पछाडि पारिएका समुदायलाई माथि उठाउन गरिएको सकारात्मक विभेदको व्यवस्था नै आरक्षण हो। विगत ३-४ हजार वर्षमा भएका 'महाआरक्षण'को क्षतिपूर्ति अहिलेको आरक्षण हो।
यो आलेख विशेषगरी शैक्षिक 'निरक्षर'हरूका लागि हो। एक किसिमले भन्दा यो एउटा आग्रह हो।
‘शैक्षिक निरक्षर?’, तपाईंको दिमाग तात्यो नि होइन? वर्षाैं दुःख गरेर कुनै डिग्री हासिल गरेको तपाईंलाई कसैले ‘निरक्षर’ मात्रै भनिदिँदा तपाईंको अहम् जाग्छ। तपाईंमा 'काली माता' चढ्छ नि! ठीक त्यसैगरी, तपाईं र तपाईंलगायतले कसैलाई जानेर या नजानेर गर्ने भाषिक र व्यावहारिक विभेदले भोग्नेलाई कस्तो लाग्दो हो?
दलित भन्दा रिसाउने?
यो दृश्य काठमाडौँको कुनै क्याफेमा चिया पिउँदै गर्दाको हो। ‘दलित भन्दै कोटा लिने, अनि दलित भन्दा रिसाउने?’, घोक्रो सुक्ने गरी एउटा केटो कुर्लिंदै थियो। झट्ट हेर्दा 'स्मार्ट' देखिने उसले विश्वविद्यालयबाट उच्चशिक्षा सक्काएको थियो र उसको चेतनास्तरले भने उसको 'शिक्षा'लाई गिज्याउँदै थियो। समाजमा सुविधाको हिसाबले पछि पारिएका सीमान्तकृत, महिला, दलित र जनजातिले पाएको सामान्य सुविधाले उसको टाउको मात्रै दुखेको थिएन, आफ्नै अंश जबरजस्ती बाँडिएको जस्तो महशुस गर्दै थियो ऊ। कुराकानीका क्रममा उत्तेजित भएको उसको मुहार-संकेतले त्यस्तै बुझिन्थ्यो।
खासमा 'दलित' कुनै जात होइन, बरू आन्दोलनको एकीकृत नाम हो। समाजबाट उपेक्षा र दलनमा परेका समुदाय/समूहलाई दलित भनिएको हो। यसरी हेर्दा उत्पीडनमा परेका सबै क्षेत्र र लिंगसमेत 'दलित' हो। नेपालको सन्दर्भमा तथाकथित माथिल्लो जातबाट छुवाछुत र चरम अवहेलना गरिने खास समुदायलाई दलित भनिने गरिएको छ। तर, उत्पीडन र पेलाइमा परेका सबै दलित हुन्। महिला पनि दलित हुन्।
दुःखको कुरा, 'शिक्षित’ र ‘पढेलेखेका' भनिएकाहरू नै यो कुरा बुझ्दैनन्।
हामीले विद्यालय र विश्वविद्यालयबाट हासिल गरेको शिक्षा एक किसिमको हतियार हो। चलाउन जाने जिन्दगी ठीकैसँग अघि बढ्छ, नजाने प्रत्युत्पादक बन्न जान्छ। खुकुरी, चुप्पी, कर्द या जुनसुकै हतियार नै किन नहोस्, ती सबै चलाउन पनि निश्चित ज्ञान र सीपको जरुरत पर्दछ। हामीले आर्जन गरेको ज्ञान, सीप र सिकाइलाई ठीक ढंगले प्रयोग गर्न नजान्दा पनि ज्ञान हासिल गर्न लगाएको समय र धन अनुत्पादक बन्न जान्छ। खेर जान्छ। विश्वविद्यालय पढेर तथा समाजमा प्रशस्तै घटनाहरू देखेर पनि दलन र दलितका कुरा नबुझ्ने उल्लिखित युवाको हालत त्यस्तै देखिन्छ।
आरक्षण/कोटा
‘मेरो भाइ दलित/जनजाति भएको भए उहिल्यै सरकारी जागिरमा नाम निकाल्थ्यो’, एक जना युवाले आरक्षण कोटा आफ्नो भागमा नपरेकोले ‘आफ्नो भाइले लोकसेवा आयोगमा नाम ननिकालेको’सम्म भन्न भ्याए। झट्ट सुन्दा उनको कुरा ठीकै सुनिएला।
हुन त समाजअनुसार नै चेतना विकास हुने हो। आम समाज विभेदकारी र गैर-तार्किक भएपछि धेरैजसो मान्छेमा त्यस्तै गुण हुनु नौलो भएन। स्वयंलाई पनि केही वर्षअघिसम्म लाग्थ्यो कि आफ्नो खास जातिका लागि आरक्षण कोटा नछुट्याइएकाले एमबीबीएसको छात्रवृत्तिमा नाम निस्किएन। तर, कुरा त्यसो होइन। खुला होस् या आरक्षणतर्फ, नाम निस्किन पढाइ र तयारी पुग्नुपर्छ। यति कुरा बुझ्न मलाई समय लाग्यो। ढिलो कुरा बुझ्न सकेँ। दलितका समस्याबारे लेखिएका पुस्तकहरू पढेपछि मात्र दलनबारे म थप प्रस्ट भएँ।
प्रतिस्पर्धात्मक परीक्षामा उत्तीर्ण भएका सबैले आरक्षणको सुविधा पाएका थिए र? तथ्यांक नै हेर्ने हो भने आजका दिनमा ७४ प्रतिशत खस–आर्यहरू (महिला, पुरुष आदि जोड्दा) नै लोकसेवामा चुनिएर आउने गरेका छन्। (अशोक कुमार झा, उकालो कात्तिक ४, २०७९) [समावेशी आयोगको मनोगत रिपोर्ट : कसलाई सपोर्ट?]
राज्यद्वारा विगतमा भए गरेका गलत अभ्यास र पछाडि पारिएका समुदायलाई माथि उठाउन गरिएको सकारात्मक विभेदको व्यवस्था नै आरक्षण हो। विगत ३-४ हजार वर्षमा भएका 'महाआरक्षण'को क्षतिपूर्ति अहिलेको आरक्षण हो। आजको व्यवस्थामा एक सयमा ४५ प्रतिशत मात्रै आरक्षित छ। ५५ प्रतिशत सबैका लागि खुला छ। ४५ प्रतिशतमा पनि महिला, मधेशी, दलित, जनजाति, पिछडिएको क्षेत्र लगायतका विभिन्न क्लस्टरमा बाँडिन्छ। ४५ प्रतिशतभित्र उम्मेदवारी दिनेले पनि सबै योग्यता पूरा गरेर आउने हो। अन्त्यमा योग्य उम्मेदवार नै छनोट हुने हो।
रगत एउटै
गाउँमा भर्खरै स्थानीय निर्वाचनको माहोल बन्दै थियो। एक बिहान गाउँका एक जना विश्वकर्मा काका मेरो घर आउनुभएको थियो। त्यहाँ आउनुको प्रयोजन थियो, 'सेती तुलसी'को बिरुवा रोप्न लैजानु। घरमा सेती तुलसी रहेनछ। फेरि, तुलसीको बेर्ना नमागीकन, अझ कसैलाई नभनी चोरेर लैजानु भन्ने आमविश्वास छ। तर, आमाले ती काकालाई सोध्दा आफू आउनुको प्रयोजन बताए। हाम्रो घरमा पनि तुलसीको बेर्ना नभएका कारण अन्यत्रबाट ल्याउनुपर्ने बताउनुभयो आमाले।
त्यसपछि आमाले काकाको लागि चिया बनाउनुभयो। चिया पिइसकेपछि गिलास माझ्न धारातिर जानुभयो काका। ‘पर्दैन काका हामी माझिहाल्छौँ नि!’, मैले उहाँलाई भनेँ। ‘हुन त हो बाबु! हामी पनि मान्छे नै हौँ, हाम्रो पनि काटे रगत रातै आउँछ’, उहाँले यति भन्दै गिलास सफा गरेर आँगनको डिलमा राखेर गाउँतिर हिँड्नुभयो। यसबाट मैले थोरै मात्रै महशुस गरेँ कि दलित समुदायभित्र बिस्तारै जागरण आउँदै छ। उनीहरू छुवाछुत र विभेदका विषयमा हत्तपत्त चर्काचर्की गरिहाल्दैनन्। हत्तपत्त हस्तक्षेप गरिहाल्दैनन्, किनकि अझै डर र असुरक्षा छ उनीहरूलाई। तर, आफ्ना कुरा प्रस्टसँग राख्न भने थालेका छन्।
अर्को प्रसंग– गैरदलित समुदायका लेखकले दलन र उत्पीडनका विषयमा अन्य समुदायकाले लेख्दा दलित समुदायबाट प्रतिनिधित्व गर्ने केही लेखक र कविहरू यदाकदा भन्छन्, 'ख्यातिका लागि गैरदलित साथीहरूले हाम्रो विषय लेखे।' कतिपय गैरदलितले ख्यातिकै लागि दलनसम्बन्धी पैरवी र लेखनमा संलग्न होलान्। यतिसम्म त ठीकै हो। तर 'दलनको विषय हाम्रो मात्र हो' भन्नेहरू पनि छन्। त्यसोचाहिँ सही होइन। उत्पीडनको एउटा पाटो दलित समुदाय हुँदै गर्दा अर्को पाटो उत्पीडक समुदाय हो। उत्पीडक समुदायभित्रकै समता र परिवर्तन पक्षधरलाई सँगै लिएर अघि बढ्दा समताको आन्दोलन झनै सहज हुनेछ। विभेदविरुद्धको आन्दोलनलाई सबैको साझा आन्दोलनको रूपमा अघि बढाउन सकियो भने समाज छिट्टै परिवर्तन हुनेछ।
दलनकै बारे कुरा गर्दा, कतिपय तथाकथित बुद्धिजीवीहरू ‘दलित’ शब्द हटाए मात्रै पनि विभेद हट्छ भन्नेसमेत कुरा गर्छन्। सार्वजनिक खपतका लागि आफूलाई परिवर्तनकारी देखाउनेहरू यस्ता कुण्ठा व्यक्त गर्छन्। शब्दले होइन, कर्मले विभेद भएको हो भन्ने तथ्य नबुझ्नेहरू यस्ता कुरा गर्छन्।
निरन्तर बोलिरहूँ
स्कुल र विश्वविद्यालयको मुखसम्म नदेखेका आमा बालाई बरू समानता/परिवर्तन र विभेद के हो भनेर सिकाउन सकिएला। ‘महिला/दलित, कुनै वञ्चित समुदाय या मधेशी भएकैले विभेद गर्नुहुँदैन। जुनसुकै किसिमका विभेदलाई राज्यले कठघरामा उभ्याउँछ’ भनेर उहाँहरूलाई बुझाउन सकिएला तर विश्वविद्यालय पढेका प्रमाणपत्रधारी युवाहरू आधा गाग्रोजस्तै हुन् जो ज्ञानको अहम् बोकेर हिँड्छन् र छचल्कन्छन्।
तर, पनि तिनै युवाहरूलाई विभेदका जरा कारणहरूबारे बुझाउन जरुरी छ। चिया क्याफे या त सार्वजनिक ठाउँमा 'लाउड' सुनिने संरचनात्मक लाभ पाएका युवाहरूलाई निरन्तर घोचिरहनुपर्छ। सानो–सानो आवाजमा निरन्तर दलनका जराबारे बुझाइरहनुपर्छ। सुनाइरहनुपर्छ।
२५ असार १९७७ मा चन्द्र शमशेरले सतीप्रथा अन्त्य भएको घोषणा गराए तर 'राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नै खलकको हितलाई ध्यानमा राखेर सतीप्रथाको अन्त्य गरेको' भन्नेहरू पनि छन्। चन्द्र शमशेरले आफ्नै परिवारका आमा, दिदीबहिनी, छोरी र बुहारीहरूप्रतिको करुणाका कारण पनि सतीप्रथा अन्त्य गरे होलान् तर चन्द्र शमशेरको सो घोषणाले जिउँदै पोलिनुपर्ने र कल्पनै गर्दा आत्तिनुपर्ने पीडाबाट त्यसपछिका करोडौँ हाम्रा आमा/दिदीबहिनी, छोरी र श्रीमतीहरूले मुक्ति पाए।
क्याफेमै भएको छलफलका क्रममा मैले भनेँ, ‘समतामूलक समाज निर्माणको लागि हामीहरूले नै सार्थक पहल गर्नैपर्छ। आफैँले पहलकदमी लिनुपर्छ। यसो गर्दा हामी सानो हुँदैनौँ। बरू समाज परिवर्तनको सत्कर्म गर्न पुगिन्छ।' केही युवाहरूको बीचमा यसो भन्दै गर्दा स्नातक तह सक्काएको एक युवा भन्दै थियो, ‘त्यसो भए तिमी कमिनीसँग बिहे गर न त!’
युवाको प्रतिउत्तरमा मैले भनेँ, ‘उत्पीडन झेलेको र उत्पीडनविरुद्ध उभिने त्यस्तो बलियो पात्रसँग नै बिहे गर्ने अवसर मिलोस् भन्ने त म चाहन्छु। तर, कसैले फलानो व्यक्ति वा जातसँग बिहे गर भन्ने बित्तिकै त्यसै गर्न मिल्ने विषय होइन मित्र। मान्छे वस्तु होइन, पैसा तिरेर किन्न मिल्ने। लाद्न मिल्ने विषय होइन बिहे।’ सम्भवतः ती युवाकै प्रश्नलाई नै ध्यानमा राखेर 'बिहे के हो?' भनेर कुनै दिन छुट्टै आलेख लेखूला।
अरूलाई पनि आफूजत्तिकै महत्त्व दिन नचाहने व्यक्ति आजको युगको मान्छे ठहरिन सक्तैन। कुनै पनि निहुँमा विभेद र अत्याचार जायज ठहरिन्नँ। साँच्चिकै परिवर्तनको पक्षमा आवाज मुखरित गर्न सहयोग गर्ने हो भने कुनै बेला सतीजस्तो कुप्रथालाई इतिहास बनाएको मानव जातिले छुवाछुतलाई पनि त्यसैगरी निमिट्यान्न पार्नसक्छ।
दलन हाम्रो समाज र संस्कृतिकै कलंक हो। त्यसविरुद्ध दलित गैरदलित साक्षर र निरक्षर सबै जुटौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
