जन्ती, मलामी वा शैक्षिक भ्रमणका सवारी दुर्घटना: ‘कुसाइत’ कि अरू केही?

वर्षमा कम्तीमा पनि तीनदेखि चार वटा दुर्घटना शवयात्राका क्रममा र सरदर हरेक महिना एउटा एम्बुलेन्स दुर्घटनाको खबर सञ्चार माध्यममा पाइन्छ। शवयात्राकै क्रममा शव बन्नुपर्ने विडम्बना ठूलो त्रासदी हो।

जीवनयापनका क्रममा एक ठाउँदेखि अर्को ठाउँसम्म यात्रा गर्नुपर्छ। दैनिक कलेज, विद्यालय, कार्यालय जाने-आउने क्रममा होस् वा जन्ती-विवाहका लागि गरिने यात्रा, या किन नहोस् अपर्झट आइपर्ने शव यात्रा अथवा एम्बुलेन्स प्रयोग! पिकनिक वा शैक्षिक भ्रमणमा  मानिसहरू मोटरसाइकल, कार, बस वा ट्रक ट्याक्टरमा यात्रा गर्नु पर्ने अवस्था आउँछ। यसका अतिरिक्त विभिन्न प्रयोजनका लागि आयोजना गरिने जुलुसका लागि पनि निजी वा 'रिजर्भ्ड' सवारी साधनमार्फत मान्छे एक ठाउँबाट अर्को स्थानमा यात्रा गर्छन्।

देशमा विभिन्न प्रकारका यातायात वा ढुवानीका साधनको व्यवस्थापनका लागि ऐन, कानून विद्यमान छन्। तर सीमित सार्वजनिक यातायातको सुविधा र विद्यमान कानूनको फितलो व्यवस्थापन/ कार्यान्वयनका कारण निरन्तर भइरहेका दुर्घटनामा दिनहुँ धेरै मानिसले अकालमा ज्यान गुमाइरहेका छन्। बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सवार गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको समाचार पढ्दापढ्दै बेलुका बैतडीमा दुलही लिएर फर्कँदै गरेको जन्ती बोकेको बस दुर्घटनामा दर्जनौँ हताहत भएको कहालीलाग्दो समाचार पनि आयो। यद्यपि, यस्ता समाचार नौला पनि होइनन् र यसले नीति निर्णयको तहमा पुगेका कसैलाई पोल्दैन। विश्व स्वास्थ्य संगठनले पछिल्लो प्रतिवेदनमा नेपालमा दैनिक २३ जनाको सडक दुर्घटनामा मृत्यु हुने बताएको छ।

भाडा तिरेर यात्रा गर्न सञ्चालन भएका नियमित यात्रुवाहक वा ढुवानी सेवाहरूको कुरा छाडौँ, मानिसहरूको यात्राका कतिपय यस्ता सन्दर्भ हुन्छन्, जुन पूर्णतया यात्रामा ज्यान गुमाउने वा घाइते हुने स्वयंले साइत छानेका, व्यवस्थापन गरेका र पैसा तिरेका हुन्छन्। जस्तै: जन्ती-विवाह, शैक्षिक भ्रमण/वनभोज, शवयात्रा, एम्बुलेन्स र रिजर्भ गरिएको जिप त्यसका उदाहरण हुन्।

त्यसैगरी, परिवार, समूह वा स्थानीय व्यवसायीले स्थानीय क्षेत्रमै ढुवानीलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएका ट्याक्टरहरूबाट पनि ठूलो संख्यामा हताहत भइरहेको हुन्छ। सडक दुर्घटना रोकथाम र नियन्त्रण गरेर सबैको यात्रा सुरक्षित बनाउन सरकारहरूको अविच्छिन्न उदासीनता भएकाले नै निरन्तर बढिरहेको सडक दुर्घटनामा धेरैले अकालमा जीवन गुमाउनु परेको हो। देश चुनावको पूर्वसन्ध्यामा छ, मतदातामा पनि एक प्रकारको उत्साह छ, तर दिनहुँ मतदाता र नाबालिगहरू सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेका छन्, गम्भीर रूपमा घाइते भइरहेका छन्।

जन्ती विवाह
आ-आफ्नो समुदायको परम्परा र चलन अनुसार साइत जुराउने, पुरोहित र इष्ट मित्रहरूलाई निमन्त्रण गरेर 'शुभकार्य सफलतापूर्वक सम्पन्न होस्' भनेर आ-आफ्नो समुदायको चलन अनुसार पूजापाठ र देवी देवताको प्रार्थना हुने कुरा स्वाभाविक भयो। तर भोज भतेरसहित हर्षोल्लास चलिरहेकै अवस्थामा, कार्य सम्पन्न नहुँदै 'शुभकार्य'मा सहभागीमध्ये कतिको जीवनयात्रा टुंगिन्छ भने कतिको गन्तव्य अस्पताल हुन पुग्छ। पंक्तिकारको अध्ययनबाट नेपालमा एक वर्षमा लगभग दुई दर्जन जन्ती-विवाहका गाडी दुर्घटना पर्छन्।

ती दुर्घटनामा करिब ३०० जना प्रत्यक्ष प्रभावित हुन्छन् भने करिब ४०–५० जनाको मृत्यु भएको कुरा सञ्चार माध्यममा भेटिन्छ। सबै दुर्घटना सञ्चार माध्यममा आउँदैनन्। अतः यो दुर्घटना र मृत्युको संख्या अझै बढी हुनसक्छ। तर विवाहजस्तो खुसी र रमाइलो अवसरमा एक जनाको पनि मृत्यु त के, सानो चोटपटकको खबरलाई पनि शुभ मान्न सकिँदैन। अतः जुनसुकै यात्राका क्रममा चालक, यात्रु र सवारी साधनका लागि समान जोखिम रहन्छन् भन्ने कुरा हृदयंगम गरी जन्ती-विवाहका समारोहमा सञ्चालन हुने यातायातलाई विद्यमान कानुनी परिधिबाट अपवाद मान्ने परम्परा तोड्नुपर्छ।

शैक्षिक भ्रमण/वनभोज
सञ्चार माध्यमबाटै जानकारीमा आएका तथ्यहरूलाई मात्र आधार मान्ने हो भने पनि एक वर्षमा १० देखि १२ वटा दुर्घटना वनभोज वा शैक्षिक भ्रमणका क्रममा हुने रहेछन्। यसमा कम्तीमा पनि १५ जनाको मृत्यु र १५० जनासम्म पनि घाइते हुन्छन्। वनभोज र शैक्षिक भ्रमणजस्ता कार्यक्रममा यातायात सञ्चालकको करकाप, यातायातको साधन नपाइने बाध्यता र सिन्डिकेटको नियम खासै रहँदैन। आयोजककै व्यवस्थापन र रोजाइको यातायात साधन प्रयोग हुन्छ। तर अन्यमाझैं यी यात्रामा पनि दुर्घटनाको जोखिम त भई नै हाल्छ। कतिपय अवस्थामा त ड्राइभर र यात्रुहरूले समेत मादक पदार्थ सेवन गर्ने भएकाले यात्राको जोखिम झनै बढेको हुन्छ। वनभोज वा शैक्षिक भ्रमणको यात्रामा सवारी साधनमा गाना बजाना र नाचगानसमेत चल्छ। यस्तो अवस्थामा चालकको ध्यानभंग हुने हुँदा पनि दुर्घटनाको सम्भावना उच्च रहन्छ। त्यसैले सुरक्षाको उपाय र ट्राफिक नियमको पालना समान किसिमले हुने व्यवस्था मिलाउनु पर्छ।

शवयात्रा/मलामी र एम्बुलेन्स
यो अवस्था कतिपय शोक र पीडाका अवस्थामा गरिने यातायातका साधनको प्रयोगका सन्दर्भमा लागू हुन्छन्। जस्तै: शवयात्रा/मलामी र एम्बुलेन्सको प्रयोग। यथार्थ तथ्यांक उपलब्ध नभए पनि एक वर्षमा कम्तीमा पनि ३ देखि ४ वटा दुर्घटना शवयात्राका क्रममा र सरदर हरेक महिना एउटा एम्बुलेन्स दुर्घटनाको खबर सञ्चार माध्यममा पाइन्छ। यी दुर्घटनामा पनि २० देखि २५ जनाको मृत्यु र त्यसको दोब्बर घाइते हुने गर्छन्। शवयात्राकै क्रममै जिउँदा मान्छेहरू शव बन्नुपर्ने विडम्बना आफैमा ठूलो त्रासद हो।

बिरामीलाई उसको अवस्था नबिग्रने गरी सबैभन्दा नजिकको र चाहिएको सेवा-सुविधा सम्पन्न उच्च तहको अस्पताल पुर्‍याउन बिरामीको आफन्त वा उपचाररत अस्पतालले सुरक्षित किसिमले एम्बुलेन्सको व्यवस्था गर्ने हो। एम्बुलेन्स आफैमा अत्यावश्यक र संवेदनशील सेवा भएकाले यसको सञ्चालन पनि उच्च सतर्कताका साथ हुनु पर्ने  हो। त्यसो हुँदा एम्बुलेन्स दुर्घटनालाई पनि सहजताका साथ स्विकार्न सकिन्न।

हाम्रो अभ्यास के  छ भने सामान्य अवस्थामा मलामी बोकेको गाडीलाई ट्राफिक नियम लगाइँदैन। जबकि, शोकको घडीमा सञ्चालन भइरहेका यस्ता सवारी साधनमा चालक र यात्रुको मानसिक अवस्था सामान्य नरहने र पीडामा रहने कुरा सहजै बुझ्न सकिन्छ। अतः यस्ता शवयात्राका क्रममा समेत ट्राफिक नियम पालना नगरे दुर्घटनाको जोखिम उत्तिकै रहने कुरालाई ध्यानमा राखी नियामक निकायले नियम पालना भए/नभएको जाँच गरी कडाइका साथ नियम पालना गराउनुपर्छ। 

निर्बाध रूपमा द्रुत गतिमा एम्बुलेन्स सञ्चालन गर्न पाइने अधिकार भए पनि यात्रा सुरु गर्नुभन्दा अगाडी एम्बुलेन्सको यान्त्रिक अवस्था, चालकको कुशलता र बाटोको अवस्थालाई हेरेर मात्र यात्रा सुरु गर्ने खालको व्यवस्था आवश्यक छ।

भाडाको जिपको प्रयोग
लामो र मध्यम दूरीको यात्रा गर्न ठूलो संख्यामा यात्रु बोक्ने यातायातका साधनको असुविधा छेक्न साना जिप/कारहरूमा भाडाको यात्रा गर्ने अभ्यास छ। यस्तोमा, कतिपय अवस्थामा यात्रुकै स्वेच्छा र नियन्त्रण रहन्छ। यद्यपि, सार्वजनिक यातायात सेवामा अझै पनि अघोषित सिन्डिकेट लागू छ। एक वर्षको अवधिमा भारतीय बोलेरो मोडेलको जीपमात्र ४० देखि ५० वटा दुर्घटना हुने र ५० देखि ६० जनाको निधन र २०० जनासम्म घाइते हुने कुरा सञ्चार माध्यममा भेटिन्छ।

यस अतिरिक्त अन्य चार पाङ्ग्रे कार-जिपहरू समावेश गर्दा यो संख्या करिब दोब्बरले बढ्न जान्छ। त्यसैले यात्रु स्वयमले आफूले रिजर्भ गरेका साधनको अवस्था सुरक्षित भएको सुनिश्चित गरेर मात्र यात्रा गर्नु आवश्यक छ। बाटोमा उपलब्ध यातायात निरीक्षक प्रहरीहरूले पनि रिजर्भ भए पनि ट्राफिक सुरक्षाका नियम समान किसिमले लागू भएको सुनिश्चित गर्ने प्रणालीको सुरुवात गर्नुपर्ने देखिन्छ। यो कुरा राजनीतिक दलका सभा र जुलुसमा प्रयोग गरिने सवारी साधन वा अन्य धार्मिक जात्रालगायत प्रयोजनका यात्राको लागि पनि समान रूपले लागू गर्नु पर्छ।

ट्र्याक्टरको प्रयोग
यात्राको लागी लामो दुरीमा सञ्चालन गरिने यातायातको साधन होइन, बरु स्थानीय र छोटो दुरीको लागी कृषि उपज वा मालसामान ढुवानी गर्न उपयोगी साधन हो ट्र्याक्टर। हालै कृषि कार्यको लागि पनि यसको प्रयोगमा वृद्धि भएको छ। सडकमा गुडिरहँदा वा कामको लागी प्रयोग हुँदाबाहेक पनि ट्र्याक्टरले ट्र्याक्टर धनीकै परिवारका सदस्यहरू वा बालबालिकाहरूको ज्यान लिएका खबर पनि सुन्न पाइन्छ। नेपालका लगभग सबै स्थानमा कच्ची बाटो पुगिसकेको र कच्ची बाटोमा प्रायः ट्याक्टरबाट मानिस र सामान ढुवानी गर्ने चलन रहेकोले यात्रा अत्यन्तै जोखिमपूर्ण रहन्छ। तर जोखिमको तुलनामा सुरक्षाका उपायहरूमा त्यति धान दिएको पाइँदैन।

माथिका दुर्घटनाको विवरण सञ्चार माध्यममा आएका समाचारको आधारमा तयार पारिएको हो। तर यी सबै यात्राको योजना, यातायातको साधन छनोट र यात्राको मार्ग पूर्णतया उक्त यात्राको प्रयोजनमा संलग्न व्यक्तिमा निर्भर हुन्छ। सार्वजनिक भाडाको यात्रा नभई उपरोक्त सबै यात्राहरू पूर्णतया निजी प्रयोजनमा सञ्चालन हुने भएकाले यी कुनै पनि दुर्घटना हुनु नै नपर्ने हो। निजी र पारिवारिक कार्यक्रमका लागी गरिने यात्रामा धेरैजसो परिवार र आफन्त रहन्छन्, तर पनि किन सुरक्षाको परवाह गर्दैनन्? दुर्घटनाको समय हेर्दा दुई प्रमुख दुर्घटना राती ८ बजेपछि र बिहान ६ बजेअघि भएको भेटिन्छ। अधिकांश दुर्घटनामा 'चालकलाई पक्राउ गरिएको' समाचार पाइन्छ। तर के यसमा चालकको मात्रै संलग्नता हुन्छ र? समाचार माध्यममा प्रकाशन भएका समाचारको सीमित जानकारीबाट धेरै कुरा बुझ्न नसकिए पनि आम सर्वसाधारणका लागि केही प्रश्नहरू पक्कै पनि प्रस्ट रूपमा अगाडी आएका छन्। तिनलाई ध्यान दिने हो भने अगामी दिनको यात्रा सुरक्षित हुनेछ।

यस प्रकारका दुर्घटना नियन्त्रणमा जिम्मेवार को?
के दुलहा–दुलही  र जन्तीको सुरक्षालाई ध्यानमा राखी राति अबेर यात्रा गर्नुको साटो दिनको सुरक्षित समयमा गर्न सकिँदैन? 'साइत जुराउने' क्रममा नै यात्रा र सम्भावित जोखिमबारे ख्याल राख्न सकिँदैन? स्थानीय तहमा जनप्रतिनिधिहरूले यसबारे कस्तो भूमिका निर्वाह गर्न सक्छन्? वडा तहमा सुरक्षा सचेतना बढाउन के गर्न सकिन्छ?

समाधान गर्न के गर्ने ?
कतिपय अवस्थामा पारिवारिक र समुदाय स्तरमा गरिने यी यात्राको सुरक्षासम्बन्धी पक्षलाई पारिवारिक 'शुभकार्य'हरूको तयारीकै अभिन्न अंगको रूपमा स्विकार्नुपर्छ र सोही अनुसार दुलहा-दुलही, जन्ती र यात्रुहरूको सुरक्षालाई महत्त्व दिनुपर्छ।

शव यात्राका सन्दर्भमा पनि शोकको त्यस घडीमा शोकमाथि अर्को शोक न थपियोस् भन्ने खालका सन्देश प्रवाह गराउनु पर्छ।

भर्खरैको आफ्नो चुनावी कार्यक्रमका क्रममा दुर्घटना भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारहरूलाई सवारीसाधन परिचालन गर्दा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पनि निर्देशन दिएको छ। तर यस्तो सावधानी पहिलेदेखि गरेको भए युवाहरू घाइते हुनुपर्ने थिएन, बालिकाले ज्यान गुमाउनु पर्ने थिएन। तथापि, यस घटनाबाट अन्य दलहरू वा आइन्दा अन्य प्रयोजनका लागि यातायात साधन प्रयोग गर्दा सुरक्षा सावधानी अभ्यास थालनी गर्ने ज्ञान प्राप्त हुनेछ।

दुर्घटनापश्चात् सुदूर पश्चिम प्रदेश सरकार र एक स्थानीय तहले राहत उपचार खर्च दिने घोषणा गरेका छन्। तर त्यति अनुपातको रकम रोकथाममा पहिले नै लगानी गरिएको भए यस्ता धेरै दुर्घटना  अवस्था आउनबाट रोक्न सकिने थियो।

देश निर्वाचनको संघारमा उभिएको छ। आगामी एक महिनाभित्र देशले नयाँ सरकार पनि पाउने छ। अहिले पार्टीहरूले मतदातासामु अनेक बाचा पनि गरिरहेका छन्। ती विविध बाचाहरूका साथै उनीहरूले देशमा सञ्चालन भइरहेको यातायात प्रणाली, सडक पूर्वाधार र सडक प्रयोगकर्ताहरूलाई सुरक्षित पार्ने तर्फ पनि प्राथमिकता दिनु आजको आवश्यकता हो।

(चोटपटक अनुसन्धानकर्ता डा. पन्त  बेलायतको युनिभर्सिटी अफ् वेस्ट अफ् इङल्यान्डमा कार्यरत छन्।)