बागलुङमा विकास भित्रिँदै गर्दा बिर्सिइँदै गाउँको मौलिकता

गाउँसम्मै कंक्रिटका भवन बन्दै छन्। परम्परागत घुमाउने, ढुंगेघर विस्थापित हुने अवस्थामा पुगेका छन्। सडकले पाटीपौवा, धर्मशाला, चौतारालगायतका सम्पदा पुरिएका छन्। मौलिक सम्पदा संरक्षणमा भने कसैको ध्यान पुग्न सकेको छैन।

बागलुङ– सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन्। केही गाउँ जोडिने क्रममा छन्। सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा बिस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दै छन्। पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर र तराई–पहाड जोडेको सालझण्डी–ढोरपाटन सडकले बागलुङका सयौँ गाउँ बस्ती जोडेसँगै विकट गाउँ पनि सुगम हुँदै छन्।

गाउँ–गाउँमा राष्ट्रिय तथा शाखा सडक पुगेपछि नागरिकको जीवनशैलीमासमेत परिवर्तन आउँदै छ। सडकका आसपासमा तीव्र रूपमा बस्ती विस्तार हुँदै छन् तर पछिल्लो समय बन्ने संरचनामा मौलिकता हराउँदै छ।

गाउँसम्मै कंक्रिटका भवन बन्दै छन्। परम्परागत घुमाउने, ढुंगेघर विस्थापित हुने अवस्थामा पुगेका छन्। सडकले पाटीपौवा, धर्मशाला, चौतारालगायतका सम्पदा पुरिएका छन्। यस्ता मौलिक सम्पदाको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन। 

मौलिक गाउँका रूपमा परिचित तमानखोला गाउँपालिका–३ तमान गाउँ २०६७ सालमा सडकले जोडिएको थियो। सडकका कारण यहाँका धेरै मौलिक सम्पदा नासिएको स्थानीय रनबहादुर रोकाले बताए। सडकले गाउँमा धेरै विकास भए पनि पुराना सम्पदा संरक्षण भने हुन नसकेको उनको भनाइ छ।

दैनिक गाउँमा गाडी गुड्न थालेपछि स्थानीयले शहर बजारकै रहनसहन गर्न थालेको भन्दै घर भवन पनि त्यस्तै बनाउन थालेको रोकाले बताए। पहिले बनेका रातोमाटो, सेतो कमिरोले पोतिएका घरको स्वरूप फेरेर धेरैले आयातित रङ प्रयोग गर्न थालेको रोकाको भनाइ छ।

“सडकले गाउँलाई सहर बजारसँग जोड्यो, विकाससँग जोड्यो तर हाम्रा मौलिक संस्कृति र परम्परालाई भने बिस्तारै टुटाउँदै छ, सडकले पानीका मूल सुके, थकाई मार्ने चौतारा मासिए, पूजाआजा गर्ने थान मासिए,” उनले भने, “अहिले त देश विदेशका चालचलन गाउँ भित्रियो, गाउँलेले मौलिकता बिर्सिन थाले, हामी हुँदासम्म पुराना परम्परा रहलान्, हामीपछिका पुस्ताले संरक्षण गर्दैनन्, उनीहरूलाई आयातित संस्कार संस्कृतिकै चासो छ।”

राजमार्ग आसपासमा थपिँदै कंक्रिटका घर
जिल्लाको निसीखोला गाउँपालिका सडकले जोडिएको डेढ दशक भयो। मध्यपहाडी लोकमार्गको धेरै खण्ड पर्ने यस क्षेत्रमा २०६७ साल अगाडि कंक्रिटका भवन भेटाउन मुस्किल पर्थ्यो तर अहिले हरेक बस्तीमा ‘सिमेन्टेड’ भवन छन्।

जिल्लाकै विकट मानिने निसीखोलामा लोकमार्गका कारण सुगम बनेको छ। आफ्नै मगर खाम भाषा, विभिन्न कला संस्कृति र परम्परा रहेको यस क्षेत्रमा पछिल्लो समय बिस्तारै संकटमा पर्न थालेको निसीखोला गाउँपालिका–६ का थमबहादुर बुढा मगरले बताए।

एक दशक अगाडिसम्म निसी, भल्कोट तथा आसपासका गाउँमा पुराना शैलीका एकतले काठ, ढुंगा र माटोले बनेका मात्रै घर हरेको स्मरण गर्दै अहिले पूरै फेरिएको उनको भनाइ छ। आफ्नो पुस्तासम्मले मगर खाम भाषा बोल्ने भए पनि नवयुवाहरू कम बोल्ने गरेको बुढा मगर बताए। गाउँमा हुने संस्कृतिसमेत लोप हुँदै गएको उनले सुनाए।

बुढामगरले भने, “पहिले हामी निकै विकटमा थियौँ, सडक थिएन, जिल्ला सदरमुकाम पुग्न झन्डै सात दिन लाग्थ्यो, तर अहिले चार घण्टामै बागलुङ बजारमा पुग्न सक्छौँ, सडककै कारण अहिले हाम्रो जीवनशैली फेरियो, तर हामीहरूले हाम्रो मौलिकता बिर्सिँदै गयौँ, अब त संरक्षण लागि निकै गाह्रो पर्ने देखिन्छ, मौलिकता जोगाउन एउटाको प्रयासले हुँदैन सिंगो समुदाय नै लाग्नुपर्छ।”

अचेल बन्ने घरमा भेटिँदैन मौलिकता
ढोरपाटन नगरपालिका–८ का तमबहादुर विकले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताउनुभयो। अहिले बन्ने अधिकांश घरहरू नयाँ शैलीका हुने गरेको उहाँको भनाइ छ। नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमिरोले पोत्न छोडेर विभिन्न थरीका रङ लगाउन थालिएको विक बताउँछन्।

आफूहरूको पालामा बिहान उठ्ने, घर लिपपोत गर्ने र बल्ल अरू काम गर्ने गरेको स्मरण गर्दै अहिले उक्त चलनसमेत हराएको उनले बताए। पहिले गाउँका अबै घर ढुंगा माटोको गारो र छानो पनि ढुंगैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको विकको भनाइ छ।

“अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घर पनि नयाँ–नयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै बिस्तारै हराउँदै गएका छन्,” विकले भने, “पहिला गाउँका पूरै घर ढुंगाले छाएका थिए, उतिबेला सडक आएको थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुंगाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुनाकाप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले।”

राष्ट्रिय राजमार्गले जोडिएका ग्रामीण क्षेत्रबाहेक अन्य ठाउँमा पनि मौलिक घर बिस्तारै घट्दै छन्। पछिल्लो समय बन्ने अधिकांश घर तथा भवनहरू आधुनिक शैलीमा बन्न थालेका छन्। गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकार प्रकारको बनाउने भएको हो। तमान गाउँमा अब कसैले पनि कंक्रिटका भवन बनाउन नपाउने नीति लिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए।

मौलिकता जोगान स्थानीय सरकारको चासो
आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्त्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरूपमा संरक्षण गर्न थालेको उनले बताए। पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातित वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरको भनाइ छ। अहिले गाउँले शहर बजारको सिको गरेर आधुनिकताका नाममा आफ्नो पहिचान गुमाउँदै गएको उनी बताउँछन्। अब बन्ने हरेक घर परम्परागत शैलीमा बन्ने अध्यक्ष बुढा मगरको भनाइ छ।

“तमान गाउँ निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर भवन पुरानै शैलीका छन्, गाउँको संस्कार, संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिँदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरू लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो” अध्यक्ष बुढामगरले भने, “अब गाउँमा कसैले पनि बजारका जस्ता ठूला–ठूला सिमेन्टका घर बनाउन पाउने छैन, गाउँपालिकाले एउटा मापदण्ड बनाउँछ, त्यही अनुसार गराउनुपर्छ, यो गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ।”

अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गरिने बताउनुभयो। घरका छेउछाउमा स्लेट ढुंगा विच्छ्याउने, घरमा लगाइने रङ, ढुंगाको छानो पनि एकै प्रकारको बनाइने उहाँको भनाइ छ। तमान गाउँ देशको दश नमूना सहरमध्येको एक पर्ने बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा पुग्न सकिन्छ। बोङ्गादोभान र खुङ्खानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ।

गलकोट नगरपालिका–२ तोरीखोला गाउँ अहिले पनि बाक्लो मगर बस्ती छ। ढुंगा, माटो र काठबाट बनेका मौलिक घर छन्। रातोमाटो र सेतो कमेरोले रंगिएका घर निकै आकर्षक देखिन्छन्। वर्षौं पुराना घरहरू अहिले पनि बलिया छन्। परम्परागत रूपमा बनेका मौलिक घरहरू पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेपछि नगरपालिकाले यसको संरक्षणमा चासो दिएको छ।

घरको आँगनमै आएको सडकका कारण स्थानीयलाई सहजता दिलाए पनि त्यसको अलावा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढेको स्थानीय सुनाउँछन्। तोरीखोला गाउँ जस्ता मौलिकता बोकेका गाउँ बागलुङमा थुप्रै थिए, तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ। बढ्दो शहरीकरण र आधुनिकताले परम्परा हराउन थालेपछि गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’का रूपमा विकास योजना अगाडि सारेको हो।

गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’का रूपमा विकास गर्ने योजना बनाएको बताए। यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोतसाधन प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्ट प्रयोग गरिएका घर बनाउन रोक लगाउने बताए।

अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रोतोमाटो र सेतो कमेरोले रङ्गाउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताए। तोरीखोलामा वर्षौं पुराना कला, संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उनको भनाइ छ।

“गाउँगाउँमा मोटरबाटो पुगेपछि पक्की घरहरू धमाधम बनिरहेका छन्। त्यसैले, हामीहरूले गाउँको सुन्दरता र मौलिक पहिचान जोगाउन पहल थालेका छौँ। तोरीखोला निकै पुरानो र मौलिकता बोकेको गाउँ भएकाले यसलाई 'मौलिक गाउँ'कै रूपमा स्थापित गर्नुपर्छ। प्रविधिको बढ्दो प्रयोगले मौलिकताहरू हराउँदै गएका छन्” उनले भने, “यद्यपि, यहाँ होमस्टे (घरबास) अझै सञ्चालनमा छन् र धेरै कला-संस्कृतिहरू पनि अझै प्रचलनमा छन्। युवा पुस्तालाई यसप्रति आकर्षित गर्ने र संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले हामीले काम सुरु गरेका छौँ। तोरीखोलाको सुन्दरता र मौलिकतालाई जोगाइराख्न हामीहरू गम्भीर छौँ र पर्यटक भित्र्याउने प्रयास पनि थालेका छौँ।”