चेतनाका लागि आवश्यक पर्ने व्यक्तिनिष्ठ अनुभूति, स्थिर सूचना–प्रशोधन संरचना, उन्नत सिकाइ क्षमता र स्नायु प्रणाली बोटबिरुवामा भएको यथेष्ट प्रमाण आजसम्म भेटिएका छैनन्।
आफ्नो रुचि अनुसार मानिस शाकाहारी, मांसाहारी र भिगन हुन्छन्। विशेषतः शाकाहारी र भेगन भएकाहरूको बोटबिरुवाप्रति गहिरो लगाव हुन्छ। उनीहरू बोटबिरुवाप्रति भावनात्मक रूपमा ज्यादा संवेदनशील हुन्छन् र तिनको महत्त्व विभिन्न रूपमा प्रस्तुत गर्ने गर्छन्। तीमध्ये कतिपयले मुख्यतः बोटबिरुवाहरू त संवेदनशील हुन्छन् भने जीवजन्तु किन नहुनु भन्ने तर्क पनि गर्छन्। माछामासु खानेहरूबिरूद्ध तर्क चल्दा त्यसका पक्षधरले पनि यदाकदा 'बोटबिरुवामा पनि जीवन हुन्छ नि' भनेर तर्क गर्छन्। ‘बोटबिरुवामा पनि चेतना हुने भएकाले तिनमा पीडा महसुस हुन्छ’ भन्ने तर्क गर्छन् उनीहरू। के वास्तवमै बोटबिरुवामा चेतना हुन्छ त? यो कुरालाई दार्शनिक हिसाबले भन्दा पनि वैज्ञानिक तथ्यका आधारमा विश्लेषण गर्न जरुरी आवश्यक हुन्छ, किनकि विज्ञान पूर्ण प्रमाणको साथै सिद्धान्तमा निर्भर हुन्छ भने प्रमाण र सिद्धान्तभन्दा ज्यादा तर्कमा निहित हुने गर्छ दर्शन।
बोटबिरुवाको चेतनाबारे खोजी गर्दै जाँदा जोन मल्लाट र उनका सहकर्मीले लेखेको मिथकको खण्डन: वनस्पति चेतना (डीबंकिङ ए मिथ: प्लान्ट कन्ससनेस ) लेखले तथ्यगत रूपमा विभिन्न प्रमाणहरू अघि सारेको पाइयो र यही लेखलाई आधार बनाएर बोटबिरुवा र चेतनाबारे केही कुरा राख्ने प्रयास गरेको छु।
विभिन्न दाबी अनुसार बोटबिरुवामा चेतना हुन्छ भन्ने तर्क अनुसार: (१) बोटबिरुवामा पाइने प्रत्येक जीवित कोष स्वयं चेतनशील हुन्छ। (२) बोटबिरुवाले वातावरणीय परिवर्तन महसुस गरी लक्ष्यतर्फ उन्मुख व्यवहार र निर्णय गर्छन्। (३) बोटबिरुवा र जनावरमा विद्युतीय संकेत समान भएकाले तिनमा चेतना हुन्छ, बोटबिरुवामा निश्चित किसिमका फ्लोयम नामका तन्तुमार्फत स्नायुजस्तै विद्युत् संकेत सञ्चार हुन्छ। (४) बोटबिरुवामा सूचनाको एकीकरण हुन्छ र चेतनाका लागि तिनको प्रयोग हुन्छ। यसका लागि जरामा मस्तिष्कजस्तो 'कमान्ड सेन्टर' हुन्छ। (५) बोटबिरुवाले अग्रिम अनुमान गर्न सक्छन् र यिनमा सिक्ने क्षमता हुन्छ र बोट–बोटबीच निश्चित उद्देश्यका लागि सञ्चार र आत्म–पहिचान गर्ने क्षमता हुन्छ।
पहिलो दाबी अनुसार प्रत्येक जीवित कोषले वातावरणीय संकेत पहिचान गर्ने, लक्ष्यतर्फ सर्ने र अनुकूल प्रतिक्रिया दिने क्षमतालाई चेतनाको संकेत ठान्नु गलत हुन्छ, किनकि संकेत ग्रहण गर्नु र प्रतिक्रिया दिनु भनेको चेतना अनुभव गर्नु होइन। यस्ता प्रक्रिया कुनै अनुभूति विना पनि हुन सक्छन् र यसलाई रासायनिक संकेत वा कुनै क्रियाको प्रतिक्रियाको रूपमा बुझ्न सकिन्छ। यदि सबै कोष चेतनशील हुन् भने मानव शरीरमा पाइने हरेक कोष चेतनशील हुनुपर्छ। तर व्यवहारिक र चिकित्सकीय अध्ययन अनुसार चेतना मस्तिष्कको कार्यसँग मात्र प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। मस्तिष्कमा चोट लाग्दा चेतना गुम्न सक्छ, तर अन्य अंगका कोष नष्ट हुँदा चेतनामा कुनै प्रभाव पर्दैन। त्यसैले ‘हरेक जीवित कोष चेतनशील हुन्छ’ भन्ने दाबी वैज्ञानिक रूपमा प्रमाणित गर्न सकिँदैन र चेतनासँग यसलाई जोड्नु गलत हुन्छ।
दोस्रो दाबी अनुसार बोटबिरुवा चेतनशील छन्, किनकि तिनले वातावरणमा हुने परिवर्तन महसुस गर्छन् र त्यसअनुसार आफूलाई ढाल्छन्। तर कुनै कुरा महसुस गरेर प्रतिक्रिया दिनु चेतना होइन। थर्मोस्ट्याटले तापक्रम ‘महसुस’ गरेर हिटरलाई अन–अफ गरा, तर चेतना होइन त्यो। त्यसैगरी बोटबिरुवाले पनि वातावरणीय संकेत पाएपछि स्वचालित रूपमा कुनै न कुनै प्रतिक्रिया जनाउने गर्छन्, जुन जैविक संरचनाद्वारा पहिल्यै तय गरिएको हुन्छ। बोटबिरुवाले ‘निर्णय’ गरेजस्तो देखिनु वास्तवमा सोचेर गरिएको निर्णय होइन र विभिन्न प्रतिक्रिया परिस्थिति अनुसार हुने स्वाभाविक क्रिया हुन्। चेतना हुनका लागि त्यस वस्तु/जीव/वनस्पतिमा ‘मलाई यो भइरहेको छ’ भन्ने अनुभूति हुनुपर्छ, तर बोटबिरुवामा यस्तो अनुभूति छ भन्ने कुनै प्रमाण आजसम्म भेटिएको छैन। त्यसैले बोटबिरुवाको व्यवहार जति नै जटिल देखिए पनि त्यसमा चेतनाको परिणाम भने भेटिएको छैन।
तेस्रो दाबी अनुसार ‘विद्युतीय संकेत हुनु’ र ‘चेतनाका लागि प्रयोग हुने स्नायु संकेत हुनु’ एउटै कुरा होइन। बोटबिरुवामा देखिने विद्युतीय गतिविधि मुख्यतः पानीको सन्तुलन मिलाउने र रोगको प्रतिक्रिया दिने वा वृद्धि नियन्त्रित गर्ने गुण हुन्। बोटबिरुवामा विद्युतीय संकेत फ्लोएममार्फत फैलिन्छन्, तर यसले चेतना छ भन्ने देखाउँदैनन्। फ्लोएममा देखिने विद्युतीय संकेत र जनावरका स्नायु कोष–न्युरोनमा हुने संकेत उस्तै होइनन्। यी संकेत जनावरको स्नायु प्रणालीमा देखिने द्रुत र एकरूप संकेतजस्ता हुँदैनन् र यिनले सूचना प्रशोधन र चेतना अनुभव गर्न कुनै मद्दत गर्दैनन्। जनावरमा स्नायु संकेत विशेष स्नायुमार्फत छिटो र सटीक रूपमा प्रवाह हुन्छन् तर बोटबिरुवामा विद्युतीय संकेत ढिलो हुन्छन् र धेरैजसो क्याल्सियम र अन्य तत्त्वसँग जोडिएर प्रतिक्रियामा सीमित हुन्छन्। बोटबिरुवामा चोटपटकपछि देखिने ढिला र अस्थिर संकेतहरूलाई जनावरमा पीडा महसुस गराउने स्नायु संकेतसँग तुलना गर्न मिल्दैन।
चौथो दाबी अनुसार बोटबिरुवाको जराको टुप्पो मस्तिष्कजस्तो ‘कमान्ड सेन्टर’ हो र उक्त भागले सम्पूर्ण बोटको व्यवहार नियन्त्रण गर्छ भन्नु गलत हो। यो विचार चार्ल्स डार्विनको प्रारम्भिक सोचबाट प्रेरित भए पनि आधुनिक वैज्ञानिक प्रमाणले यसलाई समर्थन गर्दैन। जराको भागमा स्नायु कोषजस्ता संरचना र स्थिर सूचना–प्रशोधन सञ्जाल आजसम्म भेटिएका छैनन्। त्यसैले बोटबिरुवाका जरामा देखिने गतिविधि सामान्य कोषीय संकेत, हर्मोन र रासायनिक अणुहरूद्वारा नियन्त्रित हुन्छन् र यिनको लागि मस्तिष्कको आवश्यकता हुँदैन। बोटबिरुवा निरन्तर बढ्ने जीव हुन् र यिनको वृद्धिका क्रममा, जरामा हुने कोषले नयाँ कोष उत्पादन गर्छन्, तर यिनको विकासले स्थिर स्मृति वा सूचना प्रशोधनका लागि आवश्यक संरचना बन्दैन। जनावरको मस्तिष्क भने स्थिर र विशेषीकृत कोषहरूबाट बनेको हुन्छ। त्यसैले बोटबिरुवाको जरालाई 'कमान्ड सेन्टर' वा मस्तिष्कसँग तुलना गर्नु भ्रामक हो। चेतनाको उपज होइन बोटबिरुवाले देखाउने सामान्य जैविक संकेत।
अन्तिम दाबी अनुसार बोटबिरुवाले भविष्यको अनुमान गरेर अग्रिम व्यवहार देखाउँदैनन् र चेतना अभावको कारण यसो भएको हो। बोटबिरुवाको व्यवहार वास्तवमा प्रतिक्रियात्मक हुन्छ। जरा वा लहराले प्रकाश, पानी वा स्पर्शको दिशातिर बढ्नु भनेको वृद्धि र चाल देखाउने विषय हो, चेतना होइन। यो स्वचालित जैविक प्रतिक्रिया हो। बोटबिरुवामा केहीले सिकाइ देखिएको दाबी गर्छन् र यसलाई चेतनाको प्रमाण मान्छन्। तर यस्तो सिकाइ भए पनि त्यो चेतनासँग सम्बन्धित हुँदैन। जनावरले आफ्नो सिकाइ देखाउँछन्, तर बोटबिरुवामा गरिएको धेरै सिकाइ-अध्ययनले यो देखाउन असफल भएकाले तिनमा चेतना भएको प्रमाण भेटिएको देखाउँदैन।
केही बोटबिरुवाले रासायनिक संकेतमार्फत एक–अर्कासँग उद्देश्यपूर्ण सञ्चार गर्छन् र यसले आत्म–पहिचान तथा चेतना देखाउँछ भने तापनि सञ्चार चेतनाको प्रमाण होइन। जीव–जीवबीच संकेत आदान–प्रदान गर्नु जीवविज्ञानमा सामान्य कुरा हो। ब्याक्टेरियादेखि ठूला जनावरसम्म सो देखिन्छ। स्वयं र पर–भेद पनि प्रतिरक्षा प्रणालीजस्ता स्वचालित जैविक प्रक्रियाबाट सम्भव हुन्छ। त्यसैले बोटबिरुवा बीचको सञ्चार अनुकूल जैविक प्रक्रिया हो, चेतन सोच वा सामाजिक चेतनाको संकेत होइन। यसैगरी, बोटबिरुवामा सुख दुःखजस्ता भावनात्मक चेतना हुन्छ भन्ने गरेका दाबी पनि सुन्न पाइन्छ, तर भावनात्मक चेतनाको विश्वसनीय संकेत अनुभवबाट नयाँ व्यवहार सिक्ने उन्नत क्षमता हो। बोटबिरुवामा सो देखिँदैन।
माथि प्रस्तुत सबै वैज्ञानिक तर्क र प्रमाण हेर्दा बोटबिरुवामा चेतना हुन्छ र तिनले पीडा महसुस गर्छन् भन्ने दाबी वैज्ञानिक तथ्यमा नभई भावनात्मक आकर्षण र दार्शनिक तर्कमा बढी आधारित देखिन्छ। बोटबिरुवाले स्वचालित रूपमा जैविक प्रक्रिया देखाउँछन्। चेतनाका लागि आवश्यक पर्ने व्यक्तिनिष्ठ अनुभूति, स्थिर सूचना–प्रशोधन संरचना, उन्नत सिकाइ क्षमता र स्नायु प्रणाली बोटबिरुवामा भएको यथेष्ट प्रमाण आजसम्म भेटिएका छैनन्। त्यसैले, बोटबिरुवाप्रति हाम्रो लगाव, संरक्षण र नैतिक जिम्मेवारी आवश्यक भए पनि ‘बोटबिरुवामा पनि जनावर सरह चेतना र पीडा हुन्छ’ भन्ने निष्कर्ष वैज्ञानिक रूपमा स्थापित हुन सक्दैन। विज्ञान प्रमाण र परीक्षण गरिएका तथ्यमा आधारित हुने भएकाले वर्तमान ज्ञानको आधारमा बोटबिरुवालाई ‘चेतनशील प्राणी’ ठहर गर्नु उचित होइन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
