नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, पौने ४ अर्बको कारोबार

शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ को विन्दुमा पुगेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ अंकमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४४ अंकले बढेर ४७०.१३ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक १ अंकले बढेर १८४.५९ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक ०.७७ अंकले बढेर १५९.४८ मा पुगेको छ।

आज विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता शेयर रु ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मा खरिद-बिक्री भएको छ। आज १३ उपसमूहमध्ये ११ उपसमूह बढेका छन् भने दुई उपसमूह घटेका छन्।

आज १८० कम्पनीको शेयर मूल्य बढ्यो भने ८२ कम्पनीको घट्यो। त्यसैगरी १३ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। नेप्सेका अनुसार आज एभरेस्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फन्ड र जोशी हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक कमाएका छन्। त्यसैगरी बोटलर्स नेपाल (तराई) लिमिटेड, कालिन्चोक हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले सर्वाधिक गुमाएका छन्।