७ कारोबार दिनपछि शेयरबजारमा छायो हरियाली

निरन्तर ओरालो लागिरहेको शेयरबजार परिसूचक नेप्से सात कारोबार दिनपछि बल्ल बुधबार ४४ अंकले बढेको छ।

काठमाडाैँ– निरन्तर ओरालो लागिरहेको शेयरबजार परिसूचक नेप्से सात कारोबार दिनपछि बल्ल बुधबार बढेको छ।

आज बजार १.७० प्रतिशत अर्थात् ४४.५९ अंक बढेर २,६५२.९३ विन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.७७ अंक बढेको छ भने फ्लोट इन्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०४ अंकले बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३६२ स्टकको ९५ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

स्नो रिभर्सको शेयर सकारात्मक सर्किट लेभल (१५ प्रतिशत)मा कारोबार भएको छ। त्यस्तै, सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ भने भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ। सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ५.२१ प्रतिशतले घटेको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशत र जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।