‘लाहुरी भैँसी’ मण्डला थिएटरमा मञ्चन हुने

प्रसिद्ध कथाकार रमेश विकलको कथामा आधारित नाटक ‘लाहुरी भैंसी’ आगामी जेठ २२ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ।

काठमाडौँ– प्रसिद्ध कथाकार रमेश विकलको कथामा आधारित नाटक ‘लाहुरी भैँसी’ आगामी जेठ २२ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ।

नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको नाटकलाई संयोग गुरागाईंले नाट्य रूपान्तरण गरेका हुन् भने निर्देशन अनुप न्यौपानेले गरेका छन्। नाटक ए. जे. बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको हो।

नाटकले नेपाली ग्रामीण समाजको सामाजिक तथा आर्थिक संरचनालाई केन्द्रमा राखेको छ। लुखुरे, घैंटी र पोडेको परिवारले भैँसी किनेर जीवन सुधार्ने सपना देखे पनि समाजको शक्ति संरचना, वर्गीय विभाजन र शोषणको चक्रमा फस्दै जाने कथावस्तु नाटकमा प्रस्तुत गरिएको छ।

नाटकमा नेपाली ग्रामीण जीवनको यथार्थपरक प्रस्तुति, वर्गीय विभाजन र शोषणमाथिको टिप्पणी, लोकभाका तथा गीत–संगीतको प्रयोग र समकालीन रंगमञ्चीय शैलीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

निर्देशक अनुप न्यौपानेले ‘लाहुरी भैंसी’ नेपाली समाजको ऐना भएको उल्लेख गर्दै समाजको शक्ति, गरिबी, सपना र निराशाको चक्रलाई रंगमञ्चमार्फत दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरिएको बताएका छन्।