सात प्राज्ञलाई विजय मल्ल नइ शताब्दी पुरस्कार

मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार प्रदान गर्न लागिएको हो।

काठमाडौँ– नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ। पुरस्कारको राशि जनही २५/२५ हजार रुपैयाँ रहेको छ। 

मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार घोषणा भएको हो।

पुरस्कृत हुने प्राज्ञमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्राडा. कृष्णराज घतानी रहेका छन्।

नइ एकेडेमीका कुलपति  इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।