संगठन देशव्यापी नभए पनि माटोलाई देशभरिबाट मत परेको छ। यो बिउको जतन र फैलावटका लागि हर्कको संसदीय भूमिका निर्णायक हुनेछ।
प्रतिपक्ष सशक्त हुनलाई प्रतिपक्षको आकार सब थोक होइन। प्रतिपक्षमा बस्ने व्यक्तिको ओज, सोच र सच्चाई महत्त्वपूर्ण हुन्छ। एक सिटका प्रेम सुवाल र चित्रबहादुर केसीको प्रतिपक्षी भूमिका अविस्मरणीय छ।
उदाहरणका लागि भारतको राजनीति हेरौँ। लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री रहेका मोदी वाचाल मानिन्थे। पप्पु उपनामले जिस्क्याइन्थे प्रतिपक्षी नेता राहुल गान्धी। बेढंगले बोल्ने र बोल्दाबोल्दै चिप्लिने हुँदा राहुल बेलाबेला ट्रोल बन्थे। तर राहुलले चमत्कारिक शैलीमा वाककलामा निखार ल्याए। सपाटपन, तथ्याङ्क, प्रमाण र सन्दर्भ उनका अभिव्यक्तिका गुण बन्दै गए। अचेल राहुलको जबरजस्त प्रश्न मोदीका लागि राजनीतिक मिसाइल सरह बन्ने गरेका छन्। भोट चोरी, कमजोर कूटनीति र निर्णय क्षमताको अभाव आदि सवालमा राहुलले मोदी र भाजपालाई आच्छुआच्छु पारिदिए। राष्ट्रवाद र हिन्दुत्वको नारासहित उदाएका मोदी दुवै सवालमा ढोँगी रहेको राहुलको आरोप रहँदै आएको छ।
नेहरूका पनाति, इन्दिरा गान्धीका नाति, राजीव गान्धीका छोरा राहुल साधारण जीवन जिउँछन्। राजनीति कर्ममा रहँदारहँदै उनका बुबा र हजुरआमाको हत्या भएको थियो। राहुललाई पनि सुरक्षा चुनौती भएको बताइन्छ। तर, यी निस्फिक्री जनतामाझ पुग्छन्। यिनको नेतृत्वमा भएको 'भारत जोडो' यात्राले यिनलाई राजनीतिक रूपमा परिपक्व मात्र बनाएन, पतनोन्मुख देखिएको कंग्रेस आईको त्राण भरिदियो। राजकीय परिवारका भए पनि राहुल स्वंयमले कुनै राजकीय लाभको पद लिइसकेका छैनन्, कुनै अतिरिक्त विवादमा परेका छैनन्। प्रतिपक्षमा हुनुपर्ने आवेश, उत्तेजना, चेतना र ऊर्जाका कारण राहुल भारतीय राजनीतिमा चम्कँदै छन्।
नेपालको राजनीतिक अंक गणितमा यो निर्वाचनले आकाश-जमिनको अदलबदल गरिदिएको छ। ०४६ पछि सत्ताका अविच्छिन्न खेलाडी रहेका कांग्रेस र एमालेका लागि नयाँ संसद्ले प्रतिपक्षमा सीमित गरिदिएको छ। नेपालको संसदीय इतिहासमा सत्ता पक्षलाई हायलकायल पार्ने दल हो–नेकपा एमाले। सत्ताबाट बलजफ्ति बहिर्गमनमा परेको र निर्वाचनमा नराम्रोसँग धक्का खाएको एमालेको प्रतिपक्षी भूमिका पनि कमजोर हुने देखिन्छ। अध्यक्ष ओलीले प्रतिपक्षका रूपमा सदनमा चर्को बहस छेड्न सक्ने योगेश भट्टराई, गोकुल बास्कोटा, सुरेन्द्र पाण्डेयलगायतलाई टिकट नै दिएनन्। किनकि उनीहरू स्वयं पार्टीभित्र पनि प्रतिपक्ष थिए। पार्टी संस्थापन पक्षमा रहेका तर संसदमा प्रतिपक्षी आवाज मुखर गर्न सक्ने पात्रहरू निर्वाचनमा पराजित भए। बेजोड नमुना हुन्-सूर्य थापा। जनताले माया गरेझैँ गरे। थापालाई माला पनि लगाइदिए। नचाए, खुवाए तर भोट भने घण्टीमा खन्याइदिए।
कांग्रेस यतिखेर सन्नाटामा छ। पार्टी सत्ता कब्जा गर्ने दाउपेच र त्यसका लागि हुने आन्तरिक हानथापका कारण कांग्रेस पार्टीभित्रै प्रतिपक्ष र सत्तापक्षको अभ्यासमा रुमल्लिने देखिन्छ। कांग्रेसको मात्र नभएर पूरा संसद्को आवाज बन्ने गरी बुलन्द हुने गगन थापा संसदीय प्रतिस्पर्धामा पहिलो पटक पराजित भए। रामहरि खतिवडा, सुनिल शर्मा, विश्वप्रकाश शर्मालगायत अनुभव र कुशल अभिव्यक्तिका धनी नेता संसदमा हुने छैनन्।
संसदमा अनुभवी सांसदहरू भएको पार्टी हो- नेपाल कम्युनिस्ट पार्टी। तर नेकपालाई सत्तापक्ष कि प्रतिपक्ष भन्ने द्विविधा सदैव रहिरहेको देखिन्छ। सम्मानजनक राजनीतिक बहिर्गमन चाहिरहेका प्रचण्ड रास्वपासँग मिलेरै जाने देखिन्छ। राजन दाहाल र सुबोध सापकोटाजस्ता मुखर पात्रहरूको पराजयले नेकपाको प्रतिपक्षी भूमिका कमजोर हुनेछ।
राप्रपाका ज्ञानेन्द्र शाही प्रतिपक्ष कित्तामा सबैभन्दा चर्को स्वरवाला देखिन्छन्। तर निर्वाचनअघि घण्टी चुनाव चिन्ह लिन चाहेका भनिएका शाहीको राजनीतिक गन्तव्य यकिन छैन। उनी समयान्तरमा सत्तापक्षीय बन्न सक्ने सम्भावना नकार्न सकिन्न। त्यसै त उनी पार्टी नेतृत्वलाई बाइबास गर्थे, त्यसमाथि राप्रपाबाट प्रत्यक्ष निर्वाचित एकल सांसद भएपछि उनको शैली कस्तो हुनेछ, यसै भन्न सकिँदैन। मधेशी पुत्रलाई प्रधानमन्त्री बनाउन मधेशले मधेशी दललाई शून्य सीमित गरिदिएको छ। राजेन्द्र महतो, उपेन्द्र यादव, प्रभु शाहजस्ता संसदीय खेलाडी संसदमा देखिने छैनन्।
संसदमा नयाँ नयाँ अनुहार देखिनेछन्। नयाँ दल रास्वपा शक्तिशाली सत्तापक्ष भइरहँदा झन् नयाँ दल श्रम संस्कृति पार्टी उदाउँदो शक्तिका रूपमा संसद् प्रवेश गरेको छ। काठमाडौँ महानगरका प्रमुख बालेन शाह प्रधानमन्त्री हुँदै गर्दा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ संसदमा सशक्त प्रतिपक्षी नेताका रूपमा उदाउने देखिन्छ। उनको पार्टीको नाम, चुनाव चिन्ह र नारा बिलकुल मौलिक छ। प्रकृति, प्रविधि र संस्कृतिलाई मूल मन्त्र मानेको श्रम संस्कृति पार्टीले पूर्वमा जबरजस्त जनमत बनाएको देखिन्छ।
श्रम र श्रमिकका नाममा राजनीति गर्दै आएका कम्युनिस्ट पार्टीको जनमतलाई 'श्रम संस्कृतिको व्यवहारिक अभ्यास'मार्फत गठन भएको श्रम संस्कृति पार्टीले आकर्षित गर्नेछ। उदारवादी र मधेशवादी खेमाको मत रास्वपाको पोल्टामा सर्लक्क गएको सन्दर्भमा श्रम संस्कृति पार्टी वैकल्पिक धारका रूपमा बिस्तार हुनेछ। कम्युनिस्ट जनमतले पुराना पार्टीलाई नरुचाएको तर खास विकल्प पनि नपाइसकेको अवस्थामा थोरै मात्र पनि लय मिलाउन सक्दा श्रसंपा वैकल्पिक शक्ति बन्नेछ। पहिचानवादी र जनजातिको आकर्षण छँदैछ।
हर्क साम्पाङसँग धरानेलाई श्रमदानकै बलमा 'पानी खुवाएको' जस छँदैछ। काम गर्छन्, माटोलाई माया गर्छन्, मुखले झर्रो भए पनि मन सफा छन् भन्ने पहिचान साम्पाङ बनाइसकेका छन्। साधारण जीवनशैली, जीवन्त अभिव्यक्ति, हठी स्वभाव र राष्ट्रियताका सवालमा निर्भीक अडानका कारण हर्क अबको संसदमा सबैभन्दा आकर्षक प्रतिपक्ष बन्ने देखिन्छ।
कांग्रेस, एमाले, नेकपा, राप्रपा विगतमा परीक्षित पार्टी हुन्। रास्वपाको सरकारलाई तत्काल प्रश्न गर्ने नैतिक तागत यी दलमा हुनेछैन। प्रश्न गरिहाले पनि फूलको जवाफ पत्थरले भनेजस्तो रविको एक मन्तव्य वा बालेनको एक स्ट्याटसले ती दललाई प्रतिरक्षामा पुर्याइदिने गरेको विगत छ। हर्कको विरासत विद्रोही हो, मेयरका रूपमा पनि उनले सो स्वभावसँग मोलाहिजा गरेनन्, अभिव्यक्तिजन्य विवादमा बेलाबेला परे पनि आर्थिक मामिलामा पारदर्शी रहे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि पत्र काट्दा अन्य दलका नेता लुकिछिपी बयानका लागि जाने गरेको विगत छ। सबैभन्दा ठूलो दलका प्रमुख नेता सहकारी प्रकरणमा परेको र दोस्रो बरीयताका नेताले नवयुवाको आन्दोलनमा सन्देहपूर्ण भूमिका खेलेको प्रसंग तत्काल मेटिने छैन। अख्तियारलाई नै हकार्दै सपाट रूपमा जवाफ फर्काउन सक्छन् हर्क। भदौमा भएको आन्दोलनमा भएको धनजनको क्षतिका लागि रास्वपाका केही चर्चित अनुहार पनि दोषी रहेको बताइन्छ। जनधनको क्षतिका दोषीलाई कारबाहीको सवालमा हर्कको हल्लाखल्ला सापेक्षिक रूपमा सशक्त हुने देखिन्छ। उनले सरकारका कामकारबाही लिएर गर्ने खबरदारीले श्रसंपाको विस्तारलाई मलजल गर्नेछ।
हर्कका केही सीमा छन्। भनिन्छ- यी आत्मकेन्द्रित छन्, कसैको कुरा सुन्दैनन्। कथमकथाचित सुनिहाले पनि सीमित व्यक्तिको मात्र कुरा सुन्छन्। राष्ट्रिय राजनीतिमा फर्कनका लागि यस्तो स्वभाव सहयोगी नहुन सक्छ। आत्मकेन्द्रीत बालेनको स्वभावलाई जनताले स्टारडमका रूपमा अनुमोदन गरेको दुर्लभ अपवादबाहेक राष्ट्रिय राजनीतिले व्यापक श्रवण र साक्षात्कारको अपेक्षा गर्छ। किराँत क्षेत्रबाट स्थापित भएकाले पनि हुन सक्छ-राईको नेतृत्व र राईकै वर्चस्व देखिन्छ। पार्टीलाई पूर्वदेखि पश्चिमसम्म फैलाउन अन्य जातजातिको देखिने खालको उपस्थिति अनिवार्य देखिन्छ।
संगठन देशव्यापी नभए पनि माटोलाई देशभरिबाट मत परेको छ। माटोका नाममा मतदाताले मुलुकभर बिउ छरेको बुझ्न सकिन्छ। यो बिउको जतन र फैलावटका लागि हर्कको संसदीय भूमिका निर्णायक हुनेछ। मेयरका रूपमा संस्थापन भए पनि उनले प्रतिपक्ष र विद्रोही नेताझैँ आफूलाई तिक्खर बनाएका थिए। संसदमा उनी त्यसै पनि प्रतिपक्ष, स्वभाव पनि प्रतिपक्ष-डबल प्रतिपक्षी हुँदा हर्क कस्तो सुनिएलान्?
सायद संसद्को जीवन्ततामा त्यसले अर्थ राख्नेछ। बालेनसँगको मिलनसँगै, रविको रापतापमा विस्तार भएको रास्वपा धमाकेदार बन्न पुग्यो। नयाँका नाममा देशले घण्टीमा भोट ठोक्यो। अर्को चुनावमा रास्वपा नयाँ रहनेछैन। न त पुरानालाई प्रश्न गर्ने ठाउँमा रहनेछ। नयाँ हुनेछ श्रसंपा। प्रश्न गर्नेछन् हर्क। हर्कको प्रश्न र प्रस्तुतिले लहर ल्याउन सके सम्भवतः माटोमा भोट खन्याउनेको संख्या उल्लेख्य वृद्धि हुनेछ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
