महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी रहँदा सरकारको राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ भने विकास खर्च (पुँजीगत) जम्मा ३४.८७ प्रतिशतमा सीमित भएको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी छँदा सरकारले राजस्व संकलनमा लक्ष्यको ७५.१७ प्रतिशत प्रगति हासिल गरेको छ। सरकारको दैनिक बजेटरी हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँबराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। बाँकी दिनमा ३ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब १९ अर्ब ३४ करोड रुपैयाँबराबर संकलन गर्नुपर्ने हुन्छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्व संकलनातर्फ लक्ष्यको ७६.२० प्रतिशत प्रगति भएको छ। कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म १० खर्ब १० अर्ब १६ करोड ३ लाख रुपैयाँ संकलन भएको छ।
त्यस्तै गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म १ खर्ब २ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ प्राप्त भएको छ। यस्तै, अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म २४ अर्ब ११ करोड १२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ। जुन लक्ष्यको ४५.११ प्रतिशतबराबर हो।
सो अवधिमा अन्य प्राप्ति शीर्षकमा ६ अर्ब ५० करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। यससँगै सरकारको कुल प्राप्ति ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ। जुन वार्षिक लक्ष्यको ७४.५४ प्रतिशत हो।
यस्तै, कुल सरकारी खर्चतर्फ १४ खर्ब ४ अर्ब ९८ करोड ८६ लाख रुपैयाँबराबर पुगेको छ। यो कुल लक्ष्यको ७१.५३ प्रतिशत हो। शुक्रबार मात्रै ५ अर्ब ३६ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ।
खर्चको प्रकृतिअनुसार चालुतर्फ ८०.४२ प्रतिशत खर्च भएको छ। कुल ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको लक्ष्यमध्ये ९ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख रुपैयाँ खर्च भइसकेको छ।
विकास निर्माणको काममा खर्च हुने पुँजीगततर्फ १ खर्ब ४२ अर्ब २३ करोड ६८ लाख रुपैयाँ पुगेको छ। जुन लक्ष्यको ३४.८७ प्रतिशत हो। चालु आवका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फको खर्च ८३.४१ प्रतिशत पुगेको छ। वित्तीय व्यवस्था विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि खर्च गरिन्छ। वित्तीय व्यवस्थातर्फ कुल ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ लक्ष्यमध्ये ३ खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
