सम्यक् महादानको एक शताब्दी पूरा, विशेष लसता सम्यक् महादान आयोजना

बाघ नरसिं बज्राचार्यद्वारा सम्पन्न गरिएको सम्यक् महादानको एक शताब्दी पूरा भएको अवसरमा ललितपुरमा विशेष लसता सम्यक् महादान आयोजना गरिएको छ।

काठमाडाैँ– बाघ नरसिं बज्राचार्यद्वारा सम्पन्न गरिएको सम्यक् महादानको एक शताब्दी पूरा भएको अवसरमा ललितपुरमा विशेष लसता सम्यक् महादान आयोजना गरिएको छ।

पुर्खाहरूले स्थापना गरेको धार्मिक कीर्तिको गुणानुस्मरण गर्दै उनीहरूप्रति कृतज्ञता प्रकट गर्नुका साथै उक्त पवित्र परम्परालाई वर्तमान पुस्ताले निरन्तरता दिने संकल्पसहित नेसं ११४६ माघ १ गते अर्थात् आज लसता सम्यक् महादान आयोजना गरिएको हो।

प्राध्यापक डा. नरेशमान बज्राचार्यका अनुसार यस सम्यक् महादान अन्तर्गत ललितपुरस्थित सम्पूर्ण वःहावहीहरूका दीपंकर तथागत, सम्यक् महादान सम्पन्न गरी स्थापित दीपंकर तथागत, बसुन्धरा देवी तथा अन्य देवीदेवता गरी जम्मा १२५ जना बुद्ध, बोधिसत्व र देवीदेवतालाई पुस ३० गते भास्करवर्ण महाविहार, न्याखाचोकको प्रवेशद्वार अगाडि स्वागत गरी विधिवत् रूपमा बिराजमान गराइन्छ।

त्यसपश्चात माघ १ गते परिवारका सम्पूर्ण सदस्यहरूले श्रद्धापूर्वक दर्शन तथा पूजा अर्चना गर्नेछन्। साथै, चूडाकर्म सम्पन्न भएका उपस्थित सम्पूर्ण शाक्य–वज्राचार्यहरूलाई पञ्जदान प्रदान गरिने गरिन्छ।

"सम्यक् महादान दीन, दुखी गरिबहरूलाई गर्ने दान हैन, यो बुद्ध धर्म मान्ने काठमाडौँ उपत्यकाभित्र रहेका शाक्य र बज्राचार्यहरूको समूह छ उहाँहरूलाई गर्ने दान हो," उनले भने।

यस पुण्यकार्यमार्फत आफ्ना पुर्खाहरूको निर्वाणको कामना गर्नुका साथै सम्पूर्ण सत्व प्राणीहरूको सुख, शान्ति र कल्याणको कामना गरिने प्राध्यापक डा. बज्राचार्यले बताए। ठूलो जनसहभागिताका साथ दान–प्रदान कार्यक्रम सम्पन्न गरी सम्यक् महादानलाई विधिवत् रूपमा समापन गरिन्छ। यस्ता दान गर्नका लागि गुठीहरूको निर्माण गरि सम्यक् महादान गर्ने गरेको प्राध्यापक डा. बज्राचार्यले जानकारी दिए।