गङ्गटे गाउँमा चुनावताका बाध्य भएर आउने उम्मेदवार हारे पनि जिते पनि फर्किएर नआउने स्थानीय उषा मगरले बताइन्।
तुलसीपुर– दाङ- ३ का कांग्रेस उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गंगटे पुगे। बबई गाउँपालिका–१ मा पर्ने उक्त गाउँमा एमाले उम्मेदवार कोमल वली कात्तिक १५ गते पुगेकी थइन्।
बबई पालिकाको केन्द्र हापुरेबाट गंगटेको दूरी २४ किलोमिटरमात्रै हो। तर गाडीबाट त्यहाँ पुग्न दुवै उम्मेदवारलाई साढे दुई घण्टा लाग्यो। सडकको अवस्था दयनीय भएका कारण छिचोल्न कठीन छ। त्यसैले चुनावताका बाध्य भएर आउने उम्मेदवार हारे पनि जिते पनि फर्किएर नआउने स्थानीय उषा मगरले बताइन्।
“चुनावका बेला नेताहरू आउनुहुन्छ, भोट हाल्न भन्नुहुन्छ”, उनले भनिन्, “हामी भोट हाल्छौँ। तर जितेपछि फर्केर पनि हेर्नु हुन्न ।” गिरी र वली दुवैले गंगटेको विकासका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन्। जिते पनि, हारे पनि फर्किएर आउने बाचा गरेका छन्। गंगटेलाई दाङको कर्णालीका रूपमा पनि लिइन्छ। सडकको अवस्था नाजुक भएकै कारण आधा घण्टामा पुग्नुपर्ने ठाउँमा साढे दुई घण्टा लाग्ने गर्छ।
सडकको ट्रयाक खोलेको १० वर्ष पुगेको छ। तर, सडक स्तरवृद्धि हुनसकेको छैन। अहिले पनि वर्षातको समयमा आवतजावत ठप्प हुन्छ। अन्य समयमा धुलाम्मे हुने गरेको छ। गंगटेमा कक्षा १० सम्म पढाइ हुने विद्यालय छ। त्यो भन्दा माथिको शिक्षा लिनका लागि कि त तुलसीपुर, कि नेपालगञ्ज जानुपर्ने अवस्था छ। “उच्च शिक्षाका लागि एउटा क्याम्पस पनि छैन, कि त नेपालगञ्ज कि तुलसीपुर नै पुग्नुपर्ने अवस्था छ”, स्थानीय गम्बर रोकाले भने, “यहाँ क्याम्पस नहुँदा धेरै जना कक्षा १० पढ्ने र त्यसपछि पढाइ छाड्ने गरेका छन्।”
त्यहाँ खानेपानी समस्या पनि उस्तै छ। नजिकमा पानीका मुहान छैनन्। टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्छ। खानेपानीका लागि पटक–पटक गंगटेवासीले माग गरे। तर ती माग सम्बोधन हुन सकेनन्। विद्युतको त्यस्तै समस्या छ। पोहोर गाउँपालिकाले विद्युत् पुगेको भनी उद्घाटन गर्यो। त्यो दिनमात्रै बिजुली बल्यो। अर्को दिनदेखि निभेको बिजुली विद्युत् अझै उनले सुनाइन्। गाउँमा विद्युतका पोल गाडेको दुई वर्ष भयो। तर ती पोलमा तारसमेत जोडिएको छैन।
स्थानीयले उम्मेदवारलाई सडक, विद्युतकै माग राख्ने गर्छन्। तर लामो समय हुुँदा पनि उनीहरूका समस्या ज्यूँका त्यूँ छन्। त्यहाँको तीनतले भन्ने स्थानमा केही समयअघि नेपाल टेलिकमको टावर निर्माण भयो। त्यही टावरले काम चलेको छ। त्यो भन्दा पहिले सञ्चारका हिसाबले पनि शून्य थियो। अहिले तीनतले टावरले काम गरिरहेको भए पनि क्षमता कम भएकाले अर्को टावर आवश्यक परेको स्थानीय श्याम केसीले बताए। स्वास्थ्यको पनि त्यस्तै समस्या छ।
एउटा स्वास्थ्यचौकी छ। ठूला–ठूला उपचार गर्न तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ। सडक नभएको अवस्थामा बिरामीलाई एक दिनभर बोकेर लैजानुपर्ने अवस्था हुन्छ। बबई नदीमा तटबन्ध पनि छैन। स्थानीय खोलामा पनि पुल बन्न नसकेको अवस्था छ। यसले पनि स्थानीयको जीवनस्तर कष्टकर छ। गंगटे विकट भएपनि ठाउँ रमणीय छ। वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ। मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ।
बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरूले जीवन निर्वाह गर्ने गर्छन्। दाउराको समस्या छैन। ठूला–ठूला साललगायतका रूख सुकेर नष्ट भइरहेका हुन्छन्। यहाँको जनसंख्या पाँच हजारभन्दा बढी छ। तर अधिकांश सुकुम्वासी छन्। ३८ बिघा क्षेत्रफलमात्रै नापी छ। अरू सबै ऐलानी जग्गा रहेको छ।
गाउँका समस्या समाधान गर्न राज्यको ध्यान पुग्न नसकेको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताए। “गंगटेको विकास सोचेअनुरुप गर्न सकिएको छैन”, उनले भने, “अब हामी पाँच वर्षभित्र यसको ब्याजको स्याज तिर्छौं।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
