प्रवासी मताधिकार

‘निर्देशन आओस्— ओमानबाट शुरू हुनेछ प्रवासी नेपाली मताधिकार’

‘दूतावासभित्रै दैनिक निश्चित संख्यामा पालोक्रम खुलाएर मतदान गराउन सकिन्छ। कम्तीमा एक साताको पालोक्रम राख्यौँ भने निश्चित रूपमा केही मत झर्छ नै। शतप्रतिशत त सम्भव छ भन्न मिल्दैन।’

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा कानूनी, प्राविधिक र आर्थिक बहस चलिरहेका बेला खाडीको ओमानस्थित नेपाली दूतावासले भने सरकारी निर्णय तथा निर्देशन भएमा ओमानमा रहेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत दिन सक्ने जानकारी गराएको छ। ओमान सहितका मुलुकमा रहेका आफ्ना नागरिकलाई मताधिकार दिलाउन फिलिपिन्स उदाहरण बनेको र त्यही प्रक्रियाको सिकोबाट नेपालीलाई मताधिकार दिन सकिने मस्कटस्थित राजदूत डोरनाथ अर्यालले बताएका छन्। प्रवासी मताधिकारको तौरतरिका र सम्भावनाबारे राजदूत अर्यालसँग उकालोले गरेको कुराकानी:

नेपालमा निर्वाचनको मिति घोषणा भएसँगै प्रवासी नेपाली मताधिकारको बहस पनि चर्किएको छ। यस बारेमा नेपालको कूटनीतिक नियोगले कुनै प्रकारको सरोकार (परामर्श) अघि बढाएको छ?
फागुनमा हुने निर्वाचनबारेको सूचना र प्रवासी मताधिकारको बहस शुरू भएपछि यसमा सम्बद्ध केही कूटनीतिक नियोगका अधिकारीसँग मैले परामर्श बढाएको थिएँ। प्रवासी मताधिकारमा काम गरिरहेका फिलिपिनो, रुसी नियोगका अधिकारीसँग वार्ता गर्दा केही सकारात्मक ‘नोट’ पाएको छु। गत अक्टोबर १२ मा मैले फिलिपिन्सका राजदूत राउल एस.हर्नान्डेवजसँग भेटवार्ता गर्दै विदेशमा बसोबास गर्ने फिलिपिन्सका नागरिकले मतदान गर्ने तरिका, कानूनी र व्यवहारिक पक्षबारेमा कुराकानी गरेको थिएँ।

फिलिपिन्सका झन्डै ११ मिलियन (१ करोड १० लाख) नागरिक विदेशी मुलुकमा कार्यरत रहेको र ओमानमा मात्रै झन्डै ५० हजार फिलिपिनो नागरिक रहेको तथ्यांकमाझ सन् २००३ यता फिलिपिन्सले शुरू गरेको प्रवासी मताधिकार प्रक्रिया तथा कठिनाइमाथि छलफल गरेको थिएँ। फिलिपिन्सले दुई चरणमा प्रत्यक्ष (दूतावासमा उपस्थित भएर) र विद्युतीय गरेर मतदान प्रक्रिया अघि बढाएको रहेछ। 

प्रत्यक्ष (फिजिकल) र विद्युतीय मतदान प्रक्रियामा के अन्तर रहेछ? कुन प्रभावकारी देखियो? 
फिलिपिनो राजदूतका अनुसार, विद्युतीय मतदान भने अलिक जटिल रहेछ। यो प्राविधिक मात्रै नभएर मतदाताको फोटो, आईडी सबै ‘इनरोल’ गर्नुपर्ने प्रक्रियामा अलिक समस्या देखिएको रहेछ। यही कारणले ११ मिलियन मतदातामध्ये १ मिलियन (१० लाख) जतिले मात्रै मत दिन सकेका रहेछन्, पछिल्लो निर्वाचनमा। हामीसँग अब निकै छोटो समय (३ महिना) रहेकाले विद्युतीय मतदानका हकमा प्राविधिक तालिम, परीक्षण वा पुर्नपरीक्षण अवधि पनि निकै छोटो देखिएको छ। यसकारण नेपाली दूतावास परिसरमै कम्तीमा सात दिनको मतदान अवधि तोकेर प्रत्यक्ष निर्वाचनकै लागि पहल गर्नु उपयुक्त देखिएको छ।

nullराजदूतावासभित्रै दैनिक निश्चित संख्यामा मतदाता पालोक्रम खुलाएर मतदान गरेपछि सुरक्षा प्रबन्धबाहेक अरू कठिनाइ नरहने नजिर बसेको छ। फिलिपिन्सले ओमान सरकारबाट अनुमति लिएर मतदान प्रक्रिया थालिसकेका कारण यही आधारमा हामी पनि अघि बढ्ने हो। हामीले पनि मतदानका निम्ति कम्तीमा एक साताको पालोक्रम राख्यौँ भने निश्चित रूपमा केही मत झर्छ नै। शतप्रतिशत त अहिले सम्भव छ भन्न मिल्दैन।

ओमानमा झन्डै २५ हजार नेपाली (आधाजति महिला) रहेकोमा समयमै मतदानबारे निर्णय र सूचना गर्न सक्यौँ भने मस्कटबाट प्रवासी नेपाली मताधिकार सम्भव छ भन्ने मैले देखेको छु।  

उसो भए कूटनीतिक नियोगका तर्फबाट र राजदूतको तहमा प्रवासी मताधिकारको ‘पाइलट प्लान’ ओमानबाट सम्भव हुने देख्नुहुन्छ?
हो, यो सम्भव छ। तर, आवश्यक निर्देशन, निर्णय र तयारीका लागि तत्कालै पहल थाल्नुपर्छ। दूतावासभित्रै आएर प्रत्यक्ष मतदान गर्ने प्रक्रिया भएकाले यहाँबाट कूटनीतिक नियोगले सुरक्षा प्रबन्धसहित अनुमतिका लागि ओमान सरकारसमक्ष पनि समयमै अनुरोध गर्नुपर्ने हुन्छ। यत्ति हो कि ओमानमा नेपालीको संख्या, यहाँका नेपाली सामाजिक संघसंस्थाको सहयोग र सदाशयताका कारण पनि ओमानबाट मताधिकारको थालनी हुन सक्छ।

हामीले पनि मान्यताप्राप्त र उपलब्ध राजनीतिक दल तथा स्थानीय नेपाली समाजका प्रतिनिधिसमेत राखेर यसैगरी दूतावास परिसरमै मतदानस्थल बनाउन सकिने देखिन्छ। यसमा कठिनाइ देखिन्न।

मतदाता नामावलीमा सूचीकृत भएका सम्पूर्ण नेपालीले विदेश स्थित दूतावास मार्फत भाेट हाल्ने व्यवस्था मिलाउनु पर्छ भन्ने मेराे पनि मत छ।

Keshab Rai

5 months, 3 weeks ago