काठमाडौँको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग

काठमाडाै महानगरले बिहान ९ देखि ११ बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म मुख्य चोकमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालेकाे छ।

फाइल फाेटाे

काठमाडौँ– काठमाडौँ महानगरले ट्राफिक व्यवस्थापनमा नगरप्रहरी खटाउन थालेको छ।

बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको हो। नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार बिहान ९ देखि ११ बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म मुख्य चोकमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो।

यो समयमा सडकमा सवारी साधनको चाप धेरै हुने गरेको छ। बुधबारदेखि कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा नगरप्रहरी परिचालन गरिएको महानगरले जनाएको छ। निर्वाचनका लागि नियुक्त भएका म्यादी प्रहरी पनि सवारी चाप समाधानका लागि प्रमुख चोकमा खटिएका छन्।

निर्वाचनलाई केन्द्रित गरेर सरकारले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ। काठमाडौं उपत्यकाका प्रमुख चोकमा सुरक्षाकर्मीको गस्ती देख्न सकिन्छ।