महँगो शुल्कले सुस्ताउँदै पोखराको ‘पुतली जहाज’को उडान

खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै प्रकृतिको मनोरम दृश्य नियाल्न सकिने अल्ट्रालाइट अर्थात् ‘पुतली जहाज’मा साहसिक पर्यटकहरूको चहलपहल अचेल घट्दै गएको छ।

पोखरा– शिरमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला। तल फेवा, बेगनास, रूपा र दीपाङ्गदेखि खास्टेसम्मका तालैतालले शृङ्गारिएको सुन्दर नगरी पोखरा। यो प्राकृतिक अनुपमलाई आकाशको उचाइबाट नियाल्न चाहनेका लागि ‘अल्ट्रालाइट उडान’ निकै लोकप्रिय छ। तर, हावाको वेगसँगै कावा खान मिल्ने यो साहसिक गतिविधि अहिले भने केही सुस्ताएको छ।

दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतलीजस्तै देखिने भएकाले स्थानीयले यसलाई ‘पुतली जहाज’ पनि भन्छन्। कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात् ‘पुतली जहाज’ले लोभ्याइरहेको थियो। खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यावलोकन गर्न पाइने यो साहसिक गतिविधिमा रुची राख्नेहरूको रोजाइमा पर्ने यो उडानमा अचेल पर्यटकको चहलपहल घटेको छ।

उडान शुल्कमा भएको भारी वृद्धिले आन्तरिक तथा बाह्य दुवै पर्यटकहरू यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नताशा श्रेष्ठ बताउँछिन्। “पहिले व्यवसाय निकै राम्रो थियो। तर, नागरिक उड्डयन प्राधिकरणले ‘टेक अफ’ र ‘ल्यान्डिङ’ शुल्क बढाएपछि उडानको लागत महँगो हुन पुग्यो,” श्रेष्ठले भनिन्, “यसले समग्र व्यवसायलाई नै ठूलो मार पारेको छ।”

केही वर्ष अघिसम्म आठ हजार ५०० रुपैयाँमा पाइने अल्ट्रालाइटको मजा लिन अहिले पर्यटकले १७ हजार ५०० रुपैयाँ खर्चनुपर्छ। शुल्क झन्डै दोब्बर भएपछि उडान भर्नेहरूको संख्यामा उल्लेख्य गिरावट आएको व्यवसायीहरूको गुनासो छ।

नेपालमा ‘एड्भेन्चरकी माता’का रूपमा चिनिने नताशा श्रेष्ठले नै नेपालमा साहसिक हवाई पर्यटनको जग बसालेकी हुन्। विसं. २०५३ मा एभिया क्लब नेपालमार्फत उनले रुसी साझेदारहरूसँग मिलेर यो सेवा शुरू गरेकी थिइन्। दक्षिण एशियामै पहिलो पटक पोखराबाट शुरू भएको हो। सम्भावना राम्रो रहेकाले यो सेवाले नेपाललाई विश्व बजारमा चिनाउन र पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ।

दक्ष जनशक्ति र राज्यको पर्यटनमैत्री नीतिको अभावले निजी क्षेत्रका व्यवसाय धराशायी हुँदै जानु र नयाँ लगानीमा सम्भावना कम हुँदै जाँदा पर्यटन क्षेत्रलाई असर गरेको उनको भनाइ छ। “शुरूमा पोखरामा यस्तो साहसिक खेल भित्र्याउँदा धेरैलाई अनौठो लागेको थियो, तर आज यो पोखराको पहिचान बनेको छ,” श्रेष्ठ भनिन्, “हामीले पोखराको पर्यटनलाई केवल ताल र गुफामा सीमित नराखी आकाशको उचाइसम्म पुर्‍याउन सफल भएका छौँ यसको प्रवर्द्धन विस्तार जरुरी छ। ”

उनका अनुसार शुरूआती दिनहरूमा अल्ट्रालाइट उडाउन पूर्णरूपमा रुसी पाइलटहरूमा भर पर्नुपर्ने अवस्था थियो। एभिया क्लबले नै अनुभवी रुसी पाइलट ल्याएर यसको उडान सुरु गरेको हो । तर, अहिले नेपाली युवा पाइलटले नै उडान गर्न थालेका छन्। 

हाल पोखरा एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा प्रदान गरेको पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुनै समय दिनको ४० उडान गर्दै आएका कम्पनीले अहिले दिनको चार वटा उडानमा सीमित हुनुपर्ने अवस्था आएको छ।

पर्यटकलाई आकर्षित गर्ने गतिविधिमा राज्यले पर्यटनमैत्री नीति बनाएर सहजको वातावरण गराउन सके नीति क्षेत्रलाई राहत मिल्ने र पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ। कुनै समय साहसिक गतिविधिमा रुचि राख्ने पर्यटकले रुचाएको अल्ट्रालाइट अहिले पर्यटकको अभाव र चर्को शुल्कले सुस्ताउनु दुर्भाग्य भएको उनको बुझाइ छ। 

केही वर्षअघि विदेशी साथीसँगै अल्ट्रालाइटको उडान भरेका पोखराका रामबजारका विकास गुरुङले अहिले शुल्क बढी भएको गुनासो गरे। “अहिले शुल्क महँगो भयो, शुल्क घटाउने हो भने आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ”, उनले भने। 

उनले साहसिक खेलमा प्याराग्लाइडिङ अल्टालाइट आ–आफ्नै विशेषता रहेको सुनाए। गुरुङले भने, “विदेशी पर्यटकहरू त झन् पोखराको यो उडानलाई विश्वकै उत्कृष्टमध्ये एक मान्छन्, धेरै देशमा उडान भरेका मेरा एक जर्मनी साथीले पोखराको आकाश उडेपछि यहाँको सुन्दरताको निकै तारिफ गरेका थिए।”