नेप्से परिसूचक ३४ अंकले घट्यो, ४ अर्ब २६ करोडको कारोबार

सोमबार नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ को बिन्दुमा ओर्लिएको छ भने ४ अर्ब २६ करोडको कारोबारको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा ओर्लिएको छ। यो अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतको गिरावट हो।

आज ३४१ कम्पनीका १ करोड ७४ लाख ५ हजार २४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद-बिक्री हुँदा कुल ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा लघुवित्त समूह सामान्य अंकले बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ ०.८६, विकास बैंक २.१४, वित्त ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३ र लगानी समूह १.३६ प्रतिशतले घटेका छन्।

त्यस्तै, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, म्युचुअल फन्ड ०.६२, निर्जीवन बीमा ०.९३, व्यापार १.३८ र अन्य समूहको उपसूचक ०.५० प्रतिशतले घटेका छन्। आजको गिरावटसँगै बजारमा केही चाप देखिए पनि लघुवित्त क्षेत्र भने सकारात्मक देखिएको छ।