विश्वव्यापी व्यापार ढाँचामा भारतीय निर्यात कमजोर हुँदा र अमेरिकी नीतिमा परिवर्तन आउँदा भारतमा डलरको भाउ बढेसँगै त्यसको असर नेपाली मुद्रामा परेको छ। के भारु र नेरुको स्थिर विनिमय दर परिवर्तन आवश्यक छ?
काठमाडौँ– १ अमेरिकी डलरको सटही दर भारतीय रूपैयाँ (भारु) ९०.४३ पुगेको छ। भारु र नेपाली मुद्राको स्थिर विनिमय हुँदा १ अमेरिकी डलरको नेपाली रूपैयाँ (नेरु) सटही दर १४४.३९ भएको छ। यो अहिलेसम्मकै उच्च दर हो।
अघिल्लो वर्ष डिसेम्बर ११ तारिखमा १ डलरको सटही भारतमा ८४ रूपैयाँ ८२ पैसा थियो। त्यसको २० दिनपछि २०२५ जनवरी १ मा ८५.९५ भारु पुगेको थियो। सन् २०२५ को अन्तसम्म आइपुग्दा सटही दर ९० रूपैयाँभन्दा माथि पुगेको हो।
भारतमा डलरको मूल्य निरन्तर बढेको भने होइन। मे ५ तारिखमा एक पटक तल झरेर ८४.२२ भारुमा कारोबार भएको थियो। त्यसयता आठ महिना भने लगातार उकालो लागिरहेको छ। डलर महँगो हुँदै जाँदा आयात गरिएका सामग्री महँगो हुने र विदेशी बक्यौताको भुक्तानीमा अधिक भार पर्छ।
विश्वव्यापी व्यापार ढाँचामा भारतीय निर्यातको अवस्था कमजोर हुँदा र अमेरिकी नीतिमा परिवर्तन आउँदा त्यहाँ डलरको भाउ बढिरहेको त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका सहप्राध्यापक रेशम थापा बताउँछन्। त्यसको असरस्वरूप नेपालमा १ डलरको लागि १४४ रूपैयाँभन्दा बढी सटही दर पुगेको उनको भनाइ छ। २०५१ सालदेखि नेपाल र भारतबीच स्थिर विनिमय दर १०० भारु बराबर १६० नेरु कायम छ।
भारतमा किन महँगियो डलर?
अमेरिकी डलर वैदेशिक व्यापार र सीमा आरपार कारोबार व्यवस्थापनका लागि प्रयोग हुने प्रमुख मुद्रा हो। भारतले पेट्रोलियम इन्धन, मेसिनरी, इलेक्ट्रोनिक्स, विभिन्न कच्चा पदार्थलगायत बस्तु आयात गर्दा डलरमा भुक्तानी गर्छ। वैदेशिक ऋण भुक्तानी वा अरू कुनै प्रयोजनले पुँजी बहिर्गमन हुँदा पनि अमेरिकी डलर नै चाहिन्छ। यहीकारण डलरको माग निरन्तर भइरहन्छ।
अमेरिकी डलरको प्राप्ति चाहिँ बस्तु वा सेवाको निर्यात, रेमिटान्स र ऋण वा वैदेशिक अनुदानजस्ता स्रोतबाट हुन्छ, मुख्य चाहिँ व्यापार नै हो। भारतबाट बस्तु निर्यातको तुलनामा आयात बढ्दै जाँदा डलरको आपूर्ति कम र माग बढी हुँदै गएको छ। यही असन्तुलनले डलरको भाउ भारतीय बजारमा उकालो लागेको छ।
भारतसँग रहँदै आएको अमेरिकाको व्यापार घाटा साँघुरिँदै छ। अमेरिकामा भारतीय बस्तुको खपत धेरै हुँदा निर्यातमार्फत भारतले उल्लेखनीय डलर पाइरहेको थियो। पछिल्लो समय भू–राजनीतिक तनावबीच अमेरिकाले भन्सार महसुल उच्च बनाउँदा त्यहाँ भारतीय बस्तुको प्रतिस्पर्धात्मक क्षमता कम भएको छ।
भारतले अमेरिकालाई चामल, औषधि, बहुमूल्य पत्थर (जुहारत), सुती तथा होजियारी कपडा, तन्ना, तौलिया, औद्योगिक तथा विद्युतीय पार्टपुर्जा, फलाम तथा स्टिलका पाइप, निर्माण सामग्रीजस्ता बस्तु निर्यात गर्छ। ‘युक्रेनविरुद्ध अनुचित युद्ध लडिरहेको’ भन्दै रुसलाई व्यापारबाट बेदखल गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति छ। तर रुसबाट पेट्रोलियम इन्धन आयात नरोकेपछि ट्रम्पले भारतमाथि भन्सार महसुल बढाइदिएका हुन्, जसको प्रभाव भारतको निर्यातमा पर्दा डलर महँगिएको छ।
भारु र नेरुको पेगः पुनरवलोकन आवश्यक छ?
अर्थशास्त्रका सहप्राध्यापक रेशम थापा भारतीय र नेपाली मुद्राबीचको स्थिर विनिमय दरका कारण नेपाललाई कयौँ किसिमका फाइदा र केही बेफाइदा पनि रहेको बताउँछन्। कुनै देशको अर्थतन्त्रको ताकत त्यहाँको आर्थिक गतिविधिको आधारमा परिवर्तन भइरहँदा विदेशी मुद्रासँगको विनिमय दर पनि घटबढ भइरहन्छ। “हाम्रो भने भारतीय मुद्रासँग धेरै समय विनिमय दर स्थिर बनाउँदा एउटा फाइदा अर्थतन्त्रमा आइपर्ने नकारात्मक धक्काहरू रोकियो, तर केही बेफाइदा पनि हुन्छ नै,” उनी भन्छन्।
अहिले नै खुल्ला गरेर बजारलाई विनिमय दर निर्धारण गर्न दिँदा नसोचेका समस्या आउनसक्ने कारण स्थायी दर पुनरवलोकन गर्न सकिने थापाको भनाइ छ। “अध्ययन गरौँ, हाम्रो मुद्रा अझ कमजोर भएको हो भने धरातलीय यथार्थलाई आत्मसात गरौँ,” उनी भन्छन्, “यसो गर्दा बजारको बस्तुस्थिति झल्किन्छ, दुईटा अर्थतन्त्र सधैँ एकै दिशामा एकनासले त अगाडि बढ्दैनन् नी। पुनरवलोकन गर्नुपर्छ।”
प्राज्ञिक अध्ययन र अनुसन्धानमार्फत यसतर्फ बहस सिर्जना हुनसक्ने थापा बताउँछन्। तर सरकारले नै विज्ञहरूमार्फत अध्ययन गराउने वा दुवै देशका केन्द्रीय बैंकले विज्ञटोलीमार्फत अध्ययन गराएर पुनरवलोकन गर्दा उत्तम हुने उनको भनाइ छ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल पनि भारतसँगको विनिमय दर पुनरवलोकनका लागि अध्ययन थाल्ने बेला भइसकेको बताउँछन्। “मुम्बईमा पानी पर्दा काठमाडौँमा छाता ओढ्नुपर्ने भनिन्छ। किनभने भारु बलियो हुँदा हामी पनि बलियो हुने, कमजोर हुँदा कमजोर हुने अवस्था छ,” उनी भन्छन्।
अमेरिकी डलर महँगो हुँदा रेमिटेन्स पठाउनेलाई फाइदा रहेको तर भारतबाहेक मुलुकबाट हुने आयातमा घाटा पर्ने दाहालको भनाइ छ। त्यस्तै, भारतबाट आयात हुने बस्तुको कच्चा पदार्थ त्यहाँ बाहिरबाट आयात भएर आएको रहेछ भने पनि नेपालीलाई महँगो पर्छ। “यतिखेर हाम्रो देशको वैदेशिक मुद्रा सञ्चिती एकदम राम्रो छ, के हाम्रो मुद्रा कमजोर हुने बेला हो त?” दाहाल भन्छन्, “लामो समयदेखि परिवर्तन नभएको भारतसँगको स्थिर विनियम दर अध्ययन गर्नुपर्ने देखिन्छ।”
नेपाल राष्ट्र बैंकले गत असोजसम्मको तथ्यांक समावेश गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामको प्रतिवेदनमा नेपालसँग २१ अर्ब २१ करोड विदेशी मुद्रा सञ्चिती देखिएको छ। भारतीय र नेपाली मुद्राको स्थिर विनियम दरको इतिहास लामो रहेको र घटबढ हुदै आएको भए पनि पछिल्लोपटक कायम दर लामो अवधि रहिसकेको दाहाल बताउँछन्।
भारतीय र नेपाली मुद्राको सम्बन्ध
नेपाल राष्ट्र बैंकको स्थापनाको नेतृत्व गर्ने राजा महेन्द्र शाहको पालासम्म नेपालमा भारु र मोरु (नेपाली) दुवै प्रचलनमा थिए। १९९४ सालमा नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड खुलेको १९ वर्षपछि २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापना भयो। त्यसभन्दा पहिले नेपालको आफ्नै विदेशी मुद्रा भण्डार नहुँदा भारतको केन्द्रीय बैंकमा राखिन्थ्यो।
लन्डनस्थित नेपाली दूतावासको खर्चका लागि विदेशी मुद्रा प्राप्त गर्न भारतीय रिजर्भ बैंकमा आवेदन दिनुपर्थ्यो। राजा त्रिभुवन उपचारका लागि विदेश जाँदा पनि खर्च प्राप्त गर्न त्यहाँ आवेदन दिइएको थियो।
राणा शासनको अन्त्यसम्म, नेपालले ट्रेजरी कार्यालयमार्फत आन्तरिक रूपमा सिक्का टकमरी गरिरहेको थियो। तर नोटहरू छापिएका थिएनन्। त्यसैले नेपालमा भारतीय कागजी नोटहरूको ठूलो मात्रामा प्रचलन थियो। मुद्रा प्रयोग नगरी बस्तु–बस्तु विनिमयको रैथाने चलनले पनि व्यवहार चलेको थियो।
नेपाल राष्ट्र बैंक स्थापना हुनासाथ नेपाली रूपैयाँलाई कानूनी बनाउने र भारुसहितको दोहोरो मुद्रा प्रणालीलाई विस्थापित गर्ने प्रयास शुरू भयो। २०१४ सालमा कानून बनाएरै दोहोरो मुद्रा प्रणाली खारेज गरियो।
विसं २०१० को दशकसम्म नेपालमा भारतीय मुद्राको विनिमय दर लचिलो थियो। बजारले विनिमय निर्धारित हुन्थ्यो र विनिमय दरमा उतारचढाव भइरहन्थ्यो। २००९ देखि २०१७ सालसम्म १०० भारुको विनिमय दर १३१ देखि १७७ नेरुसम्म घटबढ भएको भेटिन्छ।
नेपाली मुद्रामा जनताको विश्वास बढाउन र यसको प्रयोग विस्तार गर्न राष्ट्र बैंकले नेपाली मुद्राको भारतीय मुद्रामा ‘पेगिङ’ गर्न थाल्यो। २०१७ वैशाख १ गतेदेखि ६ वर्षसम्म ‘पेग्ड’ दर भारतीय १०० को नेपाली १६० तय गरिएको थियो। फेरि २०२३ सालदेखि २०५१ सालसम्म पेग विनिमय दरमा घटबढ भइरह्यो। त्यसयता तीन दशकभन्दा लामो समयदेखि १०० भारुको १६० नेरु विनिमय दर कायम छ।
‘पेग’ले गर्दा फाइदा रहेको र कतिपय अवस्थामा यसबाट लागत पनि सिर्जना भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपाने बताउँछन्। अहिलेसम्म यसको फाइदा नै बढी भएको देखिएकाले निरन्तरता दिइएको उनको भनाइ छ। ठूलो अर्थतन्त्र रहेको भारतसँग यसले नेपाललाई जोडेको छ।
व्यापार पनि भारतबाटै धेरै हुने हुँदा भारतीय मुद्रामा भुक्तानी स्थिररूपमा हुन्छ। “पुनरवलोकन बेग्लै विषय भयो, यसको विश्लेषण प्राज्ञिक क्षेत्र वा नियामक जसले पनि गर्नसक्ने भए,” न्यौपाने भन्छन्, “अहिलेको अवस्थामा भारतीय मुद्रा उल्लेखनीय रूपमा कमजोर हुँदा हाम्रो पनि कमजोर भएको देखिएको हो।”
यसबाट समेत फाइदा र बेफाइदा दुवै रहेको उनी बताउँछन्। रेमिट्यान्समा र विदेशी पर्यटकलाई नेपाल भ्रमण सस्तो पर्दा उनीहरूको आगमन बढेर अर्थतन्त्रलाई फाइदा भएको छ। तर मुद्रा स्फितिमा यसको केही असर पर्ने भए पनि अहिले नेपालमा र भारतमा मुद्रा स्फिति न्यून रहेकाले तत्काल धेरै प्रभाव नपार्ने उनको दाबी छ।
उल्लेखनीय किसिमले वैदेशिक मुद्रा सञ्चिति रहे पनि यस पेगकै कारणले मुद्रा कमजोर भएको न्यौपानेले स्विकारे। “मुद्रा कमजोर भएको हो, अर्थ होइन,” उनले भने, “यसबाट लाभ लिने पनि थुप्रै ठाउँ छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
