माग बढ्दा घट्दै कोदो उत्पादन, बनमाराले ढाकिँदै पाखोबारी

कुनै समय कम खपत हुने कोदोको माग अहिले शहरबजारका ठूला होटल तथा रेस्टुरेन्टमा अत्यधिक बढेको छ। यद्यपि, ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेका कारण कोदोखेतीमा कमी आएको स्थानीयको भनाइ छ।

बागलुङ– खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेक वर्ष कोदो उत्पादन घट्दै गएको छ। किसानहरूले परम्परागत कोदोखेती छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो। 

पहिले कोदोखेती हुने बारीमा अहिले किसानले किबी, सुन्तला, कागतीलगायत नगदे फलफूलखेती गर्न थालेका छन् भने ठूलो मात्रामा जमिन बाँझो पनि रहेको छ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार, अघिल्लो वर्ष जिल्लामा १० हजार ८०० मेट्रिकटन कोदो उत्पादन भएको थियो। केन्द्रका निमित्त प्रमुख कुमार पुनमगरले जानकारी दिनुभएअनुसार, यस वर्ष उत्पादन घटेर १० हजार ७३१ मेट्रिकटनमा सीमित भएको छ। गत वर्ष आठ हजार ४६० हेक्टरमा कोदोखेती भएकोमा यस वर्ष आठ हजार ४५० हेक्टरमा मात्र खेती लगाइएको थियो।

जिल्लामा बर्सेनि कोदो उत्पादन घटिरहेको केन्द्रका निमित्त प्रमुख पुनमगरले बताए। कोदोखेती गरिने क्षेत्र घट्दा उत्पादनमा पनि गिरावट आएको उनको भनाइ छ। पछिल्लो समय किसानहरू परम्परागत कोदोखेती छोडेर उच्च मूल्य दिने नगदेबालीतर्फ आकर्षित भएका उनको विश्लेषण छ।

पुनमगरले भने, “पछिल्लो केही वर्षको तथ्यांक हेर्दा हरेक वर्ष कोदोको उत्पादन घटेको देखिन्छ। किसानले परम्परागत खेती गर्न विस्तारै छोड्दै छन्। खेती गर्ने क्षेत्र घट्दा उत्पादनमा गिरावट आएको देखिन्छ।” उनका अनुसार, अहिले धेरै किसानले कोदो फल्ने बारीमा कागती, सुन्तलालगायत नगदेबाली लगाउन थालेका छन्।

अहिले कोदोको माग अत्यधिक बढेका कारण जिल्ला बाहिरबाट आयात गर्नुपरेको उनले जानकारी दिए।

ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेपछि पनि कोदोखेती कम हुन थालेको स्थानीय बताउँछन्। कुनैबेला कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले शहरबजारका ठूला होटल तथा रेष्टुरेन्टहरूमा अत्यधिक माग हुने गर्दछ। ग्राहकको माग बढ्न थालेपछि होटल सञ्चालकले ग्रामीण क्षेत्रबाट कोदो मगाउन थालेका छन्।

मागअनुसार कोदो पाउन मुस्किल पर्ने गरेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताए। जाडोका बेला कोदोको ढिँडो र अन्य बेला कोदोकै सेलरोटीको माग बढी आउने गरेको उनको भनाइ छ।

“शहरबजारबाट आउने पाहुनाले कोदोको ढिँडो भनेर हैरानै पार्छन्, गाउँमा कोदो पाउन छोड्यो,” थापाले भने, “पहिले कोदोको ढिँडो पनि के खानु र भन्थे, अहिले त्यही ढिँडो महत्त्वपूर्ण बनेको छ। गाउँका बारी जति सबै बाँझो हुँदै गएका छन्, शहरबजारमा बस्नेले ढिँडो खोज्छन्।”

गाउँमा काम गर्ने जनशक्ति नपाउँदा कोदो फलाउने बारी बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका–८ का श्यामबहादुर थापाले बताए। एक दशकअघिसम्म गाउँमा बजारबाट चामल ल्याउन समस्या हुने गरेको भन्दै उनले कोदोको ढिँडो र रोटी खाएर जीविकोपार्जन गर्ने गरिएको स्मरण गरे। उनका अनुसार पहिले कोदोखेती हुने पाखोबारी अहिले सबै बनमाराले ढाकिएको छ।