मानव–बाँदर द्वन्द्व कि सहअस्तित्व?

गाउँदेखि सिंहदरबारसम्म चर्चा पाएको बाँदर व्यवस्थापनका विषयमा प्रायः दुई अतिवादी धारणा देखिन्छन्। एउटा धारणाले ‘बाँदरलाई मार्नुपर्छ’ भन्छ भने, अर्कोले ‘संरक्षणका नाममा बाँदरको व्यवस्थापन आवश्यक छैन’ भन्छ।

केही वर्षअघिसम्म गाउँघरमा बाँदर देखिनु सामान्य विषय थियो। तर आजभोलि धेरै ठाउँमा बाँदरको उपस्थितिलाई बहसको विषय बनाइँदैछ। मुख्यत: किसानका लागि बाँदर संरक्षण र बाली सुरक्षा एक सिक्काका दुई भाग जस्तै सँग-सँगै उठ्ने विषय बनेका छन्।

बाँदर चलाख हुनाले केही उपकरण प्रयोग गर्न सक्छन्। आफ्ना सन्तानलाई सीप सिकाउँछन्। परिवारका सदस्यको मृत्युमा शोक पनि मनाउने गर्छन्।

विभिन्न संस्कृतिमा बाँदरलाई फरक रूपमा हेर्ने गरिएको छ। हिन्दू परम्परामा हनुमानसँग जोडेर हेरिन्छ। बौद्ध जातक कथामा दयालु र बुद्धिमान पात्रका रूपमा चित्रण गरिन्छ। चीनमा ‘सु उकोङ’ नामका बाँदर राजाको कथा निकै लोकप्रिय छ। ताइवान, मलेसिया र सिंगापुरमा पनि सु उकोङलाई सम्मान गरिन्छ। जापानको शिन्तो धार्मिक परम्परामा बाँदरलाई देवताका सन्देशवाहकका रूपमा लिइन्छ। 

जापानको निक्को नामको शहरमा रहेको तोशोगु मन्दिरमा त ‘खराब नहेर्नु, खराब नसुन्नु र खराब नबोल्नु’को प्रतीकात्मक रुपमा तीन बाँदरले आ-आफ्नो आँखा, कान र मुख छोपेर बसेको मूर्ति राखिएका छन्। प्राचीन इजिप्टमा बबुन प्रजातिका बाँदरलाई ज्ञान र लेखनसँग सम्बन्धित देवता र पश्चिम अफ्रिकामा लोककथा र मिथकमा अद्‍भुत पात्रको रूपमा चित्रण गरिन्छ। 

नेपालमा पाइने बाँदरको प्रजाति र आहार  
विश्वभर बाँदरका २६० देखि ३३० भन्दा धेरै प्रजाति पाइन्छन्। वैज्ञानिकहरूले यिनलाई ‘प्राइमेट’ गण अन्तर्गतको  स्तनधारी जनावरका रूपमा वर्गीकरण गरेका छन्। सबै बाँदर एकै किसिमका हुँदैनन्। बाँदरका विभिन्न प्रजाति पाइए तापनि आममानिसले प्रायः सबैलाई एउटै रूपमा बुझ्ने गरेका छन्। 

वास्तवमा तिनको बासस्थान, व्यवहार र आहारमा उल्लेखनीय भिन्नता पाइन्छ। एशिया र अफ्रिकामा पाइने बाँदरको नाक सामान्यत: तलतिर फर्किएको र यिनमा कुनै वस्तु वा रुख समात्न सक्ने पुच्छर हुँदैन। यस विपरीत अमेरिका महादेशमा पाइने बाँदरको नाक फराकिलो र बाहिरतिर फर्किएको हुन्छ। त्यहाँका बाँदरका धेरै प्रजातिमा वस्तु समात्न र रुखमा अड्केर बस्न आफ्नो पुच्छर प्रयोग गर्न सकिने खालको क्षमता हुन्छ।  

नेपालमा आजसम्म चार प्रजाति पाइएका छन्। यिनको बासस्थान र व्यवहारमा उल्लेखनीय भिन्नता पाइन्छ। नेपालमा सबैभन्दा धेरै पाइने प्रजाति रातो बाँदर हो। हामीले आफ्नो बस्ती नजिक देख्ने यो प्रजातिलाई अंग्रेजीमा ‘रेसस मकाक’ र वैज्ञानिक भाषामा ‘मकाका मुलाट्टा’ भनिन्छ।

यो प्रजातिको बाँदर तराई, चुरे, मध्यपहाड र केही धार्मिक स्थलमा करिब ६० मिटरदेखि तीन हजार मिटर उचाइसम्म पाइन्छ। यसको शरीर मध्यम आकारको, रौँ खैरो–खरानी रङको, अनुहार रातो र  पुच्छर मध्यम लम्बाइको हुन्छ। यसले फलफूल, पात, कोपिला, फूल, टुसा, बीउ, फलियाँ, रुखको चोप र वनस्पतिका विभिन्न भाग खानुका साथै कहिलेकाहीँ किराफट्याङ्ग्रा, साना सरीसृप, उभयचर र चराका अण्डासमेत खान्छ।

नेपालमा पाइने अर्को बाँदरको प्रजाति पहरे वा आसामी बाँदर हो। यसको अंग्रेजी नाम ‘आसामी मकाक’ र वैज्ञानिक नाम ‘मकाका असामेन्सिस’ हो। यसको रौँ गाढा खैरोदेखि पहेँलो–खरानी रंगको, अनुहार गाढा वा केही कालो-बैजनी, पुच्छर रातो बाँदरको तुलनामा छोटो र मोटो हुन्छ। मुख्यत: यो मध्यपहाडी तथा तल्लो हिमाली वन क्षेत्रको करिब १३ सय मिटरदेखि २६ सय ५० मिटरको उचाइसम्म बस्न रुचाउँछ। यो मौसमअनुसार उपलब्ध हुने फलफूल, नरम पात तथा अन्य वनस्पतिजन्य आहारमा बढी निर्भर रहन्छ।

नेपालमा पाइने तेस्रो बाँदरको प्रजाति हनुमान लंगुर हो। यसलाई अंग्रेजीमा ‘नेपाल ग्रे लंगुर’ र वैज्ञानिक भाषामा ‘सम्नोपिथेकस स्किस्टेसियस’ भनिन्छ। यो सामान्यतया ४ हजार मिटरभन्दा तलका वनमा पाइन्छ। यसको शरीरमा टल्कने खरानीदेखि गाढा खरानी रङको रौँ, अनुहार कालो, पुच्छर अत्यन्तै लामो र प्रायः शरीरमाथि अर्धवृत्ताकार रूपमा उठेको देखिन्छ।

नेपालमा पाइने चौँथो बाँदर प्रजाति तराई हनुमान लंगुरको अंग्रेजी नाम ‘तराई ग्रे लंगुर’ र वैज्ञानिक नाम ‘सेम्नोपिथेकस हेक्टर’ हो। हनुमान लंगुरसँग मिल्दोजुल्दो देखिए पनि यो तराई र भित्री मधेशमा मात्र सीमित रहेको पाइन्छ। यसको शरीर हल्का खरानी रङ र अनुहार कालो हुन्छ। दुवै लंगुरले बोट-विरुवाका पात, फूल, फलफूल, कोपिला, बीउ, टुसा, बोक्रा र रेशायुक्त वनस्पति खाने गर्छन्।

नेपालमा बाँदरको संख्या र संरक्षण
नेपालमा बाँदरको वास्तविक संख्याबिना नै व्यवस्थापनबारे बहस भइरहन्छ। विभिन्न ठाउँमा गरिएका अध्ययनहरूले संख्याको आधारभूत जानकारी दिएका छन्। अध्ययनहरूका अनुसार नेपालका कम्तीमा १ हजार ६३ रातो बाँदर, ६७४ हनुमान लंगुर र ४३६ आसामी बाँदर रहेको आँकलन छ ।

तराई हनुमान लंगुरको भने पूर्ण संख्या उल्लेख गरिएको नपाइए पनि पश्चिम नेपालको १९२.६ वर्ग कि.मि. क्षेत्रफलमा गरिएको एक अध्ययनअनुसार यो नौ समूहमा २४७ वटा पाइएको उल्लेख छ। स्वयम्भूमा २१२ देखि ४४२ र पशुपतिमा २९२ देखि ४४१ रातो बाँदर छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा २०५ आसामी बाँदर, १०२ हनुमान लंगुर र २० रातो बाँदर छन्। त्यसैगरी मकालु–बरुणमा १३५ आसामी बाँदर, ४४ रातो बाँदर र ५९ हनुमान लंगुर छन्। वास्तविक बाँदरको जनसंख्या र वितरणको यथार्थ विवरणका लागि हामीले मिहिन ढंगले अनुसन्धान, अनुगमन र अद्यावधिक गर्नु पर्छ।

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (सन् १९७३) ले आसामी बाँदर संरक्षित प्राणी उल्लेख गरेको छ। सन् १९४८ मा स्थापना भएको विश्वको अग्रणी संरक्षण संस्था प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) ले आफ्नो विभिन्न श्रेणीमध्ये रातो बाँदर र हनुमान लंगुरलाई ‘कम चिन्ताको विषय’ श्रेणीमा राखेको छ। 

सन् १९७३ मार्च ३ मा स्वीकार गरिएको र सन् १९७५ जुलाई १ देखि कार्यान्वयनमा आएको सङकटापन्न  वन्यजन्तु  तथा  वनस्पतिका  प्रजातिका अन्तरास्ट्रिय व्यपार सम्बन्धी  महासन्धि (साइटिस) अनुसार, नेपालमा पाइने हनुमान र तराई हनुमान लंगुर अनुसूची एकमा राख्नुका साथै रातो बाँदर र आसामी बाँदर अनुसूची दुईमा सूचीकृत गरेको छ। साइटिसको अनुसूची १ मा लोप हुन सक्ने अत्यधिक जोखिममा रहेका प्रजाति समावेश गरिन्छन् र तिनको अन्तर्राष्ट्रिय व्यापारमा कडा प्रतिबन्ध लगाइएको हुन्छ। अनुसूची २ मा तत्काल लोपोन्मुख नभए पनि अनियन्त्रित व्यापारका कारण भविष्यमा संकटमा पर्न सक्ने प्रजाति समावेश गरिन्छ। यस्ता प्रजातिको व्यापार अनुमति तथा नियमनको व्यवस्था अन्तर्गत मात्र गर्न पाइन्छ। 

बाँदरको महत्त्व
पछिल्ला वर्षहरूमा धेरै किसानले बाँदरका कारण खेतीपाती जोगाउन कठिन भएको गुनासो गर्दै आएका छन्। यो समस्या वन नजिकका बस्तीमा दैनिक जस्तो देखिने गरेको छ। किसानका लागि बाँदर समस्या हुन सक्छन्, तर वनका लागि महत्त्वपूर्ण जनावर हुन्। विभिन्न अनुसन्धानले बाँदर र लंगुर वन पारिस्थितिकीय प्रणालीका महत्त्वपूर्ण अंश भएको देखाएको छ। 

बाँदर खाद्य प्रणाली र जालोका अभिन्न अंग पनि हुन्। यिनले वनस्पतिबाट प्राप्त हुने ऊर्जा पारिस्थितिकीय प्रणालीको माथिल्लो तहमा स्थानान्तरण गर्छन्। बाँदर मांसाहारी जनावर र चराका महत्त्वपूर्ण आहार हुन्। त्यसैले बाँदरको संख्या घटे वा लोप भएमा पारिस्थितिकीय असन्तुलन आउँछ।

बाँदर र लंगुरले बर, पीपल, काभ्रो, जामुन जस्ता विभिन्न वनस्पतिको बीउ वितरण र विस्तार गर्ने काम गर्छन्। यदि, यिनको संख्या घट्दै गयो भने वनस्पतिको प्रजननमा कमी आउनुका साथै दीर्घकालीन रूपमा वनको संरचना र जैविक विविधतामा परिवर्तन आउँछ। 

बाँदरलाई जैविक विज्ञान, व्यवहार विज्ञान, पारिस्थितिकी र संरक्षण अनुसन्धानका लागि उपयोगी अध्ययन विषयका रूपमा लिने गरिन्छ। नेपालमा रातो र आसामी बाँदरमाथि गरिएका अध्ययनले तिनको सामाजिक व्यवहार, समूह संरचना, आहार, रोग फैलावट र मानव–बाँदर द्वन्द्व तथा अन्तरक्रियाबारे उपयोगी जानकारी दिएका छन्। उक्त जानकारीले बाँदर व्यवस्थापन, जैविक विविधता संरक्षण र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धानमा समेत योगदान पुर्‍याएको छ। 

बाँदरमा देखा पर्ने  केही संक्रामक रोग मानव स्वास्थ्यका लागि प्रारम्भिक संकेतका रूपमा लिन सकिन्छ। त्यसैले विभिन्न रोगको नियमित अनुगमनले ‘एक स्वास्थ्य’ अवधारणा अनुसार बाँदर, अन्य वन्यजन्तु र मानव स्वास्थ्यमा देखिन सक्ने जोखिमबारे पूर्वानुमान गर्न सकिन्छ। 

नेपालका धेरै धार्मिक र पर्यटकीय स्थलमा पाइने बाँदर आकर्षणका केन्द्रविन्दु हुने गरेका छन्। स्वयम्भू, पशुपति, गोकर्णेश्वरलगायत विभिन्न धार्मिक स्थलमा पाइने रातो बाँदरले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरी पर्यटन व्यवसायमा लाभ पुर्‍याउँदै आएको छ। यिनको उचित व्यवस्थापन गर्न सके इको–टुरिज्म, प्रकृति शिक्षा, वन्यजन्तु अवलोकन कार्यक्रम र संरक्षण सचेतना अभियान प्रभावकारी रूपमा उपयोग अगाडि बढाउन सकिन्छ।

चितवन, शिवपुरी–नागार्जुन, लाङटाङ र मकालु–बरुण क्षेत्रमा यस्ता बाँदरसँग सम्बन्धित विभिन्न कार्यक्रमको विकास गरी स्थानीय समुदायका लागि वैकल्पिक आयआर्जनका अवसर सिर्जना गर्न सकिन्छ। यसले वन्यजन्तु संरक्षणप्रति स्थानीयको सहभागिता बढाउनुका साथै आर्थिक विकासमा जोड्न मद्दत पुर्‍याउँछ।

मानव–बाँदर द्वन्द्वको अवस्था
नेपालका वन र कृषि क्षेत्रमा मानव–बाँदर द्वन्द्व प्रमुख चुनौतीका रूपमा देखा परेको छ। यस्तो द्वन्द्व नेपालमा मात्र नभएर चीन, जापान, भारत, पाकिस्तान, म्यानमार, भुटान, श्रीलंका जस्ता धेरै देशहरूमा विद्यमान छ। बाँदरले मकै, धान, गहुँ, तरकारी तथा फलफूल बालीमा नोक्सानी पुर्‍याउने गरेका छन्। वन खण्डीकरण, प्राकृतिक खाद्य स्रोतको कमी, कृषि क्षेत्रको विस्तार र मानव बस्तीको विस्तार मानव–बाँदर द्वन्द्वका प्रमुख कारण हुन्। 

मानव–बाँदर द्वन्द्व बढ्नुको अर्को महत्त्वपूर्ण कारण बाँदरको संख्या स्थानीय बासस्थानको वहन क्षमताभन्दा बढी हुनु पनि हो। वहन क्षमता भन्नाले कुनै बासस्थानमा उपलब्ध खाद्य स्रोत, पानी, आश्रय र प्रजनन स्थल अनि अन्य आवश्यक स्रोतका आधारमा दीर्घकालीन रूपमा धान्न सकिने अधिकतम संख्यालाई जनाउँछ। 

कुनै क्षेत्रमा बाँदरको संख्या सीमाभन्दा बढी भएमा प्राकृतिक स्रोत अपर्याप्त हुन थाल्छन्। त्यसपछि बाँदरले वैकल्पिक खाद्य स्रोतको खोजीमा कृषि बाली र फलफूलको क्षति, सम्पत्तिको नोक्सानी बढाउन सक्छ। सिकाइ क्षमता उच्च हुनुका साथै मानव गतिविधिप्रति छिट्टै अभ्यस्त हुने प्रवृत्तिका कारण रातो बाँदरले मान्छेसँग बढी द्वन्द्व सिर्जना गर्छ।

अन्तर्राष्ट्रिय अनुभवले बाँदरलाई अन्धाधुन्ध मार्ने, नियन्त्रण गर्ने र पुर्णरूपमा उन्मूलन गर्ने उपाय दीर्घकालीन समाधान नभएको देखाएको छ। यदि कुनै क्षेत्रमा बाँदरको पूर्ण उन्मूलन गरिए पनि उक्त क्षेत्र अन्य समूहले पुनः ओगट्ने सम्भावना रहन्छ। त्यसैले बाँदर व्यवस्थापनको मुख्य उद्देश्य तिनको उन्मूलन गर्नु नभई स्थानीय बासस्थानको वहन क्षमता कायम राख्दै मानव–बाँदर द्वन्द्व न्यूनीकरण गर्नु पर्छ। 

यसका लागि बासस्थानको संरक्षण र पुनर्स्थापना, प्राकृतिक आहारको वृद्धि र वनका खण्डित भागबीच जैविक मार्गको स्थापना तथा सुदृढीकरण आवश्यक हुन्छ। जापानलगायत अन्य देशमा मानव बस्ती वरपरका खाद्य आकर्षण हटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, दृश्य तथा ध्वनि आधारित डराउने प्रविधि प्रयोग गर्ने, तालिमप्राप्त कुकुर परिचालन गर्ने र विद्युतीय अवरोध निर्माण गर्ने अभ्यास प्रभावकारी मानिएका छन्। समुदायमा आधारित द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन र राहत–क्षतिपूर्ति प्रणालीको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्छ।

राहत तथा क्षतिपूर्ति व्यवस्था
मानव–बाँदर द्वन्द्व न्यूनीकरण र बाँदरप्रति स्थानीय समुदायको सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० (सन् २०२३)’ लागू गरेको छ। उक्त निर्देशिकाको अनुसूची–१ को तालिकामा ‘बाँदर’ (क्रम संख्या १६) अन्तर्गत नेपालमा पाइने प्रमुख बाँदर तथा लंगुरबाट मानव तथा बालीनालीको क्षति भएमा राहत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

निर्देशिका अनुसार, बाँदरले यदि कुनै व्यक्तिलाई सामान्य घाइते गरिदियो भने घाइतेको उपचार खर्च २० हजार रुपैयाँसम्म, गम्भीर घाइतेको उपचार खर्च २ लाखसम्म दिने व्यवस्था छ। त्यस्तै, स्थायी अशक्तताको अवस्थामा ५ लाख र मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत उपलब्ध गराउन सक्ने प्रावधान छ। 

बाँदरबाट बाली क्षति भएको छ भने, त्यसको प्राविधिक मूल्याङ्कनका आधारमा एक मौसममा बढीमा १० हजार रुपैयाँसम्म राहत प्रदानको व्यवस्था छ। राहत प्राप्त गर्न पीडितले जिल्ला वन कार्यालय वा नजिकको संरक्षित क्षेत्रको कार्यालयमा आवश्यक प्रमाणसहित निवेदन दिनुपर्छ। 

मानव–बाँदर द्वन्द्व व्यवस्थापन 
कुनै ठाउँमा बाँदरको संख्याको घनत्व धेरै भएको खण्डमा विस्तृत अध्ययन र मूल्याङ्कनका आधारमा कम घनत्व भएका उचित बासस्थानमा सार्न सकिन्छ। तर बाँदरलाई सार्नुअघि स्थानान्तरण गरिने ठाउँको अवस्था, विद्यमान बाँदर संख्या, समूह संरचना, रोगको अवस्था, जैविक विविधताबारे ध्यान दिनुपर्छ। आवश्यकता अनुसार समस्या सिर्जना गर्ने समूहको उपयुक्त व्यवस्थापन, प्रजनन नियन्त्रण, संख्या अनुगमन र व्यवस्थापन योजना बनाउनु पर्छ। 

आजभोलि मानव–बाँदर द्वन्द्व व्यवस्थापनका धेरै कार्यक्रम एकीकृत पारिस्थितिकीय दृष्टिकोणबाट बनाइएका हुन्छन्। यस्ता विशेष अवधारणा मानव, बाँदरलगायत अन्य वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई संरक्षण गर्ने खालको बनाउनु पर्छ। बाँदर संरक्षण र पुनर्स्थापनाको कुरा गर्दा हामीले बिर्सन नहुने अर्को विषय भनेको वनमा विभिन्न फलफूलका बोट-विरुवाको रोपण गर्न पनि जरुरी हुन्छ। किनभने त्यस्ता फलफूलले बाँदरको आहार पूर्ति गर्छन् र मानव–बाँदर द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ।

यसका साथै बाँदरको महत्त्व, जैविक विविधता संरक्षणमा तिनको योगदान र कानूनी संरक्षण अवस्थाबारे जनचेतना अभिवृद्धि गर्नु अत्यावश्यक छ। धेरैजसो मानव–बाँदर द्वन्द्व गलत धारणा, अपर्याप्त जानकारी र अनुचित मानव व्यवहारका कारण पनि बढ्ने भएकाले स्थानीयलाई बाँदरप्रति सकारात्मक र जिम्मेवार व्यवहार अपनाउन प्रोत्साहित गर्नुपर्छ। विद्यालय, समुदाय तथा सञ्चार माध्यममार्फत सचेतना कार्यक्रम सञ्चालन गरी मानिस र बाँदरबीच सहअस्तित्वको भावना विकास गर्नुका साथै अनावश्यक द्वन्द्व न्यूनीकरण गर्नु पर्छ। 

बाँदरका बासस्थानको संरक्षण गर्दा हामीले स्थानीय बासस्थानको वहन क्षमताको ख्याल गर्नु पर्छ। संरक्षण वहन क्षमताभित्र कायम राख्न सके मात्र पारिस्थितिकीय सन्तुलन र स्थानीय समुदायको जीविकोपार्जनबीच दीर्घकालीन सन्तुलन कायम गर्न सकिन्छ। 

केही व्यक्ति र संघ–संस्थाले मानव–बाँदर द्वन्द्व न्यूनीकरणका नाममा परम्परागत अन्नबालीलाई विस्थापित गरी कागती, जुनार, बेसार, अदुवा, खुर्सानी, लसुन, प्याज, लेमनग्रास, मसला र सुगन्धित वनस्पतिको खेती गर्न सुझाव दिने गरेका छन्। तर यस्तो दृष्टिकोणलाई व्यवहारिक, वैज्ञानिक र दिगो समाधान मान्न सकिँदैन। यसले स्थानीय खाद्य सुरक्षा, पोषण र किसानको परम्परागत जीविकोपार्जनमा प्रतिकूल असर पर्न जान्छ। मानव–बाँदर द्वन्द्वको समाधान कृषि प्रणाली परिवर्तनमा मात्र निर्भर नभई बासस्थान व्यवस्थापन, प्राकृतिक आहारको स्रोतको वृद्धि, समुदायको सहभागिता र वन्यजन्तु व्यवस्थापनका उपायसँग जोडिएको हुनुपर्छ। 

गाउँघरदेखि सिंहदरबारसम्म चर्चा पाएको बाँदरको व्यवस्थापनका विषयमा प्रायः दुई अतिवादी धारणा देखिन्छन्। एउटा धारणाले ‘बाँदरलाई मार्नुपर्छ’ भन्छ भने अर्को धारणाले ‘संरक्षणका नाममा बाँदरको व्यवस्थापन आवश्यक छैन’ भन्छ। यी दुवै दृष्टिकोण समस्याको दीर्घकालीन समाधान हुन सक्दैनन्। 

नेपालमा बाँदर हिजो पनि थिए, आज पनि छन् र भोलि पनि हुनेछन्। बाँदर देशका धेरै भू-भागमा पाइन्छन्। तर केही जिल्लाबाट मात्र समस्या सम्बन्धी समाचार बारम्बार आउनुका कारणबारे पनि छुट्टै अध्ययन गर्न आवश्यक छ। 

कतिपय अवस्थामा बाँदर सम्बन्धी समस्या विषय तथ्यभन्दा बढी राजनीतिक बहसको केन्द्र बन्ने गरेका छन्। त्यसैले बाँदर व्यवस्थापनको बहस तथ्यभन्दा बढी भावनात्मक र राजनीतिक बन्ने गरेको देखिन्छ। केही नेताले अनावश्यक रूपमा आवाज उठाएर जनतालाई भोट बैंकका रूपमा उपयोग गर्न खोजेका हुन् कि? वा वन्यजन्तुबाट भएको क्षतिको राहत र बाँदर नियन्त्रणका नाममा आउने ठूलो बजेट र योजनामा पहुँच जमाउने उद्देश्यले विषयलाई अतिरञ्जित बनाइरहेका त छैनन्? यस्ता प्रश्न उठ्नु स्वाभाविक हो। 

अनुमान र राजनीतिक स्वार्थका आधारमा बाँदरबारे नकारात्मक समाचार प्रक्षेपण गरिनु उचित होइन। समस्या जहाँ छ, त्यहीँ समाधान खोजिनुपर्छ। समग्र प्रजातिलाई दोषी ठहर गर्दै एकपक्षीय प्रचार गर्नु दीर्घकालीन समाधान होइन। 

बाँदरसँगको सहअस्तित्व सहज विषय होइन। किसानको जीविकोपार्जन, स्थानीय समुदायको सुरक्षा र जैविक विविधता संरक्षणबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण कार्य हो। तर वैज्ञानिक अध्ययन, समुदायको सहभागिता र व्यावहारिक व्यवस्थापनका उपायहरू अपनाउन सके मानव र बाँदरबीचको सम्बन्ध द्वन्द्वबाट सहअस्तित्वतर्फ उन्मुख हुन सकिन्छ। दीर्घकालीन समाधानका लागि वैज्ञानिक तथ्य, कानूनी व्यवस्था, स्थानीय आवश्यकता र  संरक्षणका उद्देश्यबीच सन्तुलित दृष्टिकोण अपनाउन आवश्यक हुन्छ। 

यसका साथै स्थानीय समुदायले परम्परागत रूपमा अपनाउँदै आएका निगरानी, सामूहिक बाली संरक्षण र वन स्रोत व्यवस्थापनका अभ्यासलाई सुदृढ तथा परिमार्जन गर्दै लैजानु आवश्यक छ। हाम्रा परम्परागत ज्ञान र अभ्यासलाई आधुनिक वैज्ञानिक व्यवस्थापनसँग समन्वय गर्न सके मात्र प्रभावकारी ढंगले मानव–बाँदर द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण र दीर्घकालीन सहअस्तित्व प्रवर्द्धनमा सकारात्मक योगदान पुग्न सक्छ।