नेप्से परिसूचक १२ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

धितोपत्र बजारमा सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२६ अंकले ओरालो लागेर २७११.७६ को विन्दुमा सीमित भएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९६ अंकले ओरालो लागेर ४६६.१३ मा सीमित भएको छ। कारोबार भएकामध्ये कुल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ। १८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

नेप्सेका अनुसार कुल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८ कित्ता शेयर चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँमा खरिद बिक्री भयो। नेप्सेका अनुसार कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। एनबिबिएल डिबेन्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल र रिलायन्स स्पिनिङ मिल्स शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार सोपान फार्मास्युटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर कम्पनीका लगानीकर्ताले कमाए। ग्रीन डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनरबीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाए।