बीपीसँग निकट रहेर राजनीति गर्नुभएका निधिको राजनीतिक व्यक्तित्व निखारिएको थियो। व्यक्तित्वमा आएको निखार देखेर लोभिएका राजा महेन्द्र उहाँलाई निर्दलीय पञ्चायत व्यवस्थाको पक्षमा तान्न अति व्यग्र थिए।
२०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले उल्लेखनीय सफलता प्राप्त गर्यो। कांग्रेसले देशभरका कुल १०९ निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा विजय हासिल गरेको थियो। त्यति बेला मधेशका ३५ सिटमध्ये २४ वटामा कांग्रेस विजयी भएको थियो। बीपी कोइराला मोरङबाट विजयी हुनुभएको थियो। सुवर्णशमशेर राणा मधेशका दुई र पहाडको एक गरी तीन क्षेत्रबाट विजयी हुनुभएको थियो। उहाँ मधेशका क्षेत्र नं. ५२ बारा मध्य–उत्तर र क्षेत्र नं. ५३ पर्साबाट विजयी हुनुभएको थियो। महेन्द्रनारायण निधि क्षेत्र नं. ४३ जनकपुरबाट विजयी हुनुभएको थियो।
निर्वाचनमा तराई–मधेशबाट फत्तेबहादुर बुढाथोकी, चैतुलाल चौधरी, ज्ञानचन्द्र सरदार, नागेश्वरप्रसाद सिंह, सूर्यनाथ दास यादव, माधवप्रसाद रेग्मी, रुद्रप्रसाद गिरी र रामनारायण मिश्र विजयी भएका थिए। तराई–मधेशबाट सरोज कोइराला, वेणीमाधव सिंह, भागवत यादव, विश्वबन्धु थापा, पृथ्वीराज कँडेल, शिवप्रसाद शाह, परशुनारायण चौधरी, ललित चन्द, राधाकृष्ण कोठिया र लोकेन्द्रबहादुर शाही निर्वाचित भएका थिए। कांग्रेसका सबै शीर्ष नेताले चुनाव जित्दा पहाडका गोर्खा र रामेछाप चुनाव क्षेत्रबाट उठेका दुई महत्त्वपूर्ण नेता कृष्णप्रसाद भट्टराई र सूर्यप्रसाद उपाध्यायले मात्रै पराजयको सामना गर्नुपरेको थियो।
मधेशमा जन्मिनुभएका, मधेशको माटोमा खेलेर हुर्किनुभएका तथा मधेशमा नै घरेलु विधिले शिक्षा आर्जन गर्नुभएका निधिले सधैँ क्षेत्रीयता र साम्प्रदायिकताभन्दा माथि उठेर राष्ट्रिय दृष्टिकोण बनाउनु भयो। उहाँ सधैँ सर्वसाधारण जनताका नेता बन्नुभयो। संसद्मा निधिले उठाउनुभएका ज्वलन्त प्रश्नहरूमा राष्ट्रिय दृष्टिकोण परिलक्षित हुने गर्दथे। उहाँले संसद्मा भन्नुभएको थियो, ‘आजको सरकार समाजवादी सरकार हो। हामीले शोषण खत्तम गर्नु छ। एकैचोटि खत्तम गर्न मुस्किल हुन्छ। बिस्तारै बिस्तारै खत्तम गर्दै लानु छ। त्यही सिद्धान्तको आधारमा चुनावमा नेपाली कांग्रेस विजयी भएको हो। मलाई लाग्छ, किसानको हितमा काम नगर्ने हो भने अर्को चुनावसम्म पनि तिरो उठाउन सकिने छैन। किसानको हितका लागि किसानले कमाइ आएको जग्गा उनीहरूकै नाममा दर्ता हुनुपर्छ।’
२०१० सालमा सम्पन्न कांग्रेसको जनकपुर महाधिवेशनदेखि नेतृत्व पंक्तिमा पुग्नुभएका निधिले त्यसपछिका दिनमा महोत्तरी क्षेत्रमा पार्टीको संगठन विस्तार अभियानलाई तीव्रता दिनुभएको थियो। रुद्रप्रसाद गिरी बीपीको निकट रहेर काठमाडौँको राजनीतिमा रमाउन थालेपछि मिथिला क्षेत्रमा देखा परेको नेतृत्वको अभावलाई निधिले कुशलतापूर्वक पूरा गर्नुभएको थियो। यो समयदेखि उहाँको राजनीतिक प्रभाव हलक्क बढ्न थाल्यो।
मधेश भूमिमा निधिको परिपक्व संगठन कौशल देखेर बीपी निकै प्रभावित हुनुहुन्थ्यो। यही कारण हो, उहाँले २०१५ सालको आमनिर्वाचनमा निर्वाचन क्षेत्र नं. ४३ (अहिलेको मिथिला क्षेत्र) बाट निधिलाई कांग्रेसको उम्मेदवार बनाउनुभएको थियो। बीपीको विश्वासलाई अलिकति पनि तलमाथि हुन नदिई निधिले निर्वाचनमा १० हजार १२० मत प्राप्त गरी विजय हासिल गर्नुभयो।
देशमा पहिलो पटक भएको निर्वाचनमा त्यति धेरै मत पाउनु सानो कुरा थिएन। यसबाट निधिप्रति जनताको कति ठुलो विश्वास थियो भन्ने स्पष्ट हुन्छ। कांग्रेसका लागि त यो ठुलो उपलब्धि थियो। यही मतले एकातिर निधिको राजनीतिक जीवनलाई नयाँ उचाइमा पुर्यायो भने अर्कातिर मिथिलाञ्जलको राजनीतिमा कांग्रेसको संगठन स्थापित भयो।
चुनावमा कांग्रेसले संसद्को दुई तिहाइ सिटमा विजय प्राप्त गरेको थियो। त्यसैअनुरूप बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो। नेपालको पहिलो प्रजातान्त्रिक सरकारको ऐतिहासिक कदम थियो— बिर्ता उन्मूलन। नेपालको भूमि व्यवस्थामा आमूल परिवर्तन ल्याउन यसको आवश्यकता थियो। देश बिर्ता र मौजाहरूमा बाँडिएको थियो। धेरैजसो बिर्ता राजा र राणाहरू, तिनका भारदार र आसेपासेहरूको स्वामित्वमा थियो। सरकारको यस कदमले निकै ठुलो विरोधको सामना गर्नुपर्यो। राजधानी काठमाडौँलाई एक किसिमले नाकाबन्दीजस्तो गरे, बिर्तावालहरूले। काठमाडौँलाई चाहिने अन्न काठमाडौँले नै उत्पादन गरोस् भन्नेसम्मको नारा लागेका थिए, त्यो बेला।
बिर्ता उन्मुलनको विरोधमा उत्रिएका बिर्तावालहरूलाई जवाफ दिँदै सरकारले पालुङमा कृषि योजना लागू गर्यो। यो योजनाको लक्ष्य काठमाडौँलाई चाहिने अन्न र तरकारी उब्जाउने थियो।
नेपालमा पहिलो जन निर्वाचित सरकार गठन भएदेखि नै प्रतिक्रियावादीहरू सरकारका विरुद्ध षड्यन्त्रमा लागेको आभास निधिलाई भइसकेको थियो। विरोधीहरूले उहाँको बढ्दो लोकप्रियता खस्काउन बीपी मन्त्रिपरिषद्मा सामेल हुनबाट सकेसम्म रोक्न खोजेका थिए। यस्तो राजनीतिक वातावरणमा उहाँलाई उत्प्रेरित गर्नु बीपीको कर्तव्य नै थियो। उल्टै बीपीले त उहाँलाई पन्छाएर आफ्नो मन्त्रीमण्डलमा डा. तुलसी गिरीलाई सामेल गर्नुभयो। यो उहाँको राजनीतिक बाध्यता थियो कि के थियो? अहिलेसम्म खुल्न सकेको छैन।
बीपीको यो निर्णयले निधिलाई आहत तुल्याएको थियो। उहाँले साह्रै चित्त दुखाउनुभएको थियो। तर, बीपीले उहाँको चित्त बुझाउन खासै पहल गर्नुभएन। पछि कांग्रेसले उहाँलाई नवगठित संसद्को उपसभामुख बनाउने निर्णय गर्यो। गोर्खाबाट निर्वाचन लडेर पराजित हुनुभएका कृष्णप्रसाद भट्टराई संसद्का सभामुख हुनुभएको थियो। उपसभामुख बनाउने पार्टीको निर्णयले निधिलाई त्यति खुसी तुल्याउन सकेन। तर, उहाँ पार्टीका अत्यन्त अनुशासित कार्यकर्ता हुनुहुन्थ्यो। एक अनुशासित कार्यकर्ताको हैसियतले उहाँले यो जिम्मेवारी स्वीकार गर्नुभयो। यसको एउटा मूल कारण थियो – भट्टराई र निधिबीचको प्रगाढ मित्रता।
कांग्रेस वृत्तमा धेरै नेताहरू प्रधानमन्त्री बीपी कोइरालाको यो निर्णय गलत भएको टिप्पणी गर्न थालेका थिए। कहिल्यै जनताको राजनीति नगरेका, र मधेशका जनताले चिन्दै नचिनेका डा. तुलसी गिरी मन्त्री हुने, नेपाली कांग्रेसका लागि अहोरात्र खटेर काम गर्ने निधिजस्ता समर्पित नेतालाई उपसभामुखको जिम्मेवारी दिने?’ पार्टीका धेरै नेताले प्रधानमन्त्रीको यो निर्णय गलत भएको टिप्पणी गरेका थिए। तर, नेताहरू बाहिर जतिसुकै टिप्पणी गरे पनि बीपीका अगाडि केही बोल्न सक्दैनथे।
पार्टीभित्र बीपीसँग असहमत व्यक्तिहरूले आफूप्रति नेतृत्वले गरेको ‘अन्यायको विरुद्ध’ आवाज उठाउन निधिलाई उक्साउन खोजी रहे। तर, बीपीको नेतृत्वविरुद्ध विद्रोहको विचार उहाँको मनमा कहिल्यै उठेन। तुलसी गिरीलाई आफ्नो मन्त्रीपरिषद्मा सामेल गर्ने बीपीको कदम कुनै दिन उहाँ र पार्टीकै लागि आत्मघाती साबित हुन सक्छ भन्ने निष्कर्ष धेरैले निकालेका थिए। तर, निधिले भने पदभन्दा पनि केन्द्रीय सरकारमा मधेशको वास्तविक प्रतिनिधित्व खोज्नुभएको थियो।
जलेश्वर जेलमा रहँदा मैले निधिसँग निर्दोष भावमा सोधको थिएँ, ‘तपाईं मन्त्री नबनेर किन उपसभामुख बन्नुभएको? मन्त्रीभन्दा उपसभामुख ठुलो पोजिसन हो र?’ उत्तिकै निर्दोष भावमा उहाँले उत्तर दिनुभएको थियो, ‘पार्टीको अनुशासित र जिम्मेवार कार्यकर्ताले नेतृत्वको निर्णय मान्नैपर्छ। हो, मलाई पनि मन्त्री बन्ने रहर थियो। मन्त्री बनेर समाजका लागि रचनात्मक काम गर्ने इच्छा थियो। बीपीले मलाई मन्त्री नबनाएर सरोजबाबु (सरोजप्रसाद कोइराला) लाई मन्त्री बनाउनुभएको भए पनि मधेशको प्रतिनिधित्व हुन्थ्यो। म खुसी हुने थिएँ। तर, पार्टीका सर्वोच्च नेतृत्वमा रहनुभएका प्रधानमन्त्रीले नै कुरा नबुझेपछि कार्यकर्ताले के गर्न सक्छ र?’
पछिल्लो समयका घटनाक्रमहरूको सूक्ष्म अध्ययन गर्ने हो भने त्यही समयदेखि मधेशमा कांग्रेसको विचलन शुरू भएको देखिन्छ। निधिजीलाई कांग्रेसले पहिलो निर्वाचित सरकारमा मन्त्री पद नदिएकोमा मधेशमा कांग्रेसका मतदातामा निराशा छाएको थियो। यो घटनापछि जनताको मनमा कांग्रेस नेतृत्वले मधेशको उपेक्षा गरेको भाव उठेको थियो। निधिजस्तो समर्पित नेताले मन्त्रीपरिषद्मा स्थान नपाउने हो भने अरू कसले पाउने त? जनता बोल्न थालेका थिए। मधेशमा त्यसै दिनदेखि विद्रोहको भावना उठेको थियो। मधेशको केन्द्रका रूपमा चिनिँदै आएको क्षेत्रबाट निर्वाचित उहाँ र सरोज कोइरालालाई सरकारबाट अलग राखेकामा जनता असन्तुष्ट थिए। त्यतिबेला मधेशमा अहिलेको जस्तो विद्रोह हुने अवस्था थिएन। त्यसैले यो परिस्थिति गुम्सिएरै रह्यो।
निर्दलीय पञ्चायत व्यवस्था सुरु भएपछि राजा महेन्द्रले मधेशका धेरै जमिनदार, कुलीन वर्गका सदस्य, सामन्त र ठूला व्यापारीलाई छानिछानी विभिन्न ओहोदामा सुशोभित गरे। खास गरेर न्याय प्रशासन र अन्य प्रशासनिक क्षेत्रमा मधेशी सामन्तहरूको बाहुल्य रह्यो भन्दा अतिशयोक्ति नहोला। ती सामन्तहरूमा पनि जनतालाई सकेसम्म ‘कजाउन’ सक्ने व्यक्तिहरूलाई सरकारी सेवामा लिने व्यवस्था गरिएको थियो। पञ्चायत कालमा मधेशमा उठेका विरोधका स्वरहरू दबाइएको थियो। तैपनि, विद्रोहका स्वरहरू सुनिन छाडेका थिएनन्। कांग्रेसका नेता गजेन्द्रनारायण सिंह सुवर्ण शमशेरले लिनुभएको नीतिअन्तर्गत लामो निर्वासनबाट स्वदेश फर्किनुभएपछि राष्ट्रिय पञ्चायत सदस्यको चुनाव लड्नुभयो। त्यतिबेला सिंहमाथि निर्दलीय पञ्चायत व्यवस्थासँग आत्मसमर्पण गरेको आरोप लागेको थियो। तर, उहाँको पछिल्लो कदम मधेश आन्दोलनका लागि ऊर्जा साबित भयो।
उपसभामुख भइसकेपछि निधिले पुतलीसडकमा डेरा लिनुभयो। पुतलीसडक रोडमै डिट्ठा गौरीनारायण गिरीको घर थियो, त्यो घरपछाडि अलिकति उकालोमा बनेको घरमा उहाँ बस्न थाल्नुभयो। डेरा लिइसकेपछि उहाँले परिवारलाई काठमाडौँ बोलाउनुभयो।
नगराइन गाउँबाट भिट्टामोड र भिट्टामोडबाट बसमा सीतामढी, सीतामढीबाट रेलमा रक्सौल, त्यसपछि अमलेखगन्जसम्म नेपाली रेलको यात्रा। निधिको परिवार निकै कठिन र घुमाउरो बाटो अमलेखगन्ज आइपुग्यो। परिवारलाई लिन निधि आफैँ अमलेखगन्ज पुग्नुभएको थियो, काठमाडौँबाट। अमलेखगन्जमा रेल्वे गेस्टहाउसमा बसेर भोलिपल्ट निधि परिवार त्रिभुवन राजपथको बाटो काठमाडौँ आइपुगेको थियो।
डिल्लीबजारमा अहिले कन्या हाइस्कुल भएको ठाउँमा एउटा स्कुल थियो। निधिले माइली र साइँली छोरी तथा नवेन्द्र र बिमलेन्द्र दुवै छोरालाई त्यही स्कुलमा भर्ना गरिदिनुभयो। स्कुलको नाम नारी ज्ञान मन्दिर भए पनि त्यहाँ सहशिक्षा थियो।
उपसभामुख निधिको निजी प्रयोगका लागि राजा महेन्द्रले एउटा कार दिएका थिए भने प्रधानमन्त्री बीपीलाई एउटा जिप। निधि सुनाउनुहुन्थ्यो, ‘प्रधानमन्त्री जिप चढ्ने र म कार चढ्ने। यो मलाई सुहाउँदो कुरा लागेन। राजाले मलाई चढ्न दिएको कार मैले प्रधानमन्त्री बीपीलाई दिएँ। अनि म बीपीले पाउनुभएको जिप चढ्न थाले।’ त्यसपछिका दिनहरूमा निधिले कांग्रेस सभापति तथा प्रधानमन्त्री बीपीका कतिपय राजनीतिक निर्णय र गतिविधिप्रति आफ्नो प्रत्यक्ष असन्तुष्टि जनाउन थाल्नुभयो। उहाँका यस्ता असन्तुष्टिका कारण दुई नेताबीच अलिकति दूरीको सिर्जना गर्यो।
राजा महेन्द्र अत्यन्त चतुर थिए। उनले मधेशमा महेन्द्र नारायण निधिको व्यक्तित्वको प्रभाव कति गहिरो छ भन्ने राम्ररी बुझेका थिए। निधिको गतिशील राजनीतिक व्यक्तित्व, तीक्ष्ण बुद्धि र साहसलाई नियाल्दै आएका राजा महेन्द्रको आँखाबाट बीपी र निधिबीच देखिएको असहमति लुकेको थिएन। त्यही सेरोफेरोमा राजा महेन्द्रले निधिको सहयोगबाट आफ्नो अभीष्ट पूरा गर्न सकिन्छ भन्ने सोचेका थिए। यसैका लागि उनले एक दिन निधिलाई भेटका लागि राजदरबार बोलाएका थिए। उहाँले राजासँगको भेट सामान्य कुराकानीमा सक्नुभयो। राजा महेन्द्रले निधिको विचारको भेउ नै पाउन सकेनन्।
२०१७ सालमा विवाह पञ्चमीको मेला हेर्न जनकपुर पुगेका राजा महेन्द्रले निधिलाई आफूसँग भेटका लागि समय दिए। उहाँ पनि राजाको निम्तो स्वीकार गरेर भेट्न जानुभयो। भेटघाटमा चतुर राजा महेन्द्रले उहाँलाई आफ्नो पक्षमा तान्ने आशयले भने, ‘हामी दुवै जनाको नाम पनि एउटै र काम पनि एउटै। हामी दुवै राजनीतिमार्फत जनताको सेवामा लागेका छौं। त्यसैले आउनुस्, हामी मिलेर देशका लागि काम गरौँ। हाम्रो नाम एउटै भएकाले तपाईँ–हामी मित लगाऔँ।’
प्रजातन्त्र र जनताको राजनीतिप्रति प्रतिबद्ध निधिले राजा महेन्द्रको चलाखीको भेउ पाइसक्नुभएको थियो। उहाँले राजा महेन्द्रको प्रस्तावलाई न स्वीकार गर्नुभयो, न त अस्वीकार। सुनेको नसुन्यै गरेर प्रस्तावलाई त्यत्तिकै टारिदिनुभयो। राजा महेन्द्रलाई लागेको थियो, देशका अरू नेताजस्तै निधिमा पनि सत्ता–भोगको आत्तुरी होला। तर, निधिको हकमा राजा महेन्द्रको मूल्यांकन गलत साबित भयो।
मधेशमा मात्र होइन, पहाड र खोँचहरूमा समेत कांग्रेसका प्रबुद्ध नेताका रूपमा निधिको प्रतिष्ठा स्थापित भइसकेको थियो। उहाँको गुनासो आफ्नै नेता कांग्रेस सभापति तथा प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक कार्यशैलीसँग थियो। बीपीसँग उहाँको सम्बन्ध प्रगाढ थियो भने राजासँग शिष्टाचार र भलाकुसारीको सामान्य सम्बन्ध मात्रै। बीपीले निकै पुलपुल्याएर मन्त्रिपरिषद्मा स्थान दिनुभएका डा. तुलसी गिरीको प्रयोग गरेर चलाख राजा महेन्द्रले कुनै न कुनै दिन कांग्रेस र नेपालको प्रजातान्त्रिक शासन व्यवस्थाविरुद्ध प्रतिघातको राजनीति गर्न सक्छन् भन्ने आभास निधिलाई त्यही बेलादेखि हुन थालेको थियो।
राजा महेन्द्रलाई निधिको राजनीतिक कौशलका सम्बन्धमा कुनै शंका थिएन। उनलाई थाह थियो – मधेशको आर्थिक, राजनीतिक र जातीय समीकरणबारे निधिको जति ज्ञान धेरै कम मानिसमा मात्रै छ।
स्वच्छ छवि, सच्चरित्र र मर्यादित जीवन निधिका विशेषता थिए। लोक कल्याणका लागि निरन्तरको राजनीतिक तत्परता, सक्रियता तथा जनतासँगको सोझो सम्बन्ध उहाँको व्यक्तित्वको विशेषता थियो। गान्धीको सत्य र अहिंसाका गुण तथा डा. लोहियाको बौद्धिक चेतनाको समागम हुनुहुन्थ्यो उहाँ। बीपीसँग निकट रहेर राजनीति गर्नुभएका निधिको राजनीतिक व्यक्तित्व निखारिएको थियो। उहाँको व्यक्तित्वमा आएको निखार देखेर लोभिएका राजा महेन्द्र उहाँलाई निर्दलीय पञ्चायत व्यवस्थाको पक्षमा तान्न अति व्यग्र थिए।
महेन्द्रले आफू बाँचुन्जेल त्यसका लागि प्रयास गरिरहे। राजा महेन्द्र २०२४ सालमा पनि जनकपुर आएका थिए, रामस्वरूप रामसागर कलेजको भवन उद्घाटन गर्न। त्यो बेला निधि जनकपुरमा नै हुनुहुन्थ्यो। उद्घाटन कार्यक्रम सकिएपछि राजा महेन्द्रले तुलसी गिरीलाई निधिलाई शिविरमा लिएर आउन हुकुम दिए। निधिको घरमै पुगेर गिरीले उहाँलाई राजा महेन्द्रको अस्थायी मुकाम लिएर गए। सामान्य औपचारिकतापछि राजा निधिका लागि चिया बनाउन आफैँ उठे।
‘होइन, म आफै बनाउँछु’ निधिले कप आफ्नो हातमा समात्नु भयो।
राजा महेन्द्रले भने, ‘चिया म नै राम्रो बनाउँछु। मै बनाएर खुवाउँछु नि!’
राजा किन चिया बनाउन अग्रसर भएका हुन्? निधिले कुरा बुझिसक्नुभएको थियो।
(पत्रकार नेपालको हालै प्रकाशित कृति ‘नेपालका निधि’बाट लिइएको एक अंश।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
