मतगणनामा विगतका ढिलासुस्ती र लम्बेतान प्रक्रियाबाट सिकेर निर्वाचन आयोगले यसपालि २४ घण्टामै परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको दाबी गरेको छ। के आयोगले दाबी गरेझैँ यति चाँडै नतिजा आउला?
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार देशभर एकै चरणमा मतदान सम्पन्न भएको छ। अब मतपेटिकाहरू निर्वाचन क्षेत्रका केन्द्र (मतगणना स्थल) ल्याइपुर्याउने काम सकिएसँगै मतगणना प्रक्रिया अघि बढ्ने छ। यसअघिका निर्वाचनमा मतगणना असाध्यै ढिलो र पट्यारिलो बन्ने गरेकाले यसपालि गणनामा कति समय लाग्ला र परिणाम सार्वजनिक हुन कति समय लाग्ला भन्नेमा धेरैको चासो देखिन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक प्रणाली दुवैतर्फको मतगणना सँगसँगै अघि बढ्ने छ। यसपालि निर्वाचन आयोगले मतगणना शुरू भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको दाबी गरेको छ।
आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो दाबी गरेका थिए। मतपेटिका संकलन भएर गणना शुरू भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने दाबी गर्दै उनले भनेका थिए, “मतपेटिका छिटो संकलन गर्ने र गणना शुरू भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिन्छ।”
त्यसक्रममा उनले समानुपातिक मतको परिणाम पनि छिट्टै सार्वजनिक गर्ने उल्लेख गरे।

यसअघिका निर्वाचनमा कुनै क्षेत्रको नतिजा आउन तीन दिनदेखि ४ दिनसम्म लाग्ने गरेको थियो। त्यसले गर्दा आयोग र उसले निर्धारण गरेको मतगणना प्रक्रियाको आलोचना हुनेगरेको थियो। यसपटक भने गणना शुरू गरेको २४ घण्टाभित्रै परिणाम सार्वजनिक गर्ने दाबीको आधार चाहिँ के छ त?
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, “१६५ वटै निर्वाचन क्षेत्रमा मतगणनासम्बन्धी परिपत्र जारी भइसकेको छ। काम छिटो सक्न प्राविधिक व्यवस्था गरिएको छ। अर्थात् गणकको संख्या थपेर धेरै ठाउँमा एकैसाथ गणना गर्ने व्यवस्था मिलाइएको छ।”
उनले पहिले प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएलगत्तै समानुपातिकतर्फको गणना शुरू हुने जानकारी दिए।
मतगणना गर्ने स्थल बढाउँदा जनशक्ति थप भई केही खर्च बढे पनि छिटोछरितो नतिजा दिन सहयोग पुग्ने हुँदा यस्तो कदम चालिएको आयोगले जनाएको छ। “१६५ वटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भइसकेका छन्,” भट्टराईले भने, “त्यहाँ तारजाली र सीसीटीभी क्यामेरालगायत आवश्यक कुरा जडान गरिएको छ।”

धेरै मतदाता भएका निर्वाचन क्षेत्रमा आयोगले यसपालि अघिल्ला निर्वाचनमा भन्दा धेरै जनशक्ति खटाएको छ। तिनमा तालिम दिइएका गणकहरू पनि छन्। उनीहरूलाई विभिन्न समूहमा विभाजन गरी धेरै टोलीबाट गणना गराउने आयोगको तयारी छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रभित्रका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि मात्र मतगणना शुरू गरिन्छ। १५ जिल्लाका ६१ स्थानका मतपेटिका भने हेलिकप्टरबाट गणनास्थलमा ल्याइने छ।
“ताप्लेजुङदेखि दार्चुलासम्मका १५ जिल्लाका ६१ दुर्गम स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याइनेछ,” आयोगका सचिव कृष्णबहादुर राउत भन्छन्, “अन्य क्षेत्रको हकमा भने सडक मार्गबाट गाडीमा ढुवानी गरिनेछ।” आयोगले डोल्पाका २३ र हुम्लाका ४ स्थानमा मतपत्र, कर्मचारी र सुरक्षाकर्मीलाई पनि हेलिकप्टरबाटै पठाएको थियो।
२४ घण्टामा परिणाम घोषणा कति सम्भव?
निर्वाचन आयोगले मतगणना शुरू गरेको २४ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको दाबी गरे पनि विगतका अनुभव हेर्दा भने उसको यो लक्ष्य चुनौतीपूर्ण देखिन्छ। २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम मतपरिणाम आउन तीन साताभन्दा बढी लागेको थियो। त्यसबेला आयोगले मंसिर २९ गते मात्र राष्ट्रपतिलाई अन्तिम निर्वाचन परिणामको प्रतिवेदन बुझाएको थियो।

आयोगका प्रवक्ता भट्टराई भने लक्ष्य तोकेरै काम गरिरहेको बताउँछन्। “कतै विवाद उत्पन्न भएर ढिलाइ हुनुलाई अपवाद मान्नुपर्छ,” उनी भन्छन्, “२४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने हाम्रो लक्ष्य हो। कम मतदाता भएका क्षेत्रमा विगतमा पनि ७–८ घण्टामा नतिजा आएकै हो, धेरै मतदाता भएका ठाउँमा केही समय लाग्न सक्छ।”
यसपालिको निर्वाचनमा देशभर मतदान गर्न योग्य मतदाता एक करोड ८९ लाख ३ हजार ६८९ रहेकोमा ६० प्रतिशत हाराहारीले मतदान गरेका छन्। चुनावी मैदानमा प्रत्यक्षतर्फ राजनीतिक दलका र स्वतन्त्रसमेत ३ हजार ४०६ उम्मेदवार छन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका थिए।
निर्वाचनमा ६५ दल प्रत्यक्षतर्फ र ६३ दल समानुपातिकतर्फ प्रतिस्पर्धामा छन्। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, निर्वाचन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतका सुरक्षाकर्मी र २ लाख १५ हजार कर्मचारी परिचालन गरिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
