नेप्से परिसूचकमा झिनो अंकको गिरावट

सोमबार नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेर २,७३०.९१ मा सीमित हुँदा साढे २ अर्ब रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

काठमाडौँ–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेर २,७३०.९१ मा सीमित भएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.५० अंकले उकालो लागेर ४६८.०५ मा पुगेको छ। कुल ३३९ कम्पनीको ५८ लाख २८ हजार ६०४ कित्ता शेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ मूल्यमा खरिद–बिक्री भएको छ।

कारोबार भएका कम्पनीमध्ये ११९ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १३२ कम्पनीको ओरालो लागेको छ। कुल १८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। कारोबारका आधारमा साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपी पावर कम्पनी र शिवम् सिमेन्ट शीर्ष पाँच स्थानमा रहन सफल भएका छन्।

त्यस्तै, इङ्गवा हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र प्रभु बैंकको डिबेन्चरका लगानीकर्ताले नाफा कमाएका छन्। निफ्रा ऊर्जा ऋणपत्र, एसवाई प्यानल नेपाल, पाल्पा सिमेन्ट, भगवती हाइड्रोपावर र बोटलर्स नेपालका लगानीकर्ताले भने घाटा ब्यहोरेका छन्।