सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको निर्देशन

संविधानको धारा १६८ (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने भएको छ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सांसदहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका हुन्।

“केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार जान त्यहाँको संसदीय दललाई अध्यक्ष ज्यूले भन्नुभएको हो,” प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले भने। निर्देशनपछि बसेको संसदीय दल बैठकले विश्वासको मत दिने निर्णय गरेको सांसद रमेशसिंह धामीले जानकारी दिए।

“हामीले सरकारलाई विश्वासको मत नदिने भन्ने निर्णय त यसअघि पनि गरेका थिएनौँ। केन्द्रको निर्देशन कुरेका थियौँ”, उनले उकालोसँग भने, “केन्द्रको निर्देशनपछि आठ दलीय गठबन्धनको मर्म अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय बैठकले गरेको छ।” 

मुख्यमन्त्री शाहले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन्। ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ। माओवादीले विश्वासको मत दिए आवश्यक मत पुग्ने भएकाे छ

गठबन्धनमा रहेका आठ दलमध्ये कांग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ सांसद छन्। एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई साथ छ।