चुनाव पछिको कांग्रेसलाई केही सुझाव

पैँतिस वर्षयता पार्टी सत्ता र राज्यसत्तामा कहिले सभापति भएर त कहिले प्रधानमन्त्री भएर हालीमुहाली गरेका उनीहरू दोषी नहुने, तर ५० दिनभन्दा कम सभापति/उपसभापति बनेका गगन–विश्वहरू दोषी हुने कुरा हुँदैन।

सर्वप्रथम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह र उक्त दललाई शानदार चुनावी विजयका लागि नेपाली कांग्रेस र यसको नेतृत्व वर्गले औपचारिक रूपमै बधाई दिनुपर्छ। उनीहरूको सफल कार्यकालको शुभकामना पनि दिनुपर्छ र शुभकामनालाई कांग्रेसले पाँच वर्ष पूरै देखाउनु र व्यवहारमा उतार्नु पनि पर्छ। किनकि नेपाली कांग्रेसजस्तो जनतामा आधारित र उदार प्रजातन्त्रको संवाहक दलले प्रचण्ड जनादेशको विपरीतको राजनीति जस्तोसुकै परिस्थितिमा पनि गर्नै हुन्न।

अबको कांग्रेसको भूमिका
आफ्नो कार्य सम्पादन भन्दा पनि कांग्रेस, एमाले र माओवादीलगायत पुराना दलहरूको कुशासनले जनमानसमा उब्जाएको आक्रोश र असन्तुष्टिकै कारण चुनावमा रास्वपाको यस्तो उभार आएको सर्वविदितै छ। तर त्यसको अर्थ यो पनि होइन कि प्रमुख प्रतिपक्षीको भूमिकामा कांग्रेस ‘सब्मिसिभ’ हुनुपर्छ। आउने पाँच वर्ष अब ऊ रचनात्मक प्रतिपक्षीको भूमिकामा अब्बल उत्रनै पर्छ।

रास्वपाले यदि राष्ट्रनिर्माण, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासनका काम गरे कांग्रेसले चुनाव पूर्वको प्रतिद्वन्द्व बिर्सेर खुला र ठुलो छाती राख्दै  त्यसमा समर्थन र सहयोग गर्नुपर्छ। यदि उसले संवैधानिक अङ्ग/स्वायत्त संस्था र मुलुकी प्रशासनका संघसंस्थादेखि सामाजिक, आर्थिक र शैक्षिक संघसंस्थाहरूमा भइरहेको दलीयकरण अन्त्य गर्न इमानदार प्रयास गर्छ भने त्यसमा सहयोग गर्नुपर्छ। त्यसो किन पनि भने अहिले ती संस्थाहरूका पदाधिकारीमा आफ्ना मान्छे पठाइ गरिने दलीय ‘नेटवर्किङ’बाट देश, जनता र लोकतन्त्रलाई त नोक्सान भएकै छ; कांग्रेसलाई पनि एमालेलाई जस्तो धेरै फाइदा भएको छैन। 

तर त्यस्तो सुधारका काम नगरी रास्वपाले प्रतिशोध, पपुलिज्म र पार्टी स्वार्थको राजनीति मात्र गरे (जुन नहोला भनेर ठोकुवा गर्ने स्थिति छैन) कांग्रेस सशक्त विपक्षी बनी उभिनुपर्छ। जतिसुकै सानो आकारमा चुनावले खुम्च्याए पनि (तथापि, २७५ सिट भएको प्रतिनिधि सभामै मात्र पनि ३७ स्थान जितेको प्रतिपक्षी सानो प्रतिपक्षी होइन।) सशक्त प्रतिपक्षीको भूमिका निभाउने जुझारुपन, अनुभव र संस्कार कांग्रेससँग छ र हुनु पनि पर्छ। कांग्रेसका पाका र पुराना नेतृत्व वर्गले झैँ जहिले जसरी पनि सत्ताकै ध्याउन्न र खेलमा अबको कांग्रेस लाग्नु हुन्न, लाग्नु पर्दैन।

आखिर पाँच वर्षसम्म सरकारमा नगई सशक्त प्रतिपक्षी बन्नकै लागि कांग्रेसलाई अहिले जनादेश प्राप्त भएको हो। तर रास्वपाभित्र यदि आपसी स्वार्थ, महत्वाकांक्षा, अहम् र कार्यशैलीको अन्तरजस्ता फ्याक्टर वा रवि र बालेन समूह बीचको समूहगत द्वन्द्वजस्ता कुराले मध्यावधि चुनाव हुने किसिमको स्थिति बन्यो भने असमयको चुनौती बहन गर्न पनि कांग्रेस तयार रहनुपर्छ। प्रतिपक्षी भूमिकामा रहँदाको पाँच वर्ष पुराना नेतृत्व वर्गका पालाको जस्तो निष्क्रिय बन्नु हुन्न। साथै, विशेष महाधिवेशनबाट सुरु भएको संगठनलाई पुनर्जीवन दिने कार्यमा पनि आउने पाँच वर्ष नयाँ नेतृत्व लागिरहनु पर्छ।

कांग्रेसको आन्तरिक किचलो
चुनाव परिणाम राम्रोसँग नआइपुग्दै देखि दुई महिना पूर्व सम्पन्न विशेष महाधिवेशनको विरोधी पुराना नेताहरूको खेमाले चुनावी हारका लागि जिम्मेवारी लिँदै गगन थापाले सभापतिबाट राजीनामा गर्नुपर्छ भन्न थालिसकेका छन्। देउवा पार्टी सभापति भएका समयमा भन्दा धेरै कम प्रतिनिधि सभा सिटमा कांग्रेसले जितेको दलिल निकालेर आगामी पन्ध्रौँ महाधिवेशनबाट गगन-विश्वको टिमलाई विस्थापित गर्ने र पार्टी नेतृत्वमा आफूहरूको पुनरागमन गर्ने यो खेमाको रणनीति देखिन्छ।

तर राजीनामा दिने/नदिने गगनको निजी र ऐच्छिक निर्णय हो। अर्को साथीलाई कार्यवाहक सभापति बनाएर राजीनामा दिइहाले पनि निकट भविष्यमा हुने पन्ध्रौँ महाधिवेशनबाट उनी फेरि सभापतिमा चुनिएर आउनै पर्छ। त्यसरी चुनिएर आउने उनको अधिकार मात्र होइन, पार्टी प्रतिको जिम्मेवारी र कर्तव्य पनि हो। उनी लामो यात्राका यात्री हुन्, देश र दल दुवैले अझ धेरै लामो समय उनको नेतृत्व खोजेको छ। उनलाई विश्राम लिने छुट छैन। जहाँसम्म उनको राजीनामाको कुरा छ, त्यो न आवश्यक छ, न वाञ्छनीय; जुन कुराको व्याख्या तलका प्रकरणमा खुलाइन्छ।

दुई तिहाइ महाधिवेशन प्रतिनिधिहरूले वैधानिक तवरबाट चुनेको नेतृत्व वर्गलाई 'जबरजस्ती पार्टी कब्जा गरेको' भन्नेहरूद्वारा गरिएको राजीनामाको माग गगन–विश्वहरूसँग प्रतिसोध साँध्ने फण्डा मात्र हो। यो मागको किन पनि कुनै औचित्य छैन भने चुनावी हारका लागि दुई महिनाभन्दा कम अवधिदेखि पार्टी सभापति निर्वाचित गगन र उनको टिम जिम्मेवार हुने हो भने ९–१० वर्षदेखि पार्टीका सर्वशक्तिमान् सभापति शेरबहादुर देउवा र उनको कोर टिम त्योभन्दा धेरै गुणा बढी दोषी र जिम्मेवार हुन्छ, हुनुपर्छ।

पैँतिस वर्षयता पार्टी सत्ता र राज्यसत्तामा कहिले सभापति भएर त कहिले प्रधानमन्त्री भएर हालीमुहाली गरेका उनीहरू दोषी नहुने, तर ५० दिनभन्दा कम सभापति/उपसभापति बनेका गगन–विश्वहरू दोषी हुने कुरा हुँदैन। अनि वर्तमान कांग्रेस नेतृत्वको कमजोरीकै कारण चुनावमा पहिलेको भन्दा कम सिट आएको हो भने त अरू पुराना र प्रमुख दल एमाले र नेकपाले त धूमधाम जित हासिल गर्नुपर्ने थियो त। उनीहरूको त कांग्रेसको भन्दा पनि नराम्रो पराजय भएको छ चुनावमा। 

पराजयका कारण
यथार्थमा, कांग्रेस, एमाले, माओवादी वा अरू कसैको पनि चुनावी रणनीति र क्याम्पेनिङमा निहित कमजोरीका कारण नभई नयाँको भाष्य र परिवर्तनको लहर, अनि यी सबै दलका विगतका अनेकानेक कमजोरीका एकमुष्ट कारण रास्वपाको चुनावी सुनामी आएको हो। यस्तोमा यो सुनामी कसैले रोकेर रोकिने थिएन। कांग्रेसमा दशकौँयता जम्मा भएको फोहोर पचास दिनमा सफा गर्न गगन त के आज बीपी कोइराला नै ज्युँदो भएका भए पनि सक्दैनथे। शेरबहादुरको त झन् कुरै भएन।

तैपनि गगन-विश्वहरूले त भरमग्दुर प्रयास गरेकै हुन। जेनजी आन्दोलनलाई आत्मसात् गर्दै उनीहरूको अजेन्डा सम्बोधन गर्ने क्रममा १६५ मध्ये १०६ सिटमा नयाँ र सापेक्ष रूपले युवा उम्मेदवारहरूलाई चुनावको टिकट दिएकै हुन्। जेनजीलगायत आम जनतासँग आफ्नो दलले गल्ती गरेको स्वीकार गर्दै पटक पटक माफी मागेर राजनीतिक संस्कार देखाएकै हुन्। बदलियौँ कांग्रेस, अब बदल्छौँ देश भन्दै जेनजी आन्दोलन पछिको कांग्रेस पहिलेको भन्दा धेरै फरक हो भन्ने सन्देश प्रवाह गरेकै हुन्। चुनावी क्याम्पेनमा गर्नुसम्म मेहनत गरेकै हुन्। चुनाव जिताउन भोक निन्द्रा नभनी खटिएर काम गरेकै हुन्।

तर के गर्नु, न उनीहरूलाई पर्याप्त समय भयो न उनीहरूबिरुद्ध पार्टी भित्रबाटै हुने असहयोग नै रोकियो। उनीहरूले आव्हान गरेको रीत पूर्वकको विशेष महाधिवेशन कुनै हालतमा हुनै नदिन समय घर्काउनेलगायत अनेक जालझेल देउवा गुटले गरेको सबैले देखेकै हुन्। पार्टीको कमान हातमा आइसकेपछि पनि पूर्व सभापतिको शक्तिशाली गुटले उनीहरूको नेतृत्वलाई असफल पार्न के मात्रै गरेन? चुनावमा मौन रहने भन्दै बाहिर देख्दा निष्क्रिय रहने तर भित्रभित्र सकेको अन्तर्घात गर्न त्यो गुट सक्रिय रह्यो। जुन देख्ने/सुन्ने देशभरका कांग्रेसका हजारौँ कार्यकर्ता, शुभेच्छुक र मतदाता छन्। अन्तर्घात हुने जानकारी पाएकैले कार्यकर्ताका नाममा पार्टीका उम्मेदवारलाई चुनाव जिताउन लाग्न एउटा वक्तव्य निकाली दिनोस् न भनेर गगन–विश्वहरूले बारम्बार बिन्ती बिसाउँदा पनि रहस्यमय मौनता साधेर बस्ने शेरबहादुर चुनावको मुखैमा सिंगापुर हिँडेको त संसारैले देखेकै हुन्। 

यसरी सौताको रिसले पोइको काख फोहोर पार्ने असफल र असक्षम सिद्ध पुरानै नेतृत्व फेरि सत्तामा फर्किए कांग्रेस उँभो लाग्छ त? लाग्दैन। अकर्मण्य, भ्रष्ट र समयको पदचाप पटक्क नसुन्ने/नबुझ्ने र सत्ता लिप्साले ग्रस्त बुढो नेतृत्वले भदौ २४ पछिको र अझ फागुन २४ पछिको परिवर्तित र चुनौतीपूर्ण यो देशको राजनीति हाँकेर कांग्रेसलाई पुनर्जीवन दिन सक्छ? सक्दैन। वास्तवमा गगन–विश्वहरूजस्ता सक्षम, गतिशील र ऊर्जावान् युवाहरूलाई नेतृत्वबाट हटाएर कांग्रेसलाई फेरि पनि त्यही जीर्ण र पुरानै नेतृत्वको पार्टी बनाउनु भनेको कांग्रेसलाई प्रजापरिषद बनाउनु सिवाय केही होइन। 

रास्वपा-सुनामी आश्चर्य थिएन
यसपाला आएको रास्वपा सुनामी कुनै ‘सरप्राइज’का रूपमा रातारात आएकै होइन। यो लामो समययता सञ्चित जनआक्रोशको ज्वालामुखी विस्फोट भएको हो। ०७९ को आम चुनावको पाँच महिना अगाडि मात्र जन्मेको रास्वपाले जितेको २१ सीटले यो विस्फोटको प्रारम्भिक सङ्केत दिएकै हो। त्यति बेलैको स्थानीय चुनावमा काठमाडौँ, धरान र धनगढीजस्ता ठुला नगरपालिकाहरूमा कांग्रेस/एमालेजस्ता ठुला र पुराना दललाई भारी मतान्तरले हराउँदै स्वतन्त्र मेयरहरूले जितेको कुराले अर्को सङ्केत पनि दिएको हो। त्यस पछि त झन् देशकै इतिहासमा 'टर्निङ प्वाइन्ट'का रूपमा दर्ज गत भदौको जेनजी आन्दोलनले त खतराको घण्टी बजाएकै हो। हो, चुनाव त्यही जेनजी विद्रोहको भाग २ हो। भाग १ 'हाइज्याक्ड' भएर हिंसक र अराजक बन्यो। भाग २ शान्तिपूर्ण तवरले सम्पन्न भयो; बस फरक त्यत्ति हो।

त्यति कुरा बुझे चुनाव परिणामको अपजस कसले बोक्ने भन्ने कुरा आफैँ स्पष्ट हुन्छ। माथि उल्लेखित सबै घटनाहरू घटुन्जेल शेरबहादुर गुटको शक्तिशाली नेतृत्व वर्गले जनता आफूहरूसित कति र किन निराश रहेछन्, कति र किन आक्रोशित र असन्तुष्ट रहेछन् भन्ने कुरा बुझ्नु पर्थ्यो कि पर्दैनथ्यो? बुझेर गम्भीर आत्म समीक्षा गर्नुपर्थ्यो कि पर्दैनथ्यो? परिवर्तनलाई आत्मसात् गरेर आफूलाई परिवर्तित गर्नुपर्थ्यो कि पर्दैनथ्यो? त्यसको उल्टो जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौँ, आत्म समीक्षा गरौँ र हामी सच्चिऊँ, सुध्रिऊँ भनेर पैरवी र प्रस्ताव गर्ने गगन विश्वहरूका भनाइलाई उनीहरूले वास्तै नगरेको हो कि होइन? अघिल्ला दुई घटनाको त कुरै छाडौँ, जेनजीको 'आइ ओपनर' आन्दोलनपछि पनि ओलीको लहैलहैमा लागेर स्थितिको गम्भीरतालाई तत्कालीन पार्टी नेतृत्व वर्गले हल्का रूपमा लिएको हो कि होइन?

पछिल्ला केही वर्षमा देउवा नेतृत्वको कांग्रेसले सच्चिने सुध्रिने प्रयास गर्नु सट्टा केबल सत्ता प्राप्तिका लागि एकपछि अर्को घातक गठबन्धन र सम्झौताहरू गरेकै हो। अनि उनीहरूले वर्षौँयता जनतामा निहित आक्रोश र असन्तुष्टिलाई जानीजानी मलजल गरिरहँदा पार्टी नेतृत्वमा भर्खर आएका गगन–विश्वहरूले रोकेर रोकिन्थ्यो रास्वपाको सुनामी? पूर्व सभापतिको शक्तिशाली गुटबाट बेहोर्नु सम्मको असहयोग र असहजता बेहोरेको, भर्खर स्थापित नेतृत्व वर्गले रोकेर रोकिन्थ्यो त्यो सुनामी? कांग्रेसलाई मात्र होइन, त्यो सुनामीले पुराना दल जति सबलाई सोतर पारेको होइन? कांग्रेसको लागि भोलिका आसा भनेर चिनिएका गगन–विश्वहरूलाई नेतृत्वबाट विस्थापित गरेर अब के कांग्रेस समाप्तै हुने हो?

अन्त्यमा
गगन–विश्वहरूले यस कारण पनि पुरानै नेतृत्वका लागि मैदान छाडेर हिँड्नु हुँदैन कि रास्वपाले आफूहरू नयाँ दल र नयाँ नेतृत्व हौँ भन्ने नारामा चुनाव जितेको छ। यसको मतलब अब पुराना र परीक्षित तर असफल नेतृत्वले मतदाताहरूमा सबैभन्दा निर्णायक र ठुलो संख्यामा रहेका युवा र नयाँ मतदाताको मत आकर्षित गर्ने दिन गए। पुरानाका नामबाट चुनाव जितिने दिन हिजो थिए, अब छैन। उनीहरूका जेलनेल र सङ्घर्षका कथा हेरेर/सुनेर भोट दिने पुस्ता अब छैनन्। अबको नेपालमा युवालगायत आम जनतासँग संवाद र सहकार्य गर्न, उनीहरूका मुद्दाको सम्बोधन गर्न र देश हाँक्न गगन–विश्वहरूजस्ता नेतृत्व नै चाहिन्छन्। योग्यताका नाममा जेलनेल खाएर राजनीतिक करियर बनाएका वा पैतृक विरासतबाट आएका वा दाइ–भाउजू–देवर गुट बनेर चिनिएकाहरूबाट आजको चुनौती सामना गर्न सक्ने र जनप्रिय कांग्रेस बन्दै बन्दैन। चेतना भया।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)