मिथ्या सूचनाको प्रतिकारका लागि सूचना साक्षरता बढाउनुपर्नेमा विज्ञहरूको जोड

मिथ्या सूचनाले समाजका सबै क्षेत्र प्रभावित बनेको बताउँदै विज्ञहरूले यसको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुका साथै सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौँ– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने काठमाडौँ सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउनुपर्ने र हल्लाको पछि लाग्न नहुने निष्कर्ष निकालेको छ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सीएमार-नेपाल)ले काठमाडौँमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येयताहरूले प्रविधिमा भएको पहुँचले गर्दा मिथ्या सूचनाको बाढी लागेकाले सूचनालाई छनोट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए। मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको बताउँदै विज्ञहरूले यसको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुका साथै सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

सम्मेलनमा राजनीतिशास्त्री हरि शर्माले राजनीतिलगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै आँखाले देखेको कुरासमेत सही नहुने अवस्था रहेको बताए। प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा व्यक्त गर्दै उनले प्रश्न गर्ने परिपाटी हराए मिथ्या सूचना अझ बढी फैलिने बताए। 

null

युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सही सूचना लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गर्दै प्रविधिको सहजताले मिथ्या सूचना निकै छिटो फैलिएको बताए। उनले मिथ्या सूचना न्यूनीकरण गर्न सरकार, प्रविधि, लोकतान्त्रिक शक्ति, नागरिक समाज, मिडिया र प्राज्ञिक क्षेत्र पारदर्शी तथा जबाफदेही हुनुपर्ने धारणा व्यक्त गरे।

आइतबार सम्मेलनमा मिथ्या सूचनाविरुद्ध लड्न पत्रकारिता शिक्षा, मिडियाको भूमिका र मिथ्या सूचनाविरुद्धका कार्यक्रम गरी तीन वटा सत्रसहित सोसल मिडिया प्लेटफर्म नियमन र जलवायु परिवर्तनका विषयमा प्यानल छलफल गरिएको थियो।

पत्रकारिता शिक्षाको भूमिकासम्बन्धी सत्रमा डा. लीला न्याइच्याइ, दीपक अर्याल, रोमकान्त पाण्डे र यमबहादुर दुरालाई डा. घमराज लुइँटेलले सहजीकरण गरेका थिए। त्यस्तै, मिडियाको भूमिकाबारे प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्य, प्रतीक प्रधान, नितु पण्डित र उमेश चौहानसँग पत्रकार दुर्गा खनालले सहजीकरण गरेका थिए।

null

मिथ्या सूचनाविरुद्धका कार्यक्रमसम्बन्धी सत्रमा उमेश श्रेष्ठ, बबिता बस्नेत, प्रनय स्थापित र किरण भण्डारीलाई डा. श्रीराम पौडेलले सहजीकरण गर्नुभएको थियो भने सोसल मिडिया प्लेटफर्म नियमनसम्बन्धी सत्रमा वक्ताहरू तारानाथ दाहाल, डा. दोभान राई, डा. श्रीकृष्ण भट्टराई र शेखर क्षेत्री थिए, जसलाई डा. कुन्दन अर्यालले सहजीकरण गरेका थिए। जलवायु परिवर्तनका मिथ्या सूचनाबारे रमेश भुसाल, इन्दिरा अर्याल, सुशीलकुमार श्रेष्ठ र मुकेश पोखरेलसँग युनेस्कोकी निर्जना शर्माले सहजीकरण गरेकी थिइन्।

आइतबार सकिएको यो दुईदिने सम्मेलनमा मिडिया, सोसल मिडिया र मिडिया साक्षरतासम्बन्धी एक दर्जन अनुसन्धान पत्र प्रस्तुत गरिएको थियो। विज्ञ, नीति निर्माता र पत्रकारबीच भएको उक्त छलफलमा दुई दिन गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।