बाढीप्रभावित महिला–बालबालिकाको सुरक्षार्थ संसद्‌मा विशेष प्रबन्धको माग

भोटेकोशी लगायतका बाढीप्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सांसदहरूले तत्काल सुरक्षित व्यवस्थापन र राहत पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका ‘होल्डिङ सेन्टर’ मा रहेका महिला तथा बालबालिकाहरूको अवस्था दयनीय भएकाले उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा भाग लिने सांसदहरूले बाढीप्रभावित महिला र बालबालिकालाई अन्य समूहबाट छुट्टै र सुरक्षित स्थानमा राख्न माग गरेका हुन्।

सांसद अर्जुननरसिंह केसीले बाढीग्रस्त रसुवा र नुवाकोटको होल्डिङ कक्षमा राखिएका महिला र बालबालिकाको अवस्था दयनीय भएकाले पीडितहरूलाई यथाशीघ्र व्यवस्थित ढङ्गले ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याउन माग गरे। उनीहरूको उचित खाना र सुरक्षाको प्रबन्ध मिलाउन उनले आग्रह गरे।

सांसद अनुष्का श्रेष्ठले जलवायु परिवर्तनको प्रभाव नेपालमा बारम्बार देखापरेकाले अन्तरराष्ट्रिय मञ्चमा जोडदार माग गर्नुपर्ने बताइन्। त्यसैगरी सांसद आनन्दबहादुर चन्दले सरकारले ग्यास सिलिण्डरमा व्यवसायीलाई नभएर सामान्य घरेलु उपभोक्तालाई राहत दिन माग गरे।

सांसद अफ्साना बानुले विपक्षी राजनीतिक दलका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई अपशब्द बोल्ने गरेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराइन्। सांसद अभिषेकप्रताप शाहले तराई/मधेशका जिल्लाका विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको बताए।

सांसद अम्बिकादेवी संग्रौलाले मुलुक विपद्सँग जुधिरहेको बेला ग्यासको सङ्कटका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको बताइन्। सांसद आशिका तामाङले पसलमा ग्यासको सिलिण्डर हुने तर जनताले ग्यास नपाउने समस्याको अन्त्य गर्न सरकारसँग माग गरिन्।

सांसद एलिजा गुरुङले हिमताल फुट्ने जोखिम उच्च भएकाले सोको अध्ययन गरेर आवश्यक सतर्कता र सावधानी अपनाउन माग गरिन्।

सांसद यशोदा बरालले महिला र बालबालिकामाथि पछिल्लो समय साइबरबुलिङ भइरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गरिन्। सांसद ओजश्वी शेरचनले बाढीप्रभावित क्षेत्रमा रहेका अस्पतालमा शल्यक्रिया गर्ने बेला जेनेरेटरमा इन्धनसमेत अभाव रहेको बताए।

सांसद अङ्किता ठाकुरले चाडपर्व नजिकिँदै गइरहेको बेला ग्यास र खाद्यान्न अभावलाई तत्कालै सम्बोधन गर्न माग गरिन्। सांसद कमल सुवेदीले सरकारी तथ्याङ्कले ग्यासको आपूर्ति बढेको देखाए पनि जनताले ग्यास नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए।

सांसद करिश्मा कठरियाले ग्रामीण महिलाको समस्यालाई नजरअन्दाज गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताइन्। सांसद कविन्द्र बुर्लाकोटीले देशभर सडक खनिए तापनि सडकको मालपोत कर जनताले तिर्दै आइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

सांसद कामिनी कुमारीले क्यान्सर रोगको उपचार निःशुल्क हुनुपर्नेमा जोड दिइन्। सांसद कुलभक्त शाक्यले ग्यास वितरण प्रणालीमा कमीकमजोरी देखिएकाले वैकल्पिक व्यवस्थापन गर्न माग गरे।

सांसद कालीबहादुर सहकारीले भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि उद्धार र राहतसँगै मनोपरामर्शको आवश्यकता रहेको बताए। सांसद कृपा महर्जनले विद्युत्को नियमित आपूर्ति नहुँदा बाढीप्रभावित क्षेत्रमा समस्या भोग्नुपरेको बताइन्।

सांसद कृष्णहरि बुढाथोकीले भोटेकोशी बाढीमा रामेछापका ४४ जना सम्पर्कविहीन भएकाले खोजी कार्यमा सक्रियता देखाउन सरकारसँग माग गरे। सांसद कोमल ज्ञवालीले कैलाली र कञ्चनपुरका १६५ जनाभन्दा धेरै नागरिक भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाले खोजी कार्यमा सक्रियता देखाउन माग गरिन्।

सांसद क्रान्तिशिखा धितालले आत्महत्या र आत्मदाह गर्ने प्रवृत्ति बढेकाले सोको रोकथाम र नियन्त्रणका लागि मानसिक स्वास्थ्यको विषयमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताइन्। सांसद खगेन्द्र सुनारले सामान्य आरोपको भरमा तीन जना मन्त्री बर्खास्तमा परेको बताउँदै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि पनि भ्रष्टाचारको आरोप लागेकाले आवश्यक अनुसन्धान गर्नुपर्ने बताए।

सांसद खडकबहादुर बुढाले यस वर्ष मात्रै विपद्का कारण जाजरकोटका ८ जना नागरिकको मृत्यु भएकाले नागरिकको जीउधनको रक्षाका लागि सरकार सक्रिय भएर लाग्नुपर्ने बताए। सांसद खड्ग शाहीले मुगु जिल्लाका धेरै बस्ती जोखिममा रहेकाले तत्कालै आवश्यक सुरक्षा अपनाउन अनुरोध गरे।

सांसद खिमा विकले देवीघाटमा पुल निर्माणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको बताइन्। सांसद खुश्बु ओलीले प्रधानमन्त्री आफैँले गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ भन्ने एजेन्डा किन कार्यान्वयन नगरेको भन्दै प्रश्न गरिन्।

सांसद खेमराज कोइरालाले वैदेशिक रोजगारको प्रलोभनमा पारेर नागरिकलाई ढाँटेर दुःख दिएको विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद गजला शमीम मिकरानीले जलवायु परिवर्तनका कारण नेपालका हिमशृङ्खला पग्लेर विभिन्न खालका विपद् आएकाले यहाँका सर्वसाधारणले जलवायु न्याय पाउनुपर्ने माग गरिन्।

सांसद गणेश कार्कीले जलवायु विपद् भयानक भएकाले विपद् व्यवस्थापनमा धेरै गाह्रो भइरहेको बताए। सांसद गणेशबहादुर विश्वकर्माले गजेन्द्रनारायण अस्पतालमा पटकपटक हेलचेक्र्याइँ भइरहेकाले दोषीमाथि कारबाही गर्न माग गरे।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा जिल्ला न्यायाधीश नपठाउँदा जिल्लाका नागरिकले न्याय प्राप्त गर्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद गीताकुमारी सेन्दाङले ताप्लेजुङमा विभिन्न खेलकुद प्रतियोगिता भए पनि उचित खालको प्यारापिटसहितको फुटबल खेलमैदान बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद गुरूप्रसाद बरालले एलपी ग्यास प्रयोगकर्तालाई विद्युतीय चुल्हो प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए। सांसद गोविन्द पन्थीले सरकार सुशासन ल्याउन प्रतिबद्ध भए पनि शासनशैली र जीवनशैली परिवर्तन नभएको विषयमा ध्यानाकर्षण गराए। सांसद गङ्गादेवी श्रेष्ठले धादिङको फुर्केखोलामा तत्कालै पुल निर्माण गर्न सरकारसँग जोडदार माग गरिन्।

सांसद गङ्गालक्ष्मीले भोटेकोशी बाढीका कारण रोजगारी गुमाएका व्यक्तिहरूका लागि होलिस्टिक राहत र पुनर्जीवनमा फर्किने वातावरण बनाउन माग गरिन्। सांसद इन्दिरा रानामगरले सहरमा बस्नेसँग त ग्यासको अभाव भइरहेको छ भने ग्रामीण क्षेत्रमा बस्नेको समस्याका विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताइन्।

सांसद अच्युतम लामिछानेले बाढीप्रभावित क्षेत्रमा सडक लगायतका संरचनामा क्षति भएकाले तत्कालै पुल र अन्य पूर्वाधार निर्माण गर्ने नीति अघि सार्नुपर्ने बताए।