मधेशका स्थानीय कार्यकर्ता: कोही किन फेर्छ दल?

चुनाव नजिकिँदै जाँदा मधेशका जिल्लामा पार्टी प्रवेशको लहर नै चलेको छ। पार्टी फेर्नेहरूको गतिविधि स्वार्थका कारण भएजस्तो देखिए पनि यो दलीय राजनीतिमा विचारको क्षयीकरणको उपज भएको विश्लेषक बताउँछन्।

काठमाडौँ– २०७३ साल, देशमा संविधान निर्माण भइसके पनि निर्वाचन हुन बाँकी थियो। राजनीतिको यही संक्रमणकालीन अवस्थामा महन्थ ठाकुर नेतृत्वमा गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेशको राजनीतिमा नेतृत्वदायी भूमिका खेल्ने दाबी गरिरहेको थियो। विभिन्न ६ वटा दल मिलेर बनेको राजपामा ६ सदस्यीय अध्यक्ष मण्डल थियो।

यता, टुटफुट र विभाजनका बीच संघीय समाजवादी फोरमले भने, मधेशमा आफ्नो संगठन सुदृढ बनाउने अभियान अघि बढाइरहेको थियो। यही सन्दर्भमा पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा वीरगन्जमा पार्टी प्रवेश तथा पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो।

पार्टी प्रवेशका लागि राजपाका तत्कालीन जिल्ला सचिव उमेशलाल सहनीको नाम बोलाइयो। गडडड ताली बज्यो। केन्द्रीय उपाध्यक्ष लालबालु राउतले उनलाई लगाइदिने गम्छा उठाएर अध्यक्ष यादवको हातमा दिए। नवप्रवेशी नेताको गर्धनमा गम्छा राखेपछि अबिरको टीका लगाउने पालो थियो। 

हातमा अध्यक्ष यादवले एक चिम्टी अबिर उठाएर रोकिए। टीका लगाउनुअगाडि हाँस्दै हिन्दीमा भने, “आप को पार्टी में पाँचवा बार प्रवेश करा रहे हैं, लेकिन अब जाइएगा तो फिर से टिका नही लगाएङ्गे, हँ। आइए स्वागत हैं।” अर्थात्, तपाईंलाई पाँचौँ पटक पार्टी प्रवेश गराइरहेको छु, फेरि जानुभयो भने अब उपरान्त मैले टीका लगाउने छैन है। आउनुस् स्वागत छ।

नवप्रवेशी नेता पनि हाँसे। एकछिन माहोल हाँसोमय भयो। मधेशमा पार्टी फेर्ने चलन कति आम भइसकेको छ भन्ने त्यो एउटा प्रतिनिधि घटना थियो। सहनी केही समयपछि अर्का नेता राजेशमान सिंहको पहलमा राजपामै फर्किए।

२०७९ सालको स्थानीय तह निर्वाचन ताका सिंहले उपेन्द्र यादव नेतृत्वकै जनता समाजवादी पार्टीबाट टिकट पाएकाले उनका विश्वासपात्र सहनी फेरि उपेन्द्र यादव नेतृत्वको पार्टीमा आए। मेयर सिंह जता हुन्छन्, उनी त्यतै हुन्छन्। “अहिले एमालेलाई सहयोग गर्दै छु,” उनी भन्छन्।

कुनै पनि पार्टीको नीति खराब नहुने भए पनि नेताका कारण खराबजस्तो देखिने सहनी बताउँछन्। नेतृत्वसँग कुरा नमिल्दा नै आफूले पार्टी फेर्ने गरेको उनको दाबी छ। “मधेशवादी दलमा हामी निस्वार्थ रूपमा लाग्यौँ, मन्त्री बन्नु थिएन,” उनले भने, “मधेशका मुद्दा सम्बोधन र मधेशी पहिचानको सम्मानका लागि पार्टीमा लागेका थियौँ। उपेन्द्र यादव र अरू नेताहरूले मधेशको अधिकार स्थापित गर्नसक्ने देखिन्न। चुनाव जितेपछि सबै मुद्दा बिर्सिन्छन्, सत्ता उनीहरूको एकमात्र लक्ष्य बन्न जान्छ।”

मधेशमा यस्ता अनेकौँ पात्र भेटिन्छन्, जो बारम्बार पार्टी फेर्छन्। खासगरी २०६२/६३ को आन्दोलन र त्यसपछि भएका मधेश आन्दोलनताका तन्नेरी रहेका विद्यार्थी नेता र युवा अहिले दल फेर्ने दौडमा देखिन्छन्।

युवाहरू आफ्नो आवश्यकता जसले पूरा गर्छ त्यसको पछाडि जाने गरेको सहनीको भनाइ छ। “युवा बेरोजगार छन्, जीवनयापनमा जसले सघाउँछ, स्वरोजगार बनाउँछ त्यसप्रति आकर्षण हुन्छन्। उसको व्यक्तिगत आवश्यकता जसले पूरा गर्छ त्यसलाई सहयोग गर्छन्,” उनले भने।

ठाकुरराम बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति मुकेश द्विवेदी पछिल्लो पटक एमाले प्रवेश गर्दा स्थानीय सञ्चारमाध्यमले उनलाई ‘दल बदलु नेता’ सम्बोधन गरे। त्यस्तो सम्बोधन र टिप्पणीले फरक नपर्ने उनी बताउँछन्। “अशोक राई नेतृत्वको जसपामा थिएँ, त्यो पार्टी छाडेर अधिकांश नेता उपेन्द्र यादवको जसपामा गएपछि हामी त्यता फर्किन चाहेनौँ, अहिले एमालेमा छौँ,” उनले भने।

नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै कांग्रेस भएका द्विवेदी पछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरे। २०७४ सालको स्थानीय तह निर्वाचनपछि संघीय समाजवादी फोरममा लागे। अघिल्लो पटक उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा सामेल भएका थिए।

राउतको पार्टी सबैभन्दा विचित्र रहेको र उनले आफ्नो भक्तजस्तो नेता कार्यकर्ता मात्र पार्टीभित्र चाहेको अनुभव भएपछि राई नेतृत्वको जसपामा गएको उनी बताउँछन्। तर त्यो पार्टी नै संकटमा परेपछि एउटा बाटो रोज्नु परेको उनको भनाइ छ। 

“पार्टी कुनै खराब छैन, नेतृत्वमा रहेका व्यक्तिहरूको प्रवृत्तिमा समस्या छ। झोला बोकाउने प्रवृत्ति हाबी छ। जनमतमा अहिले पुरानामा सिके राउत र उनका दाजु मात्र छन्,” उनले भने, “स्वार्थमा प्रयोग गर्ने बुझेपछि मानिसहरू समय र परिस्थिति अनुसार आफ्नो बाटो लिने गरेका छन्।”

चुनाव नजिकिँदै जाँदा मधेशका जिल्लामा पार्टी प्रवेशको लहर नै चलेको छ। प्रत्येक दलले आफूप्रति जनआकर्षण देखाउन पार्टी प्रवेश बढीभन्दा बढी राख्न चाहने विश्लेषक आनन्द गुप्ता बताउँछन्। चुनावका बेला विपरीत ध्रुवको विचारमा स्थापित दलले गठबन्धन गर्ने, चुनावपछि फेरि गठबन्धन छोडेर अर्को दलसँग मिलेर सरकार बनाउने क्रम देखिएको उनको भनाइ छ।

“दलहरूमा विचार र सिद्धान्त भन्ने कुरा रहेन,” उनले भने, “यहाँ सदनको सबैभन्दा ठूलो दल र प्रमुख प्रतिपक्षी मिलेर पनि सरकार बनाएको अनौठो प्रयोग देखियो। कुनै एउटा दलसँग जोडिएर बस्ने आधार रहेन, जसले स्वार्थपूर्ति गर्छ, त्यसैमा पार्टी प्रवेश गर्छन्। कुरा मिलुन्जेल त्यहाँ हुन्छन्, नभए फेरि अरूतिर लाग्छन्।”

पार्टी फेर्नेहरूको गतिविधि स्थानीय स्वार्थका कारण भएजस्तो देखिए पनि यो दलीय राजनीतिमा विचारको क्षयीकरणको उपज भएको उनी बताउँछन्। “केही यस्ता व्यक्ति छन्, जसलाई पार्टी फेर्नका लागि अडान वा निर्णय केही चाहिँदैन, उ कुनै अरू ठूलो नेताको पछाडि लागेर एक पार्टी छोडेर अर्कोमा लाग्छ।”