नेपालमा उत्पादित टायरहरू भारत, बांग्लादेश, श्रीलंकालगायतका दक्षिण एशियाली मुलुकमा समेत निर्यात हुन्थे।
काठमाडाैँ– कुनै समय दक्षिण एशियामै गुणस्तरीय टायर उत्पादन गर्ने गोरखा नगरपालिका–१३ मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेड अहिले जीर्ण बनेको छ।
वि.सं २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको नेपालको एकमात्र रबर उद्योगको रूपमा स्थापित यस उद्योगले वि.सं २०५० को दशकदेखि व्यावसायिक उत्पादन थालेको थियो। मित्र राष्ट्र चीनको सहयोगमा स्थापित यो उद्योग हाल पूर्ण रूपमा बन्दको अवस्थामा छ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन् या बाबुराम भट्टराई, चुनावका बेला यस उद्योगलाई सञ्चालनमा ल्याउने आश्वासन दिइरहन्छन्। अहिले यही क्षेत्रबाट चुनाव जितेर गण्डकी प्रदेश प्रमुख बनेका सुरेन्द्रराज पाण्डे मात्र नभइ जुनसुकै पार्टीबाट पनि उम्मेदवार उठेका सबै नेताले यही विषय दोहोर्याउँछन्। तर नेताले जति आश्वासन बाँडे पनि थला परेको उद्योग तंग्रिन सकेको छैन।
सरकारी र निजी साझेदारीमा सञ्चालित गोरखकाली रबर उद्योगले प्रतिवर्ष हेभी र लाइट गरेर विभिन्न प्रकारका १ लाख २० हजार टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो। उद्योग सञ्चालनको क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रतिवर्ष उत्पादन गरिरहेको थियो। ट्रकका लागि १२ प्रकारका, जीप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यस उद्योगले उत्पादन गर्ने गर्दथ्यो। करिब ६७० रोपनी क्षेत्रफलमा रहेको यस उद्योगमा सरकार, सर्वसाधारण, एशियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाहरूको साझेदारी रहेको थियो।
उद्योग सञ्चालनको शुरूकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए। कुल टायर र ट्युबको आन्तरिक मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भइसकेको उद्योगले विदेशी टायरहरूसँग पनि राम्रै प्रतिस्पर्धा गरिराखेको थियो। नेपालमा उत्पादित टायरहरू भारत, बांग्लादेश, श्रीलंकालगायतका दक्षिण एशियाली मुलुकमा समेत निर्यात हुन्थे।
नेपालको काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायतका ठूला ३० वटा शहरमा आफ्नो डिपो राखेर राम्रो बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको यस गोरखकाली रबर उद्योग गोरखावासीको मात्रै नभएर नेपालकै एउटा प्रतिष्ठा बनेको थियो। तर विगत १० वर्षदेखि उद्योग पूर्ण रूपमा बन्द छ। करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौं रोपनी क्षेत्रफल भएको रबर उद्योगको वरिपरि झाडी र घारीले घेरिएको छ। उद्योगका मेसिनहरूमा खिया लागेको छ।
हाल सुनसान देखिने यो क्षेत्रमा उद्योग रेखदेख र सुरक्षाका लागि सुरक्षागार्ड खटाइएका छन्।
तस्वीर: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
