार्टीका सांसदले पनि त्यसलाई गलत भन्न सक्नुपर्छ। उनी सही छन् भने तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजका आधारमा त्यसको पुष्टि गर्न सक्नुपर्छ। तर ‘प्रधानमन्त्रीले भनेका कारण सही’ भन्ने तर्कले संसदीय विवेकको स्थान लिन सक्दैन।
सीमासम्बन्धी विवादित अभिव्यक्तिले सत्तापक्षका सांसदहरूको भूमिकालाई पनि प्रश्नको घेरामा ल्याउँछ। आफूलाई ‘पुराना दलहरूको अन्धअनुशासन, नेतृत्वपूजा र विचारहीन दलगत निष्ठाको विकल्प’का रूपमा प्रस्तुत गर्ने राजनीतिक शक्तिबाट आलोचनात्मक विवेकको अपेक्षा अझ बढी हुन्छ। ‘नयाँ’ राजनीतिक दल हुनु मात्र पर्याप्त हुँदैन, नयाँ राजनीतिक संस्कृतिको अभ्यास पनि देखिनुपर्छ। सत्तापक्षका सांसदहरू प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्यसको तथ्यगत परीक्षण गर्नुभन्दा त्यसलाई पुष्टि गर्ने प्रमाणको खोजीतर्फ उन्मुख देखिए। यस्तो व्यवहारले उनीहरूको राजनीतिक प्रतिक्रियालाई मात्र होइन, वैकल्पिक राजनीतिका रूपमा गरिएको दाबीलाई समेत प्रश्नको घेरामा ल्याएको छ।
लोकतन्त्रमा सांसदको पहिलो कर्तव्य कुनै नेता वा सरकारको बचाउ गर्नु होइन; सत्य र तथ्यको परीक्षण गर्नु हो। यदि निष्कर्ष पहिले बनाइन्छ र त्यसलाई पुष्टि गर्न प्रमाण पछि खोजिन्छ भने त्यो अनुसन्धान होइन, वकालत हो। सांसद राष्ट्रका प्रतिनिधि हुन्, कुनै राजनीतिक नेतृत्वका कानूनी वा राजनीतिक वकिल होइनन्। वकिलले आफ्नो पक्षको बचाउ गर्छ; सांसदले सार्वजनिक हितको परीक्षण गर्नुपर्छ।
अन्धसमर्थनको मनोविज्ञान
राजनीतिक व्यवहार सधैँ सिद्धान्तअनुसार चल्दैन। सामाजिक मनोविज्ञानले देखाउँछ—मानिसहरू कतिपय अवस्थामा सत्यभन्दा समूहप्रति बढी वफादार हुन सक्छन्। अमेरिकी मनोवैज्ञानिक इरभिङ जानिसको समूहचिन्तन सिद्धान्तले यही प्रवृत्तिलाई व्याख्या गर्छ। कुनै समूहमा नेतृत्वप्रति अत्यधिक भक्ति र वफादारीको दबाब बढ्दै जाँदा आलोचनात्मक प्रश्न र असहमति असहज बन्न थाल्छन्। नेतृत्वसँग असहमत हुनुलाई समूहविरोधी व्यवहारका रूपमा हेर्न थालिएपछि सदस्यहरू स्वतन्त्ररूपमा सोच्न र गलत निर्णयलाई चुनौती दिन हिच्किचाउँछन्। परिणामतः समूहभित्र आलोचनात्मक परीक्षणको वातावरण कमजोर हुँदै जान्छ।
राजनीतिक दलमा यसको परिणाम अझ गम्भीर हुन सक्छ, किनकि सांसदको राजनीतिक भविष्य, उम्मेदवारी, पार्टीभित्र आफ्नो स्थान र सार्वजनिक पहिचान धेरै हदसम्म नेतृत्व र संगठनसँग जोडिएको हुन्छ। स्वतन्त्र विवेक प्रयोग गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने डरले सांसदले आफ्नै मनमा प्रश्न उठाए पनि सार्वजनिक रूपमा व्यक्त गर्न नसक्ने अवस्था आउन सक्छ। बिस्तारै प्रश्न गर्ने क्षमता, असहमति जनाउने साहस र गलतलाई गलत भन्ने नैतिक जिम्मेवारी कमजोर हुँदै जान्छ। यस्तो अवस्था झन् खतरनाक हुन्छ, किनकि गलत निर्णयको मूल्य कुनै एक नेता वा दलले होइन, सम्पूर्ण राष्ट्रले चुकाउनुपर्ने हुन सक्छ।
प्रभावशाली राजनीतिक दार्शनिक तथा चिन्तक हन्ना अरेन्टको विचार यहाँ सान्दर्भिक देखिन्छ। अरेन्टका अनुसार समाजका सबैभन्दा खतरनाक संकटहरू सधैं खराब नियत भएका मानिसहरूबाट मात्र उत्पन्न हुँदैनन्; कहिलेकाहीँ स्वतन्त्र रूपमा सोच्न छोडेका, आदेशलाई बिना प्रश्न स्वीकार गर्ने र आफ्नो नैतिक विवेक अरूलाई सुम्पिएका मानिसहरूबाट पनि उत्पन्न हुन्छन्। अरेन्टको यो चेतावनीलाई राजनीतिक दलभित्रको अन्धनिष्ठासँग जोडेर हेर्दा एउटा कुरा स्पष्ट हुन्छ—लोकतन्त्रका लागि गलत नेता मात्र समस्या होइनन्; गलत कुरा देख्दा पनि प्रश्न गर्न नसक्ने अनुयायी पनि उत्तिकै समस्या हुन्। लोकतन्त्रमाथि खतरा गलत निर्णयबाट मात्र आउँदैन; निर्णयमाथि प्रश्न गर्ने क्षमता हराउनु पनि उत्तिकै गम्भीर खतरा हो। किनभने प्रश्न गर्ने क्षमता नै लोकतान्त्रिक विवेकको आधार हो।
यदि सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई तथ्य, इतिहास र राष्ट्रिय हितका आधारमा मूल्याङ्कन गरेर सही ठानी समर्थन गरेका हुन् भने त्यो लोकतान्त्रिक अभ्यासको स्वाभाविक अभिव्यक्ति हुन सक्छ। तर समर्थनको आधार प्रधानमन्त्रीको नेतृत्वप्रतिको भक्ति मात्र हो भने त्यसले उनीहरूले आफूलाई प्रस्तुत गर्दै आएको ‘वैकल्पिक राजनीति’को दाबीमाथि नै प्रश्न उठाउँछ।
लोकतन्त्रमा सांसदको सर्वोच्च गुण वफादारी होइन, विवेक हो। आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने क्षमता नै वास्तविक राजनीतिक परिपक्वताको परिचायक हो। विपक्षीलाई प्रश्न गर्न सजिलो हुन्छ; आफ्नै नेतालाई प्रश्न गर्न कठिन। तर लोकतन्त्रको वास्तविक परीक्षा त्यही कठिन ठाउँमा हुन्छ। लोकतन्त्र विपक्षीको आलोचनाले होइन, सत्तापक्षभित्र आत्मालोचना र प्रश्न गर्ने संस्कृतिको अभावले पनि कमजोर हुन्छ। त्यसैले आफूलाई ‘वैकल्पिक राजनीतिका वाहक’का रूपमा प्रस्तुत गर्दै आएको दल लोकतान्त्रिक मूल्य, प्रक्रिया र संस्थालाई सुदृढ बनाउने दिशामा अघि बढिरहेको छ कि तिनको विवेक कमजोर पार्ने बाटोमा छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ। यसको उत्तर खोज्नु केवल सत्तारूढ दलमाथिको राजनीतिक बहस होइन; लोकतन्त्रको स्वास्थ्य र भविष्यसँग जोडिएको सार्वजनिक जिम्मेवारी हो।
लोकतन्त्रको मौन संकट
जब सांसदहरूले स्वतन्त्र विवेक प्रयोग गर्ने संरक्षकको भूमिका त्याग्न थाल्छन्, उनीहरू क्रमशः जनताका प्रतिनिधिभन्दा पार्टी नेतृत्वका प्रतिनिधि बन्न पुग्छन्। त्यसपछि उनीहरूको जवाफदेहिता मतदाता, संविधान र राष्ट्रिय हितप्रति भन्दा पार्टी नेतृत्वप्रति केन्द्रित हुन थाल्छ। यसले लोकतन्त्रको संस्थागत सन्तुलनलाई कमजोर बनाउँदै लैजान्छ।
यस्तो अवस्थामा लोकतान्त्रिक बहसको स्वरूपसमेत बदलिन्छ—सत्यको राजनीतिकरण शुरू हुन्छ। तथ्यहरू स्वतन्त्र मूल्याङ्कनका आधारमा होइन, राजनीतिक उपयोगिता र दलगत स्वार्थका दृष्टिले व्याख्या हुन थाल्छन्। कुनै कुरा सत्य हो वा होइन भन्ने प्रश्नभन्दा त्यसलाई कसले भन्यो भन्ने प्रश्न निर्णायक बन्न पुग्छ। परिणामतः सत्यको मापदण्ड प्रमाण, तथ्य र तर्कबाट राजनीतिक पहिचानतर्फ सर्न थाल्छ।
सीमा, सार्वभौमिकता र राष्ट्रिय हितजस्ता विषयमा यस्तो प्रवृत्ति झन् खतरनाक हुन्छ, किनभने यस्ता विषयमा राष्ट्रिय हितलाई दलगत हितभन्दा माथि राख्नुपर्छ। प्रधानमन्त्री गलत छन् भने उनलाई सच्याउनु राष्ट्रविरोधी काम होइन। गलत अभिव्यक्तिले राष्ट्रलाई सम्भावित क्षति पुर्याउन नदिनु राष्ट्रहित हो।
लोकतान्त्रिक क्षयीकरण प्रायः एकैपटक देखिँदैन। यसको शुरूआत प्रश्न गर्ने संस्कृतिको क्रमिक क्षयबाट हुन्छ। पहिले प्रश्न असहज हुन्छ। त्यसपछि असहमतिलाई अविश्वासको संकेत मानिन्छ। त्यसपछि आलोचकलाई विरोधी ठानिन्छ। अन्ततः दलभित्र सबैले एउटै कुरा भन्न थाल्छन्। बाहिरबाट हेर्दा यो एकता जस्तो देखिन्छ; तर भित्रबाट हेर्दा आलोचनात्मक विवेक क्षय भइसकेको हुन्छ।
राजनीतिक विज्ञानमा यस अवस्थालाई लोकतान्त्रिक खोक्रोपन वा लोकतान्त्रिक क्षयीकरणका रूपमा व्याख्या गरिन्छ। यस अवस्थामा लोकतन्त्रका संस्थागत संरचनाहरू बाह्य रूपमा जीवित देखिन्छन्, तर तिनको वास्तविक लोकतान्त्रिक आत्मा अर्थात् स्वतन्त्र बहस, आलोचनात्मक परीक्षण, जवाफदेहिता र सार्वजनिक विवेक क्रमशः कमजोर हुँदै जान्छ।
लोकतन्त्रको भविष्य
विवादास्पद अभिव्यक्तिको समर्थन गर्ने दल र सांसदहरूले बुझ्नुपर्ने कुरा हो—लोकतन्त्रको ठूलो खतरा विपक्षी दलको प्रश्न होइन, सत्तापक्षभित्रको मौनता हो । विपक्षीको काम प्रश्न गर्नु हो; सत्तापक्षका सांसदहरूको भूमिका सरकारका निर्णय र अभिव्यक्तिलाई संसदभित्र प्रश्न र परीक्षणको घेरामा ल्याउनु पनि हो। उनीहरूले सरकारलाई गलत हुनबाट जोगाउन सकेनन् भने संसद नियन्त्रण र सन्तुलन गर्ने संस्थाबाट सरकारको समर्थन गर्ने संस्थामा बदलिन सक्छ।
इतिहासले देखाएको छ—अधिनायकवादी प्रवृत्ति एकैदिन स्थापित हुँदैन। शुरूमा प्रश्नहरू हराउँछन्। त्यसपछि आलोचना हराउँछ। त्यसपछि सत्यभन्दा सत्ताप्रतिको भक्ति हावी हुन पुग्छ र अन्ततः नागरिकले लोकतान्त्रिक संस्थाप्रतिको विश्वास गुमाउन थाल्छन्। त्यसैले आजको प्रश्न सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याइन्छ कि सच्याइँदैन भन्नेमा मात्र सीमित छैन। त्यो त तत्काल समाधान गर्नुपर्ने प्रश्न हो। दीर्घकालीन प्रश्न भने हामी कस्तो संसदीय संस्कृति निर्माण गर्दैछौं भन्ने हो—आफ्ना नेताले जे भने पनि बचाउ गर्ने संसद् कि आफ्नै नेताले गलत बोलेमा पनि निर्भीकतापूर्वक ‘यो गलत हो’ भन्न सक्ने संसद्?
लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र विवेक प्रयोग गर्न सक्ने प्रतिनिधिहरू आवश्यक पर्छन्। राजनीतिक दलप्रतिको निष्ठा र पार्टी अनुशासन लोकतन्त्रका लागि आवश्यक हुन्छ; तर तिनले विवेक र सत्यको परीक्षणलाई विस्थापित गर्नु हुँदैन। नेतृत्वप्रतिको सम्मान आवश्यक छ; तर त्यसले नेतृत्वलाई गल्ती गर्न नसक्ने देवत्व प्रदान गर्नु हुँदैन। जनप्रतिनिधिहरूले प्रश्न गर्ने, आलोचनात्मक रूपमा सोच्ने र आवश्यक पर्दा असहमति जनाउने क्षमता गुमाउन थालेपछि लोकतन्त्र गम्भीर संकटतर्फ उन्मुख हुन्छ। राष्ट्रका लागि ठूलो जोखिम गलत निष्कर्षमा पुग्ने प्रतिनिधिहरूबाट मात्र हुँदैन; खतरनाक त ती प्रतिनिधिहरू पनि हुन्छन्, जसले पहिले निष्कर्ष तय गर्छन् र त्यसपछि त्यसलाई सही साबित गर्न प्रमाण र तर्क खोज्न थाल्छन्।
अहिलेको विवादको सबैभन्दा महत्वपूर्ण पाठ भनेको संसद्ले यही परीक्षण गर्न सक्नुपर्छ भन्ने हो। प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइको स्पष्टीकरण दिनुपर्छ, विपक्षीले प्रश्न गर्नुपर्छ र सत्तापक्षले पनि त्यसको वस्तुनिष्ठ परीक्षण गर्नुपर्छ। प्रधानमन्त्रीलाई गलत भन्न सक्ने विपक्षी लोकतन्त्रको शक्ति हो; सरकारका निर्णय र अभिव्यक्तिलाई सार्वजनिक उत्तरदायित्वको कसौटीमा जाँच्नु सत्तापक्षको कर्तव्य हो।
सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिको यो प्रकरण त्यसैले एउटा अभिव्यक्तिको विवादभन्दा ठूलो प्रश्न बनेको छ। यसले हाम्रो संसदीय संस्थाहरू कति स्वतन्त्र छन्, सांसदहरू कति स्वायत्त छन् र दलगत निष्ठाले लोकतान्त्रिक उत्तरदायित्वलाई कति प्रभावित गर्छ भन्ने देखाउने अवसर दिएको छ। अन्ततः लोकतन्त्रको शक्ति संसद्को आकारमा होइन, त्यहाँ उठ्ने प्रश्न र गरिने छलफलको स्वतन्त्रतामा निहित हुन्छ। सांसदहरूले प्रश्न गर्न छोडे पनि संसद त रहन्छ, तर त्यसको लोकतान्त्रिक अर्थ क्रमशः हराउँदै जान्छ। यदि त्यस्तो हुन गयो भने समस्या एउटा विवादित अभिव्यक्तिमा मात्र छैन—समस्या हाम्रो लोकतान्त्रिक विवेकमा पनि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
