मेरै कुरा गर्नुस् न, केही साल पहिले सर्वप्रचण्ड खेलाएँ, त्यसपछि सर्वखड्गधारी। अहिले सर्वज्ञानेश्वर मेरै निगाहमा शीतल खाइरहनु भएको छ।
जंगुमानले भर्खरै चिहानबाट खोतलिएको मानव नलीहाड हातमा लिँदै भन्नुभयो– भूतप्रेत मसान र पिचासमा मेरो खास लगाव छ। प्राचीन विद्यामा मसान खेलाउने विद्याको महिमा विशेष किन पनि छ भने, उतिखेर अहिलेझैँ आधुनिक यन्त्र र औजार बनेका थिएनन्। सानातिना लौरा, घोचा र चोसेढुंगाले कति नै काम गर्न सकिन्थ्यो र? पहाड र हिमालतिर त्यति अजंगका ढुंगा आफै उम्रेका हुन् र? पहाड र हिमालभित्र त्यसै पानी पलाएको हो र? मसानले नदी र महासागरबाट बोकेर ल्याएर राखेका। यो चराचर जगत् पहिले आदि परमात्माको सिर्जना हो, त्यसपछि सबै मसानको प्रताप।
मसान खेलाउनेले खेतीकिसानी र बलाबलको कामसँगै त्रिभुवनसमेत विजय गर्थे। उतिखेर अहिलेझैँ ठूला हवाई र जलयान थिएनन्। सबै युद्धसामग्री बोक्ने काम नै मसान र पिचासले गर्थे। रातको दोस्रो प्रहरमा मसान जाग्थे र घाम झुल्केपछि दोबाटातिर लुक्थे।
अन्त धेरै किन जाने, उहिले–उहिले नेपाल उपत्यकावासीले भूतप्रेत, पिचास र मसानलाई अक्षया तृतीयाका अवसरमा बोलाई बर्खाभर नै खेत खन्न, जोत्न र बाली लगाउन लगाउँथे। अचेल पो भूतप्रेत पनि बाठा भए। पहिला डढेका, काच्चा खाजासाजा, कुभिन्डो, खरानीका रोटी र एकसरे दुनाको पानीकै भरमा दिनभर काम गर्न मान्ने मसान अहिले हिसाब गरेर लगानीको नाफा माग्छन्।
जसले मसान खेलायो, त्यसैले तीनै लोकका जस्तासुकै राजामहाराजा र त्रिभुवन विजयीलाई समेत सजिलै खेलाउन सक्छ। मेरै कुरा गर्नुस् न, केही साल पहिले सर्वप्रचण्ड खेलाएँ, त्यसपछि सर्वखड्गधारी। अहिले सर्वज्ञानेश्वर मेरै निगाहमा शीतल खाइरहनु भएको छ।
कलि जागेका कारण मनुक्खेहरूले मजस्ता महाऋषिका कुरा नपत्याइहाल्लान्, तर इतिहासको यो शुभ मुहूर्तमा अर्को गुह्य पनि बताइहालौँ। खासमा पूर्वजन्मको जंगबहादुर हुँ म। तिनै जंगबहादुर, जसले कोतपर्व मच्चाए। पूर्वजन्मकै नामबाट अपभ्रंश भएर मेरो नाम जंगुमान भएको छ। उतिखेरका जंगबहादुर अभिजित मुहूर्तमा जन्मे, अहिलेको म ब्रह्म मुहूर्तमा। अभिजितमा जन्मेका कारण उनीमाथि कसैले विजय गर्न सकेनन्, ब्रह्म मुहूर्तमा जन्मेका कारण ध्यान र अध्ययन मेरो क्षेत्र भयो। तर अब मुहूर्तसमेत बदल्ने विशेष बेला भएका कारण दुर्गाले छाडेको खुँडा लिएर मैदानमै ओर्लेको छु। यसलाई पार लगाउन विशेष साधना गर्नुपर्ने देख्छु, जसका लागि मसँग प्रशस्त घाटे-मसाने छन्।
ऋषिवचन पत्यार र श्रद्धा हुने युग होइन यो, तर जंगबहादुर हुनुपूर्व मेरो निवास इन्द्रलोक थियो। यस नेपाल-पुण्यलोकबाट सिधा आकाशतर्फ झन्डै ३०० कोश पर इन्द्रको अलकापुरी बस्थेँ म। खसोखास इन्द्रको सभामा म गुप्त सल्लाहकारका रूपमा रहन्थेँ। वरुण, यम, कुबेर, अग्नि, वायु र ईशानलगायत लोकपाल प्राय: इन्द्रसभामा रहने कुरा त जगत्लाई थाहै छ। इन्द्रसभामै राजा हरिश्चन्द्र, ययाति, नहुषहरूसँग समेत वार्ता गर्ने मौका पाएको थिएँ मैले। ती वार्ता र निचोडबारे कुनै युट्युबेसँग कुनै खास मुहूर्तमा बेतोड वार्ता गरौँला।
इन्द्रलोकमा पछि पाण्डव छिरेलगत्तै मलाई त्यहाँ बस्न फिटिक्कै मन लागेन। पाण्डवले खाण्डव वन जलाएर तक्षक नाग मारेकोमा मेरो असहमति थियो। त्यसलगत्तै मैले इन्द्राज्ञा लिई अलकापुरी छाडी राणाकुलमा मानवै भएर जन्मेँ।
देवराजको निगाहका कारण प्राय: म उहाँसँगै हुन्थेँ। देवराज प्राय: देवगणसँग भन्दा पनि रम्भा, उर्वशी, मेनका र गन्धर्वसँग उत्सव र प्रणयमा मग्न रहने, म तिनकै साथ। अहिले पो पृथ्वीलोकमा जन्म लिएका कारण काया पनि जीर्ण हुँदै गयो, दृष्टि कमजोर रहनाका कारण फिरंगीले बनाएको चस्मा धारण गर्न बाध्य छु। धन्न! अरू धर्मछाडाझैँ ‘पएँटादी’ भने कहिल्यै पहिरेको छैन।
स्वर्णिम इन्द्रलोकमा सबै चंगा। सबै सदा युवक, सदा सबै सुन्दरी। तिलोत्तमा र मिश्रकेशीजस्ता रूपवतीसाथ रहन्थेँ म। उनीहरूले पनि मलाई रुचाउने। अहिले मद, मांस र रसरङमा रुचि नरहे पनि उस जमानमा त्यसको भोगी थिएँ। अप्सराको निकटतालाई देवराजले कहिल्यै अवरोध गरिबक्सेन। आखिर राजाको मन न हो। त्यही भएर पनि म जन्म जन्मान्तर राजसत्ताकै पक्ष रहेँ। पूर्वजन्मको त्यही अविच्छिन्न परम्परा धान्दै तीनकुनेमा अघिल्लो सेनापतिले छाडेको खुँडाको जिम्मा लिएको छु।
इन्द्रलोकमा सल्लाहकारको पद थियो, मर्त्यलोकमा प्रधानमन्त्री भनिए पनि प्रतिष्ठा र कर्म राजाकै थियो। अहिले त संख्या पनि याद भएन, दैहिक सेवामै झन्डै ५० महारानी थिए। अरू सुखसयलका के बयान! बेलायतमा लौरा बेलसँगको प्रणय प्रकरण त यहाँले सुन्नुभएकै होला। तीन महिनामा ३० हजार पाउन्डबराबर नेपाल राज्यको धनराशि खर्च भएको सो रति प्रकरणबारे कतिपय इतिहासकारले नै उल्लेख गरेका छन्। जंगबहादुरको मेरो त्यस अवतारले पानीजहाजमा समेत शुद्ध पहाडिया नेपाली गाई लगेको थियो। जतिसुकै देश देशान्तर गए पनि कूल धर्म त छोड्न भएन नि! मेरो पूर्वजन्मे जंगबहादुर पानीजहाजमा समेत आफैँ गाई दुहुन्थे। छुवाछूतको त्यस गौरवशाली परम्परालाई गुरुङ हुँदासमेत म धान्ने यत्न गरिरहेछु।
देवलोकको परमानन्द र सुखभोग छाडेर लोककल्याण र ‘राजरक्षा’का खातिर आफ्नै मर्जीले नेपाल लोक खटिएको हुँ।
अहिलेका अल्लारे युवाले यस्ता कुरामा फिटिक्कै विश्वास नगरे पनि आस्था र विश्वासमै यो जगत् अडिएको छ। नत्र यत्रा राहु, केतु, शनिलगायत ग्रह र तारामण्डलबीच धर्तिमाता कसरी उभिएकी छन्? कुन प्रतापले ८४ लाख योनीलाई पालेकी छन्? यो सबै धर्ती निवासी मनुहरूको विश्वासको कारण हो। मूल रूपमा मन्त्र र मसानकै प्रताप हो।
१७५ वर्षअघि जंगबहादुरको देहान्तपछि उनका सारा रानी सती गए। पण्डित र पुरोहितलाई यथोचित दान सम्मान भयो। ‘जंगीहड्डी’ हालेर काट्टो खुवाइयो। सोही कारण जंगबहादुरले प्रेत र मसान भएर कहिल्यै जन्मन परेन, नत्र त फिरंगीका देशमा गएर त्यहाँका कन्यासँग लसपसदेखि धेरै छोइछिटो गरेका थिए उनले। देश र दरबारमै धेरैको 'कतल्' गरेका थिए। यी सबै कृत्यका कारण उनी प्रेत भएर उपत्यकाकै झाडीतिर अल्झिरहने खतरा थियो, तर राणा-गुरुले मृत्युसंस्कारमा कुनै चुक् हुन नदिएका कारण त्यसो हुन पाएन।
यो पनि: जंगबहादुरको अति महँगो 'रति क्रीडा'
कुनै पनि शास्त्रीय विधि नछुटाई ‘बिघ्नहरण कर्म’ गरिएका कारण म फेरि इन्द्रलोक (स्वर्गलोक) फर्कें र पछि यस मुलुकको धर्म स्थापनार्थ गुरुङ कुलमा जन्मेँ। ब्राह्मणहरू अधोमति लागेकै कारण गुरुङ कुल रोजेर जन्मेको हुँ। पहिले पहिले शास्त्र नबुझ्नेहरूले राजगुरु भएर चलाएर नै त हो राजवंशको यो हालत भएको! खासमा गुरु शब्द अप्रभंस भएर नै गुरुङ भएको हो। मसिन्या मतवालीमध्ये गुरुङहरू नै यस राज्यका खास गुरु हुन्। त्यस सत्यलाई स्थापित गर्न, ख्वामिततन्त्र स्थापनाका लागि यस बुढ्यौलीमा लागि परेको छु।
अब म त्यो सबै भार उठाउन आइपुगेको छु, जसरी कंशको अत्याचारकाे अन्त्य गर्न भगवान् कृष्ण अवतरित हुनुभयो।
यति लामो छाँटिसकेपछि जंगुमानले "ॐ ह्रीं म्रीं फट् स्वाहा" मन्त्र १२ चोटि फलाक्नुभयो। नली हाड दर्शन ढुंगामा बजारेर मकलमा खुर्सानी डढाउनुभयो र भन्नुभयो, ‘लौ लौ लौ, तपाईं पनि यहाँबाट द्रुत हिँडिहाल्नुहोस्। यस पटक मैले विशेष तन्त्र साधना गरेका हुनाले आसपास रहेका विधर्मी ऊर्जा भएका जोसुकै स्वाहा हुने सम्भावना छ। यस पटक सबै शास्त्रद्रोही, राजाद्रोही र ईशद्रोहीहरू कोही बच्ने छैनन्। तपाईंमा पनि राम्रो लक्षण देखेको छैन। भागिहाल्नुस्।’
यसपछि उहाँ खरानी फुक्दै भट्याउँदै हुनुहुन्थ्यो, ‘भूतप्रेताः प्रकटयन्ताम्।’ (भूतप्रेत प्रकट होउन्।)
(यो पूर्णतः झूटो कथा हो। लेखक कुनै पनि भूतप्रेत पिचास र डंकिनीमा विश्वास राख्दैन। अधोमतिका कोही मनुवा र मण्डलहरूसँग यो कथा मिल्न गए संयोग मात्र हुनेछ।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
