भोटेकोशी बाढी: नौ जलविद्युत् आयोजनाका ५३७ जना सम्पर्कविहीन

भोटेकोशी नदीको बाढीका कारण रसुवा र नुवाकोटका नौ जलविद्युत् आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्।

रसुवास्थित त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि-ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्वारका लागि ‘ड्रिलिङ’ गर्ने काम गरिँदै।

काठमाडौँ– भोटेकोशी नदीमा गएको बाढीका कारण नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत कुल ८९८ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ।

२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामा २५४ जनाको उद्धार भइसकेको छ। सोही आयोजनाको सुरुङभित्र अझै पनि ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ। अहिले उक्त सुरुङमा खोजी कार्य जारी छ।

त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना सम्पर्कविहीन छन्। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाका चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ। लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामा अहिलेसम्म १८ जनाको उद्धार भएको छ।

यसैगरी, चिलिमे जलविद्युत् आयोजनाका आठ जना, मैलुङ खोला जलविद्युत् आयोजनाका सात जना, त्रिशूली जलविद्युत् आयोजनाका एक जना र देवीघाट जलविद्युत् आयोजनाका एक जना सम्पर्कविहीन छन्। माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन्।

माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामा ९१ जनाको जीवितै उद्धार गरिएको छ। मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाका दुई जना सम्पर्कविहीन भएका छन्।