२५ वर्षपछि खुल्यो सुन्धाराको निकास, प्राचीन स्वरूपमै पुनरुत्थान गर्ने वडाको योजना

२५ वर्षदेखि अवरुद्ध जयबागेश्वरी मन्दिरसँगैको सुन्धाराको निकास खोल्दै काठमाडौँ महानगर–८ ले यसको प्राचीन स्वरूप र मौलिकतालाई पुनर्स्थापित गर्ने तयारी गरेको छ।

 

काठमाडौँ– पाशुपत क्षेत्रस्थित जयबागेश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द निकास २५ वर्षपछि खोलिएको छ। काठमाडौँ महानगरपालिका–८ को सक्रियतामा पुस ६ र ९ गते रातभरको प्रयासपछि १० गते बिहान पाइप राखेर पानीको निकास खोलिएको हो।

महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले यो ढुंगेधारा लिच्छवीकालीन संरचना भएको बताए। उनका अनुसार पहिले यो ढुंगेधाराबाट पानी निकासका लागि बनाइएको ढलमा मानिस नै पसेर सफाइ गर्न मिल्ने ठूलो संरचना थियो। तर, बढ्दो शहरीकरणसँगै खानेपानीको पाइपलाइन जडान गर्ने क्रममा ती मौलिक ढल संरचना नष्ट गरिएपछि २५ वर्षअघि धाराको निकास पूर्ण रूपमा बन्द भएको थियो।

“१० वर्षअघि पनि निकास खोल्ने प्रयास गरिएको थियो, तर सफल हुन सकेन,” वडाध्यक्ष संगतले भने, “यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्मको गहिराइ पहिल्याएर निरन्तर काम गरेपछि निकास खोल्न सफल भयौँ।”

उनले एउटा संरचना बनाउँदा अर्को मौलिक संरचना नष्ट गर्ने विकास प्रणालीले धेरै सम्पदा बिग्रेको उल्लेख गर्दै अब त्यसलाई सुधार्ने प्रयासमा आफूहरू लागेको बताए।

यो धारा केवल पानीको स्रोत मात्र नभई नेवार सभ्यता र प्राचीन जल व्यवस्थापन प्रणालीको उत्कृष्ट नमूना भएको उनको भनाइ छ। वडाध्यक्ष संगतले भने “यो जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इन्जिनियरिङ जीवन्त दसी पनि हो। हामी यसलाई पुनर्स्थापित गराउँछौँ।”

उनका अनुसार सुन्धारामा कलात्मक बुट्टा भरिएका ढुंगा र ठाउँ–ठाउँमा देवीदेवताका मूर्ति रहेका छन्, जसले यसको वास्तुकलात्मक महत्त्वलाई झल्काउँछ।

जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्यका अनुसार यस धारामा गणेश र भैरवलाई द्वारपालका रूपमा राखिएको छ। धार्मिक विश्वासअनुसार जयबागेश्वरी माताले यसै सुन्धारामा स्नान गर्ने गर्छिन्। अहिले पनि माताको चरण पखाल्न र यस क्षेत्रका धार्मिक अनुष्ठानका लागि यही धाराको जल प्रयोग गर्ने परम्परा छ।

स्थानीय मुकुन्दराज वैद्यका अनुसार लिच्छवीकालीन राजा नरेन्द्र देवले जनताको कल्याण र समृद्धिका लागि माताको आह्वान गरेका थिए। उनको आह्वानपछि मानसरोवरबाट आएकी जयबागेश्वरी माताको इच्छाअनुसार स्नानका लागि शिलानदीबाट यहाँ पानी ल्याइएको मानिन्छ। माताको पाउ शिलाको भएकाले दर्शन गर्दा मुहारको नभई पाउको दर्शन गर्ने विशेष चलन यस क्षेत्रमा रहेको छ।

विगतका पुनर्निर्माणका क्रममा धाराको मौलिक स्वरूप बिग्रिएको ठहर गर्दै वडा कार्यालयले यसको कलात्मकता र प्राचीन मौलिकतालाई पुनः स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।