बैतडीका स्थानीय तहमा विभेदकारी नाम फेर्ने अभियान

बैतडीका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अवहेलना हुने गरी राखिएका गाउँ तथा टोलका विभेदकारी नामहरू परिवर्तन गर्ने अभियान थालेका छन्।

बैतडी– सुदूरपश्चिमको बैतडीका विभिन्न स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अवहेलना गर्ने गरी राखिएका गाउँ तथा टोलका विभेदकारी नामहरू परिवर्तन गर्ने सकारात्मक अभियान थालेका छन्। पुराना अपमानजनक नामहरू हटाएर स्थानीयको आत्मसम्मान बढाउने उद्देश्यले यो कदम चालिएको हो।

यस क्रममा पाटन नगरपालिका–५ मा रहेको 'डिम्यौडा टोल'को नाम परिवर्तन गर्दै 'सिर्जना टोल' राखिएको छ। दलित समुदायको बाहुल्य रहेको उक्त गाउँलाई विगतमा अपहेलित तवरले डिम्यौडा भन्ने गरिएकाले नाम परिवर्तन गरिएको वडाध्यक्ष फुनिसिंह बोहराले जानकारी दिए।

“दलित समुदायको बसोबास रहेकाले त्यहाँ पहिलेका मानिसले होच्याउने गरी टोलको नाम राखेका थिए, त्यसलाई परिवर्तन गरी सिर्जना टोल राखेका छौँ,” अध्यक्ष बोहराले भने, “त्यस बस्तीका मानिसले आफ्नो कलाकौशलबाट विभिन्न उपयोगी सामग्री सिर्जना गर्ने भएकाले यसको नाम सिर्जना टोल राखिएको हो।”

यो अभियानअन्तर्गत हालसम्म नगरभित्रका २२ वटा गाउँको नाम परिवर्तन गरिसकिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए। जातीयताका आधारमा अवहेलना हुने खालका पुराना नामहरू परिवर्तन गरिएपछि स्थानीय नागरिकले उच्च आत्मसम्मान महसुस गरेको उनले बताए।

स्थानीय बासिन्दाले पनि वर्षौंदेखि जातीय अपमान हुने गरी राखिएका नामहरू परिवर्तन हुँदा ठुलो राहत महसुस गरेका छन्।

“वर्षौँपछि गाउँको नाम परिवर्तन गरिएको छ, पहिले अरूका अगाडि आफ्नो गाउँको नाम भन्नसमेत असहज हुन्थ्यो, अहिले नयाँ नाम सुन्दा निकै गौरव महसुस हुन्छ”, पाटन–६ का स्थानीय राजु भुलले भने।

यसै गरी, जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका अपमानित र विभेदकारी नामहरू सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिसकेको गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले जानकारी दिए।

“हामीले स्थानीय बासिन्दासँग आवश्यक समन्वय गर्दै गाउँको नयाँ नाम फेर्न प्रस्ताव आह्वान गर्नुका साथै छलफल अघि बढाएका छौँ, यसै आर्थिक वर्षभित्र यहाँका धेरै गाउँका नामहरू परिवर्तन गर्ने योजना बनाएका छौँ”, उनले भने।