ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा

एसियाड पुरुष क्रिकेट छनोटको समिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली फाइनलमा प्रवेश गरेको हो।

काठमाडाैँ– एशियाली खेलकुद (एसियाड) पुरुष क्रिकेट छनोटको समिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकालेको छ।

सिंगापुरमा भएको खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली एशियाड छनोटको फाइनलमा प्रवेश गरेको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै पूरा गर्‍यो।

नेपालका लागि लोकेश बमले ४४ तथा रोहित पौडेलको २१ रनको योगदान गरे। ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेखले एक रन मात्र जोड्न सके।

त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बटुल्दै अलआउट भएको थियो। ओमानका कप्तान सुफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए। करण केसीले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए।
शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पनि समान १ विकेट लिए।

नेपालले अब फाइनलमा हङकङ र मलेसियाबीच हुने खलेको विजेतासँग खेल्नेछ। यो खेल आजै दिउँसो सवा १२ बजेदेखि हुँदैछ।