प्रचण्डलाई पत्र: तपाईंसँग यी प्रश्नको उत्तर छ?

जनताका धेरै प्रश्नका उत्तर तपाईंले दिनुहुने छैन। तर तपाईंलाई प्रश्न गर्न छोडिने छैन। यिनै प्रश्नहरूले यहाँलाई पिछा गरिरहनेछन्।

माननीय पुष्पकमल दाहाल (प्रचण्ड) ज्यु,
कांग्रेस र एमाले मिलेर नयाँ गठबन्धन बन्ने समाचार आएलगत्तैका केही हप्ता फरक मिडियामा कम्तीमा आधा दर्जनभन्दा बढी टिप्पणी/विश्लेषण तपाईंको राजनीतिक अवसानबारे आए। 'अब प्रचण्डको राजनीति सकियो' भन्ने विश्लेषण धेरैजसोको छ। यसैमाझ, एउटा युद्ध संचालन गरेर राजनीतिमा आएको र नेपाली समाजका केही आधारभूत चिन्तनमा धक्कासमेत दिन सफल विद्रोहको प्रमुख भएका नाताले केही प्रश्नहरू सोध्नु उचित लाग्यो।   

२०६३ यता तपाईंले दर्जनौँ पटक आफ्नो पार्टीमा सांस्कृतिक स्खलन र आर्थिक अपचलन भएको तथा दलाल पुँजीवादलाई पार्टीले चिर्न नसकेको भन्दै भाषण गर्नुभयो होला। अहिले पनि तपाईंको त्यस्ता अरण्यरोदन सुन्न पाइन्छ। तर त्यसो भनेर तपाईं स्वयंको ‘अल्टर इगो’ले आफैँलाई यस्ता आरोपहरू लगाएझैँ लाग्छ। देश र जनताको लागि केही गर्नुपर्छ भनेर युद्धमा होमिएका प्रचण्डले आर्थिक अपचलनबाट लिप्त भएका सत्तालिप्त पुष्पकमल दाहाललाई केही भनेजस्तो र व्यंग्य गरेजस्तो अभिव्यक्ति।

शुरू क्यान्टोनमेन्ट प्रकरणबाट गरौँ। २०६४ देखि २०६८ सालसम्म देशका विभिन्न क्यान्टोनमेन्टमा संयुक्त राष्ट्रसंघीय मिसन 'अनमिन'द्वारा प्रमाणित माओवादी लडाकुहरू राखिएको थियो। त्यस क्रममा लडाकुलाई राज्यले भरणपोषणका लागि दिएको पैसाको भाग खोसेको, हुँदै नभएको जनसेना देखाएर माओवादीले राज्यको पैसा लगेको भन्ने आरोप लाग्यो। त्यसमा अहिलेसम्म स्वतन्त्र अध्ययन भएको थाहा छैन। "यस प्रकरणमा दोषी देखिए आफू जेल जान तयार छु" भनेर पनि यहाँले बेलाबेला वक्तव्यबाजी गर्नुभयो, तर राज्यप्रणाली बलियो हुँदा जस्तासुकै भष्टाचारमा संलग्न व्यक्ति पनि जेल जानेथिए। "म जेल जान तयार छु" भन्ने खालका अभिव्यक्ति त दुनियाँलाई मूर्ख बनाउने अभिव्यक्तिमात्र हो। दोषी देखिएपछि जान तयार नभए पनि राज्यले ङ्याँकिहाल्छ नि! 

अब पसौं तपाईंको डेरामा। जनयुद्ध बिसाएर राजधानी छिरेसँगै घर किनेर बस्नुभन्दा आलिसान डेराहरूमै बस्न रुचाउनुभयो तपाईं। नयाँ बजारबाट शुरू भएको यहाँको डेरायात्रा खुमल्टारसम्म आइपुगेको छ। उहिले नै यहाँको लाजिम्पाटस्थित डेराको चकाचौँधबारे टिप्पणी गर्दा एक जना साथीले भनेको सम्झिन्छु, "अरे यार, त्यति ठुलो नेता, एउटा राम्रो घरमा बस्न पनि नपाउने?" समर्थकहरू प्राय: सबैको त्यस्तै जवाफ रहन्थ्यो, "कति धेरै नेताकार्यकर्ता आउँछन्। भेटघाट गर्न र गाडी पार्किङ गर्न सहज हुने घर त चाहिहाल्यो नि!"

यसबीच खुमल्टारस्थित महल-डेरामा सर्नुभयो तपाईं। नेतामात्रै होइन, जोकोही व्यक्ति सुविधाजनक घरमा बस्न पाउनुपर्छ। तर डेराखर्चलगायत सारा आर्थिक कारोबारको विषय क्रान्तिबाट उदाएको एक 'सर्वहारा नेता'ले बताउनै पर्ने हो। अरू त गैरक्रान्तिकारी, विगतकै सामन्तवादी र शोषणव्यस्थाका उत्तराधिकारी भए, तपाईं त पारदर्शी, सरल र आदर्श जीवनको मसिहा। त्यसो हुँदा कुनै बेलाको क्रान्तिकारी नेता बसिरहेको महल-डेराको मासिक भाडा उसले कसरी र कुन स्रोतबाट तिरिरहेको छ भनेर थाहा पाउनु जनताको जायज अपेक्षा हो। प्रचण्डज्यू, खुमलटारको अहिलेको डेरा भाडा केही नभए पनि डेढदेखि दुई लाखसम्म पक्कै होला। यो रकमको जोहो यहाँले कसरी गर्नुभएको छ? 

अढाई वर्ष पहिले तपाईंले चितवनमा एकतल्ले, तर 'अच्छा' घर बनाउनु भयो। लौ, जमिन त पुर्ख्यौली थियो रे। सामान्य किसानको छोराको पुर्ख्यौली जग्गा हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ। तर घर बनाउँदा आजकलको लागतमा कमसेकम पनि करोड बढी पर्‍यो होला। त्यसको जोहो कसरी गर्नु भयो? 

लागौँ, तपाईंकी छोरी, भरतपुरको मेयर रेणु दाहालको ललितपुर हात्तीवनस्थित घरबारे। यो प्रश्नमा विवाह भएर जाने घर र जन्मघरलाई अलग परिवार बुझिने भएकाले सो प्रश्न तपाईंलाई किन सोधेको भनेर यहाँ समर्थकहरूले प्रतिप्रश्न गर्न सक्लान्। तर छोरीको राजनीतिक करिअरमा बा संलग्न भएकाले, बा स्वयं तीनचोटी प्रधानमन्त्री भइसकेकाले र हाम्रोजस्तो समाजमा बाउआमाको सन्तान मोह जहाँसुकै देखिने गरेकाले हात्तीवनको घरबारे तपाईंलाई समेत प्रश्न उठ्नु नाजायज होइन। 

जानकारहरूका अनुसार हात्तीवनको घर ठुल्ठुला झुमरसहित आलिसान छ। आजको दिनमा कमसेकम आनाको ६०/७० लाखमा जग्गा किनबेच हुने ठाउँमा सो घर लगभग १२ आना जतिमा बनेको रहेछ। जग्गाकै मूल्यांकन गर्दा पनि सात करोड पर्ने सो घरको सम्पूर्ण मूल्यांकन ९ करोडसम्म गर्न सकिने देखियो। त्यसको स्रोतबारे पनि हामी पारदर्शिताको अपेक्षा गर्छौं। 

यो छाडेर अब यहाँको नातिनीको बिहे समारोहतर्फ मोडिऊँ। यहाँले गत मंसिरमा आफ्नो नातिनीको बिहे गोकर्ण रिसोर्टमा गराउनुभयो। उक्त रिसोर्टमा बुझ्दा त्यहाँ बिहेको औसत १ प्लेटकै खर्च ४ हजार रुपैयाँ पर्ने रहेछ। त्यस्तो ठाउँमा यहाँको परिवारले सारा नेपालका पहुँचवालाहरूलाई बोलाएर पार्टी दियो। त्यसको खर्चको लेखाजोखा हामीजस्ता सर्वसाधारणलाई त  हुने कुरै भएन, मिडियासम्म पनि आइपुगेन। तडकभडक र भड्किलो जीवनका विरोधी कमरेडको नातिनीको बिहेको राजसी खर्चबारे यहाँले उत्तर दिनुपर्दैन?

तर यदि यहाँ सार्वजनिक जबाफदेहिताको पक्षधर र इमानदार मान्छे हो भने यी माथिका सबै प्रश्नको उत्तर जनताले पाउनुपर्छ। यी सारा खर्च या खर्चको व्यवस्था कसरी भयो? यो त एक सर्वसाधारणले सार्वजनिक रूपमा देखेको र तपाईंले इन्कार गर्न नसक्ने नालीबेली हो। तपाईंका भित्री खर्च, परिवारका व्यक्तिगत विदेश भ्रमण, छात्रवृत्तिबिना पैसा तिरेर विदेशमा पढ्ने ल्याकत, सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिने, तर पुष्टि गर्न नसकिने लाखौँका रोलेक्स घडी र डिजाइनर ब्यागका त कुरा यहाँ उल्लेख छैनन्। तपाईं र तपाईंको परिवारको यो हदसम्को 'वर्ग उत्थान' कसरी भयो? यो हदको सम्भ्रान्त जीवनशैलीको खुलेआम प्रदर्शन थोरै पनि असहज लाग्दैन गरिबहरूका मुक्तियोद्धालाई? 

तपाईं भन्नुहोला, "मलाई मात्र यस्तो प्रश्न गरेको?" 

तपाईँलाई नै विशेषगरी यस्ता प्रश्नहरू किन पनि आउँछन्, किनकि यहाँले बहादुरीका साथ सार्वजनिक मञ्चबाटै युद्धमा मारिएका पाँच हजार मानिसको जिम्मेवारी लिने उद्घोष गर्नुभएको छ। तपाईंलाई मजस्ता धेरैले कम्युनिस्ट या वामपन्थी नेता मान्यौं। यहाँहरूको विद्रोहले समाजमा ठुलो रूपान्तरण हुन्छ भन्ने ठान्यौं। युद्ध र ध्वंस बेठिक हो भन्दाभन्दै पनि उत्पीडितहरूको अजेन्डा बोक्ने तपाईंहरू नै त  हुनुहुन्छ भनेर शंकाको लाभ दियौं। तर युद्ध अन्त्यसँगै राजसी जीवनशैली र शंकास्पद आयस्रोत तपाईंका जीवनसँग जोडिन थाले। आफन्तलाई लाखा र 'अरू'लाई पाखाको व्यवहार गर्नुभयो। उसो त वामपन्थी आन्दोलनको एउटा धार धुजाधुजा पारेको दोष पनि तपाईंमाथि छँदैछ। 

कमरेड (?) प्रचण्ड, नेपाली जनतामाथि गरेको धोकाको तपाईंकै भाषामा इतिहासले मूल्यांकन गर्नेछ । थाहा छ, जनताका धेरै प्रश्नका उत्तर तपाईंले दिनुहुने छैन। तर तपाईंलाई प्रश्न गर्न छोडिने छैन। यिनै प्रश्नहरूले यहाँलाई पिछा गरिरहनेछ। 

सर्वसाधारण जनताको तर्फबाट,

श्रेय पौडेल