नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक

‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासलाई ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुःस्वप्न वक्तव्यको संज्ञा दिएका छन्।

काठमाडौँ– नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ। पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो।

ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो। कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए। 

किशोर उमेरमै जासुसी उपन्यास लेखेर प्रकाशकलाई बुझाएको तर नछापिएको कथा सुनाउँदै ढकालले आफ्नो पठन यात्राका प्रारम्भिक दिन स्मरण गरे, “त्यसपछि मैले संसारका प्रसिद्ध लेखक खोज्दै पागलझैँ पढ्न र पढिरहन थालेँ। मेरो यस्तो लत अझै उस्तै छ।”

बसमा, शौचालयमा, कलेजमा, घरमा लुकीलुकी पुस्तक पढ्ने बानीले बिस्तारै आफूभित्रको लेखक जाग्दै गएको ढकालले बताए। जीवनमा आफू विभिन्न विधा र आन्दोलनमा छरिएको स्मरण गर्दै उनले भने, “घरी झोछेँका गल्लीहरूमा शिवधुवाँको कुइरीमण्डलमा जीवनको सपना खोज्न थालियो, घरी प्रतिबन्धित कम्युनिस्ट पार्टीको कार्यकर्ता भइयो।”

विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, जेल यात्रा, पत्रकारिता, सांसद, हङ्ग्री जेनरेसन, यस्ता विविध घटना र मोडहरूको अस्थिर जीवन नै आफ्नो साहित्यिक खुराक बनेको ढकालको भनाइ छ। ‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासलाई ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुःस्वप्न वक्तव्यको संज्ञा दिए।

२०३० सालमा पहिलो कथा प्रकाशन भएको मितिले ढकालको साहित्यिक यात्रा ५२ वर्ष कटेको छ। ढकालका ६ उपन्यास, सात कथा संग्रह, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह, एक कविता संग्रह प्रकाशित छन्।