भोटेकोशी नदीको बाढीमा परी ज्यान गुमाएकामध्ये विभिन्न जिल्लामा भेटिएका १०२ वटा शव परीक्षण र पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि धेरैजसोको अवस्था क्षतविक्षत भएकाले पहिचानमा समस्या देखिएको छ।
गण्डकी– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ शवमध्ये अहिलेसम्म ६ वटा शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसकिने अवस्थामा रहेको उनको भनाइ छ। “पहिचान भएका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्न शुरू गरिएको छ”, उनले भने, “पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार व्यवस्थापनको काम गर्छौँ।”
पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमूना काठमाडौँ पठाइने प्रहरी उपरीक्षक कार्कीले बताए। प्रतिष्ठानमा ल्याइएकामध्ये नौ वटा शवलाई मणिपाल शिक्षण अस्पतालमा राखिएको उनको भनाइ छ। नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका शव पहिचान तथा परीक्षणका लागि बिहीबार पोखरा ल्याइएको थियो।
शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। आफन्तहरू तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन्। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले शव खोजीमा आएका आफन्तहरूलाई खाना र बासको व्यवस्था मिलाइएको बताए। शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ। “आफन्तहरू शवको खोजी र पहिचानका लागि ठाउँठाउँबाट आइरहनुभएको छ”, प्रजिअ गुरुङले भने, “बाढीले बगाएर शव विभिन्न जिल्लामा पुर्याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ।”
धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकिएमा कानूनी व्यवस्थाअनुसार पोखरामै समाधिस्थ गरिने उनको भनाइ छ। त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो। नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ वटा शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
