विपत्तिबाट विश्वकपसम्म पुगेको हैटीको सम्झना

विश्वकपमा हैटीको उपस्थिति नेपाल र अन्य गरिब देशहरूलाई एउटा सन्देश पनि हो- ती देशका लागि कहिलेकाहीँ ट्रफी उठाउनुभन्दा ठूलो जित अन्धकारबीच आफ्नो क्षमता जोगाउँदै विश्वमञ्चमा उभिन सक्नु हो।

हैटी भ्रमणका क्रममा लेखक।

सुखद कारणले कम, अनि दु:ख, बिपत्ति, हिंसा र राजनीतिक अस्थिरताका अनेकन दास्तानहरूले बारम्बार चर्चामा आउने देशको नाम हो हैटी। दक्षिण अमेरिकामा पर्ने यो सानो देशको चर्चा हुन्छ त केवल असफलता, अस्थिरता र सामरिक चपेटाको उदाहरण दिन। नेपालकै सन्दर्भमा पनि हाम्रो राजनीति गिजोलिएको बेला ´देश हैटी बनाउने भए` भन्ने निराशाजनक टिप्पणी सुन्न र पढ्न बाध्य छौँ हामी!

मलाई १४ वर्षअघि केही साताका लागि हैटी भ्रमणको सन्दर्भ जुरेको थियो! त्यो बेलाको यात्रा स्मरण गर्दा अहिले फरक सन्दर्भमा हैटीको उज्यालो पाटो पनि छुन मन लाग्यो। विश्वकप २०२६ को जारी संस्करणमा सहभागी ४८ देशमध्यको एक हो हैटी। हैटीभन्दा कैयौं गुणा ठूला र शक्तिशाली राष्ट्रहरू यो विश्वकपमा फगत दर्शक मात्र बनिरहेका छन्। विगत र वर्तमान निम्छरो भै बाच्नु परेको देशका लागि यो सानो कुरा हुँदै होइन।

गरिबी, राजनीतिक अस्थिरता र हिंसात्मक द्वन्द्वले लामो समय थलिएको हैटीले विश्वकप २०२६ को यात्रा तय गर्नु केवल फुटबलको सफलता मात्र होइन, एउटा संघर्षशील राष्ट्रको आशाको कथा पनि हो। मैदानबाहिर संकटसँग जुधिरहेको यो देशले मैदानभित्र भने अनुशासन, प्रतिभा र दृढ इच्छाशक्तिको बलमा इतिहास रचेको छ। 

विश्वकपको मैदानसम्म हैटीको यो सफलता कुनै रहस्य वा चमत्कार पक्कै होइन। देशबाहिर रहेका खेलाडीहरूको योगदान, युवा प्रतिभाको निरन्तर खोज, फुटबलप्रति जनस्तरमा गहिरो प्रेम, अनि कठिन परिस्थितिमा पनि हार नमान्ने मानसिकता भएर नै शायद यो सफलता मिल्यो होला। आज विश्वकपमा हैटीको उपस्थिति नेपाल र अन्य साना तथा गरिब देशहरूलाई एउटा सन्देश पनि हो- साना वा कमजोर देशका लागि कहिलेकाहीँ ट्रफी उठाउनुभन्दा पनि ठूलो जित अन्धकारबीच आफ्नो क्षमता जोगाउँदै विश्वमञ्चमा उभिन सक्नु हो।

हरबखत संकटको छायाबाट गुज्रिएको हैटी विश्वकपको उज्यालोसम्म पुग्दा कम्ता खुशी लागेको छैन। समाचार र सामाजिक सञ्जाल नियाल्दा, जर्सीको व्यापार, समर्थकको वाहवाही, खेलाडीको चर्चा र देशको चिनारी यी कुनै पनि खेलोफड्कोमा हैटी कतै अटाएको छैन। यद्यपि, विपत्तिबाट विश्वकपसम्म पाइला बढाएको हैटीको फुटबल यात्रालाई सम्मान छ।

अब भने १४ वर्षअघि मेरो हैटी यात्रा र उक्त संस्मरणको मूल मार्गमा जान्छु। सैनिक मुख्यालयको जनसम्पर्क निर्देशनालयबाट फोन आयो, ‘म क्याप्टेन बुद्ध थेबे। मिसन भ्रमणमा जाने पत्रकारको टोलीमा तपाईं पनि पर्नुभाछ, कृपया सक्दो छिटो पासपोर्ट कलेक्ट गराइदिनुहोस् न है।’

मैले मिसनबारे सोधेँ। लेबनन जाने कुरा आयो। ‘मिसन डेलिगेट्स’मा परिएछ भन्ने खुशी लाग्यो। तर विश्वविद्यालयमा स्नातकोत्तरको सोधकार्यका लागि 'भाइबा'को समय तोकिएको थियो। भाइबाबिना सोधकार्य अपूरो, सोधकार्यबिना स्नातकोत्तर अपूरो हुने। 

त्यही बेला हामीले पहिलो सन्तानको सपना बुन्न थालेका थियौँ। श्रीमती आस्था गर्भवती भएको भर्खर दुई महिना हुँदै थियो। उसलाई उत्पाद ‘किचन इरिटेसन’ले गर्दा कथाले बिहान बेलुका सकभर घर नछोड भन्थ्यो। मिसन भ्रमण एउटा मौका हो, भरसक गुमाउने त कुरा भएन, जसोतसो बन्दोबस्त गर्नै थियो। 

पासपोर्ट बुझाउन मुख्यालय गएको थिएँ। नेपाली सेनाका तत्कालीन प्रवक्ता रमीन्द्र क्षत्रीसँग गफगाफ हुँदाहुँदै एक विकल्पको कुरा आयो, ‘अन्यथा नठान्ने भए मे महिनाको पहिलो साता जाने गरी हैटी मिसन रोज्न पनि सक्नुहुन्छ।’ 

हैटीको फुटबल टिम।मलाई त खोजेझैँ भयो। मैले लेबनन छाडेँ र हैटी रोजेँ। यो सन् २०१२ अप्रिलको कुरा हो। लेबनन छोडी टाढाको हैटी रोज्नुमा मेरा लागि दुई–तीन हप्तापछिको सजिलो समय त हो नै, त्यसको अलावा अरू दुई सन्दर्भ पनि थिए।

ल्याटिन अमेरिकी देश हैटीमा सन् २०१० जनवरी १२ मा ७ रिक्टर स्केलभन्दा माथिको शक्तिशाली भूकम्प गएको थियो। हैटीको ‘भूकम्प विपत्ति’ खबर विश्वभर फैलियो। नेपाली सञ्चारमाध्यमले पनि पछ्याए। त्यतिखेर म एभिन्युज टेलिभिजनमार्फत पत्रकारिता गर्थें। एभिन्युजले पनि हैटी कभरेज आफ्ना हिसाबले गर्‍यो।

सामान्य ज्ञानका रूपमा हैटीलाई सुन्नु र जान्नु एउटा कुरा थियो, हैटीबारे अलि ज्यादा जानकारी र चासो चाहिँ भूकम्प केन्द्रित समाचारमा घोत्लिँदा भयो। यो विषय ओझेल परिसकेको थियो, २०१० अक्टोबरमा फेरि एउटा कोक्याउने खबरले हैटी बिझायो। भूकम्पले झन्डै साढे तीन लाख मानिसले ज्यान गुमाउनु र अरु लाखौँ जनता घरबारविहीन हुनुको पीडामाझ हैजाको महामारी थपियो। हैजासँग जोडिएको पीडा नेपालसम्म आइपुग्यो। त्यहाँ हैजा फैलिनुको दोष नेपाली शान्ति सेनामाथि लाग्यो।

nullआरोप लाग्नुको दुःखान्त पनि कस्तो भने, त्यही वर्ष जाजरकोटलगायत जिल्लामा झाडापखालाबाट केही मान्छेको मृत्यु भएको थियो। रोग नियन्त्रणमा विलम्ब पनि भएको हो। अनि शान्ति मिसनका लागि सगभागी हुने नेपाली सेनाको पल्टन प्रत्येक ६ महिनामा फेरबदल भइरहने। यसैलाई आधार बनाएर कुनै युरोपेली जनस्वास्थ्य विशेषज्ञले ‘ननसेन्स लजिक’ पेश गरेछन्, ‘हैटीमा हैजाको विपद् दक्षिण एसियाली भू–भागका मान्छेको दिसाबाट फैलिएको हो।’ 

यत्ति भएपछि अरु के चाहियो? जाजरकोटमा झाडापखाला र हैटीमा हैजा ‘बाघ कराउनु र बाख्रो हराउनु’ जस्तै भयो। ‘विदेशीले गर्दा हैजा फैलियो’ भन्ने रोषका कारण हैटी आन्दोलनमा जल्न थाल्यो। आन्दोलनको निशाना बने नेपाली शान्ति सेना। अनाहकको अबगालले नेपाली शान्ति सेना चेपुवामा परे। उताको खबर यता नेपाली सञ्चारमाध्यममा आउने नै भए। त्यो घटनाले मलाई अलि नमीठो गरी छोयो। नेपालीलाई सजिलै निम्छरो देखाउन सकिने भएर आरोप लगाइएको हो, अथवा साँच्चै आरोपमा केही सत्यता छ? 

म एभिन्युज टेलिभिजनमा ‘खबरभित्रको खबर’ कार्यक्रम निर्माताका रूपमा कार्यरत थिएँ। उक्त कार्यक्रम कुनै विषयमा अलि चिरफार गर्ने खालको थियो। समाचार कक्षका वरिष्ठहरूसँग ‘हैटी हैजा’बारे अलग्गै एकदुई वटा ‘खबरभित्रको खबर’ बनाउने सल्लाह गरेँ। त्यस बेलाका सेनापति छत्रमानसिंह गुरुङ र सैनिक प्रवक्ता रमीन्द्र क्षत्रीसँग औपचारिक/अनौपचारिक कुरा गरेँ। संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाका तर्फबाट हैटीका लागि कन्टिन्जेट कमान्डर महासेनानी रतीन्द्र खत्रीसँगको विस्तृत कुराले विषयको गहिराइ र गाम्भीर्य बुझ्न मद्दत गर्‍यो।

संयोगले त्यस बेला हैटीका लागि युनिसेफको 'कन्ट्री डाइरेक्टर'मा अनिल रघुवंशी रहेछन्। उनीसँग पहिलेदेखि नै चिनजान भएका कारण हैटीको हैजाबारे नेपाली सेनाको आधिकारिक धारणामाथि ‘क्रस चेक’ गर्न सजिलो भयो। सबै हिसाबले विश्लेषण गर्दा नेपाली शान्ति सेनामाथिको आरोप यथार्थ नभई अफवाह भएको पुष्टि भयो। उताको ‘अफवाह’ चिर्न हामीले यता प्रसारण गरेका सामग्रीले गर्न सक्ने खासै केही थिएन, तर नेपाली जनतासम्म त सही ‘रिपोर्टिङ’ पुग्यो। यसरी हैटी नपुग्दै नै भावनात्मक रूपमा हैटीको राजधानी पोर्ट–औ प्रिन्स, आर्टिबोनाइट नदी किनार र मिराबेल छेउछाउका सुकुम्बासी बस्ती तथा नेपाली बटालियनको ब्यारेकमा एक हदसम्म पुगिसकेको थिएँ।

म २०१३ मे ४ को साँझ ५ बजे एयर युरोपाको भीमकाय हवाइजहाजमा बसिसक्दा हैटीलाई कैद गर्ने तप्काहरू मानसपटलमा तयार भइसकेका थिए। भारत र स्पेनमा भुलेको समयबाहेक २२ घण्टाको हवाई उडानपछि राजधानी पोर्ट औ प्रिन्समा ओर्लिनासाथ यसअघि सुनेका र टेलिभिजनको पर्दामा देखेका दृश्य मनमा एकाकार हुन थालिहाले।

nullसन् १४९२ मा क्रिस्टोफर कोलम्बसले पत्ता लगाएको एउटा टापु अहिले हैटीको नामले चिनिन्छ। वर्तमान हैटीसँगै डोमेनिक रिपब्लिक पनि सन् १६९७ सम्म स्पेनको उपनिवेशमा थियो। १७औँ शताब्दीको अन्त्यतिर स्पेनको उपनिवेशबाट हैटीको भू–भाग फ्रान्सको उपनिवेश बन्न पुग्यो। फ्रान्सले हैटीलाई आफ्नो कब्जामा लिएपछि अफ्रिकन मूलका झण्डै पाँच लाख ‘दासहरू’लाई हैटी ल्यायो। अफ्रिकी मूलका काला जातिलाई हैटीको उर्वर भूमिमा खेती गराएर फ्रान्सले भरपुर फाइदा लियो। १०० वर्षभन्दा लामो फ्रेन्च उपनिवेशलाई तोड्दै हैटीले सन् १८०४ मा स्वतन्त्रता प्राप्त गर्‍यो।

काला जातिका गुरिल्ला नेताको अगुवाइमा भएको स्वतन्त्रता अभियानमा हैटीले आफूलाई गणतन्त्रमा स्थापित गरायो तर, समृद्धिको यात्रा तय गर्न सकेन। स्वतन्त्रता प्राप्त गरेको तीन वर्षपछि सन् १८०७ देखि गृहयुद्ध शुरू भयो। उत्तर र दक्षिण क्षेत्रमा बसोवास गर्ने मानिसका फरक–फरक नेतृत्वको फरक–फरक स्वार्थ थियो। 

सन् १८२१ मा सेन्ट डोमेनिकलाई समेत हैटीले स्पेनिस उपनिवेशबाट आफ्नो अधीनमा राख्यो। सेन्ट डोमेनिक सन् १८४४ सम्म हैटीको अधीनमा रह्यो। यही सेरोफेरोमा हैटीमा वैभवपूर्ण यात्रा शुरू हुनै मात्र लागेको थियो, फेरि द्वन्द्वको बीउ रोपियो। मुलाट्टो जातका गोरा धनाढ्यहरू र काला जातिहरूबीच गृहयुद्ध चर्कियो। 

उपनिवेशबाट मुक्त हुने विश्वको पहिलो राष्ट्र हैटी हो। स्वतन्त्रताको यस्तो सौभाग्य पाएको हैटीले त्यसको भरपुर उपयोग गर्न कहिल्यै सकेन। सन् १८३८ मा फ्रान्सले आफ्नो पूर्व उपनिवेश हैटीलाई अन्तर्राष्ट्रिय मान्यता दियो। सन् १८६२ मा संयुक्त राज्य अमेरिकाले कूटनीतिक मान्यता दियो। 

सन् १९१५ देख १९३७ सम्म अमेरिकी सेनाले हैटीमाथि गरेको निगरानीले हैटीको सार्वभौमसत्तालाई खलल पारेको मनोविज्ञान नागरिकमा अझै हटेको छैन। तीनतिर सुन्दर समुद्री तट, उत्तरतर्फ संयुक्त राज्य अमेरिकासँगको समुद्री सीमाले घेरिएको देश हो यो। अमेरिकाको कुदृष्टिलाई हैटीका राष्ट्र प्रमुखले बुझ्न सकेनन्, जसका कारण अहिले पनि अस्थिरताको भुमरीमा पिल्सिएको छ।

सन् १९५७ मा फ्रान्सकोइस डुमालियरले सत्ता ‘कू’ गरेपछि हैटीमा तानाशाही शासन शुरू भयो र एकपछि अर्को गर्दै सत्ता हत्याउने खेल चलिरह्यो। सैन्य बल र आन्दोलनको आडमा सत्ता हत्याउने काम सन् १९९० को दशकसम्म जारी रह्यो। सन् २००४ मा हैटीको उपनिवेश मुक्तिको २०० वर्ष पूरा हुन लाग्दा स्थिति निक्कै भयावह बनिसकेको थियो। सन् २००० मा राष्ट्रपति बनेका एरिस्टाइड २००४ मा गलत्याइए। देशको सेना र प्रहरीभित्रको राजनीतिकरणले चरम रूप लियो। अन्ततः संयुक्त राष्ट्रसंघले हस्तक्षेप गर्‍यो र हैटीको सेना, पुलिसलाई भंग गरेर राष्ट्रसंघअन्तर्गतका बहुराष्ट्रिय सेनालाई तैनाथ गर्‍यो।

राष्ट्रसंघले हैटीको सुरक्षा व्यवस्थामा पूर्ण हस्तक्षेप गरेको दुई दशक बिते पनि स्थिति अझै सङ्लिएको छैन। राजनीतिक अस्थिरताले पिल्सिएको हैटीमा समुद्री आँधी र प्राकृतिक प्रकोप अर्को विडम्बना छ। प्रकोपले सबैभन्दा भयावह स्थिति चाहिँ सन् २०१० को महाभूकम्प मार्फत देखायो। त्यसलगत्तै २०१० नोभेम्बरमा हैजा फैलियो, यसले पनि हैटीमा ठूलो मानव संकट पैदा गर्‍यो।

छिमेकी देशहरूले समृद्धिको लय समाउँदै क्यारेबियन काखमा रमाउने कोशिश गरिरहँदा हैटी भने अझै पनि जर्जर जीवन बाँचेको छ। सामरिक चासोबाट अमेरिकाले हैटीलाई प्रयोग गर्नु हैटीको दुर्भाग्य रहेछ। यो दुर्भाग्यलाई बढावा दिन बारम्बारको आन्तरिक द्वन्द्वले ठूलो भूमिका खेल्यो।

निर्वाचन पर्यवेक्षणको उद्देश्यले सन् १९९० मा हैटी प्रवेश गरेको संयुक्त राष्ट्र संघको भूमिका सन् २०१७ सम्म सर्वेसर्वा बन्यो। सन् २०१७ यता औपचारिक रूपमा बहुराष्ट्रिय सेनाका टुकडीहरू धेरै हदसम्म कटौती भैसकेका छन्। संयुक्त राष्ट्रसंघअन्तर्गत नेपालसहित १९ देशका सेना र पुलिस त्यहाँ तैनाथ थिए। तर सैन्य बलसहित राष्ट्रसंघले हात हालेर डेढ दशक बिताउँदा पनि हैटीको आन्तरिक अवस्थामा सन्तोषजनक सुधार आएन।

राजनीतिक अस्थिरताले हैटीलाई गाँज्दै लैजाँदा भ्रष्टाचारले पनि नेटो काट्यो। राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुरूप अमेरिका, क्युबा, भेनेजुयला, ब्राजिललगायत देशलाई काखी च्याप्दा राष्ट्रियता सधैँ कमजोर बन्यो। सीमित धनिमानीहरू अमेरिका, क्यानडा र फ्रान्समा बसेर हैटीमा ‘रुल’ गर्नेकै दबदबा बन्यो। देशमा मध्यम वर्गीय जमातको पकड नहुँदा र राजनीति अस्थिर बन्दा एउटा उर्वर देश कसरी कमजोर बन्दो रहेछ त्यो बेला हैटी टेकेपछि र देखेपछि थाहा भएको थियो।

फ्रेन्च उपनिवेशको चुसाइबाट मुक्त भएको २०० वर्ष बितिसक्दा हैटीले झन्डै पाँच दर्जन राष्ट्रप्रमुख पाइसकेको छ, तर कुनै पनि राष्ट्र प्रमुख हैटीका लागि राजनेता बन्न सकेनन्। बाँकी कारण जे भए पनि राजनीति सङ्लो हुन नसक्दा हैटी अझै अभाव र द्वन्द्वमा छ।

राजनीतिक अस्थिरता र द्वन्द्वका चरणमा कहिलेकाहीँ नेपाललाई पनि हैटीको दाँजोमा राखेर हेर्ने चेष्टा हुन्छ। यद्यपि, नेपाली समाजको चेतनास्तर, समाजको बनोट र गठिलोपन हैटीसँग तुलनै हुँदैन। केही न केही गरिरहने जिजीवीषा हुनु, सख्खरखण्डझैँ जुनसुकै बालीसँग पनि मिलेर फल्न सक्नु नेपाली समाजको चरित्र हो। समाज गठिलो भइकन पनि गतिलो शासक नपाउनु चाहिँ नेपालको 'दुर्भाग्य' हुन सक्छ।

त्यो बेला हैटीको स्थलगत अवलोकनबाट तेस्रो विश्वअन्तर्गत पर्ने हामी नेपालीले महसुस गर्ने थुप्रै घटना देखेको थिएँ। राजनीतिक अस्थिरता देशका लागि सबैभन्दा घातक बन्दोरहेछ। प्राकृतिक हिसाबले सम्भावना हुँदाहुँदै देश अति गरिबीको सूचीमा परेको किन होला? छिमेकमा सम्पन्न देश छन्, अन्तर्राष्ट्रिय सहयोगको ओइरो छ, सामरिक हिसाबले सयौँ किलोमिटर भू–भाग समुद्रसँग जोडिएको छ। समुद्रले नजोडे पनि प्राकृतिक रूपमा त नेपाल पनि सम्पन्न छ, तर किन समृद्धि चुम्न सकेको छैनन् हैटी र नेपालले? कारण राजनीतिक अस्थिरता र विदेशी हस्तक्षेप नै हुन्। 

हैटीको वैभव झल्काउने सिटाडेल किल्ला र सिटाडेल दरबार, उत्कृष्ट समुन्द्री तटमध्येको एक लावादी बिच, हैटीले यस्ता सम्पदाहरूलाई आफ्ना लागि प्रयोग गर्न सकेको छैन। आँखाले देखिन्जेलको उर्वर भूमि तर कृषि उत्पादन आफ्नै लागि अपुग, कृषिमा कसैको चासो छैन। अहिलेको राजधानी पोर्ट औ प्रिन्सदेखि पुरानो राजधानी क्यापहाइसनसम्म पुग्न झन्डै २५० किलोमिटरको सडक यात्रा गरियो होला। त्यति लामो दूरी तय गर्दा बाटोभरि कहीँ कतै खुसियालीसहितको गृहस्थी झल्काउने बस्ती देखिएन। यसो निर्वाह चल्ने गरी ठडिएका शुष्क बस्ती थिए। बस्तीले ओगटेको खेत, बारी, ढिक, कान्लाहरू बाँझिएका थिए, आज १४ वर्षसम्म त अलि गुल्जार भए होलान कि! 

इतिहास सुन्दा पत्यार लाग्दैन, हिजो एशियासम्म जुनेली मकै निर्यात गर्ने मुलुक हैटी नै हो? उखु र चिया उत्पादनमा अब्बल भूमि यही हो? सदाबहार उष्णताको वरदान पाएको भूमिमा कृषिको कुरा इतिहास मात्र किन बने होला? बाह्रै महिना खेतीपातीका लागि मौसम अनुकूल छ, तर किन लाखौँ मानिसले राहतको अन्न खानुपरेको होला? 

नेपालमा बसेर हैटीको तुलना गर्दा हाम्रो गोलार्ध नै फरक छ। अक्षांश र देशान्तरका हिसाबले समयको अन्तर झन्डै ११ घण्टाको छ। तर राजनीतिक अस्थिरताको फेहरिस्त जुधाएर हेर्ने हो भने दुःखका केही धर्सा समान हुन् कि झैँ लाग्छ। बलशाली छिमेकी हुनु र त्यो छिमेकीको चरित्र ‘आफै बिरामी, आफै धामी’ खालको भयो भने कुनै ‘निम्छरो’ देश झन् निरीह बन्दो रहेछ। 

हैटीबाट क्यारेबियन काखको उत्तरी गज छिचोल्नासाथ वैभवको अमेरिकी आँगन शुरू हुन्छ। हैटीको ‘डियर एन्ड नियर’ छिमेकी अमेरिकालाई एउटा सोझो प्रश्न सोध्न मन छ। डियर अमेरिका, तिब्बती जनताको चासो असाध्यै छ, उत्तर कोरिया अति दुख्छ, इराक, इरान, अफगान, सिरियाको मानवीय संकट टार्न आफूले मात्र ठेक्का लिएझैँ लाग्छ। मानव अधिकार र विधिको शासन के हो भनी बुझाउन अमेरिकी ‘गाइड बुक’ र ‘गेस पेपर’ सिफारिस गर्न कुनै देशलाई छोड्नु हुन्न। तैपनि, विशाल अमेरिकाको नाकैमुनि बिचरो हैटी देख्दा दया लाग्दैन? विश्वभर बाँड्दै हिँड्ने शान्ति, सम्मान र समृद्धिको ‘अमेरिकी डक्ट्रिन’ क्यारेबिय काखमा किन शिथिल बनेको? प्रश्नहरू छन्। जवाफ त राजनीतिको विश्व–रंगमञ्चले किस्ताबन्दीमा दिई नै रहने छ।

हेलो हैटी! भूगोलको कुनै पूर्वी कुनाबाट जम्माजम्मी दुई साता घुम्न आएको मनुवाले त्यो बेला सारा चिज खत्तम मात्र देखेछ भन्ने नठान्नू है। लावादी र ज्याक्मेल जस्ता समुद्री तटको सुन्दरता, जेन ज्याक्युज स्तुपाको कलात्मकता, सिटाडेल किल्लाको वैभवपूर्ण इतिहास। उर्वरता लुकेको तिम्रो प्राकृतिक छाती, त्यहाँ देखेका हरेक सुन्दर चीज आन्ध्र महासागरको गहिराइभन्दा पनि अझ गहिरो गरी मनमा बसेका छन्। 

निस्सार दुःखको बोझ खेप्दाखेप्दा उज्यालोबाट विमुख हुनुपर्दाको ‘हैँटी हृदय’ले चयनको सास फेर्न पाओस्। जारी फुटबल विश्वकपमा हैटीका खेलाडीलाई सक्दो सफलता मिलोस्। बस्, हिरा कुल्चेर कोइला उधिन्नुपर्ने तिम्रो नियतिको अन्त्य होस्। गोलार्द्धको अर्को कुनाबाट एउटा `यात्री`को भव्य शुभकामना।