अन्तर्वार्ता

‘जति बढी मतदान भयो, उति नतिजा फरक हुने सम्भावना रहन्छ’

‘जुन देशमा मतदानलाई कानूनी रूपमा अनिवार्य गरिएको छैन, त्यहाँ लोकतन्त्र परिपक्व हुँदै जाँदा मतदाताको संख्या घट्दै गएका विश्वव्यापी उदाहरण छन्। पश्चिमा लोकतन्त्रमा पनि हाम्रोभन्दा कम मतदान हुन्छ।’

बिहिबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५८.०७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। सबैभन्दा धेरै ६०.९३ प्रतिशत मत बागमती प्रदेशमा खसेको छ। सबैभन्दा कम ५४.९२ प्रतिशत मत गण्डकीमा खसेको छ। यसपटक २०४८ सालयता भएका निर्वाचनहरूमध्ये सबैभन्दा न्यून मतदान भएको हो। मतदानको प्रवृत्ति र त्यसको ऐतिहासिकताका विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग उकालोका लागि किरण दहालले गरेको कुराकानीः

यसपटकको निर्वाचनमा जम्मा ५८ प्रतिशत मत खसेको जनाइएको छ। निर्वाचनप्रति ठूलो उत्साह देखिए पनि विगतको तुलनामा किन कम मत खस्यो?
यसका विविध कारण हुन सक्छन्। पहिलो त, ठूलो संख्यामा मतदाता देशबाहिर छन्। २५ प्रतिशतभन्दा बढी मतदाता त देश बाहिरै बस्छन्। दोस्रो, निर्वाचन बहिष्कार गर्ने र सहभागी नहुने जस्ता कुराले पनि केही असर पारेको हुनसक्छ। तेस्रो, पुराना भनिएका दलहरूको आन्तरिक द्वन्द्वका कारण कोही मतदानमा जाने र कोही नजाने विषय सतहमा आए, यसको असर पनि हुनसक्छ।

यसबाहेक, मौसम र भौगोलिक कठिनाइका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या भयो होला। अर्कोतिर, ‘जसलाई जिताए पनि उस्तै त हुन् नि’ भन्ने आम नागरिकमा भएको वितृष्णाले पनि प्रभाव पारेको देखिन्छ। एउटा मात्र कारणले भोट कम खस्यो भनेर दाबी गर्न सकिँदैन, बरु विभिन्न कारणले भूमिका खेलेको हुन्छ।

निर्वाचन भनेको नेतृत्व चयन गर्ने महत्त्वपूर्ण अवसर हो। मतदाताले मतदान नै बहिष्कार गर्ने अवस्था किन निम्तिन्छ?
मतदान बहिस्कार गर्नु भनेको आफ्नो अधिकारलाई आफैले प्रयोग नगर्नु हो। तर जब पटक–पटक आशा देखाइन्छ र पूरा हुँदैन, तब मतदाता विरक्तिएर आक्रोश पोख्न ‘हामी सहभागी नै हुन्नौँ’ भन्छन्। बहिष्कार गर्नेहरूले आफ्नो अधिकारलाई आक्रोशमा पोको पारेका हुन्। अर्को पाटो के हो भने, यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्यान खिच्न सफल हुन्छ। हिजो कसैले नउठाएको मुद्दा अहिले चार–पाँच ठाउँमा मतदान बहिष्कार भएपछि सबैको चासोको विषय बनेको छ। यस्तो उद्देश्यले पनि कहिलेकाहीँ मतदान बहिष्कार गरिन्छ।

तपाईंले मौसम र व्यवस्थापनको कुरा पनि गर्नुभयो। प्राविधिक र व्यवस्थापकीय कारणले मत कम खस्ने सम्भावना कत्तिको हुन्छ?
हुन्छ। अहिले खेतीपातीको सिजन हो, किसानहरूका लागि खेती प्राथमिकतामा पर्न सक्छ। अर्को कुरा, पहाडका धेरै घरहरू रित्तो भइरहेका छन्। मतदाता कि विदेशमा छन् कि शहरमा। केही मतदाता घरगाउँ फर्किए होलान्, तर सबैजना फर्कन सकेनन्। यो कारणले पनि मतदान घट्यो। सामान्यतः व्यवस्थापनकै कारणले मात्र मतदान घट्ने त होइन, तर हिमाली र पहाडी क्षेत्रमा मतदान केन्द्र र बस्ती बीचको दूरी अझै धेरै छ। कतै त मतदान केन्द्र पुग्नै ४–५ घण्टा वा दिनभरि हिँड्नुपर्ने बाध्यता छ। यस्ता कारणले सहभागिता कमजोर बनाउँछ।

तपाईंले बसाइँसराइको प्रसंग ल्याउनुभयो। बसाइँसराइको लहर त रोकिने देखिँदैन। अब मतदानका निम्ति अरू विकल्प पनि खोज्ने बेला भएन?
पक्कै पनि। आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेकाहरू र विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउनुपर्छ भन्ने आवाज प्रखर रूपमा उठिरहेको छ। आशा गरौँ, आउने संसद्ले यसलाई सम्बोधन गर्नेछ।

यसपटक ‘जेन–जी’ को खुब चर्चा भयो। मतदाता नामावली दर्तामा पनि उनीहरू उल्लेख्य सहभागी भएको निर्वाचन आयोग बताउँछ। खासमा, यो मतदानमा कुन पुस्ताको सहभागिता सबैभन्दा न्यून रह्यो होला?
यो ठ्याक्कै भन्न गाह्रो छ। निर्वाचन आयोगले महिला र पुरुषको तथ्यांक त राख्छ, तर कुन उमेर समूहका कति आए भन्ने थाहा पाउन छुट्टै अनुसन्धान चाहिन्छ। को–को मतदानमा सहभागी भए भन्ने विवरण सिलबन्दी हुने भएकाले अदालतको आदेश वा विशेष अनुसन्धानबिना यो खुल्दैन। त्यसैले थप अध्ययनबिना यसै भन्न सकिने अवस्था रहँदैन।

नेपालमा मतदाताको सहभागिता घट्दै जानु स्थायी प्रवृत्ति हो कि अस्थायी मात्र?
जुन देशमा मतदानलाई कानूनी रूपमा अनिवार्य गरिएको छैन, त्यहाँ लोकतन्त्र परिपक्व हुँदै जाँदा मतदाताको संख्या घट्दै गएका विश्वव्यापी उदाहरण छन्। पश्चिमा लोकतन्त्रमा पनि हाम्रोभन्दा कम मतदान हुन्छ। आर्थिक रूपमा सम्पन्न र व्यस्त समाजमा मतदान कम भएका उदाहरण छन्। हाम्रोमा ५८ प्रतिशत मत खस्नुलाई साह्रै कम भन्न मिल्दैन। अनिवार्य मतदान नभएका देशहरूको तुलनामा यो औसत नै हो। यति नै मत खस्नुपर्छ भनेर ब्लुप्रिन्ट छैन, मतदान गर्ने वा नगर्ने कुरा व्यक्तिको इच्छा हो।

२०७० सालको दोस्रो संविधानसभामा ७८ प्रतिशत मत खसेको थियो, २०७४ को निर्वाचनमा ६८ प्रतिशत र २०७९ को निर्वाचनमा ६१ प्रतिशत मात्र खस्यो। मतदान घट्दै जाने प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताको विषय होइन?
लोकतन्त्र भनेकै जनताको अभिमतबाट शासन चल्ने व्यवस्था हो। जति बढी सहभागिता भयो, व्यवस्था उति नै बलियो हुन्छ। मानौँ, थप २० प्रतिशत मत खसेको भए नतिजा अर्कै हुन सक्थ्यो कि! लोकतन्त्र सहभागितामूलक हुनुपर्छ। अधिक सहभागिताले यसलाई बलियो बनाउन मद्दत गर्छ, तर मतदाताको उदासिनताले लोकतन्त्रलाई बलियो बनाउँदैन।