चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै चलचित्रको प्रदर्शन जारी राख्न कानूनी बाटो खुला भएको छ।

फाइल तस्वीर

काठमाडौँ— सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गरिएको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सह-प्रवक्ता निराजन पाण्डेले बताए।

"उच्च अदालतकै निर्णयलाई सदर गर्ने आदेश भएको छ। यो मुद्दा हाल उच्च अदालतमै विचाराधीन रहेकाले त्यहीँ कानुनबमोजिम गर्नु र ध्यानाकर्षण गराइएको छ भनी निर्णय दिइएको छ," सह-प्रवक्ता पाण्डेले भने। चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन्। शुक्रबार भएको सुनुवाइपछि अदालतले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै यो चलचित्रलाई हलहरूमा प्रदर्शन निरन्तरताका लागि कानूनी बाटो खुला भएको छ।

यसैबीच, चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले चलचित्रमा कुनै पनि समुदाय वा वर्गलाई ठेस पुर्‍याउने गरी कुनै दृश्य वा संवाद समावेश नगरिएको स्पष्ट पारेका छन्।

"हामीले बनाएको चलचित्र हेरेर बादी समुदायकै अभियन्ताहरूले धन्यवाद दिनुभएको छ। हालै मात्र सुर्खेतमा बादी समुदायका १५० भन्दा बढी नागरिकले चलचित्र हेर्नुभएको थियो, जहाँ हामी उपस्थित हुँदा उहाँहरूले हाम्रो प्रयासलाई सराहना गर्नुभयो। यो चलचित्रले शिक्षाको ज्योतिले जीविकोपार्जनमा ल्याउने सकारात्मक परिवर्तनलाई देखाएको छ," निर्माता खत्रीले भने।

बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथा बुनिएको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रबीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदीलगायतका कलाकारले अभिनय गरेका छन्। यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनरत छ।