‘चुनाव जित्न संगठन चाहिन्छ’ भन्ने भाष्य बदल्दै यसपालिको निर्वाचनमा दलका संगठन होइन, सञ्चार तथा सूचना प्रविधिको प्रयोग निर्णायक बनेको छ। कसरी फेरियो चुनाव जित्ने बाटो?
काठमाडौँ– कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ को खोरिया गाउँ मुख्य बजारबाट करिब चार किलोमिटर उत्तरमा छ। त्यहीँ बस्छिन् खेतीपाती र बस्तुभाउ स्याहार्ने दैनिकीसँगै ८८ वर्ष गुजारेकी दिलकुमारी थापा। फागुन २१ गतेको निर्वाचनमा ‘रोजेको उम्मेदवार’लाई मत दिएकी उनले उम्मेदवार छान्न अपनाएको तरिका रोचक छ।
त्यो के भने, हातमै रहेको स्मार्टफोनको स्क्रिनमा जब सुर्खेत–२ का एक जना उम्मेदवारको भिडियो सन्देश देखियो, उनले तिनै उम्मेदवारलाई मत दिने निर्णय गरिन्। कारण, त्यो भिडियोले उनलाई सर्लक्कै तानेको थियो। ‘यिनले केही गर्छन्’ भन्ने लागेको थियो। ती उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेशप्रसाद सापकोटा थिए।
त्यतिञ्जेल सापकोटा मतदाताको घरदैलोमा पुगेकै थिएनन्। बरु एमाले उम्मेदवार कुलमणि देवकोटा गाउँमै आएर, भेला गरेर मत मागिसकेका थिए। गाउँमा एमालेको संगठन पनि राम्रो थियो। तर दिलकुमारीलाई त्योभन्दा मोबाइल स्क्रिनमा आएको भिडियोले तान्यो।
दिलकुमारी भन्छिन्, “मैले अहिलेसम्म सधैँ सूर्यमा भोट हालेकी थिएँ, यसपालि भिडियो हेरेपछि नयाँले केही गर्छन् भन्ने लाग्यो। घण्टीको लहर पनि थियो, त्यसमै भोट दिएँ।”
यसपालि घण्टीकै लहर थियो भन्ने उनलाई थाहा चाहिँ कसरी भयो त? दिलकुमारीकै शब्दमा, “मोबाइलबाटै यो सबै थाहा भएको थियो।”
सुर्खेतकी दिलकुमारीको यो अनुभव यसपालिको निर्वाचनमा दलका संगठनको शक्तिभन्दा प्रविधिको प्रभाव कसरी निर्णायक बन्यो भन्ने दृष्टान्त हो।
संगठन भ्रम, डिजिटल यथार्थ!
जेन–जी आन्दोलनको बलमा भएको यस पटकको प्रतिनिधिसभा निर्वाचनमा नेपाली राजनीतिका संस्थापन भनिने पुराना दलहरू, विशेषतः नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दल वडा तहसम्म विस्तारित पार्टी कमिटीकै बेलमा आफ्नो प्रभाव बढाउने ध्याउन्नमा थिए। त्यसमाथि उनीहरूसँग पार्टीको सदस्यता लिएका लाखौँ कार्यकर्ता छँदै थिए। त्यही बलमा निर्वाचन जितिने उनीहरूको विश्वास थियो।
संगठन भनेको कार्यकर्ताहरूको भौतिक उपस्थिति र झन्डा बोक्नेहरूको समूह जसको गाउँ–टोलसम्म प्रभाव हुन्थ्यो। यो मनोविज्ञानमा दल र नेताहरू पूरै अभ्यस्त रहँदै आएका थिए।
उनीहरूले एउटा कुरा या त बुझिरहेका थिएनन्, या बुझेर पनि वास्ता गरेका थिएनन्। त्यो के भने पछिल्ला वर्षहरूमा नेपालका गाउँहरूसम्म एकखाले डिजिटल क्रान्ति नै भएको थियो। विभिन्न अध्ययनहरूले देखाएअनुसार अहिले नेपालका ८५ प्रतिशत भन्दा धेरै घरधुरीमा स्मार्टफोन पुगेको छ। ८० प्रतिशत भन्दा धेरै घरधुरीमा इन्टरनेटको पहुँच छ। फोर–जी इन्टरनेट सेवा देशका अधिकांश भू–भागमा पुगिसकेकाले सामाजिक सञ्जाल शहर मात्र होइन, ग्रामीण जीवनको पनि प्रमुख हिस्सा बन्न थालेको छ। घरैपिच्छे वैदेशिक रोजगार वा विदेश पढ्न गएका सदस्यले गाउँका घरलाई पनि प्रविधि र सामाजिक सञ्जालको प्रयोगमा अभ्यस्त बनाइसकेका छन्।

पुराना पार्टीहरूले सम्भवतः यो अवस्थाको अर्थ बुझेनन्। तर २०७९ को निर्वाचन अगाडि स्थापना भएको पार्टी, रास्वपाले आम मानिससँग रहेको यही स्मार्टफोन नै निर्वाचन जित्ने शक्ति बन्न सक्ने आकलन गरेर आफ्ना रणनीति त्यहीँ केन्द्रित गरेको थियो। काठमाडौँ, नयाँ बानेश्वरका २३ वर्षीय राहुल बलामी भन्छन्, “मलाई कसैले झन्डा बोक्न वा चिया खान बोलाएन। यही मोबाइलले भोट हाल्न कन्भिन्स गर्यो।”
राहुलले मतदाता परिचयपत्र बनाउने र मतदान केन्द्र पत्ता लगाउनेसम्मका कुरा रास्वपाको ‘डिजिटल ट्युटोरियल’बाट सिकेका थिए। अर्थात् रास्वपाले यस्तो डिजिटल टिम परिचालन गरेको थियो जसले मतदातालाई आवश्यक पर्ने सबै कुरा स्मार्टफोनमै उपलब्ध हुने गरी काम गरिरहेको थियो।
नेपालमा बढिरहेको सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्यालाई सम्भवतः रास्वपाले आफ्नो शक्ति बनाउने योजना पहिल्यै बनाइसकेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीका अनुसार डेढ करोड भन्दा धेरै नेपाली फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा छन्। यसको अर्थ राजनीतिक तथा सामाजिक–आर्थिक विषयका सन्देश अब गाउँका चोक–चौतारा भन्दा डिजिटल स्क्रिनबाट कयौँ गुणा प्रभावकारी रूपमा फैलिइरहेका छन्।
त्यहीकारण हुनसक्छ, पार्टी संगठनको बलमा चुनाव जितिने आकलनमा रहेका एमाले र कांग्रेस प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित हुने १६५ सिटमध्ये क्रमशः ९ र १८ सिटमा सीमित भए। अनि अघिल्लोपटक सात सिट मात्र जितेको रास्वपा डिजिटल प्रभावकै कारण १२५ सिटसहित पहिलो पार्टी बन्यो।

राजनीतिक विश्लेषक सीके लाल यसलाई एउटा स्वाभाविक सामाजिक विस्फोट र डिजिटल माध्यमको व्यापक प्रयोगको परिणाम मान्छन्। “जब स्थापित दलहरूले आफ्नो जिम्मेवारीबाट टाढा रहेर मनमर्जी गर्छन्, तब यस्तो खाले विकर्षण बेलाबेला देखापर्छ,” उनले भने, “पुराना दलहरूप्रतिको यो विकर्षणलाई सामाजिक सञ्जालको अल्गोरिदमले ह्वात्तै बढाइदियो।”
उनका अनुसार संगठन भनेको कार्यकर्ताको भौतिक उपस्थितिको लावालस्कर मात्र होइन भन्ने कुरा यसपालिको चुनावी नतिजाले प्रमाणित गरिदिएको छ। “सबै दलसँग आ–आफ्ना अजेन्डा थिए, तर रास्वपाले जति आफ्ना अजेन्डा डिजिटल पर्दाबाट प्रवाहित गर्न सकेनन्,” उनले भने, “पुराना दलहरूले अपनाएको कार्यशैली र उनीहरूको व्यक्तिवादी कर्महरूको फलका रूपमा यो परिणाम आएको हो।”
भ्रष्टाचारका काण्ड र कन्टेन्टमा लगानी
यसपालि रास्वपाले निर्वाचन जित्न कुनै बेग्लै अजेन्डा वा दर्शन आविष्कार गरेको भने थिएन। बरु उसले पुराना दलहरू सरकारमा रहँदा चुलिएका विकृति, विसंगति, अपारदर्शी कार्यशैली, भ्रष्टाचारका काण्ड र दुरूह बनेको सुशासनलाई महत्वसाथ उठाएको थियो। ती विषयलाई उसले आकर्षक रूपमा डिजिटल कन्टेन्टमा बदलेको थियो। मूलधारका मिडिया र खोज पत्रकारहरूले उजागर गरेका भ्रष्टाचारका विभिन्न काण्ड सार्वजनिक जानकारीमा उपलब्ध थिए।
जस्तो, वाइड बडी विमान खरिद प्रकरण, ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी जग्गा प्रकरण र गिरीबन्धु टी–इस्टेट प्रकरण जस्ता काण्डहरूलाई रास्वपाले आफ्नो डिजिटल टिममार्फत १५–२० सेकेन्डको प्रभावकारी भिडियोमा ढाल्ने काम गरेको थियो। त्यसमाथि भ्रष्टाचार के हो, यो कसले कसरी गरिरहेको छ र त्यहीकारण कसरी नागरिकले गुणस्तरीय सेवा पाउन सकेनन् भन्ने कुरालाई डिजिटल माध्यमबाट बुझाउने अभियान पनि चलायो।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कान्तिपुर सिटी कलेजमा पत्रकारिता अध्यापन गर्ने प्राध्यापक रामकृष्ण रेग्मी भन्छन्, “जनताले परिवर्तन चाहेका थिए, त्यसमाथि भ्रष्टाचारका जटिल समाचार र सूचनालाई डिजिटल ‘क्याप्सुल’ बनाएर मानिसको मस्तिष्कमा इन्जेक्ट गरियो। छोटो कन्टेन्टले मतदाताको निर्णय क्षमतामा गहिरो प्रभाव पार्यो।”
रेग्मीका अनुसार पुराना पार्टी–नेताहरू भने आफ्नो सामुन्ने उपस्थित हुने कार्यकर्ता नै मतदाता हुन् भन्ने बुझाइमा रहिरहे। “रास्वपाले एआईको पनि प्रयोग गर्दै डिजिटल प्लेटफर्मबाट भर्चुअल आमसभा गराएर जनतामा मनोवैज्ञानिक असर पार्यो। हामी डिजिटल मिडियाको यो भयानक असरबारे बुझ्न ढिला गरिरहेका छौँ,” रेग्मीको निष्कर्ष छ, “अब संगठन होइन, कन्टेन्ट नै राजा हो।”
रास्वपाका नेताहरूले योजनाबद्ध कन्टेन्ट निर्माणमा पनि ठूलो लगानी गरेको देखिन्छ। नवनिर्वाचित एक रास्वपा सांसदले सुनाए, “हामीले घरदैलो गरिरहेका थियौँ, अनि धेरै कुरा भिडियोबाट पनि देखाइरहेका थियौँ। यी दुवै काममा समय, ऊर्जा र पैसा पनि धेरै खर्च हुन्छ।” आफूले डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न मात्र साढे ५ लाख रुपैयाँ खर्च गरेको उल्लेख गर्दै उनले थपे, “आजको युग भनेको सूचना प्रविधिको युग हो। हामीले प्रविधिको सहयोगमा सूचना प्रवाहमा जोड दियौँ।”
यसपालिको निर्वाचनमा प्रविधिको प्रयोगलाई नजिकबाट नियालेकी एआई विज्ञ दोभान राई पनि रास्वपाले यसमा ठूलो लगानी गरेको बताउँछिन्। “चुनावका बेला रास्वपाका नेता कार्यकर्ता र समर्थकले साधारण मानिसको मन छुने गरी फोटो, भिडियो, एनिमेसन र ग्राफिक्स प्रस्तुत गर्ने, संगीत र शब्दहरू पनि कडाखाले प्रयोग गर्ने काम गरे। रास्वपा टिमले आफू नै अबको ठूलो शक्ति हौँ भनेर डिजिटल माध्यमबाट बुझाउन सके,” उनले भनिन्, “सामाजिक सञ्जालका इन्फ्लुएन्सरले आफ्नो भ्युअर्ससिप बढाउन पनि रास्वपाकै चुनावी गतिविधि प्रचारप्रसार गरे। रास्वपाले त्यस्ता इन्फ्लुएन्सरलाई पछि टिकट पनि दियो र त्यसको सकारात्मक असर मतमा पर्यो।”

हुन पनि सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूले आफ्नै शैलीमा कन्टेन्ट निर्माण गरेर डिजिटल माध्यमबाट प्रवाह गरिरहँदा त्यसको प्रत्यक्ष फाइदा रास्वपालाई पुगिरहेको थियो।
यसपालि रास्वपाको लहर सिर्जना गर्न कन्टेन्ट क्रियटरको पनि ठूलो भूमिका थियो जो भ्युअर्ससिप र ट्रेन्डिङका लागि बिक्ने कुरा नै प्रवाह गरिरहेका थिए। उनीहरूको उद्देश्य कुनै दललाई जिताउनु भन्दा आफ्नो सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब) लाई लोकप्रिय बनाएर आर्थिक लाभ लिनु थियो। त्यसको लाभ भने रास्वपालाई भरपुर भयो।
पहिले मूलधारको पत्रकारितामा रहे पनि अहिले पूर्णतः कन्टेन्ट क्रियटर रहेका एक युवाले सुनाए, “हामीलाई कुन सूचना कति सत्य छ, छैन भन्ने खासै मतलब हुन्न। हाम्रो प्राथमिकता कुन फुटेज वा संवाद भाइरल हुन्छ भन्नेमा रहन्छ। यसमा ठूलो मिहिनेत र लगानी परेको छ।”
उनका अनुसार डिजिटल प्लेटफर्ममा ट्रेन्डमा रहेको कुरा पस्कँदा मात्र भ्युअर्ससिप बढ्छ। “रास्वपाका नेताहरूका हरेक गतिविधि हाम्रा लागि तातो कन्टेन्ट हुन्, उनीहरूले बोलेका कडा शब्द, भावुक भाषण वा पुराना नेतालाई गरेको कटाक्ष काँटछाँट गरेर हाल्दा लाखौँ भ्युज आउँछ र त्यसले डलरमा आम्दानी गराउँछ,” उनले खुलाए।
जेन–जी आन्दोलन र प्रवासी नेपालीको हस्तक्षेप
भदौ २३ गतेको जेन–जी आन्दोलन र २४ गतेको विध्वंस यसपालिको निर्वाचनमा ‘टर्निङ पोइन्ट’ बनेको देखिन्छ। २३ गते प्रहरी र आन्दोलनकारीबीच भएको झडप, प्रहरीको गोलीबाट सडकमा ढलेका युवा र भोलिपल्ट, भदौ २४ गते नेताहरूका घरमा जलेका भनिएका पैसाका भिडियोहरूले पुराना दल र नेतालाई एकाएक भिलेनजस्तै बनाइदिए।

यही माहौलबीच काठमाडौँ क्षेत्र नम्बर १ का ७१ वर्षीय रामप्रसाद श्रेष्ठ जस्ता ज्येष्ठ नागरिकसमेत अल्गोरिदमको ‘इको–चेम्बर’को प्रभावमा परे। टिकटकमा बारम्बार भ्रष्टाचारका भिडियो देखेपछि उनलाई लाग्न थाल्यो— मोबाइलमा जे आइरहेको छ, त्यही सत्य हो। रामप्रसादले सुनाए, “भिडियो हेर्दाहेर्दै देशमा रास्वपाको मात्रै लहर छ भन्ने लाग्यो। अनि मैले पनि घण्टीमा भोट हालेँ।”
जबकि, रास्वपा उम्मेदवार रञ्जु दर्शना उनको घरसम्म भोट माग्न आएकी थिइनन्। प्रत्यक्ष रूपमा उनका लागि अरूले पनि भोट मागेका थिएनन्। रामप्रसादले थपे, “हामीलाई धेरै कुरा खोज्दै हिँड्न सम्भव छैन। जे मोबाइलमा आउँछ, त्यही सत्य होला भन्ने लाग्छ।”
यसपालिको निर्वाचनमा वैदेशिक रोजगार, अध्ययन तथा स्थायी बसोबासको सिलसिलामा विभिन्न मुलुक पुगेका लाखौँ नेपालीको प्रभाव निर्णायक देखियो। प्रवासी नेपाली स्वयंले मतदान गर्न नपाए पनि विदेशमा रहेका छोराछोरीले फोन, भिडियो कल र सामाजिक सञ्जालमार्फत घरका सदस्यहरूलाई कसलाई मत दिने भनेर गाइड गरेका थिए।
समाजशास्त्री डा. गणेश गुरुङ भन्छन्, “विदेशमा बस्ने नेपाली नै यसपालि घरका ‘पोलिटिकल इन्फ्लुएन्सर’ बने। उनीहरूले पठाएका भिडियो र गरेका प्रत्यक्ष फोनले ग्रामीण मतदानलाई पूर्णतः प्रभावित पार्यो।”
यसरी प्रवासमा रहेका नेपाली चुनावी वातावरण निर्माण गर्ने अदृश्य कमान्डरकै रूपमा देखापरे। अर्कोतर्फ पुराना दलका नेताहरूलाई यसको भेउसम्म भएन। जस्तो, एमाले उम्मेदवार सूर्य थापाले प्युठानमा ‘घण्टी बजाउनेहरूको नामावली नै छैन’ भनेर बनाएको भिडियो उल्टै प्रत्युत्पादक बन्यो। सेन्टर फर मिडिया रिसर्चका उज्ज्वल आचार्य भन्छन्, “पुराना दलको एनालग शैली र ढिलो रेस्पोन्स टाइमका कारण उनीहरू पछि परे। रास्वपाको डिजिटल साक्षरता र छिटो प्रतिक्रिया दिने शैलीले मत तान्न सफल भयो।”

यसपालिको निर्वाचनमा सबैभन्दा चर्चामा रहेको झापा क्षेत्र नम्बर–५ का सोमनाथ आचार्यलाई मत बदल्न लगाउने कारण पनि डिजिटल प्रचार नै थियो। यसअघि सधैँ एमालेका केपी शर्मा ओलीलाई मत दिएका उनले यसपालि रास्वपाका बालेन्द्र शाहलाई मत दिएको सुनाउँदै भने, “बालेन्द्रलाई त मैले भेटेको छैन, तर परिवर्तन आउँछ भनेर फेसबुक र टिकटकमा थाहा पाएपछि रास्वपालाई मत दिएँ।”
राजनीतिक तथा सामाजिक मामिलामा चासो र टिप्पणी राख्दै आएका, बृहत् नागरिक आन्दोलनसित समेत जोडिएका डा. अनुप सुवेदी भन्छन्, “अहिले जनताले रास्वपालाई उधारोमा मत दिएका हुन्। रास्वपाले डिजिटल माध्यमबाट प्रचारप्रसार गर्दा उनीहरू प्रभावित भएर मत दिने निर्णयमा पुगेको देखिन्छ।”
डा. सुवेदीका अनुसार रास्वपा पार्टी अरूभन्दा नयाँ र पार्टीका उम्मेदवार पनि धेरैजसो नयाँ नै भएकाले मतदाताले परीक्षण गर्ने ठाउँ देखेको उल्लेख गर्दै थप्छन्, “अब रास्वपाले आफ्नो क्षमता र सदाचार पुष्टि गर्नुपर्छ, किनकि नेपाली जनता चाँडै कसैलाई हिरो बनाउने र कसलाई फेल गराउने भन्नेमा माहिर छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
