फ्रेडरिक भन हायेकको पुस्तक ‘दि रोड टु सर्फडम’ (दासत्वतर्फ जाने बाटो) नेपालको लागि अति नै सान्दर्भिक छ, किनभने उनले त्यसबखतको जर्मनीमा जे देखेका थिए नेपालमा अहिले त्यस्तै भैरहेको छ।
हरेक समाज कुनै नै कुनै बाटो हिँडिरहेको हुन्छ। हाम्रो समाज जुन बाटोमा हिँडिरहेको छ, त्यसले हामीलाई कहाँ पुर्याउला?
नेपालको लागि यो एकदमै रोचक र महत्त्वपूर्ण प्रश्न हो। यस प्रश्नको उत्तर खोज्ने क्रममा मलाई फ्रेडरिक हायेकको दि रोड टु सर्फडम भन्ने पुस्तकको विचार प्रस्तुत गर्न मन लाग्यो। यस पुस्तकमा जर्मन समाजको जुन प्रकारको विश्लेषण गरिएको छ, त्यो नेपालको सन्दर्भमा निकै मिल्दोजुल्दो र उपयोगी छ।
देश इतिहासको एउटा मोडमा उभिएको छ। हाम्रो देश आजको ठाउँबाट कुन दिशामा जान्छ भन्ने विषय अहिले भइरहेको वैचारिक र सांस्कृतिक संघर्षले निर्क्यौल गर्नेछ। वैचारिक रूपमा हामीबीच रूढीवाद, सामन्तवाद, राष्ट्रवाद, समाजवाद र उदारवादजस्ता विभिन्न विचारधारा छन्। त्यसै गरेर हाम्रो समाजमा देखिने वा नदेखिने रूपमा विभिन्न वर्ग छन् र ती वर्गका आफ्नै मनोविज्ञान र विचारधारा छन्।
सबैभन्दा रोचक त नेपालमा अहिले जे भैरहेको छ, हायेकले वर्णन गरेको १०० वर्षअघिको जर्मन समाजमा पनि त्यस्तै भइरहेको थियो। त्यतिबेला जर्मनीमा नेपालमा जस्तै समाजवाद र राष्ट्रवाद मिलेर उदारवादको विपक्षमा मोर्चा बनाइएको थियो। त्यसले अन्तत: हिटलरको लागि बाटो खोलिदिएको थियो। के नेपालमा पनि १०० वर्षअघिको जर्मनीमा झैँ समाजवाद र राष्ट्रवाद मिलेर अधिनायकवादको बाटो बनाइदिने हो? अर्थात्, हामी अहिले जुन बाटोबाट हिँडिरहेका छौँ, त्यसले हामीलाई पनि अधिनायकवादतर्फ लगिराखेको त छैन?
हायेकको विचारमा राष्ट्रवादी समाजवाद र नाजीवादलाई सिर्जना गर्न मद्दत पुर्याउने शक्तिहरूलाई राम्रोसित बुझ्न आवश्यक छ। किनभने, आमजनताको माझबाटै नाजीवादको जन्म भएको थियो।
अझ विडम्बना त के थियो भने, विश्वका लोकतन्त्रवादीले आदर्शका रूपमा हेर्ने र राम्रो मनसाय भएका तथा नाम चलेका व्यक्तिहरूले नै जर्मनीमा स्वतन्त्रता विरोधी शक्तिहरूको लागि मैदान बनाइदिएका थिए। हायेकको विचारमा खराब पात्रका कारण अधिनायकवाद आउने हैन, बरू हामीले रोजेको सामाजिक र राजनीतिक बाटोको कारण आउने हो। हामीले हिँड्ने बाटोले नै असल व्यक्तिलाई पनि तानाशाह बनाउन सक्छ।
त्यसैले, एकपल्ट हायेकको पुस्तकबारे विचारमन्थन गरौं।
किन लेखियो दि रोड टु सर्फडम?
जब हायेक सन् १९३१ मा अस्ट्रियाबाट बेलायत पुगे उनलाई अनौठो अनुभूति हुन थाल्यो। उनलाई ‘एउटै समय दुईपल्ट बाँचेको अनुभव’ हुन थालेको थियो। अर्थात् उनले जर्मनी र युरोपमा केही दशकअघि जस्तो विचारको उद्भव देखेका थिए, अहिले पश्चिमेली लोकतन्त्रमा ठ्याक्कै त्यस्तै सामाजिक चेतको उद्भव भैरहेको थियो।

उनलाई लाग्यो इतिहास दोहोरिन सक्छ, तर इतिहासबाट पाठ सिक्यौँ भने गल्ती दोहोरिँदैन। त्यसैले, सन् १९३० को दशकमा हायेकले लन्डन स्कुल अफ इकोनोमिक्सका निर्देशकलाई एउटा टिप्पणी लेखे। फासीवाद भनेको पुँजीवादको अन्तिम सास हो भन्ने प्रकारका विचारहरू त्यसबेला व्यक्त हुने गर्थे। हायेकलाई यस्तो कुरा पटक्कै चित्त बुझेको थिएन।
ड्युक विश्वविद्यालयका प्राध्यापक ब्रुस क्याल्डवेलका अनुसार सन् १९३० को बेलायतमा यस्तो लाग्थ्यो कि, पुँजीवाद ढलिसकेको थियो र यो आर्थिक पद्धतिका रूपमा व्यवहारिक थिएन। उदारवाद पनि मरिसकेको जस्तो लाग्थ्यो।
त्यो समय बेलायतमा मार्क्सवाद र विज्ञानलाई जोडेर समाजलाई पुनर्संरचना गर्ने कुरामा प्रगतिशीलहरू एक ठाउँमा उभिएका थिए। बेलायतको लेबर पार्टीले युद्धपछिको पुनर्संरचनाका लागि केही मान्यताहरू अघि सारेको थियो। ती सबै मान्यताले बजारको प्रतिस्पर्धालाई केन्द्रीकृत योजनाले प्रतिस्थापित गर्नुपर्नेमा जोड दिएका थिए। उद्योग र कृषिमा रहेका युद्धकालीन नियन्त्रणहरू शान्ति अवस्थामा पनि जारी राख्नुपर्ने बताएका थिए।
उदारवादप्रति उत्तिकै वितृष्णा थियो। नक्कली यथार्थवाद हाबी थियो र अवश्यंभावी घटनाको भाग्यवादी स्वीकृति थियो। अर्थात्, पश्चिमेली मुलुकहरूले प्रथम विश्वयुद्धबाट गलत पाठ सिकेका थिए।
त्यसैले हायेकले सन् १९३० मा लेखेको आफ्नो सानो टिप्पणीलाई पत्रिकाको आलेखका रूपमा तयार गर्न अझ लामो बनाए। अनि दोस्रो विश्वयुद्द शुरू भएपछि त्यसलाई पुस्तककै रूप दिने विचार गरे। अन्तत यो सन् १९४४ मा बेलायत र अमेरिकामा छापियो।
जतिबेला उनले यो पुस्तक लेखेका थिए, त्यतिबेला युरोपमा फाँसीवाद र नाजीवाद हाबी थियो र यी अधिनायकवादी पद्धतिविरूद्ध संघर्ष चलिरहेको थियो। जर्मनीमा जे भैरहेको थियो, त्यसका बाछिटाहरू बेलायत र अमेरिकामा पनि परिरहेका थिए। त्यसैले हायेकले बेलायती र अमेरिकी समाजलाई सचेत गराउन खोजे- यदि तिमीहरू यही बाटोमा हिँडिरह्यौ भने अन्तत: अधिनायकवादमा पुग्छौ।
यो पुस्तककले हायेकलाई उदारवाद र खुला बजारका सबैभन्दा चर्चित प्रवर्तकका रूपमा चिनायो। यिनै विचारका कारण हायेकले सन् १९७४ मा अर्थशास्त्रमा नोबेल पुरस्कार जित्न सफल भए।
लगभग ७९ वर्षपछि आजका दिनमा हायेकको पुस्तक झनै सान्दर्भिक भएका लेखहरू प्रशस्त पढ्न पाइन्छ।
युटोपियाको खोजीमा युरोपेलीले बिराएको बाटो
युरोपेली पुनर्जागरणका क्रममा दुई खालका स्वतन्त्रताका कुरा हुन थालेको थियो। पहिलो व्यक्तिगत स्वतन्त्रता थियो, जुन उदारवादको केन्द्रविन्दु थियो। "आफ्नो प्रजातिविरूद्ध व्यक्तिको विद्रोह पश्चिमेली समाजको बाह्रमासे रोग थियो।" तर हायेकको विचारमा यही विद्रोहको भावनाले हाम्रो सभ्यताको विकास भैरहेको थियो।
राजनीतिक स्वतन्त्रता (अरू व्यक्तिको शक्ति र दबावबाट मुक्ति) स्वतन्त्रताको खोजीको पहिलो खुड्किलो मात्र थियो। दोश्रो खुड्किलो आवश्यकता र सामाजिक परिबन्दबाट मुक्ति थियो।
यी दुवै स्वतन्त्रताका लागि भैरहेको प्रयासमा नयाँ रूझान देखियो। हायेकलाई सबैभन्दा चिन्ता लागेको विषय के थियो भने, पश्चिमेली मुलुकहरूले सन् १९३० को दशकमा उदारवादको बाटो बिस्तारै छोडिरहेका थिए। उदारवाद छोड्दै जानुको कारण दुई खालका विचारधाराको प्रभाव थियो: राष्ट्रवादी समाजवाद र मार्क्सवादी समाजवाद।
राष्ट्रवादी समाजवादका बौद्धिक अग्रजहरू स्कटल्यान्डका थोमस कार्लाइल र बेलायतका ह्युस्टन स्टुवार्ट चेम्बरलेन थिए। त्यतिखेर राजनीतिक उत्थानको चाहना व्यापक थियो। यसका लागि विज्ञान र प्रविधिको दुरूपयोग गरेर मानव आँखाले देखिएका कमजोरीहरूलाई निमिट्यान्न पार्ने कोशिश हुन थाल्यो। शुरूमा फ्रान्सका जेकोबीन, त्यसपछि जर्मनीका नाजी, रूसका बोल्सेभिक र इटालीका फासीवादीहरू राजनीतिक स्वर्ग निर्माण गर्न चाहन्थे। त्यसका लागि उनीहरू आम विचारशिक्षण र हिंसा अंगाल्न हिच्किचाउँदैनथे। यसलाई अर्को तरिकाले बुझ्दा ‘यान्त्रिक सामाजिक इन्जिनियरिङ’ पनि भन्न सकिन्छ।
नयाँ युगको समाज कस्तो हुनुपर्छ भन्ने विषयमा जर्मनीबाट पनि धेरै विचार प्रवाह हुन थाले, जुन सबै दिशामा फैलिन थाल्यो। यीमध्ये प्रमुख विचारक हेगेल र मार्क्स थिए, विचारहरू समाजवाद, सामाजिक संगठन र योजना थिए।
यी दुई विचारका प्रभावले उदारवाद अंगालेका मुलुकहरूमा आफ्नो व्यवस्थाप्रति लघुताभास पैदा हुन थाल्यो र उनीहरू लज्जित भए; अनि आफू हिँडिरहेको उदारवादको बाटो छोड्न थाले। तर स्वतन्त्रताको लागि जुन ‘समाजवादी हाइवे’ रोजिएको थियो, त्यो त दासत्वतर्फ जाने बाटो पो रहेछ। हायेकको लागि यो नै समाजवादको सबैभन्दा ठूलो दुखान्त हो।
समाजवादले शुरूदेखि नै अर्कै बाटो लिन थालिसकेको थियो। आधुनिक समाजवादका फ्रान्सेली प्रवर्तकहरू आफ्नो विचार कार्यान्वयन गर्ने पात्रको खोजीमा अधिनायकवादतर्फ मोडिइसकेका थिए। यो कुरा एलेक्सी डु टकभिलले बुझेका थिए। उनले सन् १८४८ मै भनेका थिए, “लोकतन्त्रले स्वतन्त्रताको दायरालाई फराकिलो बनाउँछ, समाजवादले खुम्च्याउँछ।” यस्तै खाले आलोचनाको सामना गर्न समाजवादले नयाँ स्वतन्त्रताको कुरा गर्न थालेको थियो।
यसरी शुरूशुरूमा आएको मार्क्सवादी समाजवादी डिस्कोर्सका अनुसार यो एउटा छलाङ थियो, आवश्यकताको संसारबाट आर्थिक स्वतन्त्रताको संसारमा। आर्थिक स्वतन्त्रताबिना मानिसले प्राप्त गरेको राजनीतिक स्वतन्त्रता अर्थहीन हुने ठानेरै समाजवादीहरू अधिनायकवादको खोजीमा थिए।
पीटर ड्रकरका अनुसार मार्क्सवादी बाटोले स्वतन्त्रता र समानतासम्म पुर्याउन नसकेपछि रूसले त्यही बाटोबाट अधिनायकवादको गन्तव्य रोज्यो। उनको विचारमा जसरी समाजवाद असफल भएपछि साम्यवाद आयो, त्यसरी नै साम्यवाद असफल भएपछि फासीवाद आउँछ। स्टालिनको रूसमा र हिटलरअघिको जर्मनीमा साम्यवाद भ्रम मात्र रहेछ भन्ने देखिएको थियो।
इटाली र जर्मनीमा जोजो मान्छे फासीवादी वा नाजी बने, उनीहरू सबैजना पहिला समाजवादी थिए। नेताहरूको मामिलामा मात्र नभएर साधारण कार्यकर्ताहरूको मामिलामा पनि यही भएको थियो। एउटा कलिलो कम्युनिष्ट कति सजिलै नाजी बन्छ भन्ने जर्मनीमा देखिएको थियो।
हिटलर उदीयमान हुँदै गर्दा उनले आफूलाई सच्चा लोकतन्त्रवादी र समाजवादीको रूपमा चिनाएका थिए। यसमा थोरै मात्रामा भए पनि सत्यता थियो। तर हिटलरले कहिल्यै आफू उदारवादी भएको दाबी गरेनन्। किनभने, उनी यो विचारधारालाई घृणा गर्थे।
जब हिटलर जर्मनीमा उदाए, त्यतिखेरसम्म उदारवाद मरिसकेको थियो र यसलाई मार्ने दोषी थियो–समाजवाद।
किन सबैभन्दा खराब व्यक्ति नेता बन्छन्?
समाजको नेतृत्व कस्तो हुन्छ र कसले गर्छ भन्ने विषय आममानिसको मनोविज्ञान र वर्गीय चेतले मात्र नभएर राजनीतिक-आर्थिक पद्धतिमा पनि भर पर्छ। अर्थात्, अधिनायकवाद हामीबीच नै रहेको हुन्छ र हामीबीचबाट नै पलाउँछ। यसबाट के देखिन्छ भने आममानिसको वर्गीय चाहनाअनुरूप नै समाजवाद र राष्ट्रवाद मिलेर नयाँ खालको नेतृत्वको सिर्जना गरेको हुन्छ।
प्राय:जसो हामी सबै असल मान्छे लोकतन्त्रवादी नै हुनुपर्छ वा उनीहरू सत्तामा हुनुपर्छ भन्ने मान्यता राख्छौँ। यसो भनेर हामी आँफैले आँफैलाई धोका दिइराखेका हुन्छौँ। हामी धेरैले ‘बेनेभोलेन्ट डिक्टेटर’ अर्थात्, परोपकारी तानाशाहको परिकल्पना गरेका छौँ। शुरूमा साझा पार्टीलाई पनि धेरैले यस्तै आरोप लगाएका थिए। मानिसहरू भन्ठान्छन्, असल व्यक्ति तानाशाह बन्यो भने अधिनायकवादको नतिजा पनि राम्रै आउँछ।
तर, हायेकको विचारमा खराब तानाशाहको जन्म व्यक्ति खराब भएर हैन, समाजवादी पद्धतिले नै सिर्जना गर्छ। अर्थात अधिनायकवादले असल मानिसलाई पनि खराब तानाशाह बनाउँछ। उनले यो तर्क पुष्टि गर्नका लागि पुस्तकमा एक अध्याय नै खर्चेका छन्।
लेनिनले भनेअनुसार कुनै पनि समाजवादमा दुइखाले वर्ग हुन्छन्: एउटा निर्देशन दिने र अर्को निर्देशित हुने।
समाजवादमा कसले के पाउँछ भन्ने कुरा केही सीमित व्यक्तिको निर्णय वा निर्देशनमा भर पर्छ। जबकि, खुला बजारमा व्यक्तिहरूको कसले के पाउँछ भन्ने विषय व्यक्तिको आफ्नो क्षमता र उद्यमशीलतामा भर पर्छ, भलै त्यहाँ केही मात्रामा संयोग र अप्रत्याशित परिस्थितिको पनि भूमिका हुन्छ।
यसको जर्मनीमा विशिष्ट खालको असर परेको थियो। जर्मनीमा त्यस बखतको निम्न मध्यम वर्गले आक्रोश अनुभव गरिराखेको थियो। उनीहरू आफू निर्देशन दिने वर्गको सदस्य बन्न चाहन्थे। त्यस्तै, त्योभन्दा कान्छो पुस्ता सुरक्षाको लागि जागिरे बन्ने इच्छा राख्थ्यो, तर उनीहरू पनि आफ्नो शिक्षा र सीप अनुकूल यथेष्ट पैसा र शक्ति चाहन्थे।
हिटलरको राष्ट्रवादी समाजवादले यी दुवैको चाहनालाई सम्बोधन गर्न सफल भयो र नयाँ मोड दियो। त्यसको लागि हिटलरको नाजीवादले एउटा नयाँ सिद्धान्त वा विश्वदृष्टिकोण सिर्जना गरेको थियो र सबै वर्गहरूले चाहेको विशेषाधिकारको चाहनालाई उचित ठहर्याएको थियो।
जर्मनीमा समाजवाद र राष्ट्रवादको सम्बन्ध शुरूदेखि नै घनिष्ट थियो। सन् १९१४ देखि मार्क्सवादी समाजवादीहरूले परिश्रमी श्रमिकहरू तथा आदर्शवादी युवाहरूको नेतृत्व गरे। तर, तिनलाई अन्तत राष्ट्रवादी समाजवादी घेरामा पुर्याए। यसपछि मात्र राष्ट्रवादी समाजवादको महत्त्व बढ्न थाल्यो र अन्तत: ‘हिटलरवाद’को स्वरूप हासिल गर्यो। हिटलरवादले राज्यलाई पुनर्परिभाषित गर्न थाल्यो। राज्य भनेको जनताको समष्टिगत स्वरूप थिएन, राज्यको उद्देश्य जनताको हितमा काम गर्नु पनि थिएन। एउटा राष्ट्रिय समुदायको अंगको रूपमा व्यक्तिहरूको आफ्नै अधिकार थिएन, थियो त केबल कर्तव्य।
इतिहासकार इ एच कारका अनुसार उद्योग र अर्थतन्त्रको राष्ट्रीयकरणभन्दा अघि जहिले पनि विवेकको राष्ट्रियकरण हुने गरेको पाइन्छ। सबैलाई एउटै साझा उद्देश्यका लागि समर्पित बनाउन त्यो उद्देश्यमा विश्वास गर्न आवश्यक पर्छ। त्यो उद्देश्य आफ्नै उद्देश्य हो भन्ने मनाउन पनि सक्नुपर्छ। एउटा अधिनायकवादी पद्धतिलाई प्रभावकारी रूपमा चलाउन सबैलाई त्यो उद्देश्यका लागि काम गर्न जबर्जस्ती गरेर मात्र पुग्दैन। यसको लागि सबैभन्दा महत्वपूर्ण माध्यम ‘प्रोपागान्डा’ हो। प्रोपागान्ड सबै समाजमा पाइन्छ, तर अधिनायकवादी समाजमा हुने प्रोपागान्डाको एउटै साझा उद्देश्य हुन्छ।
समूहवादी सोचको दुखद पक्ष के हो भने, यसले विवेकलाई सर्वोच्च बनाउन खोज्छ। तर यसो गर्दैगर्दा विवेकलाई नै नष्ट गर्न पुग्छ। समाजवादले सचेतनालाई योजनाको आधार बनाउन चाहन्छ, तर यसो गर्ने क्रममा कुनै एक व्यक्तिको मस्तिष्क सर्वोच्च रहोस् भन्ने चाहन्छ, जबकि सामाजिक सचेतना धेरै व्यक्तिहरूको विवेक मिलेर बनेको हुन्छ।
व्यक्तिवादले यो कुरा बुझेको हुन्छ र सामाजिक प्रक्रियामा अरू व्यक्तिहरूको चेतना र विचारलाई पनि उत्तिकै सम्मान गर्छ। सामाजिक तथा आर्थिक प्रक्रियालाई केन्द्रीकृत रूपमा निर्देशन गर्ने प्रयास यसकारण एउटा बौद्धिक अहंकार मात्र हो।
युरोपमा त यो राष्ट्रवाद मात्र थिएन। यो पुँजीवादीहरूको समाजवादीप्रतिको प्रतिक्रिया पनि थिएन। यी विचारहरूलाई सत्तामा पुर्याउन समाजवादी क्याम्प कै भूमिका थियो। यो बुर्जुवा सहयोगको कारण सत्तामा पुगेको थिएन, उल्टो बलियो बुर्जुवा वर्गको अनुपस्थतिका कारण सत्तामा पुगेको थियो।
जर्मनीमा समाजवादी र परम्परागत रूढीवादीहरूको एउटा साझा शत्रु बनेको थियो उदारवाद। जर्मन युवा आन्दोलन समाजवादी थियो, तर यहाँ नै समाजवाद र राष्ट्रवादको अन्तरघुलन भएको थियो। हिटलरको उदयसम्म यही समूह नयाँ राजनीतिक विचारधाराको केन्द्रमा रहेको थियो।
समूहवाद (कलेक्टिभिजम्), केन्द्रीकृत योजना र अधिनायकवाद
समाजवाद र यसले निम्त्याउने नतिजाबारे छलफल गर्नु अघि समाजवाद के हो भन्ने विषय हायेकले प्रष्ट्याउन खोजेका छन्।
समाजवाद लक्ष्य मात्र नभएर माध्यम पनि हो। समाजवादका लक्षहरू सामाजिक न्याय, समानता तथा सुरक्षा हुन्। तर यी लक्ष हासिल गर्ने माध्यम भनेको निजी उद्यम तथा निजी स्वामित्वको उन्मूलन तथा योजनाबद्ध अर्थतन्त्रको सिर्जना हो। यस्तो व्यवस्थामा लाभका लागि काम गर्ने उद्यमीलाई केन्द्रीकृत योजना निकायले प्रतिस्थापन गर्छ।
हायेकको विचारमा धेरै समाजवादीहरू खालि लक्षको मात्र कुरा गर्न चाहन्छन्, तर लक्ष हासिल गर्न प्रयोग हुने माध्यमप्रति भने आँखा चिम्लिन चाहन्छन्। समाजवादको प्रमुख माध्यम हो आर्थिक योजना। सामाजिक न्यायको अवधारणा अनुसार आय पुनर्वितरण गर्ने हो भने आर्थिक गतिविधिलाई केन्द्रीकृत रूपमै निर्देशित गर्नुपर्छ।
हायेकका अनुसार, स्रोतको बाँडफाँट सही रूपले गर्न वा विकेन्द्रीकृत संयोजनका काम गर्न वा अन्य निर्णयहरू गर्नका लागि केन्द्रीकृत निकाय सक्षम हुन सक्दैन। जुन पुनर्वितरणलाई गरिबसम्म आय पुर्याउन प्रयोग गरिन्छ, त्यसैलाई नेता र व्यापारीसम्म आय पुर्याउन पनि प्रयोग गर्न सकिन्छ।
त्यसैले समाजवाद र केन्द्रीकृत योजना भनेको सर्वज्ञानी तानाशाहतर्फको यात्रा हो। तर कोही पनि तानाशाह सर्वज्ञानी हुन सक्दैन (उसले आफूलाई सर्वज्ञानी भन्ठाने पनि)। हायेकको विचारमा अर्थतन्त्रको लागि यस्तो उपाय चाहिन्छ जसले सर्वज्ञानी तानाशाहबिना नै सम्पूर्ण संयोजनको काम गर्न सक्छ।

समाजवादी अवधारणाको विकल्पमा हायेक खुला बजार, प्रतिस्पर्धा मूल्य पद्धतिलाई रूचाउँथे। तर यस्तो प्रतिस्पर्धा, जहाँ सार्वजनिक हितका लागि नियमहरू हुन्छन् र प्रतिस्पर्धा प्रभावकारी नभएको अवस्थामा अन्य खालका उपायहरू पनि अपनाउन सकिन्छ।
समाजवादी पद्धतिको अर्को मुख्य उद्देश्य भनेको, समाजको सबै श्रमलाई कुनै निश्चित सामाजिक उद्देश्यका लागि निर्दिष्ट गर्नु हो। यहीँ नै व्यक्तिगत स्वतन्त्रता र समूहवादबीच द्वन्द्व सिर्जना हुन्छ।
यति हुँदाहुँदै पनि समाजवादी वा अधिनायकवादी पद्धतिमा कुनै निर्णयका लागि विज्ञता खोजिन्छ र नीति निर्माण संसद् र राजनीतिबाट निकालेर विज्ञ र ब्यूरोक्रेसीलाई दिइन्छ। संसदमा छलफल कम हुन्छ र प्रत्यायोजित विधान (डेलिगेटेड लेजिस्लेशन) बढी हुन्छ।
समाजवादी लोकतन्त्रमा निर्वाचन हुन सक्छ, तर यसले स्वेच्छाचारिता नियन्त्रण गर्न सक्दैन।
एउटा स्वतन्त्र राष्ट्रलाई स्वेच्छाचारी राष्ट्रबाट भिन्न देखाउने सबैभन्दा राम्रो विशेषता हो विधिको शासन। कुनै पनि काम गर्नु अघि विधि निर्दिष्ट गरिएको हुन्छ। त्यसकारण कोही पनि अधिकारीले स्वेच्छाचारी ढंगबाट निर्णय गर्न पाउँदैन। यो नै व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्ने एउटा माध्यम हो। किनभने, राज्यको शक्तिलाई नियोजित ढंगबाट कुनै व्यक्ति वा संस्थाविरूद्धमा प्रयोग गर्न मिल्दैन।
विधिको शासनमा कुनै नियम वा कानुन बनाउँदा कोही व्यक्ति विशेषलाई फाइदा हुन्छ र कसलाई बेफाइदा हुन्छ भनेर हेरिँदैन। यदि, त्यसरी सोचिन्छ भने, त्यो नागरिकको हितमा प्रयोग गर्ने विधि नभएर कुनै अधिकारीले आफ्नो निजी स्वार्थका लागि नागरिकविरूद्धमा प्रयोग गर्ने साधन बन्न पुग्छ।
धेरै देशको इतिहासले देखाएका छन्, जुन राज्यले सबै आर्थिक जीवनलाई नियन्त्रण र नियोजन गर्न खोज्छ त्यहाँ व्यक्तिगत अधिकार वा अल्पसंख्यकका समानअधिकारहरू अर्थहीन हुन्छन्। उल्टो राष्ट्रिय अल्पसंख्यकहरूका विरूद्धमा आर्थिक नीतिका अस्त्र प्रयोग गरिन्छन्।
धेरै योजनाकारहरूले अनुभव गरेको कुरा हो, उनीहरू आफ्नो योजनालाई अधिनायकवादी शैलीमा लागू गर्न चाहन्छन्। यस्तो खालको योजना लागू गर्ने पद्धतिमा केही विज्ञ कर्मचारी हुन्छन् र उनीहरूभन्दा माथि एकजना कमान्डर-इन-चीफ, जसको हातमा अन्तिम उत्तरदायित्व र अधिकार हुन्छ। यस्तो कमान्डर-इन-चीफको काममा लोकतान्त्रिक विधि वा प्रशासनिक प्रक्रियाले अवरोध सिर्जना गर्न दिइँदैन।
यस प्रकारको योजनाले व्यक्तिको रोजाइलाई नजरअन्दाज गर्छ, योजनाले चाहेको कुरा योजनाले चाहेको समयमा मात्र हामीले पाउँछौं। व्यक्तिको आवश्यकता र रोजाइको यहाँ अर्थ हुँदैन। तर हुनुपर्ने के हो भने, हरेक व्यक्तिलाई आफ्नो आर्थिक गतिविधि रोज्ने छुट हुनुपर्छ।
हायेकको दृष्टकोणबाट हेर्दा नेपालको अवस्था कस्तो देखिन्छ?
हायेकको पुस्तक दासत्वतर्फ जाने बाटो नेपालको लागि अति नै सान्दर्भिक छ। किनभने, हायेकले १०० वर्षअघिको जर्मनीमा जे देखेका थिए नेपालमा अहिले त्यस्तै भैरहेको छ।
नेपालमा अहिले दुई प्रकारका स्वतन्त्रताको कुरा हुन्छ। पहिलो, राजनीतिक स्वतन्त्रता हो। २०६२-६३ को आन्दोलनले राजनीतिक स्वतन्त्रतालाई नयाँ उचाइमा स्थापित गरेको थियो। लगभग १० वर्षपछि २०७२ सालमा संविधान बनेपछि हाम्रा माझ नयाँ खालको बहस शुरू भयो: समृद्धिको। अब हामीलाई राजनीतिक स्वतन्त्रता र लोकतन्त्र मात्र भएर पुग्दैन, समृद्धि र आर्थिक स्वतन्त्रता पनि चाहिन्छ।
यसरी एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित हुँदै गर्दा एकातिर हामीले २०४६ सालको राजनीतिक क्रान्तिपछि अंगालेको उदारवादी संसदीय व्यवस्थालाई छोड्दै गैरहेका छौँ, अर्कोतर्फ राष्ट्रवाद र समाजवादको प्रभाव बढ्दै गैरहेको छ।
नेपालमा असली रूपमा राजनीतिक स्वतन्त्रता र लोकतन्त्र प्राप्त भएको छ कि छैन भन्ने बहस नसिद्धिँदै हामी नयाँ बहसको थालनीमा छौँ। हाम्रा चाहनाहरू वर्तमान राजनीति र राज्य संरचनाले पूरा गर्न सकेको छैन। त्यसैले जनतामा एक खालको वितृष्णा र असन्तुष्टि फैलिरहेको छ।
एकातिर हाम्रो देशमा उदारवादको अवसान भैरहेको छ भने समाजवाद र राष्ट्रवादको उत्थान भैरहेको छ। नेपाली समाजमा नयाँ वर्गको सिर्जना भैरहेको छ, जो राज्यशक्तिमा सहभागी हुन आतुर छन्।
यसै क्रममा नेपालमा नयाँ खालका राजनीतिक शक्ति र राजनीतिक पात्रहरू पनि उदाएका छन्। बालेन शाह र रवि लामिछानेजस्ता राजनीतिक पात्रहरूको उदयलाई हामीले कसरी हेर्ने र कसरी बुझ्ने भन्ने विषयमा हामी प्रष्ट भैसकेका छैनौँ।
नेपालमा उदाइरहेका नयाँ वर्ग र नयाँ पुस्तालाई अब रैती र निर्देशित वर्ग भएर रहन मन छैन। यस्तो अवस्थामा कसरी उनीहरू राज्य सञ्चालनमा सहभागी हुन सक्लान् भन्ने प्रश्न महत्त्वपूर्ण छ। सायद यसैकारण बालेन र रविजस्ता राजनीतिक पात्रहरूको उदय भएको हो कि!
हायेकको आँखाबाट नेपाललाई हेर्दा हामीले यहाँको समाजमा व्याप्त सोच र विचारधारा, वर्गीय राजनीतिक उद्देश्य र चाहना, सत्य, तथ्य र प्रोपागान्डाको समाजसँगको सम्बन्ध र आर्थिक-राजनीतिक पद्धतिबारे गम्भीर विश्लेषण गर्न जरूरी छ।
नेतृत्वको छनौटको अर्को महत्वपूर्ण पाटो आममानिसले बोक्ने विचार हो। यदि आममानिस सत्य र तथ्यबाट पर छन् भने उनीहरूको रोजाइलाई त्यसैले असर पार्छ। राष्ट्रवादी समाजवादलाई युरोपमा बौद्धिक पृष्ठभूमिबिनाको राजनीतिक आन्दोलनको रूपमा चित्रण गरिन्थ्यो, जसरी पहिला रवीन्द्र मिश्रको साझा पार्टी र अहिले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई गरिन्छ।
यो नयाँ राजनीतिक आन्दोलनको पछाडि एक प्रकारको विचार थियो, एक प्रकारको साझा मनोभावना पनि थियो। शुरूमा अल्पमतमा रहेको सानो प्रतिक्रियावादी समूहले बोकेको विचार बिस्तारै फैलिन थाल्यो र जर्मनीको बहुसंख्यक मानिस र सबैजसो युवा वर्गले अंगाल्न थाले।
नेपालमा पनि यस्तै खालको प्रक्रिया चलिरहेको छ कि भन्ने आभाष पाउन सकिन्छ। तर यसै हो भनेर खुट्याइहाल्ने अवस्था भने बनिसकेको छैन।
नेपाली समाजको एउटा सबैभन्दा रोचक पक्ष के हो भने, हामी सबै जना दलका नेताहरूलाई गाली गर्छौं र कोही पनि असल व्यक्ति नेता भएन भनेर चिन्ता गर्छौं। यसको विकल्पमा हामी असल अधिनायकको खोजीमा छौँ। हामीले विचार गर्नुपर्ने के हो भने, शेरबहादुर देउवाजस्ता नेता खराब आचरणका कारण खराब भएका हुन् कि हाम्रो सामाजिक र राजनीतिक पद्धतिका कारण खराब भएका हुन्?
अर्थात् अर्कोतिरबाट हेर्दा के बालेन वा रविजस्ता नेताहरू असल बन्न सक्लान्?
हाम्रो निर्देशन दिने र निर्देशित हुने वर्गबीच किन यति ठूलो खाडल छ? किन राज्यले सबै कुरा निर्देशित गर्न चाहन्छ र जनतालाई आफ्नै बलबुताले गरिखान दिँदैन? किन यहाँ क्रोनी पुँजीवाद हाबी छ? किन यहाँ लुटतन्त्र हाबी छ? किन यहाँको अर्थतन्त्रमा सिन्डीकेटहरू हाबी छन् र नयाँ पात्रहरुलाई प्रवेश निषेधित छ? या प्रवेश गर्नलाई अवरोधहरू छन्?
नेपालका विभिन्न सरकारहरूको नीति तथा कार्यक्रम पढ्दा नेपालमा समाजवाद अलि धेरै नै भएको हो कि जस्तो आभाष हुन्छ। उदाहरणका लागि तीन तहकै सरकारहरू आफ्नो कार्यक्षेत्रमा भएका वा नभएका सबै क्षेत्रलाई निर्देशित गर्न चाहन्छन्। उनीहरूको नीति तथा कार्यक्रम पढ्दा लाग्छ, देशको समाज र अर्थतन्त्रको सबै कुरा गर्ने काम सरकारको हो। यदि, यही दिशामा हामी अघि बढ्ने हो भने नेपालमा कल्याणकारी समाजवाद आउला नआउला, तर केन्द्रीकृत योजनाको प्रभाव भने बढ्दै जानेछ। यसले बजारमा ठूलो तथा नकारात्मक हस्तक्षेप गर्ने छ।
नेपालको अर्को रोचक पक्ष के हो भने, हाम्रो वैचारिक र राजनीतिक ध्रुवीकरण बढ्दो छ। नेपालमा विशेषगरी वामपन्थी-समाजवाद हाबी छ। समृद्धि र विकासको हुटहुटीका कारण हामी केन्द्रीकृत योजनाप्रति आशक्त छौँ र तिनलाई अधिनायकवादी शैलीमा लागू गर्न चाहन्छौं। केही समयअघि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले यस्तै आशय व्यक्त गरेका थिए। ओलीको भनाइमा उनीसँग योजना कार्यान्वयन गर्न चाहिने शक्ति अपुग थियो।
नेपालको लागि लोकतन्त्र र उदारवादको अवसान एउटा गम्भीर चुनौती बन्ने पक्का छ। दण्डहीनता, स्वेच्छाचारिता र विकृत राजनीतिक अभ्यासका कारण नेपालमा लोकतन्त्रले काम गर्न सक्दैन भन्ने भावना फैलिरहेको छ। यो असफलताको लागि हामीले लोकतान्त्रिक पद्धतिलाई नै दोष दिइराखेका छौँ। जबकि, दोषको असली भागीदार हाम्रो लोकतन्त्रमा लुकेको समाजवाद र सामन्तवादका अवयवहरू हुन्।
अर्को कुरा, नेपालमा आजभोलि धेरै जना लोकतन्त्रलाई नै विकासको बाधक ठान्छन् र विकासका ठूला योजनाहरू अघि बढाउन हामीलाई अधिनायकवाद नै चाहिने तर्क गर्छन्। विधिको शासनबाट माथि उठ्न सक्नुपर्ने भावना पनि व्याप्त छ।
लोकतन्त्र र उदारवादप्रतिको विकर्षणको अर्को कारण भारत र पश्चिमेली देशहरूप्रति हाम्रो वितृष्णा पनि हो। हामी समावेशी समाज वा मानव अधिकार वा विधिको शासनको कुरा गर्दा वा खुला बजारमा हुने प्रतिस्पर्धाको कुरा गर्दा त्यसलाई पश्चिमेली समाजले थोपरेको बोझको रूपमा बुझ्छौँ। माथि उल्लेख गरिएका सबै तत्वहरूले नेपाली समाजलाई बिस्तारै प्रभावित गर्दैछन् र एक दिन हायेकले जुन चिन्ता पश्चिमेली मुलुकहरूका लागि गरेका थिए, त्यो अवस्था नेपालमा नै आउन सक्ने देखिन्छ।
प्रतिक्रिया या सुझावका लागि [email protected]
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
