जब समाजवादी आदर्श 'मसाजवादी' हुन्छ…

कांग्रेस र कम्युनिस्ट पार्टीको ट्रेडमार्क बचेको  छ, राजनीतिक सिद्धान्तको हुर्मत लिइएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा कुनै पनि खालका बहसहरू नहुनु नै त्यसको संकेत हो।

नेपाली राजनीति अहिले सम्मेलन, महाधिवेशन, एकता र फुटजस्ता आन्तरिक प्रक्रियाहरूको भुमरीमा छ। नेतृत्वका लागि पार्टीभित्र प्रतिस्पर्धा, गुटगत स्वार्थ र पुनर्संरचनाका नाममा शक्तिसंघर्ष र चलखेल भइरहेका छन्।

जेनजी विद्रोहपछि नयाँ दल दर्ता गर्ने होडबाजी बढ्नु र पुराना दलहरूको जनविश्वास क्षय हुनु—दुवै समानान्तर रूपमा देखिएका प्रमुख राजनीतिक प्रवृत्ति हुन्। विद्रोहले नेपाली लोकतान्त्रिक पार्टीहरू—विशेषतः कांग्रेस, एमाले र माओवादीलाई गम्भीर आत्म समीक्षाको दबाब दियो। युवापुस्ताको निराशा प्रकट भयो विद्रोहमार्फत।

पार्टी संरचनाको कार्यक्षमताको कमजोरी प्रष्टयायो र राजनीतिक जबाफदेहिता तथा संगठनात्मक पुनर्निर्माणबारे अनिवार्य बहस गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो। तर कांग्रेस र एमाले दुवै आफ्नो कमजोरी स्विकार्न, नेतृत्व–परिवर्तन गर्न वा नीतिगत सुधार गर्न अनिच्छुक देखिनुले यी पार्टीभित्र आन्तरिक लोकतन्त्र कति कमजोर छ भन्ने प्रश्न उठाएको छ।

आयोजक देखिए पनि प्रायोजक नदेखिएको, भावना र आवेग मिसिएको 'जेनजी विद्रोह' विगतका अनेकन् कारणले उत्पन्न भएको हो। दशकौँ यता पार्टीभित्र व्यक्तिवादी, गुटगत, भ्रष्ट संस्कृतिको पुनरावृत्ति, सधैँ पुरानै नेतृत्व, बेरोजगारीका कारण बिदेसिनुपर्ने बाध्यता र भविष्य बारेको अनिश्चितताले यसलाई आकार दिएको हो। मुख्य दलका असक्षम नेतृत्वको आदेशले समाज चल्न नसक्ने अवस्थामा पुगेको थियो, जेनजी विद्रोह त्यसकै विस्फोट थियो।

अर्कातर्फ, डिजिटल सार्वजनिक क्षेत्र (सोसल मिडिया) मा आक्रोश बढ्दो थियो र अन्ततः सडकमा ऊर्जाको रूपमा ओइरियो। युवाको स्वतःस्फूर्त आक्रोशसँगै बाह्य स्वार्थ समूहका संकेतहरू पनि देखिए, जसले आन्दोलनलाई अन्य दिशातर्फ मोड्ने प्रयास पनि गर्‍यो।

विश्वका लोकप्रिय आन्दोलनका चरित्र प्रायः दुई मुखे हुन्छन्—एकातिर जनशक्तिको वास्तविक अभिव्यक्ति, अर्कोतिर नेतृत्वविहिनता र भावनात्मक माग ज्यादा। माग अस्पष्ट हुँदा, संगठन कमजोर हुँदा, वैकल्पिक नेतृत्व अनुपस्थित हुँदा आन्दोलन छिट्टै अराजकतामा फेरिन्छन्। नेपालमा यो चरित्र छिटो देखिनुको कारण—दलहरूको कमजोर संवाद क्षमता, सुरक्षा निकायप्रतिको अविश्वास, युवाको प्रतिक्रियात्मक हृदय र डिजिटल भीडको दिशाहीन ऊर्जा हो।

नेपालजस्ता संरचनागत रूपमै संवेदनशील देशमा भारत–चीनको दोहोरो प्रभाव, अन्तर्राष्ट्रिय एजेन्डाको छायाँ र आन्तरिक अस्थिरताले लोकप्रिय आन्दोलनलाई सजिलै बाह्य शक्तिसँग गाँसिदिन्छ। त्यसैले, यस्ता आन्दोलनको प्रभाव केवल आन्तरिक मात्रै हुँदैन, अन्तर्राष्ट्रिय सन्तुलनसँग पनि प्रत्यक्ष जोडिन पुग्छ।

सबैभन्दा चिन्ताजनक पक्ष: कांग्रेस, एमाले र माओवादी (अहिले अरू दलसँग मिलेर बनेको नेकपा) तीनै मुख्य दलहरू अझै पनि आन्दोलनबारे गम्भीर बहस, नीतिगत सुधार, आन्तरिक अनुसन्धान र संगठनात्मक पुनर्निर्माणजस्ता अनिवार्य प्रक्रियाबाट टाढा भागिरहेका छन्। त्यसका कारण हुन्–नेतृत्व कमजोर हुने भय, गुटगत असन्तुलन बढ्ने डर, विगतका गल्तीको जिम्मेवारी लिन नचाहने प्रवृत्ति। पुनर्संरचना र पुनर्गठनको बहस टार्ने प्रमुख विषय हुन् यी।

अहिले युवाको आक्रोश, पुरानो नेतृत्वप्रतिको असन्तोष, आर्थिक अनिश्चितता र भू–राजनीतिक संवेदनशीलताले नेपाललाई नयाँ राजनीतिक मोडमा पुर्‍याइदिएको छ। तर यो तीतो सत्य स्विकार्न कांग्रेस, एमाले र नेकपा तयार छैनन्। लोकप्रिय आन्दोलन, युवा विद्रोह र त्यसपछि देखिएको दलहरूको निष्क्रियताले देश पुनर्संरचनाको निर्णायक अर्को मोडमा उभिएको संकेत गर्छ।

यस अवस्थामा आत्मसमीक्षा, नेतृत्व पुस्तान्तरण, युवासँग घनिष्ठ संवाद, पार्टी नेतृत्वमा युवाको कार्यकारी सहभागिता, राष्ट्रिय मुद्दामा स्पष्ट मार्गचित्र र अन्तर्राष्ट्रिय दबाबको पारदर्शी मूल्यांकन सबैभन्दा आवश्यक विषय हो। यी विषयमा गम्भीर बहस नभए आगामी आन्दोलन अझ ठुलो, अझ अनियन्त्रित र अझ गम्भीर परिणामसहित जन्मिने निश्चित छ।

लङ लिभ डेमोक्रेट एन्ड कम्युनिस्ट पार्टी बट…
प्रजातान्त्रिक-समाजवाद भन्ने कांग्रेस र कम्युनिस्ट-समाजवाद भन्ने कम्युनिस्टहरूले  केही रूपमा तलमाथि गरेर लोकप्रिय बजेट ल्याउन खोजे पनि मूल रूपमा पञ्चायतको अन्तिम प्रहरका अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रवेश गराएको उदार अर्थतन्त्र (लिबरलाइजेसन, ग्लोबलाइजेसन र प्राइभेटाइजेसन-एलपीजी) नीति नै नयाँ रूपमा लागू भए।

पूर्व मुख्य सचिव लीलामणि पौडेलले एक अन्तर्वार्तामा भनेको कुरा सान्दर्भिक हुन्छ–सबै प्रधानमन्त्रीहरू समाजवाद उन्मुख अर्थतन्त्र त भन्नु हुन्छ, तर कर्मचारीतन्त्रले लागु गर्न दिँदैन भन्नु हुन्छ। मैले धेरै प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएँ, तर एउटा पनि समाजवादी व्यवस्थाको नीतिगत प्रस्ताव कसैले अघि सार्नु भएको पाइनँ।

पार्टीहरू ट्रेडमार्कका रूपमा बाँचिरहेका छन्, तर विचारमा मरे। पहिल्यैदेखि यस्तो देखिएको हो। महाधिवेशनताक, चुनावताक या अन्य एकता वा फुटका समयमा विचार मर्ने क्रम झनै व्यापक हुन्छ। त्यसैले, अहिले विडम्बनासाथ के भन्नुपर्ने भएको छ भने—लङलिभ डेमोक्रेसी र कम्युनिस्ट पार्टी, बट वि डन्ट निड डेमोक्रेट एन्ड कम्युनिस्ट। (लोकतान्त्रिक व्यवस्था र कम्युनिस्ट दलहरू बाँचुन्, तर तर डेमोक्रेट र कम्युनिस्टचाहिँ हामीलाई चाहिएन।)

कांग्रेस र कम्युनिस्ट पार्टीको हविगत एउटै छ। तिनको ट्रेडमार्क बचेको  छ, राजनीतिक सिद्धान्तको हुर्मत लिइएको छ। विचार, व्यवहार, आदर्श, उद्देश्य र आन्दोलन समाप्त भइसकेका छन्। महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेस र एमालेमा कुनै पनि खालका बहसहरू नहुनु नै त्यसको संकेत हो। बजारवादले सिद्धान्त र आचरणहरू पचाइदियो।

जब बहस विचारमा होइन, आवेगमा केन्द्रित हुन्छ, तब नेतृत्वको देवत्वकरण हुन्छ।  व्यक्तिवाद, अहंकार र स्वत्वको टकराव नै राजनीतिक संस्कार बन्छ। त्यही मानसिक दासत्व बोकेर कम्युनिस्ट पार्टीहरू सम्मेलन र महाधिवेशन गर्दैछन्। जे छ, त्यो लुकाउनु पर्ने र जे छैन त्यही देखाएर कार्यकर्तामा आवेग र उत्तेजना भर्ने यत्न गरिरहेका छन् दल र दलका नेता-कार्यकर्ता। यसै गरेर नेतृत्वको शक्ति सुरक्षित गर्ने प्रयास भइरहेको छ।

२० औँ शताब्दीमा लोकतन्त्र र साम्यवाद मानव मुक्तिका दुई महान् दर्शन र राजनीति थिए। तर शताब्दीको अन्ततिर आउँदै गर्दा  क्रूर पुँजीवाद र अनियन्त्रित उपभोक्तावादले दुवै विचारलाई विस्थापित गर्दै पार्टीलाई मात्र ‘ट्रेडमार्क’ बनाइदियो। तब सिद्धान्तका राजनीति सुविधाका राजनीतिमा फेरिँदै गए। महाधिवेशनहरू विचार-सिद्धान्त होइन, शक्तिसंघर्षको अखडा बने। समाजवादी आदर्श 'मसाजवादी' भयो। पार्टीहरू क्रमश: गुट र गिरोहमा बदलिए। राजनीति आदर्श होइन, सुविधाको व्यापार बन्यो। पार्टीहरूले जनताको होइन, कम्पनी र शक्तिकेन्द्रको भाषा बोल्न थाले।

'जो सत्तामा रहन सक्छ, ऊ नै सही' भन्ने राजनीतिक-डार्विनवादको नयाँ भाष्य निमार्ण हुन पुग्यो। त्यसैले—डेमोक्रेट मरे, तर डेमोक्रेटिक दल बाँचेका छन्; कम्युनिस्ट हराए, कम्युनिस्ट पार्टी अझै सत्ताको लालझण्डा हल्लाइरहेको छ। नेपालको सन्दर्भमा 'प्रजातन्त्र मरे पनि प्रजातान्त्रिक पार्टी बाँच्छ; कम्युनिस्ट मरे पनि कम्युनिस्ट पार्टी बाँच्छ'—यो वाक्य व्यङ्ग्यमात्र होइन, विचार–व्यवहारको गहिरो द्वन्द्वको यथार्थ हो।

विचारको मृत्यु, संस्थाको दीर्घायु
व्यक्तिगत स्वतन्त्रता, बहस र सत्ता नियन्त्रणमा आधारित हुन्छ लोकतन्त्रको आदर्श। तर दल नै सर्वोच्च लक्ष्य बन्नासाथ नागरिक चेत मर्छ। दलवादी मानसिकताले स्वतन्त्र सोचमाथि प्रतिबन्ध लगाउँछ, नेतृत्वका आदेशलाई ‘सत्य’ बनाउँछ। पार्टी बाँच्छ, तर 'साँचो डेमोक्रेट' मर्छ। यही कुरा मार्क्सवादी दृष्टिले 'राजनीतिक अधिरचना'को रूपान्तरण हो—जहाँ वर्ग चेत, विचार र नैतिकता मर्छ; सत्ता संरचना मात्र बाँच्छ।

आज पार्टीहरूभित्र जनवाद होइन, नेतावाद हाबी छ। कार्यकर्ता मौन छन्। आलोचनालाई अपराध ठानिएको छ, शीर्ष–नेताले मात्र निर्णय गरेका छन्। कमिटीमा रहेका अन्य केबल ताली पड्काउने सेवकमा सीमित छन्। यसले समाजवादलाई 'संवैधानिक शब्द'मा मात्र बाँधिदिएको छ—दैनिक व्यवहारमा त्यसको मर्म मरेको छ। यसो भएपछि कम्युनिस्टको ब्रान्ड बाँच्छ, कम्युनिस्ट मर्छ। बिसौँ शताब्दीको महान् सपना—वर्गहीन समाज, श्रमको सम्मान, समानता आज घोषणापत्रको भाषणमा मात्र बाँचेको छ। व्यवहारमा कम्युनिस्ट पार्टीहरू पुँजीवादी उपभोक्तावादमा रमाइरहेका छन्।

नेपालमा कम्युनिस्ट-पार्टी कार्यालय, लाल झन्डा र सम्मेलनहरू जिउँदै छन्। विचार, सपना, अनुशासन र नैतिकता सबै मरेका छन्। आजका कम्युनिस्ट कार्यकर्ता कम्युनिस्ट होइनन्, लालदास हुन्। नेता श्रमिक वर्गका मुक्तिदाता नभै 'नयाँ शासक वर्ग' बनेका छन्।

के अझै विचार, दर्शन र मूल्यका राजनीति गर्नेहरूले महाधिवेशन, सम्मेलन र पार्टीभित्रको अन्तरसंर्घषमा सिद्धान्तबारे बहस गर्लान्? विचार अनुसारको नीति पास गराउँदै वास्तविक सिद्धान्त अनुसारका पार्टीको पुनर्जन्म गराउलान्?

कि पार्टीलाई ट्रेडमाकमै सीमित राख्लान्?

(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)