नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने एडीबीको प्रक्षेपण

पश्चिम एशियामा द्वन्द्व लम्बिनु, पुँजीगत बजेट कार्यान्वयन कमजोर हुनु, वित्तीय क्षेत्रका जोखिम तथा जलवायुजन्य विपद् प्रमुख चुनौतीका रूपमा एडीबीले औँल्याएको छ।

काठमाडाैँ– एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०८२/२०८३ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ।

एडीबीले ‘एसिएन डेभलपमेन्ट आउटलुक’ नामक रिपोर्ट सार्वजनिक गर्दै गत आर्थिक वर्षको ४.५ प्रतिशतभन्दा निकै कम वृद्धिदर हुने प्रक्षेपण गरेको हो। जेनजी आन्दोलनले निम्तिएको राजनितिक अनिश्चितता र हालै पश्चिम एशियामा जारी द्वन्द्वको असरका कारण आर्थिक गतिविधिमा असर पुर्यांउदा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदरमा निकै असर पुग्ने देखिएको एडीबी नेपालका निर्देशक आर्नो कोश्वाले बताए।

नयाँ सरकार आएसँगै राजनीतिक स्थायित्वका कारण सुधार कार्यक्रम अघि बढ्ने र लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएपनि पश्चिम एशियामा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य, पर्यटन र विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा नकारात्मक असर पार्ने जोखिम उच्च कायमै रहेको उनले बताए।

एडीबीले आगामी आर्थिक वर्ष (२०२७)मा भने वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। पछिल्ला प्रभाव कम हुँदै जाँदा आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटन क्षेत्रमा सुधार हुने अनुमान गरिएको छ।

पश्चिम एशियामा द्वन्द्व लम्बिनु, पुँजीगत बजेट कार्यान्वयन कमजोर हुनु, वित्तीय क्षेत्रका जोखिम तथा जलवायुजन्य विपद् प्रमुख चुनौतीका रूपमा एडीबीले औँल्याएको छ। नेपालको कुल विप्रेषण आप्रवाहको ४० प्रतिशत हिस्सा खाडी मुलुकले ओगटेको हुँदा युद्ध लम्बिएको अवस्थामा रेमिट्यान्समा कमी आई बाह्य क्षेत्रमा नै असर पर्न सक्ने जोखिम रहेको पनि एडीबीले जनाएको छ।