बाढीले मनास्लु पदमार्ग अवरुद्ध

पुल बगाएपछि भर्खर शुरू हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित हुने भएको छ।

गोरखा– बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ। आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो।

बाढीले दुई पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको उनले जानकारी दिए।

"यात्राको तयारी अवस्थामा वा यात्रामा रहनुभएकाहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म यात्रा नगर्न नगराउनु हुन अनुरोध छ," जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ। बाढीका कारण हालसम्म कुनै मानवीय क्षति भने नभएको सहायक प्रजिअ शर्माले बताए।

बाढीले पुल बगाएपछि स्थानीयसहित पर्यटक प्रभावित बनेको नाम्रुङका स्थानीय लाक्पा डुन्डुपले बताए। "बाढी-पहिरोले हामीलाई सङ्कटमा पार्यो। गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि बगायो। कतै जान पनि नमिल्ने भयो," उनले भने।

दुईवटा लघुजलविद्युत् आयोजना बगाएपछि स्थानीयवासी बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट चल्ने सबै सेवाबाट प्रभावित बनेका छन्। यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा ३२ टोलीका तीन सय ६७ आरोहीले हिमाल चढ्न अनुमति लिएकामा मनास्लुका लागि मात्र २९ टोलीका तीन सय ४८ आरोही रहेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ।

पुल बगाएपछि भर्खर शुरू हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित हुने भएको छ। लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा अलपत्र परेका छन्।